काेराेना महामारीबीच बजारमा सिटामाेलकाे चरम अभावः के हाे सहजै सिटामोल नपाइनुकाे कारण?

काेराेना महामारीबीच बजारमा सिटामाेलकाे चरम अभावः के हाे सहजै सिटामोल नपाइनुकाे कारण?


कोभिड-१९ महामारी फैलिएकै बेला नेपालका विभिन्न स्थानमा पारासिटामोलको अभाव देखिएको गुनासो सर्वसाधारणहरूले गर्दै आएका छन्।

एउटै पसलमा उक्त औषधि पाउन नसकेपछि विभिन्न पसल चहार्नुपर्ने बाध्यता आइलागेको गुनासो सामाजिक सञ्जालमार्फत् कतिपयले गरिरहेको पाइन्छ।

औषधि व्यवस्था विभागले पनि बजारमा सिटामोलको "चरम अभाव नभए पनि" एउटै पसलमा "सहजै उपलब्ध हुन नसकेको" गुनासो आफूकहाँ आउने गरेको जनाएको छ।

"…खोज्दा केही फार्मेसीमा नभेटिने तर एक-दुईवटा फार्मेसी छोडेर गएपछि भेटिने कुरा आएको हो," औषधि व्यवस्था विभागका प्रवक्ता एवं वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले भने।

नेपाल औषधि लिमिटेडले पनि बजारमा आफूहरूले गरेको अनुगमनका क्रममा सिटामोलको "अलिअलि कमी देखिएको" जनाएको छ।

अधिकारीहरूका अनुसार पछिल्लो समय सिटामोलको मागमा उल्लेख्य रूपमा वृद्धि भएको छ। त्यस्तै उक्त औषधिको बजार मूल्य लामो समयदेखि समायोजन हुन नसकेकाले पनि उत्पादनमा समस्या देखिएको हुनसक्ने कतिपयको आशङ्का छ।

व्यवसायीहरूका अनुसार बजार मागको ८० प्रतिशतभन्दा बढी स्वदेशी उद्योगहरूले पूर्ति गर्दै आएका छन्। यस्तो अवस्थामा एकाएक बजारमा आउनुको कारण के हो त?

मागमा 'व्यापक' वृद्धि
जानकारहरूका अनुसार बजारमा यति बेला सिटामोलको अभाव देखिनुको एउटा प्रमुख कारण माग र उत्पादनबीच तालमेल मिल्न नसक्नु हो।

कोभिड महामारी सुरु भएयता नेपालमा सिटामोलको मागमा "उच्च वृद्धि" भएको केसी बताउँछन्।कोभिडका बिरामीहरूले पनि यो औषधि प्रयोग गर्ने हुँदा माग बढेको उनको भनाइ छ।

विभागका अनुसार लगभग ३२-३३ वटा कम्पनीले पारासिटामोल उत्पादनका लागि अनुज्ञापत्र लिएका छन्।

नेपाली औषधि उत्पादकहरूको छाता संस्था नेपाल औषधि उत्पादक सङ्घले पनि बजार मागमा देखिएको वृद्धि बजारमा सिटामोल अभाव देखिनुको कारणमध्ये एक रहेको बताएको छ।

पछिल्लो स्थितिलाई दृष्टिगत गर्दै बिहीवारबाट कुन कम्पनीले कति सिटामोल उत्पादन गर्‍यो भन्ने कुराको विवरण आफूहरूले लिन सुरु गरेको नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले जानकारी दिए।

"महामारी सुरु भएयता एकदमै धेरै घरहरूमा पारासिटामोल भण्डारण भएको छ। लकडाउनका बेला भारतले २६ वटा मलेक्यूल- कच्चा पदार्थ र तयार पारिसकिएको औषधि दुवैको हकमा – निर्यातमा रोक लगाएको थियो," अधिकारीले भने।

हल्लाकै आधारमा औषधि घरमा राख्ने र पछि पसलमा फिर्ता गर्ने गरेको पाइएको र त्यसले बजारमा प्रभाव पारेको उनको भनाइ छ। सामान्यतया सिटामोल खपत गर्न हुने म्याद कसरी उत्पादन गरिएको छ भन्ने कुराको आधारमा दुईदेखि चार वर्षसम्म रहने उत्पादकहरू बताउँछन्।

पछिल्लो समय सिटामोलको आयातमा भने कमी आएको जानकारहरू बताउँछन्। सामान्य अवस्थामा नेपालका औषधि उत्पादकहरूले वार्षिक रूपमा आठदेखि नौ करोड चक्की सिटामोल उत्पादन गर्ने गरेको सङ्घको भनाइ छ।

त्यसबाहेक सरकारले आवश्यकताअनुसार दुईदेखि चार करोड सिटामोल आफैँले खरिद गरेर वितरण गर्ने गरेको छ भने पुनः सिटामोल उत्पादन सुरु गरेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा ८० लाख सिटामोल बजारमा पठाएको जनाएको छ।

नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहका अनुसार काठमाण्डूमा सिटामोल अभाव देखिनुको एउटा कारण १४ देखि १५ वितरकको औषधिपसलेसँग कारोबार हुन नसक्नु रहेको बताउँछन्।

"बजारमा माग पनि बढेको छ। प्रयोगका हिसाबले पनि हल्लाका हिसाबले पनि," बजारमा सिटामोल पाइएको छैन भन्ने सुनेपछि एक जनाले पाँच पत्तासम्म लिएर जाने प्रवृत्ति रहेको सफिउल्लाहले भने।

मूल्य समायोजनको मुद्दा

बजारमा माग उच्च भइरहेका बेला अन्तर्राष्ट्रिय बजारमै पारासिटामोल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढ्दा समस्या झन् बढेको अधिकारीहरू बताउँछन्।

विगतमा भन्दा झन्डै साढे दुईगुना मूल्य बढेको भए पनि नेपाल सरकारले पारासिटामोलको मूल्य प्रतिचक्की एक रुपैयाँ निर्धारण गरेको छ र त्यो समायोजन भएको छैन।

सफिउल्लाहका अनुसार एक वर्षअगाडि लगभग ४५० रुपैयाँमा पाइने सिटामोलको कच्चा पदार्थको मूल्य अहिले बढेर झन्डै १,१५० रुपैयाँ पुगेको छ।

कच्चा पदार्थको मूल्यका आधारमा सिटामोलको मूल्य समायोजन गर्नका लागि निजी क्षेत्रद्वारा सञ्चालित उत्पादकहरूले दबाव दिनका लागि "उत्पादन घटाएको" आरोप कतिपयले लगाउने गरेका छन्।

व्यवसायीहरूले भने त्यो आरोपको खण्डन गरेका छन्। नेपालमा पछिल्लो पटक २०६४ मा सिटामोलसहित अन्य २१ थरी औषधिको मूल्य समायोजन भएको केसीले जानकारी दिए।

आफूहरूले मूल्य समायोजनको माग राख्दै आएको भए पनि महामारीको बीचमा त्यसै कारण उत्पादन भने नघटाएको अधिकारीले दाबी गरे।

"सामान्य रूपमा हामी आठदेखि नौ करोड सिटामोल बजारमा पठाउँथ्यौँ। खपतको अनुपात पनि त्यस्तै त्यस्तै थियो। गत वर्ष हामीले लगभग १५ करोड त बजारमा मात्रै पठाएका छौँ," उनले भने।

कच्चा पदार्थको मूल्य महँगो परेको भए पनि कम्पनीको ब्रायन्डिङसँग जोडिने हुँदा आफूहरूले त्यो खरिद गरिरहेको उत्पादकहरूको भनाइ छ।

नेपालमा औषधिको मूल्य समायोजन हुन नसक्दा "कतिपय औषधिको मूल्य घट्नुपर्ने अवस्थामा पनि घटाउन नसकिएको" अधिकारी बताउँछन्। हाल नेपालमा क्यान्सरलगायत कतिपय रोगसँग सम्बन्धित औषधिको मूल्य घटाउन सकिने अवस्था रहेको उनको भनाइ छ।

लगभग ९६ वटा औषधिको सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर मूल्य तोकेको सङ्घको भनाइ छ। त्यसबाहेक थप २१ औषधिको सरकारले मन्त्रीस्तरीय निर्णय गरेर मूल्य कायम गरेको छ।

सीमापारि निकासी

नेपालमा ७७ थरीका पारासिटामोल पाइने औषधि व्यवस्था विभागको भनाइ छ। नेपालको तुलनामा भारतीय बजारमा पारासिटामोलको मूल्य बढी छ जसले गर्दा उक्त औषधि धेरै आयात नहुने जानकारहरू बताउँछन्।

नेपाल सरकारले पारासिटामोलको मूल्य प्रतिचक्की एक रुपैयाँ तोकेको छ जुन भारतीय बजारमा भन्दा लगभग ७५ पैसा सस्तो हो। अझ नेपाल औषधि लिमिटेडले त ७२ पैसामै सिटामोल बजारमा बेचिरहेको जनाएको छ।

"हाम्रै विराटनगरका साथीहरू जोगमनी जाँदा त्यहाँ नेपालमा उत्पादन भएका सिटामोल पाइने गरेको भन्ने छ," अधिकारीले भने। "भारतमा पनि सहजै यो औषधि उपलब्ध छैन," उनको दाबी छ।

कानुनीरूपमै भारतमा नेपालबाट औषधि निर्यात गर्न सकिने बाटो खुला भएको भए पनि झन्झटिलो प्रक्रियाका कारण त्यस्तो हुन नसकेको अधिकारीको भनाइ छ।

सफिउल्लाहले पनि आफूहरूले भारतमा नेपालबाट सिटामोल लगिने गरेको सुनेको बताए। "भारतमा पनि निर्यात भएको भन्ने हल्ला छ। हामीसँग त्यसको प्रमाण भने छैन," उनले भने।

नेपालमै माग व्यापक रूपमा बढेका बेला सीमापारि सिटामोल निर्यात हुनु पनि बजारमा देखिइएको अभावको कारण हुनसक्ने बताइन्छ।बीबीसीबाट

Skip This
Logo