युके जाने तयारीमा थिइन् श्रीमती, परिवारको हत्यापछि दिनेशले आत्महत्या गरेको आशंका

युके जाने तयारीमा थिइन् श्रीमती, परिवारको हत्यापछि दिनेशले आत्महत्या गरेको आशंका


राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा मृतावस्थामा फेला परेकामध्ये श्रीमती सुनिता पाण्डे दुई दिनपछि बेलायत (युके) जाने तयारीमा रहेको पाइएको छ । 

घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको बताए । घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको र घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिएको उनले बताए ।  मेयर महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको पनि बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । घटनास्थलबाट चक्कु बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको छ ।  मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । 

दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा बढि स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको पुर्ख्यौली घर गोरखा भए पनि अहिले त्यही घर बनाएर बस्दै आएका थिए ।  

उनीहरूको छोराछोरी विद्यालय जाने बेलामा पनि बाहिर ननिस्केपछि स्थानीयले ढोका फोडेर हेरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप रहस्य खुल्न बाँकी रहेको जनाइएको छ। 
 

Skip This
Logo