बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास, दसैंकाे पनि छैन राैनक

बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास, दसैंकाे पनि छैन राैनक


बारेकोट गाउँपालिका–४ सार्कीटोलको सिंगो दलित समुदाय दुई महिनादेखि त्रिपालमुनि बसिरहेको छ। २५ असार ०७७ को पहिरोले उनीहरू बस्दै आएको बस्ती बगाएपछि राहतमा पाएको त्रिपालमा उनीहरू बस्न थालेका हुन्। 

बारेकोट गाउँपालिकाको वडा नम्बर ४ को तलगाउँ र वडा नम्बर ६ को धुमाको अवस्था पनि उस्तै छ। यी दुवै वडामा एकै दिन फरक समयमा गएको पहिरोमा परेर १४ जनाले ज्यान गुमाएका थिए भने करिब सय परिवार पूर्णरुपमा विस्थापित थिए। 

पहिरोमा परेर ज्यान गुमाएका त गए नै जीवित रहेकाहरू सामान्य आश्रयस्थलसमेत नहुँदा अवस्था अत्यन्त दयनीय बनेको छ। दिनहुँजसो पर्ने पानीलाई त्रिपालले नछेक्दा र सरकारले पनि कुनै सहयोग नगर्दा पहिरो पीडितहरू राज्यविहीन झैं बनिरहेका छन्। उनीहरूका आँखामा आफन्त र सम्पत्ति गुमाउनु पर्दाको पीडा अझैसम्म पनि छचल्किइरहेको छ।

भएको जग्गा जमिन, दुःख गरेर आर्जन गरेको सम्पत्ति र ओत लाग्ने घरसमेत पहिरोमा बगेपछि बारेकोटका विस्थापित सुरक्षित मानिएको अग्लो ठाउँ र जंगल नजिकको बस्तीमा पाल टाँगेर बसेका छन्। गतबर्ष सरकार, सहयोगी र देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरूले दिएको सहयोगमा दिन काटेका उनीहरू यो बर्ष भने कतैबाट सहयोग नपाएको गुनासो गर्छन्। 

पहिरोमा चार सन्तान गुमाएकी सार्कीटोलकी ७२ वर्षीया दुधी सार्की भन्छिन्, ‘चार सन्तानको सास त दैवले चुड्यो। बचेकाहरूको पनि चुहिने पालमुनि कहिलेसम्म सास रहने हो भन्ने भएको छ।’ उनले त्रिपालबाट कहिले मुक्ति पाइएला भनेर सुस्केरा हालिन्। उनीहरूकाे टहरामा यस वर्षकाे दसैंकाे कुनै राैनक छाएन।

राहतभन्दा पुनर्वासको माग

रातको बेला गएको पहिरो छिचोल्दै ज्यान बचाएका बारेकोटका पहिरोपीडितहरु राहतभन्दा जतिसक्दो चाँडो पुनर्वासको माग गरिरहेका छन्। पहिरोले घर बास उठाएको १५ महिना बितिसक्दा पनि बारेकोटका पहिरो पीडितहरूको पुनर्वासको प्रबन्ध हुन सकेको छैन। 

साँघुरो पालभित्र ८–९ जना जहान परिवार बस्नुपर्दा उनीहरू निसास्सिएका छन्। बर्खा त जेनतेन धानियो अब चिसो मौसम कसरी बिताउने भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ।न्युज कारखाना 

Logo