कोरोना सङ्क्रमण तीव्र हुँदै, स्वास्थ्य मापदण्ड पालनामा कतै हामी चुकेका त छैनाैं?

कोरोना सङ्क्रमण तीव्र हुँदै, स्वास्थ्य मापदण्ड पालनामा कतै हामी चुकेका त छैनाैं?


कोरोना भाइरसको सङ्क्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन। कोरोनाको सङ्क्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा जोखिम बढ्न थालेको छ। आइतबार पाँच हजारभन्दा कममा कोरोना सङ्क्रमण देखिएकामा साेमबार भने ६ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

प्रत्येक दिन भाइरस सङ्क्रमण हुनेको सङ्ख्या बढ्दै गएको छ । पशुपतिनाथ मन्दिरमा भीड बढ्न थालेपछि कसरी सुरक्षित रुपमा दर्शन गराउने भन्ने विषयमा छलफल भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। “संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशन अनुसार पशुपति क्षेत्रको व्यवस्थापन गर्ने तयारीमा छौँ, अहिले भीड बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र मन्दिर प्रवेश गराएका छौँ”, उनले भने । 

पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन। कार्यभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा विभिन्न मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सरकारले तोकेको २५ जनाभन्दा बढीको सहभागिता देखिएको छ। सार्वजनिक यातायातमा सिट क्षमता मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन। यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले अनुगमन गरेका छैनन् । यात्रु रश्मिला प्रजापति जानै पर्ने समयमा सवारी नपाउँदा उभिएरै यात्रा गर्न बाध्य हुनुपरेको गुनासो गर्छिन्। 

बजार, पसललगायत स्थानमा पनि सरकारले तोकेकोभन्दा बढीको उपस्थिति छ तर कुनै पनि निकायले अनुगमन नगर्दा समस्या बल्झन सक्ने देखिएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउँछन् । बेलैमा उचित कदम नचाले अवस्था पहिलेको भन्दा भयावह हुनसक्ने भएकाले सरोकार भएका सरकारी निकायले अनुगमन गरेर मापदण्ड पालना गराउनु पर्ने उनको माग छ।

पुस २० यता संक्रमित कति?

पुस २० गतेः ३९३ जना संक्रमित
       २१ गतेः ४३५
        २२ गतेः ५४०
        २३ गतेः ९६८
        २४ गतेः ९४४
        २५ गतेः १,१६७
        २६ गतेः १,४४६
        २७ गतेः २,४४४ जना संक्रमित थपिएका थिए ।

यस्तै  पुस २८ गते ३,०७५, २९ गते ३,५५३  जना संक्रमित थपिए । पुस ३० गते  ५,०८७, माघ १ गते ४,६३६ जना थपिएकाेमा माघ २ गते ४,९६१ र माघ ३ गते ६,७३४ संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकाका २७ स्थानमा लगाइन्छ बुस्टर डोज

कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौंका उपत्यका विभिन्न स्थानमा बुस्टोर डोज दिन सुरु गरिएको छ। त्यसका लागि काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ। काठमाडौंमा आजदेखि खोप दिइएको छ भने ललितपुर महानगरमा भने मंगलबारबाट खोप दिन लागिएको छ। 

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ। बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । 

काठमाडौंका यी स्थानमा लगाइने छ बुस्टर डोज

त्रिवि शिक्षण अस्पताल
वीर अस्पताल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
सहिद मेमोरियल अस्पताल कलंकी
वीरेन्द्र सैनिक अस्पताल छाउनी
लोट्से भवन नयाँ बसपार्क
नेपाल प्रहरी अस्पताल महाराजगन्ज
बयोधा अस्पताल बल्खु
प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
निजामती अस्पताल नयाँबानेश्वर
एपेक्स पोलिक्लिनक जडिबुटी
काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
जनमैत्री अस्पताल बालाजु
नर्भिक अस्पताल थापाथली
शुभेच्छा अस्पताल सीतापाइला
ग्रान्डी अस्पताल
नोबेल अस्पताल सिनामंगल
ललितपुर महानगरपालिका

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल

Logo