ओपेड

सन्दर्भ १०६ औं जन्मजयन्ती : आज पनि नेपाली राजनीतिमा गणेशमानको आवश्यकता उत्तिकै (भिडियाे)

15 Shares

काठमाडौं ।

नेपाली राजनीतिमा लौहपुरुषको उपनाम पाएका नेता गणेशमान सिंहको आज १०६ औं जन्मजयन्ती हो । उनको जन्म वि.सं.१९७२ कात्तिक २४ गते भएको थियो ।

गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी । काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए । भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रबास जानु अघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो ।

भिडियाे :

विसं.२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूद्ध सक्रिय रहे ।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ०३९ सालमा बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायतबिरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । पार्टीभित्र कुनै पनि पदको लोभ नभएका निडर र हक्की स्वभावले गणेशमान सधैं सबैका प्रिय बने । जीवनको उतरार्धतिर उनी पार्टीबाट केही असन्तुष्ट रहँदै पार्टीका कुनै पनि भूमिकामा रहन चाहेनन् । उनको निधन ०५४ असोज २ गते भएको थियो । उनका छोरा प्रकाशमान सिंह अहिले नेपाली काँग्रेसमा उपसभापति छन् ।

गणेशमान सिंह बितेर गए पनि नेपाली राजनीतिमा उनको अहिले पनि उत्तिकै आवश्यकता छ । उनको अभाव पुरा हुने निडर नेताहरु शायदै पाइन्छ ।

गणेशमानको सफलतामा मंगलादेवी सिंहको भूमिका

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौंको न्हैकन्तलामा भएको हो । वि.सं. १९९७ असार महिनामा उनको विवाह गणेशमान सिंहसँग भयो । वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानियाँ राणाशासन विरोधी आन्दोलनमा सक्रिय भइन् । २००४ सालमा उनी काठमाडौं म्हैपीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहिन् ।

विसं २००५ सालमा पद्मशमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उनी महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुगेकी थिइन् । सिंहले २००७ सालको क्रान्तिमा पनि ठूलो भूमिका निर्वाह गरिन् । श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो । २०२५ सालपछि ८ वर्ष प्रवासमा रहिन् ।

२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उनी सक्रिय रहेकी थिइन् । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन् । उनले नारी संघर्षका पाइलाहरू’ नामक संस्मरणात्मक पुस्तक लेखेकी छिन् । २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भएको थियो । उनकै सहयोग र त्यागले गणेशमानले राजनीतिक सफलता पाएका थिए ।

आजदेखि स्वास्थ्य सामग्री वितरण र जनचेतना अभियान चलाइने

गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गणेशमान जयन्तीको अवसर पारेर आजदेखि पहिलो चरणमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा कोरोना लक्षित स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला सरकार पिसिआर परीक्षणबाट समेत पन्छिएकाले पहिलो चरणमा क्षेत्र नं ८ का नागरिक लक्षित अक्सिमिटर, मास्क लगायत औषधि वितरणसँगै जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । स्वास्थ्य सामग्री वितरणसँगै चिकित्सकीय परामर्शसमेत दिइने जनाइएको छ । बिहान, दिउँसो र बेलुका तीन समूहमा चिकित्सकीय परामर्श उपलब्ध गराउन मोबाइल नम्बरसमेत सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको वडा नं. १३, १५, १९, २०, २३ र २४ एवं नागार्जुन नगरपालिका क्षेत्र नं ८ मा पर्छ । भोकालाई खाना खुवाउनेलाई समेत लखेटेर काठमाडौँ महानगरपालिकाले न्यूनतम मानवीय संवेदनासमेत देखाउन नसकेको नेता जोशीको आरोप छ ।

कोरोनाको महामारी शुरु भएको नौ महिना बितिसक्दा पनि सरकार नियन्त्रणमा कुनै काम नगरी आन्तरिक द्वन्द्वमा फसेको उनले बताए । जनचेतनामूलक अभियानसँगै काठमाडौँ क्षेत्र नं ८ लाई पूर्णरूपमा सही तरिकाले मास्क प्रयोग गर्ने क्षेत्रका रूपमा स्थापित गरिने लक्ष्य पनि प्रतिष्ठानले लिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका अध्यक्ष जोशीले बताए ।

यसैबीच मौसम परिवर्तनसँगै सचेत रहनु पर्नेमा जनस्वास्थ्यविद्ले जोड दिएका छन् । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले चिसो बढेसँगै मङ्सिर, पुस र माघ महिनामा सङ्क्रमण बढ्ने भएकाले सुरक्षितरूपमा बस्न आह्वान गरेका छन् । स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा सुधा शर्माले यस वर्षको तिहार, नेपाल संवत्, छठ लगायत पर्व मनाउँदा सचेत हुनुपर्ने बताइन् । दूरी कायम गरी मास्क लगाएर मात्र सांस्कृतिक परम्परालाई निरन्तरता दिनु पर्ने उनको सुझाव छ ।

प्रकाशित: २४ कार्तिक २०७७ ०७:२९ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी