बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए, खराब मौसमले हेलिकोप्टर जान सकेन

बझाङमा २३ जना वेपत्ता, बैतडीमा ५० जना थुनिए, खराब मौसमले हेलिकोप्टर जान सकेन


सोमबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ। अझै पनि वर्षा भइरहँदा उद्धार तथा राहतमा कठिनाई भइरहेको छ। जनधनको क्षतिको विवरण आउने क्रम जारी छ।

मुख्यमन्त्री कार्यालयका अनुसार हालसम्म बझाङमा २३ जना पहिरोमा परी वेपत्ता भएका छन्। बैतडी र डोटी सीमामा ५० देखि ६० जना थुनिएका छन्। डोटीमा ३ जनाको मृत्यु भएको छ।  

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पहाडी जिल्लामा बिजुली आपूर्ति रोकिकाले सबै ठाउँमा सम्पर्क हुन नसकेको बताए। विद्युतसँगै टेलिफोन सेवा पनि अवरुद्ध भएकाले समस्या भएको उनको भनाइ छ।

भट्टले प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाई भएको पनि बताए। ‘तत्काल उद्धार र व्यवस्थापन गर्ने भनेर प्रदेशको सम्पूर्ण संयन्त्र लागेको छ। उद्धार कार्यमा कुनै पनि कमी नहुनेगरी लागेको छ। मन्त्रीहरु नै लागेका छन्। संघीय गृहमन्त्रीसँग पनि कुरा भएको छ,’ उनले भने, ‘कञ्चनपुरमा मौसमका कारण हेलिकोप्टर ढिला भयो। ढिलै भए पनि फसेका ५ जनाको उद्धार गरियो। पहाडी जिल्ला बैतडी-डोटीको सीमामा ५०/६० मान्छे थुनिएका छन्। त्यहाँ पनि हेलिकोप्टर पठाइयो। तर दिपायल पनि पुग्न नसक्ने अवस्था भएकाले उद्धार गर्न सकिएको छैन।’

उनका अनुसार प्रदेशका ठूला नदीहरुमा अहिलेसम्मै ठूलो बहाव देखिएको छ। महाकालीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ। कर्णालीमा पनि बहाव बढेको छ। डोटीमा पनि यति धेरै बहाव बढेको पहिलो पटक नै भएको उनको भनाइ छ।न्युज कारखाना

Logo