के नेपालमा शिक्षाको नाममा व्यापार मात्रै भइरहेको छ ?

के नेपालमा शिक्षाको नाममा व्यापार मात्रै भइरहेको छ ?


कुनै पनि समाज/मुलुकको लागि शिक्षाको सम्बन्ध भनेको विकाससँग जोडिएको हुन्छ । अझ विशेष गरेर अल्पविकसित देशहरुका लागि त शिक्षा झनै अपरिर्हाय विषय हो । जसले शिक्षा क्षेत्रको विकासका लागि बर्सेनि अरबौैं बजेट विनियोजन गरिन्छ । त्यसमा पनि लगानी गर्नेमा सरकार मात्रै नभएर शिक्षक, विद्यार्थी र अभिभावकहरु पनि उत्तिकै लागि परेका हुन्छन् । तर, गुणस्तरीय अध्ययन, सिकाई, व्यवस्थापन र उपयुक्त नीति नहुँदा शिक्षा क्षेत्रको गुणस्तर भने टिठलाग्दो बन्दै गइरहेको छ । 

तर, के खस्किँदै गएको शिक्षाको गुणस्तर वृद्धि गर्न त्यति नै पर्याप्त छ त ? छैन, किनभने कक्षा १२ को यो वर्षको नतिजामा कुल विद्यार्थी संख्याको ४८ प्रतिशत मात्रै उतिर्ण भएका छन् । ५२ प्रतिशत विद्यार्थी विश्वविद्यालय तह अर्थात् स्नातक तहमा भर्ना नै हुन नपाउने भएका छन् । अनिवार्य विषयहरुमा अनुतिर्ण हुनु सबैभन्दा धेरै दुखद पक्ष हो । जबकी ती विषय विद्यार्थीले प्राथमिक तहबाटै अध्ययन गर्दै आइरहेका हुन्छन् । 

कक्षा १२ को यो वर्षको नतिजाले एउटा प्रश्न उब्जाएको छ, यहाँ फेल भएका विद्यार्थी कि शिक्षक ? शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्- ‘अनिवार्य विषयमा सम्म पास हुन नसक्नु भनेको ग्रेडिङ सिस्टमले फेल हुँदैन भनेर दिएको सन्देशको परिणाम हो ।’

शिक्षा मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको २०७८ को तथ्याङ्कका अनुसार कक्षा १० सम्म विद्यार्थी भर्नादर ६६.१ प्रतिशत छ । तर कक्षा १२ सम्म पुग्दा उक्त संख्या घटेर ३३.१ प्रतिशतमा सीमित हुन्छ । जसले गर्दा विद्यार्थीमा प्रतिस्पर्धाको दर स्वतः कम भएर जान्छ । कक्षा बढ्दै जाँदा विद्यार्थी संख्या घट्दै जानु किञ्चित सही हैन तर घट्दोे विद्यार्थी भर्नादरबारे लेखाजोखा कसले र कसरी गर्ने ? किन उनीहरुले माथिल्लो कक्षा अध्ययन गर्दैनन् ? कहाँ जान्छन् यतिका धेरै विद्यार्थी ? उत्तर कसले दिने ?

विद्यार्थी भर्ना दर कम हुनुको प्रमुख कारण विद्यार्थीमा पढ्ने इच्छा नहुनु रहेको शिक्षाविद् कोइरालाको बुझाइ छ । त्यसमा पनि हाम्रो शिक्षा प्रणाली प्रयोगात्मक छैन । किताबी ज्ञान अझ भनौं घोकन्ते विद्याका कारण शैक्षिक सिकाइ र बुझाईमा कमी आइरहेको छ । शिक्षाको गुणस्तर वृद्धिको महत्वपुर्ण पाटो पाठ्यक्रम मात्रै नभएर प्रयोगात्मक सिकाई पनि हो । त्यसमा पनि विद्यार्थी आफैले नयाँ नयाँ विषयमा रुची राख्छन् । आफुले चाहेको क्षेत्रमा अनुसन्धान गरिरहेका हुन्छन् । अब यस्तोमा किताबी ज्ञान मात्रै दिनु कतिको उपयुक्त होला ? कोइराला भन्छन्- ‘विद्यार्थीसँगै शिक्षकलाई पनि सिकाउ । प्रयोगात्मक शिक्षामा जोड देउ । तब मात्रै शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिन्छ । होइन भने शिक्षाको नाममा व्यापार बाहेक अरु केही हुन्न ।’ 

हरेक कक्षामा विद्यार्थीको संख्या घट्नुको मूख्य कारण हो, भइरहेको शिक्षाप्रति विश्वास नहुनु अर्थात् कमाउनतर्फ लाग्नु । शिक्षाको गुणस्तर भनेको प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी हो । र विद्यार्थीले त्यो तब प्राप्त गर्छन् जब विद्यालयमा मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक गरेर बिभिन्न चरणमा परीक्षा सञ्चालन हुन्छन् । जसले विद्यार्थीमा खोज गर्ने उत्सुक्ता सँगै उनीहरुको सृजनशिलतामा उर्जा थपेको हुन्छ । तर यो प्रक्रियालाई अहिलकोे गे्रडिङ सिस्टमले मृत जस्तै बनाइदिएको छ । फेल भइन्न भन्ने मानसिकता विद्यार्थीमा विकिसित भएसँगै परीक्षाको मुखमा भए पनि पढ्ने बानी हराउँदै गएको छ । 

त्यसो त अहिलेको शिक्षा प्रणाली प्रश्नको घेरामा हुनुको कारण पनि स्पष्ट पठन संस्कृति नहुनु नै हो । त्यसमा पनि विषयगत शिक्षाको अभावलाई ख्यालै नगरी परिक्षामुखी मात्रै बनाइएको शिक्षा प्रणाली । जसले एउटै शिक्षा प्रणाली भएपनि राजधानी र सुदुरपश्चिमका विद्यार्थीको पढाईमा फरक नै बुझ्न सक्दैन । जबकी शहरी क्षेत्रमा कक्षा सञ्चालन हुनु अघि नै विद्यालयमा पुग्ने पुस्तक दुरदराजका विद्यार्थीले शैक्षिक सत्र सकिनै लाग्दा पनि पाउँदैनन् । यो नेपालको शैक्षिक क्षेत्रको उपहास हो । गुणस्तर बढाउने होडबाजीमा गरिएको निजीकरण र व्यापरिकरणले शिक्षाको गुणस्तरमा वृद्धि नहुनेमा कोइराला ढुक्क देखिन्छन् । उनी भन्छन्- ‘सरकारी निकायले नै विद्यार्थीलाई पढ्ने सँगै कमाउने सम्भावना पनि देखाउन पर्छ।’ शिक्षाकै गुणस्तर वृद्धि गर्न भनेर अर्बौं लगानी गरिए पनि त्यसले दिने परिणाम भने उल्लेख्य नहुनु महादुखद् छ । 
 

Skip This
Logo