कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई संक्रमण

कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई संक्रमण


मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ। चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ। प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र  कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए। थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसि) का प्रमुख पनि हुन्। उनलाई काेराेना भएपछि सिसिएमसिकाे बैठक नै बस्न सकेकाे छैन।

त्यस्तै, उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सचिवहरू होमआइसोलेसनमा छन्।

सिंहदरबारमा संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिमले  पिसिआर परीक्षण  गरेको छ। प्रधानमन्त्री कार्यालयका मात्र ४० कर्मचारीलाई कोरोना पुष्टि भएको छ। तर, सिंहदरबारभित्र कति कर्मचारी संक्रमित भए भनेर एकीकृत तथ्यांक छैन। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार काेराेना संक्रमण भएका कर्मचारीलाई काेभिड काज बिदा दिने गरिएकाे छ। याे बिदा बढीमा १४ दिन हुनेछ।

Logo