राजधानीकाे बानेश्वरस्थित व्यस्त सडकमा अचानक भ्वाङ परेपछि (भिडियाेसहित)

राजधानीकाे बानेश्वरस्थित व्यस्त सडकमा अचानक भ्वाङ परेपछि (भिडियाेसहित)


माइतीघर–तीनकुने सडकखण्ड अन्तर्गत नयाँ बानेश्वरकाे व्यस्त सडकमा करिब १२ फिट गहिरो खाल्डो परेको छ। 

सोमबार सिभिल अस्पताल र संघीय संसदको कार्यालय नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो। त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको हाे। बिहानदेखि सडकमा प्वाल परेकाले सवारीसाधनलाई आवतजावतमा असहज भएको छ।

सडकभित्रको ढलको पाइप फुटेकाले ठूलो प्वाल पर्न गएको बानेश्वर ट्राफिक प्रहरीले जानकारी दिएकाे छ। खाल्डो परेको भागलाई घेरेर सवारीसाधनलाई अर्को रुटबाट पास गराइरहेको थियाे। 

सडक विभागले धसिएको भाग यकिन गरिसकेकाले केही समयपश्चतात निर्माणप्रक्रिया अघि बढाइने बताएको छ। पहिले सानो खाल्डो देखापरेको भएपनि वरपरको भागसमेत धसिएको हुनसक्ने आशंकामा सडक विभागले एक्साभेटरको प्रयोगबाट खाल्डो परेको भाग वरिपरि खनेर हेरेको छ।

आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन बनाइएकाे छ। दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ।

त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठ्दै आएकाे छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले करिब ८ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैंयाँ लागतमा निर्माण गराएको थियो। 

 

Logo