नेपालमा वर्षेनी घट्दै हात्तीको संख्या, यस्ता छन् संरक्षणमा चुनौती

नेपालमा वर्षेनी घट्दै हात्तीको संख्या, यस्ता छन् संरक्षणमा चुनौती


‘हात्ती आयो हात्ती आयो फुस्सा, हात्तीको मुखमा जीरा, हात्तीलाई काउकुती लगायो भने ६ महिनापछि हाँस्छ, लम्केको हात्तीलाई चम्केको घोडाले भेट्न सक्दैन, कसैलाई दान दिनु छ भने हात्ती दान दिनु, सेतो हात्ती पाले झैँ पाल्नु , हात्ती लम्किंदै गर्छ कुकुर भुक्दै गर्छ, हात्तीको लम्काइ र घोडाको चम्काइ मिल्दैन, हात्ती दिन्छु भन्ने सित बोको मागी हेर्नु , हात्तीका देखाउने र चपाउने दाँत अलग अलग हुन्छन् , भुसुनाले हात्ती रुवाउँछ, नाङ्लो ठटाएर हात्ती तर्सिदैन, हात्तीवालासँग मित्रता नगर, यदि गर्छौ भने उसको हात्ती तिम्रो घरभित्र उभिन सकोस् , हात्ती छिर्यो पुच्छर अड्क्यो, उपियाँ उफ्रँदै गर्छन् हात्ती आफ्नो गन्तव्यमा पुगेरै छोड्छ।’  

नेपालीमा हात्तीसँग सम्बन्धित यस्ता उखानहरु त हामीले सधैं सुनेकै हौं। धार्मिकरुपमा पनि हात्तीको चर्चा धेरै हुने गरेको हो। तर वास्तविकतामा हात्ती पाल्न व्यवसायीक सजिला वा असजिलाहरु के होलान् त भनेर हामीले खासै ध्यान दिएका छैनौं। हात्ती आफैंमा एउटा भिमकाय जनावर हो। यसलाई युद्धका लागि प्रयोग गरिएको पनि पाइन्छ। 

यातायातको साधनको रुपमा पनि हात्तीको प्रयोग भएको हामीले सुनेका छौं। बाँच्नका लागि हात्तीलाई जंगलको आवश्यकता परेपनि पछिल्ला दिनहरुमा घरमै पालेर व्यवसायीक प्रयोजनमा लगाउनेहरुको संख्या पनि वढ्दै गएको पाइएको छ। जंगलमा हुने हात्ती हिंस्रक हुने भएपनि घरपालुवा हात्ती एउटा फुच्चे माउतेको इशारामा संचालित हुन्छ । उसले चाहने हो भने मान्छेलाई परक्कै निमोठेर मार्न पनि सक्छ, घर र गाउँलाई क्षणभरमै खण्डहर बनाउन पनि सक्छ तर घरमा पालिएको हात्तीसँग इमान्दारिता हुन्छ। आफ्नो मालिकप्रति बफादारिता पनि उस्तै हुन्छ। 

नेपालमा अहिले सरकारी र व्यक्तिसँग गरि २३० वटा हात्ती छन् । जंगली हात्तीहरुको संख्यासमेत हेर्ने हो भने यो संख्यामा केही वृद्धि हुन सक्छ। विगतमा यो संख्या अलि धेरै भएको भएपनि पछिल्ला दिनहरुमा संख्या घटिरहेको छ। हात्तीको सरदर आयु ८० वर्ष हुन्छ। यसको मूल्य सुविधाजन्य कार भन्दा पनि माथि छ। एउटा हात्तीको मूल्य ७५ लाख देखि १ करोड रुपैयाँभन्दा बढी पर्ने व्यवसायीहरु बताउँछन्। एउटा हात्तीको वजन २ हजार केजीसम्म हुन्छ । यसले मासिक ५ सय केजी धान, दैनिक ३० केजी चना, २ केजी सक्खर र १ सय केजी घाँसपरालका साथै उखु र अन्य खानेकुरा पनि त्यहि अनुपातमा खान्छ। 

विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा सरकारले हात्ती पालन गरिरहेको छ। यी हात्तीलाई पर्यटकहरुको आर्कषणको रुपमा प्रयोग गर्दै जंगल सफारी (जंगल घुमफिर) गर्ने गरिएको छ । एउटा हात्तीले दैनिक १५ हजार भन्दा धेरै कमाउने व्यवसायीहरुले जानकारी दिएका छन् । भारतले हात्ती निर्यातमा रोक लगाएपछि नेपालमा यसको मूल्य वढेको छ। सरकारले हात्ती प्रजनन केन्द्र निजीरुपमा खोल्न स्विकृति दिएको छैन र सरकारीस्तरबाट पनि उत्पादन कम भएकाले नेपालमा हात्तीको संख्या वढ्न नसकेको हो। हात्तीले १५ वर्षको उमेरदेखि बच्चा जन्माउन सक्छ भने हात्तीको गर्भाधान समय २ वर्षको हुन्छ। 

सरकारले विभिन्न वन्यजन्तु आरक्ष केन्द्र, राष्ट्रिय निकुञ्ज तथा चिडियाघरहरुमा १ सय भन्दा धेरैको संख्यामा हात्ती पालिरहेको छ। त्यस्तै निजीक्षेत्रसँग १३० जति हात्तीहरु छन्। नवलपरासीको टाइगर टप्स लजसँग १६ वटा हात्तीहरु रहेको पाइएको छ भने हात्ती मालिकहरुको संख्या १ सयको हाराहारीमा रहेको भेटिएको छ। एउटा हात्तीको पालन गर्नका लागि अवस्था हेरेर मासिक डेढदेखि २ लाखसम्म खर्च हुने व्यवसायीहरुको अनुभव छ। हात्तीको उपचारका लागि पनि ठूलै रकम खर्च हुन्छ । वार्षिक २ लाखसम्म उपचारकै लागि खर्च लाग्ने बताइएको छ। 

हात्ती चढ्नका लागि प्रख्यात ठाउँ भनेको चितवन राष्ट्रिय निकुञ्ज स्थित सौराहा हो। यहाँ हात्तीसँग सम्बन्धित धेरै अनुसन्धानका लागि पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको बाक्लो उपस्थिती हुने गरेको छ। हात्तीको पालनका लागि धेरै समस्याहरु छन्। खर्च पनि उस्तै छ तर यसको अनुपातमा आम्दानी कम भएपछि व्यवसायीहरु निराश जस्ता पनि देखिएका छन्। हात्तीको उपचार र हेरालुको खर्च दैनिकरुपमा वढिरहेको छ। यसरी हेर्दा अन्य जनावर जस्तो हात्तीलाई सोखका रुपमा पाल्न सकिने अवस्था छैन। व्यवसायिक रुपमा हात्ती पाल्नका लागि आउने गरेका समस्याहरुले गर्दा नेपालमा हात्तीको संख्या वढ्न नसकेको हो। 

एक तथ्यांक अनुसार नेपालमा वार्षिक २ वटादेखि १० वटासम्म हात्तीको मृत्यु हुने गरेको छ। जंगली हात्तीहरुको बथानले मानिसका वस्ती सखाप पार्ने र कृषि उत्पादन पनि नष्ट गरिदिने गरेपछि हात्ती भगाउनका लागि थापिने पासोमा परेर मर्ने हात्तीको संख्या धेरै छ। जसले गर्दा वर्षेनी हात्तीको संख्या घटेको हो। भारतमा पनि हात्तीको संख्या घटिरहेको तथ्यांक छ। यहाँ २७ हजार वटा हात्तीहरु रहेकोमा वर्षेनी डेढसय हात्ती मर्ने गरेपछि यहाँ हात्तीहरु बेच्न प्रतिबन्ध छ।

नेपालमा हात्ती जोगाउन सरकारले ध्यान पुर्याएर हात्ती पालनलाई व्यवसायीक रुपमा अघि वढाउन आवश्यक रहेको छ। जसका लागि अनुदान र पालनका लागि चाहिने विविध कुराहरुमा छुट दिने हो भने हात्तीको संरक्षण हुन सक्छ। अन्यथा विश्वबाट डाइनोसर लोप भए जस्तै नेपालबाट पनि हात्ती लोप हुन सक्ने खतरा वढेको देखिन्छ।[email protected] 

Logo