1
0
Shares

स्काउटिङ शिक्षा के हो र किन आवश्यक छ ?

1
1
1

स्काउट परिचय
सेवा, विनम्रता, आज्ञाकारिता, एकता र विश्वसनियतालाई बोकेर व्यक्ति, समाज र राष्ट्र हुँदै अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने क्षमता राख्ने व्यक्ति नै हो स्काउट । हरियो सर्ट र हरियो सारी वा फ्रक लगाएका युवा तथा बालिका स्काउट र खरानी रङको सर्ट र पेन्ट लगाएका बालक तथा युवा स्काउटलाई हामीले विभिन्न सामाजिक काममा निरन्तर लागिरहेको पाउने समूह नै हो नेपाल स्काउट । एउटै पहिरनमा सजिएर एकतामूलक रुपमा राष्ट्रमा आइपरेका विभिन्न विपद्को सामना गर्नसम्म नेपाल स्काउट तत्पर रहँदै आएको छ । अन्तर्राष्ट्रिय समुदायसम्म पुगेर युवा तथा बालबालिकाले आफ्नो ज्ञान, सीप र क्षमतालाई प्रदर्शन गर्दै ‘सुन्दर विश्वको सिर्जनाका लागि’ अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रको नाम उचो पार्न सक्ने महत्वपूर्ण थलो नेपाल स्काउट बन्दै गएको छ भन्दा कुनै फरक नपर्ला । 

एउटै पहिरनमा सजिएर एकतामूलक रुपमा राष्ट्रमा आइपरेका विभिन्न विपद्को सामना गर्नसम्म नेपाल स्काउट तत्पर रहँदै आएको छ ।

विश्वमा स्काउटिङ शिक्षा 
सन् १९०७ मा लर्ड बेडेन पावेलले २० जना युवा स्काउटलाई साथमा लिएर सुरु गरेको यो युवा शैक्षिक अभियान आज विश्वका २१६ राष्ट्रमा फैलिसकेको छ । यस अभियानमा विश्वका ३१ मिलियन बढी  सक्रिय सदस्य रहेका छन् । सन् १९४० मा लर्ड वेडेन पावेलले आफ्नो मृत्यु अगाडि आफ्ना अनुयायीहरुलाई सधैं यो भनाइलाई याद गर्न भनेका थिए ‘Try and leave This World a little better then you found it, आज पनि विश्वका सम्पूर्ण स्काउटका गतिविधिहरु यही भनाइका वरिपरि केन्द्रित भएर गरिएको पाइन्छ। 

वि.सं.२००९ सालमा नेपाल स्काउटको स्थापना भए पनि यसले विश्व स्काउटको विधिवत पूर्ण सदस्यता भने विसं २०२६ सालमा मात्र प्राप्त गरेको हो ।

नेपालमा स्काउटिङ शिक्षाको सुरुवात र विकास 
नेपालमा प्रजातन्त्रको आगमन लगत्तै वि.सं २००९ साल असार ५ गते राजा त्रिभुवन वीरविक्रम शाहदेवले नेपाल स्काउटको विधिवत रुपमा उद्घाटन गरेका हुन् । वि.सं.२००९ सालमा नेपाल स्काउटको स्थापना भए पनि यसले विश्व स्काउटको विधिवत पूर्ण सदस्यता भने विसं २०२६ सालमा मात्र प्राप्त गरेको हो । विसं २०३२ सालमा नेपाल स्काउटले युवा कार्यक्रम नीति तय गर्यो र उक्त नीतिकै माध्यमबाट स्काउटिङ गतिविधिलाई निरन्तरता दिइएको पाइन्छ । उक्त नीतिमा ६ वर्षदेखि २५ वर्षसम्मका युवालाई स्काउटिङ शिक्षाका विभिन्न तहमा वर्गीकरण गरेर स्काउटिङ गतिविधिमा समावेश गर्न सकिने उल्लेख गरिएको छ।

नेपाल स्काउटले जारी गरेको युवा कार्यक्रम नीतिले शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक तथा आध्यात्मिक क्षेत्रबाट बालबालिका तथा युवामा शारीरिक स्वास्थ्य, बौद्धिक क्षमता, बाहिरी क्रियाकलाप, ह्याण्डिक्राफ्ट, गृहसेवा, सेवा तथा चरित्र निर्माण र सम्बन्धको विकासमा जोड दिने जनाइएको छ । युवा कार्यक्रम नीतिले निर्देश गरे अनुसारकै स्काउटिङ गतिविधिका कारण स्काउटिङ शिक्षामा रहेका बालबालिका तथा युवा साधारण बालबालिका तथा युवा भन्दा फरक रहेको तपाईं हामीले भेट्दै र अनुभव गर्दै आइरहेका छौं ।

नेपालका बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुपको अभियानमा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरुलाई अनुशासित स्वाबलम्बी र चरित्रवान् बनाइ सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई बढी सक्षम र संगठित बनाउने उद्देश्यले नेपाल स्काउट ऐन २०५० कार्यान्वयनमा रहेको छ ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना अनुसार युवा राष्ट्रिय परिवर्तनका संवाहक हुन् । नेपालको राजनीति र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएका युवा जगतले सन् २०१५ को भूकम्पपछि उद्धार, राहत र अस्थायी पुनस्थापनामा देखाएको स्वयंसेवकीय भूमिका अतुलनीय रहेको उल्लेख छ भने देश निर्माणका लागि आगामी दिनमा युवाको भूमिका अझ बढ्दै जाने कुराको निश्चितता समेत उक्त कार्ययोजनाले गरेको छ । 

राष्ट्रिय युवा नीति २०१५ ले युवा विकासका लक्ष्य, उद्देश्यहरु र नीतिहरु तय गरिसकेको छ । युवा नीति २०१५ कै मार्ग निर्देशनमा रही युथ भिजन २०२५ ले नेपाली युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरुको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकास मार्फत आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण भएको हुने भन्ने सोच तय गरेको छ । युवाका लागि गुणस्तरीय शिक्षा, रोजगारी र उद्यमशीलता, युवाको स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास, खेल र मनोरञ्जनलाई आधार मानी ५ खम्बे रणनीति र कार्यक्रमहरु तय गरेको छ । यी युवा केन्द्रित रणनीतिहरु हेर्दा स्काउटिङ शिक्षा र गतिविधिसँग शतप्रतिशत मेल खाने देखिन्छ । 

नेपालको राजनीति र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएका युवा जगतले सन् २०१५ को भूकम्पपछि उद्धार, राहत र अस्थायी पुनस्थापनामा देखाएको स्वयंसेवकीय भूमिका अतुलनीय रहेको उल्लेख छ ।

तसर्थ, ६ वर्ष देखि २५ वर्षसम्मको उमेर समूहलाई युवा वर्गका रुपमा नेपाल स्काउटले लिँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ को सुरुवाती चरणमा हामी रहँदै गर्दा यतिबेला प्लस टु कलेजहरुमा एसइइ उत्तीर्ण भएका विद्यार्थीहरुलाई भर्ना गराउने चटारो छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु उमेर र भावनाका हिसाबले अति नै संवेदनशील अवस्थामा रहने हुँदा प्रत्येक प्लस टु कलेजले विद्यार्थीको कोकरिकुलम एक्टिभिटिमा स्काउटिङ शिक्षा समावेश गर्नु आवश्यक देखिन्छ ।  

नेपाल स्काउटको मिसन र भिजन 

विश्व स्काउटको सिद्धान्तमा आधारित रहेर युवा विद्यार्थीलाई विभिन्न स्काउटिङ एक्टिभिटिका माध्यमबाट जिम्मेवार नागरिक तयार गर्नु नै नेपाल स्काउटको मुख्य उद्देश्य हो । सन् २०३२ सम्ममा ७ लाख युवा सदस्य निर्माण गरी उनीहरुलाई स्काउटिङ एक्टिभिटिका माध्यमबाट आत्मनिर्भर, प्रतिस्पर्धी बनाई राज्यका नेतृत्वदायी भूमिकामा सक्रिय गराउने परिकल्पना नेपाल स्काउटले गरेको छ । करिब ६५ हजार सक्रिय युवा स्काउट रहेकोे अनुशासित र मर्यादित एक मात्र सामाजिक संगठन हो नेपाल स्काउट भन्दा फरक नपर्ला । 

बजेटमा नेपाल स्काउट 
सरकारको बजेट वितरणमा नेपाल स्काउट कुन अवस्थामा रह्यो भन्ने कुरालाई पछिल्ला तीन आर्थिक वर्षलाई आधार वर्ष मानेर यहाँ विश्लेषण गर्न खोजिएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्ने नेपाल स्काउटको बजेटकोे आँकडालाई हेर्ने हो भने वार्षिक बजेट घट्दो क्रममा रहेको देखिन्छ । 

माथिको तथ्यांकलाई हेर्दा संक्रमणकालिन आर्थिक अवस्थाका कारणले पनि संघीय बजेटको आकार खुम्चिएको अनुमान गर्न सकिन्छ । यसको प्रत्यक्ष असर तिनका मातहतका निकायमा पर्न जान्छ । त्यसै अनुरुप नेपाल स्काउटको पनि बजेटको आकार खुम्चिएको हुन सक्नेमा कुनै आशंका छैन । 

निष्कर्ष 
सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई प्राप्त गराउने बलियो खम्बा भनेकै युवा वर्ग हुन् । उनीहरुलाई औपचारिक शिक्षा दिँदै गर्दा ६ वर्षको कलिलो उमेरदेखि नै नेतृत्वदायी भूमिकामा ल्याउने स्काउटिङ शिक्षामा समावेश गराउँदै उत्तरदायी र जवाफदेही नागरिकको उत्पादन नै आजको आवश्यकता हुन जान्छ । यसका लागि नेपाल सरकार, नेपाल स्काउट र सम्बन्धित सरोकारवालाले सहकार्य गरेर नेपाल स्काउटका कार्यक्रमलाई सशक्त ढंगले विद्यार्थी र युवाका बीचमा लग्नुपर्ने देखिन्छ ।  

(लेखक गंगा चौलागाई,नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षकको प्रक्रियामा हुनुहुन्छ )

प्रकाशित: ८ साउन २०८० १९:०३ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी