1
0
Shares

चितवन राष्ट्रिय निकुञ्जमा माउतेका दु:ख हात्ती जत्रै

1
1
1

चितवन राष्ट्रिय निकुञ्जको गेटैमा साना दुई गोठ छन् । झट्ट हेर्दा परालको कुन्हियुँ जस्तो देखिने यी गोठ निकुञ्जकै शोभा गुलाफकली र लक्ष्मीकलीका लागि बनाइएका हुन्। पिठ्युँभरी पर्यटक बोकेर दिनभरजसो जंगलमा बिताउने गुलाफकली र लक्ष्मीकलीका लागि यही गोठ स्वर्ग हो । परालले बेरिएका यिनै गोठ दुवैका लागि आलिसान बंगला हो, अनि पराल ओछ्याइएको ओछ्यान गुलाफकली र लक्ष्मीकलीका लागि मखमलको बिछ्यौना । 

दिनभरी थाकेर आएका बेला सुस्ताउने यो गोठको महत्व सायदै अरु कसैले बुझेको होला जति गुलाफकली र लक्ष्मीकलीले बुझेका छन् । हेर्दा जुम्ल्याहा जस्ता देखिन्छन्। शरीरको बनावट एकै जस्तो देखिने गुलाफकली र लक्ष्मीकली पनि एकअर्कासँग खुबै मिल्छन् तर उनीहरु जुम्ल्याहा भने होइनन् ।  

मनसुर देवान (सुनिल) र ब्रम्हदेव चौधरी गुलाफकली र लक्ष्मीकलीका सारथी अर्थात माउते । गुलाफकलीको हेरचाहको जिम्मा सुनिललाई छ भने ब्रम्हदेवले लक्ष्मीकलीको स्याहारको जिम्मा पाएका छन् । हात्ती र हात्ती बस्ने गोठको सरसफाइ, हात्तीको खानपिनदेखि लिएर सुनिल र ब्रम्हदेवले पर्यटकलाई सही बाटो देखाउन दिनभर जंगलमा गुलाफकली र लक्ष्मीकलीको टाउकोमा बसेर निर्देश गर्छन् । कहिलेकाँही धेरै थाकेका समय लखतरान परेको होस् अथवा ग्राहक नभएर दिनभरी खाली हुँदा उत्ताउलो बनेको समय किन नहोस् , सुनिल र ब्रम्हदेवले गुलाफकली र लक्ष्मीकलीलाई नजिकबाट चिनेका छन् । 

त्यसैले त यी दुवै हात्ती दुवैजनाका लागि एकअर्काको साथी बनेका छन् । गुलाफकली र लक्ष्मीकली पनि सुनिल र ब्रम्हदेवका कुनै कुरा अटेर गर्दैनन् । आफ्ना मालिकलाई फाट्टफुट्ट देख्ने गुलाफकली र लक्ष्मीकलीलाई लाग्छ सुनिल र ब्रम्हदेव नै आफ्ना सबैभन्दा नजिकका सारथी हुन् ।

दिनभरी थाकेर आएका बेला सुस्ताउने यो गोठको महत्व सायदै अरु कसैले बुझेको होला जति गुलाफकली र लक्ष्मीकलीले बुझेका छन् । हेर्दा जुम्ल्याहा जस्ता देखिन्छन् । शरीरको बनावट एकै जस्तो देखिने गुलाफकली र लक्ष्मीकली पनि एकअर्कासँग खुबै मिल्छन् तर उनीहरु जुम्ल्याहा भने होइनन् ।  

गुलाफकलीका माउते सुनिलको परिवार ठूलो छ। २ श्रीमती, ५ छोरा, एक छोरीसहितको परिवार पाल्न सुनिललाई यही गुलाफकलीको भरथेग छ । सुनिलले कान्छी श्रीमती सकिना खातुनको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् । सुनिलको चितवनको सौराहामा काम गरेको लामो इतिहास छ । उनी चितवन राष्ट्रिय निकुञ्जका हरेक साना साना कुराहरुसँग परिचित छन् । २४ वर्ष अगाडिबाट काम गरेका उनलाई हात्तीको सेवा गर्नु तथा उसको हरेक क्रियाकलापसँग जोडिनु दिनचर्या र बाध्यता हो । उनले गुलाफकलीसँग काम गरेको पनि ११ वर्ष बितिसकेको छ। गुलाफकलीले उनले भनेको जे कुरा पनि सहजै मान्ने र बुझ्ने भइसकेको छ । उनको सोच यो पेसा छाडेर विदेशीने छैन । 

एक महिनाको सुख्खा २६ हजार रुपैयाँ सुनिललाई मालिकले थमाउँने गरेका छन् । उनको मात्र कमाइ भने १० हजार हो । सुनिलको परिवार ठूलो भएपनि उनी हात्तीको माउतेबाट भएको कमाईमा खुसी नै भएको सुनाउँछन् । उनलाई यो पेसा छाडेर अर्काे पेसा गर्न मन छैन । रौतहट घर भएका उनी साहुका हात्तीलाई आफ्नो कमाइको मुख्य पेसा बनाएर परिवारलाई पालिरहेको कुरामा पछुतो मान्दैनन् । हात्तीको गोठ नजिकै कोठा लिएका उनले बच्चाहरुलाई बेलुका कोठामा पुर्याएर दम्पत्ती भने हात्तीको गोठ छेउमै भएको सानो टहरामा बस्छन् ।  

लक्ष्मीकलीको हेरचार भने ब्रह्मदेव चौधरीले गर्छन् । निकुञ्जसँगको ३६ वर्षे यात्रामा ब्रम्हदेवले धेरै कुरा देखेका छन् । उनी भन्छन्, ‘माउतेले हात्तीसँग काम गर्दा खुसी भएन भने पेट कसरी पाल्छ ? हामी मजदुर हो, हात्तीसँग काम गर्दा खुसी नै छौं । यो नहुनु भने हात मुख जोड्न समस्या हुन्छ । खानका लागि पनि गर्नैपर्छ ।’

चौधरीका दुई छोरी, एक छोरा र श्रीमती छन् । उनले चितवन निकुञ्जमै काम गरेर छोरीलाई डिग्रीसम्म पढाएका छन् । अन्य छोराछोरीको समेत पढाई राम्रो भएको उनी सुनाउँछन् । उनी भन्छन्, छोराछोरीलाई दुःख गरेर पढाएको छु । उनीहरुले जे पढ्छु, बन्छु भन्छन् , त्यो गर्न दिने सोच छ । सकेसम्म मेरो जस्तो दुःख उनीहरुले भोग्नु नपरोस् भनेर नानीहरुको पढाइमा ध्यान दिने गरेको छु ।’ 

दिनभरजसो जंगलको यात्रामा कहिलेकाँही न त शरीरले आराम पाउँछ न कि हात्तीले सुस्ताउन । जंगलमा पनि जंगली हात्तीको आक्रमणको त्रास उत्तिकै हुन्छ । कहिलेकाँही हात्ती र कहिलेकाँही आफैं विरामी भएपछि एकाध दिनहरु खाली नै बस्नु पर्ने बाध्यता ब्रम्हदेव र लक्ष्मीकलीमा छ । 

हात्तीको ठेगान हुँदैन, दुःख दिइरहन्छ

हात्तीको माउते हुन सजिलो भने छैन । कुन बेला के नमिल्दो हुन्छ सो बेला उसले दुःख दिइहाल्छ । घर पालुवा हात्ती भएपनि यसको कुनै ठेगान हुँदैन । बेसुर भएको बेला उपद्रो गरिहाल्छ । जंगलमा गएको बेला जंगली हात्तीसँग भेट भयो भने जुध्ने, कराउने र झगडासमेत गर्ने गर्छ । कुनै कुनै समयमा त माउतेले भनेको नमानेर आफ्नो खुसी गर्न पनि खोज्छ तर पनि माउते आत्तिनु नहुने सुनिलको भनाइ छ । भन्छन्, ‘मेरो पेसा यहि भएर होला डर तथा त्रास मान्न हुन्नँ । यसले नै आक्रमण गरेर मर्नु लेख्या रहेछ भने त के जान्नु तर मलाई यसले बदमास गर्दा पनि डर लाग्दैन । कहिलेकाँही जंगली हात्तीसँग मिसियो भने थकित बनाउँछ । सो बेला कराउँदै कराउँदै ल्याउँछु तर उसले मलाई केही गरेको छैन ।’

दिनभरी जंगल 
जब हात्तीमा चढेर चितवन राष्ट्रिय निकुञ्जको दृश्य अवलोकन गर्न आन्तरिक तथा बाहय पर्यटक आउँछन् तब सुनिलको मन खुसी हुने गर्छ । उनलाई हात्तीलाई लिएर मानिससँगै जंगल डुलाउन पाउँदा खुसी लाग्ने गर्छ । हात्तीमा चढेर निकुञ्जको दृृश्य हेर्न जानेले पनि एकदमै खुसी व्यक्त गर्ने गर्छन् । दिनभरी जंगल डुलाएर माउते र हात्ती पनि थाकेका हुन्छन् । कहिलेकाही त गुलाफकली दिनभरीको थकानले गर्दा बेलुका गोठमा आउनसमेत नसक्ने भएको हुन्छ । सुनिलका अनुसार महिनाको लगभग पुरै दिनजसो ऊ निकुञ्जमै पर्यटक घुमाउन व्यस्त हुन्छ । कहिलेकाही त दुवै हात्ती गलेर नुहाउनसमेत उभिन नसक्ने भएका हुन्छन् । सकिना खातुन भन्छिन्, ‘कहिलेकाही नगलेको बेला गुलाफकली मात्तिने गर्छ सो बेला हामी छेउ पर्नु हुँदैन, जंगलबाट आउने बित्तिकै आहारा तयार भएको थिएन भने पनि बदमास गर्न खोज्छ, ऊ मातिएको बेला म छेउ पर्दिनँ श्रीमानले कराएपछि ऊ केही शान्त हुने गर्छ ।’ 

सुरुमा डर लागेको थियो
ब्रम्हदेव चौधरीलाई भने सुरुमा हात्तीसँग काम गर्न डर लागेको  थियो । सुरुमा हात्ती चढ्दा तथा हिँड्दा यसले केही गरि पो हाल्छ की भन्ने लागेको उनी सुनाउँछन् । छेउमा जानसमेत हिचकिचाउने उनलाई हात्तीको दैनिक सेवा गर्न नसकिएला की भन्ने डर थियो तर पछि उनलाई यो सहज लाग्न थालेको छ । उनी भन्छन्, ‘डर लाग्दै लाग्दै हात्तीमा काम गरेको थिएँ । यसैले हानेर मार्ने पो हो कि भन्ने पनि लाग्थ्यो तर घरमा भएका हात्तीहरु मानिसभन्दा ज्ञानी हुने रहेछन् , अहिले त सहज लाग्छ । योसँग खेल्दा चल्न पाउँदा रमाइलो लाग्ने गर्छ।’

महँगीले गर्दा घर चलाउँन समस्या 
पछिल्लो समय महँगीले समस्या दिइरहेको छ । भान्साका खानेकुरा महँगो हुनाले समस्या परेको छ। साहुहरुसँग तलब बढाइदिन आग्रह गरिरहेका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ । साहुसँग कुरा गरेको छु, महँगीले बाँच्न गाह्रो भो भनेर कुरासमेत राखेका छौं। उनीहरु सुनाउँछन्, ‘महँगी नभए त जसो तसो चलेको थियो अहिले त बाँच्न मुस्किल होला जस्तो भएको छ। बाल बच्चाको पठन पाठन तथा घर खर्चले गर्दा अहिले हम्मे हम्मे पर्ने स्थिति छ।'

यो भन्दा राम्रो जागीर खाने रहर त छ नी...
हात्तीको काम गर्ने भनेजस्तो सजिलो छैन् । किनकी हात्ती कुन बेला मातिन्छ, अनि कुन बेला जंगली हात्तीको आक्रमणमा पर्छ थाहा नै हुन्न । देवान र चौधरीलाई पनि यो भन्दा राम्रो इलम गर्ने रहर भने नभएको होइन। तर सामान्य साक्षर तथा सुरुदेखिकै जानेको पेसा भएका कारण उनीहरु यो पेसामा खुसी हुनु परेको छ । चौधरी दुःखेसो गर्दै भन्छन्, ‘मनमा यो भन्दा राम्रो जागीर गरौं भन्ने लागेको छ। तर भनेको जस्तो हुँदैन, हामी मजदुर हो काम गर्नु पर्छ। तर छोराछोरीलाई भने पढाएर राम्रो इलममा लगाउने सोच छ ।’ 

एक महिनाको सुख्खा २६ हजार रुपैयाँ सुनिललाई मालिकले थमाउँने गरेका छन् । उनको मात्र कमाइ भने १० हजार हो । सुनिलको परिवार ठूलो भएपनि उनी हात्तीको माउतेबाट भएको कमाईमा खुसी नै भएको सुनाउँछन् ।

यता देवानको पनि सपना नानीबाबुलाई राम्रो पढाएर आधुनिक तथा सहज पेसामा लैजाने छ । तर आफूले गरेको पेसालाई उनीहरुले निरन्तरता दिएपनि आधुनिक तरिकाले गर्ने सोचाइमा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘काम सानोतिनो हुँदैन, मानिसले कुन कामलाई कस्तो नजरले हेर्छ, त्यो उसको कुरा हो । मानिसहरुले हामीलाई यो त हात्ती गोठालो त हो नी भन्ने गरेका पनि छन् । तर काम सानोठूलो हुँदैन, हामीहरु यो पेसालाई सम्मान तथा गर्व गर्ने गर्छौं । हाम्रा बालबच्चाले यो पेसा गरेपनि आधुनिक तरिकाले गरुन् भन्ने लागेको छ ।’ उनी थप्छन्, ‘हामीलाई पनि यो भन्दा राम्रो काम गर्ने रहर नभएको भने होइन ।’

जंगलमा घाँस काट्दा डर हुन्छ...
हात्तीका लागि जंगलमा घाँस काट्न जानुपर्ने हुन्छ। घाँसका लागि जंगल जाँदा जंगली जनावरको आक्रमणबाट पटक पटक घाइते भएको उनीहरु सुनाउँछन् । जंगली जनावरको आक्रमणमा परेर धेरै पटक यहाँका माउतेहरु पीडामा परेको उनीहरुको भनाइ छ । चौधरी भन्छन्, ‘घाँस काट्न जाँदा सामुहिकरुपमा जाने गरेका छौं । जंगली जनावरको आक्रमण पटक पटक सहनु परेको छ। तर पनि कामका लागि जानै पर्छ ।’ एकल जंगल जान सकिँदैन । यता देवान पनि घाँसका लागि जंगल जाँदा जंगली हात्ती, बाघ, तथा भालु लगायतका जनावरको आक्रमणमा धेरै पटक परेको सुनाउँछन् ।  

३० वटा हात्तीलाई पर्यटक घुमाउन भ्याइनभ्याइ ...
चितवन राष्ट्रिय निकुञ्जमा अहिले व्यवसायका रुपमा ३० वटा हात्तीले अनुमति पाएका छन् । पर्यटकको चाप भएको बेला ३० वटा हात्तीलाई पर्यटक घुमाउँन भ्याइनभ्याइ हुन्छ। अधिकांश विदेशी पर्यटकहरु हात्तीमा चढेर निकुञ्जको अवलोकन गर्न रुचाउने कारण यहाँ हात्ती पर्यटकको रोजाइमा पर्ने गर्छन् । 

हात्तीमा चढ्नका लागि बिहान ६ बजेबाट टिप हुने गर्छ । टिपको पनि अफ्नो आफ्नो समय तालिका छ । सो समयको निर्धारण हात्ती चढ्न जाने मानिसले तिरेको पैसाको अवस्था अनुसार हुने गर्छ । होटल मार्फत साहुले कन्ट्याक गरेर निकुञ्जमा मानिस लिएर जानु भनेपछि उनीहरु हात्ती लिएर मानिस घुमाउँन जाने गर्छन् । मानिसहरु घुमेबापत आएको पैसाबारे उनीहरुलाई जानकारी हुँदैन। होटलबाट सिधै साहुलाई जाने गर्छ। माउतेको भने तलब र खुसी भएर पर्यटकले दिएको बक्सिस मात्र उनीहरुको हुन्छ। 

निगरानी

प्रकाशित: १ असार २०७९ ०९:५३ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी