ओपेड

धर्म-संस्कृतिको विरोध गर्नु कम्युनिस्ट हुनु हो ?

15 Shares

धर्मका नाममा लादिने पश्चिमा शैलीले महान् दार्शनिक कार्ल माक्सलाई सोचमग्न बनाएको हुँदो हो । पश्चिमा समाजमा जबर्जस्ती धर्म मान्न लगाइएका घटना दर्दनाक थिए । कतिपय धर्मभिरुका कारण माक्सले धर्ममा भएको शोषणलाई हेरे हाेलान् । अध्यात्म र भौतिकविज्ञानको व्याख्या उनको भोगाइ र त्यहाँको परिवेशमैत्री अनुभव पनि हो ।धर्मले उल्लासभन्दा बढी शोषणको दर बढाउँदा त्यहाँ पैसामुखी सोचले प्रभुत्व जमाएको हुँदो हो अर्थात् त्यसले उनलाई साँच्चै भौतिकवादी बनाएको हुँदो हो । कम्युनिजम पद्धतिले धर्मलाई मान्नु हुँदैन भन्नुको अर्थ समाजले हर्षोल्लासका साथ मनाइरहेको धर्मको विरोध गर्नु पनि त नहोला । पश्चिमी धार्मिक शोषणलाई नियालेका दार्शनिक माक्सले यदि हाम्रो जस्तो सामाजिक एकतालाई हेर्न पाएका भए उनको व्याख्यामा अर्को नौलो रूप आउन सक्थ्यो होला ।

माक्सवाद र धर्म त आपसमा विरोधी विषय नै हुन् तर ‘धर्म मान्नु भनेको सामन्ती सोच हो’ भन्नेहरूले नेपालमा चाहिँ केवल धर्म र संस्कृतिका केही विषयका नकारात्मक पक्षलाई मात्रै समातेर रोइलो मच्चाएका हुन् । यो अरूभन्दा अलग्गै अनि चोखो माक्सवादी बनेर पहिचान बसाउने एउटा ढोङ मात्रै हो ।नेपालमा माक्सवादी हौँ भनेर संस्कृत विद्यालयका पुस्तकालयमा आगो लगाउने नेतृत्व पनि नेपाली संस्कृतिकै कोखको नुनपानी खाएर हुर्केका हुन् त्यसैले तिनको व्याख्याले व्यवहारसँग कतै पनि सामीप्यता गाँस्दैन । वेद, त्रिपिटक, मुन्धुमलाई नपढ्ने अनि पश्चिमाको व्याख्या गरेर पूर्वलाई दोष मात्रै थोपर्ने सोचले हामी एकाङ्की व्याख्यामा एकोहोरो हुँदै गइरहेका छौँ कि !

वर्गीय विभेदको व्याख्या गर्ने र खाटी कम्युनिस्ट हौँ भन्नेहरूले अरूबेला पाएसम्म खादा र टीका लगाएर सम्मान ग्रहण गर्छन् तर चाडबाड आएपछि तिनैले दसैँतिहारको विरोध गरेको देखिन्छ । तिनले जनताका बिचमा मञ्चमाथि अग्ला आसनमा विराजमान हुनुलाई कत्ति पनि माक्र्सवाद विरोधी मान्दैनन् । आपूm माक्र्सवादको चर्चा गरेर समाजवाददेखि साम्यवादसम्मका सिद्धान्त पस्कन्छन् । ‘हाम्रा कुसंस्कार छोडौँ, मानवता रोजौँ’ भन्नु भन्दा बढी कसैलाई उचाल्छन् अनि कसैलाई होच्याउनसम्म होच्याएपछि यसो फकाउने धृष्टता गर्छन् । सकेसम्म आफ्नो भोट तान्नका लागि फाइदा हुने मनोविज्ञान वा कीर्तिको बढावालाई मस्तिष्कमा राख्नु तिनको अभिष्ट हुन्छ ।

माक्सवाद र धर्म त आपसमा विरोधी विषय नै हुन् तर ‘धर्म मान्नु भनेको सामन्ती सोच हो’ भन्नेहरूले नेपालमा चाहिँ केवल धर्म र संस्कृतिका केही विषयका नकारात्मक पक्षलाई मात्रै समातेर रोइलो मच्चाएका हुन् ।

हो, धर्मका नाममा ठग्ने, बडप्पन देखाउने कुसंस्कारले ‘धनीलाई दसैँ अनि गरिबलाई दशा’ भइरहेको छ । यो सोचले विकृति बढाएको यथार्थलाई भुल्न मिल्दैन । तथापि, धर्म–संस्कृति नै अनावश्यक भन्नुले ‘राम्रो के हो र किन’ अनि ‘भौतिक प्रगतिले कति खुशी दिन्छ’ भनेर बुझ्नु नितान्त आवश्यक छ । यसको अर्थ भौतिक उन्नति बिर्सनुपर्छ भन्ने कदापि होइन । जन्मदिनमा चुच्चे टोपी लाएर केक काट्ने पद्धतिभित्र विकृति भयो भन्नु पक्कै सान्दर्भिक होला । अझ मुखमा खाने केक अनुहारमा दलेर कुरूप भएका दृश्यले ‘जन्मदिन कि बर्थ डे’ भन्ने भान हुन्छ । बत्ती बालेर उज्यालो चाहने सुखान्तवादी अनि सत्यको जित चाहने हामीले पश्चिमाले बत्ती निभाएको देखेर निभाउने कुराकै सिको गर्दछौँ । यहाँसम्म गएर गरिएका व्याख्यामा अर्थात् विकृति नियन्त्रणका कुरामा चाहिँ पक्कै तुक रहला तर नेपाली मौलिक धर्म–संस्कृतिविहीन समाजको परिकल्पनालाई चाहिँ असामाजिक मान्नुपर्छ ।

हाम्रो संस्कृतिले समाजलाई अघोषित प्रेमको सत्यताले बाँधेको छ । यो सत्यता त माक्सले भन्ने गरेको साम्यवादभन्दा निकै बलियो हो । अर्थ राजनीति र धर्म राजनीति एकसाथ चल्ने समाजको संस्कृतिलाई मान्ने मात्रै होइन अझ गहिराइमा गएर बुझ्ने संस्कारको खाँचो छ । संस्कृतिलाई अपनाउने कम्युनिस्ट होइनन् भन्ने सोचले हाम्रो नेपाली अस्मिताभित्रका धरोहरलाई जलाउन निर्देश गर्दछ । हिजोका ज्ञान र मानवताको पवित्र मन्दिरलाई मास्न उद्यत तुल्याउँछ । मानवतावाद समाजको एउटा बन्धुत्ववादी र उल्लासमैत्री सिद्धान्त हो ।

भौतिक सम्पन्नताको एउटा स्तरमा पुगेपछि फेरि मान्छेले खुशीको खोजी गर्दै गर्दा यही नेपाली संस्कृतिको तहमा गएर सोचिरहेको कुरालाई मनन गर्नु आवश्यक देखिन्छ । यो मानवतावादी सुसंस्कृतिको उपज नै हो जुन कुरा सिक्न र सिकाउन पुस्तौँपुस्ताको अभ्यास आवश्यक हुन्छ ।

भौतिक सम्पन्नताको एउटा स्तरमा पुगेपछि फेरि मान्छेले खुशीको खोजी गर्दै गर्दा यही नेपाली संस्कृतिको तहमा गएर सोचिरहेको कुरालाई मनन गर्नु आवश्यक देखिन्छ ।

हाम्रो राजनीतिक सोचको विकारभित्र धर्म र दर्शनले पाउने स्थान र व्यवहार समाजको गतिभन्दा निक्कै अमिल्दो देखिन्छ । समाजवादको व्याख्याता स्वयम् आफूले कोट, पाइन्ट, सुट फेरिफेरि लगाउँछन् अनि गरिबका झुपडीका अघि गएर बहुलट्ठी भाषण गर्छन् । एकजना गरिबको झुपडीमा एक माना चामल दिँदैनन्, गाउँको बस्ती नै गरिबीले प्रताडित हुँदा नमुना बस्तीका बारेमा एकरति सोच्दैनन् अनि अझै   शोषण र दमनको गफ गरेर आफू भुजा ज्युनार गरिरहन्छन् । मान्छेलाई सम्पत्ति चाहिएको हो कि खुशी ? संस्कृति र मानिसको जीवनको अर्थमा आउने माक्सकै मान्यताको आत्मिक संस्कृतिको मूल्यलाई कसरी हेर्ने ? के जीवनको अर्थ पैसा हो या खुशी ? मान्छेले के चाहन्छ ? यदि मानिसले आफ्नो काम गर्छ, कसैलाई दुःख दिँदैन अनि पसिना बगाएर संस्कृतिका आधारमा ईश्वरका अघि नमन गर्दा आत्मिक सन्तुष्टि पाउँछ भने धर्मको विरोध गर्नुको कुनै तुक छ ? अर्थात्, अर्काको आस्था र विश्वास अनि खुशीमाथि सामन्ती संस्कारको आरोप लगाएर माक्सकै मान्यतामा हिँडे मात्रै कम्युनिजम हुन्छ भन्नुलाई स्वतन्त्रताको अधिकार हनन् गर्ने असामाजिक पद्धति भन्न मिल्दैन ? पश्चिमी परिवेशमा धर्मका नाममा लादिने पद्धति जति नराम्रो थियो । त्यसको परिणतिलाई माक्सको समय, काल र परिस्थितिले प्रभाव पारेको हुँदो हो । तर, हामीले माक्सका हुबहु सिद्धान्त बोकेर अन्ध व्याख्यामा लहसिनुभन्दा संस्कृतिभित्रका विकृतिलाई हटाउनतिर लाग्नु बढी सान्दर्भिक र युगसम्मत हुन्छ । किनकि, मानिसले पैसामा खुशीलाई किन्न सक्दैन ।

माक्सको मान्यता र दर्शन उनको कालखण्ड र तत्कालीन परिवेशको प्रभाव हो किनकि हाम्रो समाजले धर्मलाई जबर्जस्ती मान्नेभन्दा रमझमकै आधारबाट पनि अनुसरण गरिरहन्छ । नेपाली समाजमा विभिन्न चाडमा ईश्वरको पूजा हुँदा प्रकृतिको सम्मान हुन्छ । ‘चाडपर्व’ लाई मनाउने भनिन्छ र यो उत्सवकै रूपमा चलेको हुन्छ । मानिस धर्मको अनुसरणमा बाध्य हुन्छ र यो अफिमजस्तै हो भन्नुलाई हिजोको माक्सकै समय, देशकाल र अवस्थासँग गएर हेरिनुपर्छ । त्यो त सामूहिक स्वीकारोक्तिभित्र सजिएको कानुन हो । रुचिप्रद मानेर अपनाउन चाहने त्यस दर्शनलाई समाजको असल पद्धति मान्नुपर्छ । संस्कृतिको अर्थ नै संस्कारमैत्री हुने भएकाले यो परिवर्तनकारी हुन्छ । यसरी हेर्दा समाजले बाँधेको व्यवस्थामा स्वतन्त्रता र खुशी पनि हुन्छ । त्यसमा धर्म अनुसारको व्यवस्था हुन्छ तर तिनमा भएका विकृतिलाई सुधार गर्नु आवश्यक हुन्छ ।

अब फेरि सिद्धान्त र व्यवहारका कुरा गरौँ । के सर्वहारा वर्गको सम्बोधन गरेर बजारलाई राज्यद्वारा निर्देशित अर्थतन्त्रमा चलायमान गराउने समाजवादी मान्यतालाई हाम्रो मुलुकले स्वीकार गर्न सक्छ ? प्रजातान्त्रिक आर्थिक नीतिका बहसभित्र हामीले पुँजीवादलाई तोड्न सक्छौँ त ! के भौतिकवादको विकासले विभेदलाई अन्त्य गर्न सक्छ ? अलिक गम्भीर भएर सोच्दा–जुन दिन मानिसले यदि दिमागमा नै कम्प्युटरकै जसरी बुद्धिमत्तालाई भण्डारण गर्न सक्ने गरी वैज्ञानिक विकास गर्नेछ त्यसदिन सबैभन्दा बढी पुँजीवादी एकतन्त्रवादीले निरीह वर्गमाथि दमन गर्नेछन् । मानिसले जति धेरै विशिष्ट विज्ञानको विकास गर्दै जान्छ त्यति धेरै विपन्न र सम्पन्नको खाडललाई फरक तरिकाले जन्माइरहेको हुन्छ । एउटा सरल उदाहरणलाई मिहिन कोणबाट सोचौँ : मानौँ एउटा कार्यालयमा हाकिम र पियनलाई वा हाकिम र भान्सेलाई वा मालिक र ड्राइबरलाई एकसाथ कोरोना सङ्क्रमण भयो । धेरैले हाकिमसहित पियन वा भान्से वा ड्राइबरलाई पनि राम्ररी चिन्छन् तर फेसबुकमा धेरैले केवल हाकिम वा मालिकको मात्रै फोटो राखेर ‘शिघ्र स्वास्थ्यलाभको कामना’ भन्छन् । यो संस्कारलाई माक्र्सवादी हुँ भन्नेले कसरी स्वीकार गर्ला ?

यदि तपाईँ सामान्य मान्छे हुनुहुन्छ र कुनै सरकारी अफिसमा तपाईँ सामान्य पहिरनमा हुनुहुन्छ भने सुकिलो मुकिलो र धनी देखिने मान्छेले जुन सम्मान वा सेवामा प्रश्रय पाउँछ त्यसरी तपाईँले किन पाउनुहुन्न ? यो अद्यापि चोकचोकमा, कुनाकुनामा मान्छेले भोगेका यथार्थ दशा हुन् । ठूला ओहोदामा हुनेले सानावालालाई हेप्छ, कार चढ्नेले बाइक चढ्नेलाई फरक व्यवहार गर्छ, ठूलो लेखकले सानालाई तिरस्कार गर्छ अनि पाठक पनि ठूला मान्छेका सामान्य कुरालाई जति मूल्य दिन्छन् त्यसरी सामान्य लेखकका गहन विषयलाई पनि प्रश्रय दिन सक्दैन ।

उल्लेखित सन्दर्भ सांस्कृतिक आधारमा हेरिने सबाल्टर्न (व्यक्ति वा समाजको सांस्कृतिक व्यवहार र क्रियाकलापसँग शक्तिको प्रत्यक्ष प्रभाव हुन्छ भन्ने सिद्धान्त आधार) को अवधारणासँग मिल्न जान्छ । यसले आवाजविहीन, किनारीकृत, पहुँचविहीन अर्थात् भुइँमान्छेका आवाजलाई सम्बोधन गर्न वा बाहिर ल्याउन चाहन्छ । सुगमले दुर्गमलाई हेर्ने आँखा र स्तरगत वर्गीकरणका विषयलाई माक्र्सवादभन्दा अझै मिहिन धारमा सबाल्टर्नको मान्यता अघि सरेको हुन्छ जसलाई नवमाक्सवादी (राजनीतिक क्रान्तिभन्दा मनोवैज्ञानिक स्वतन्त्रतामा जोड दिई वर्ग निरपेक्ष मानवतावाद र आदर्शवादलाई प्रश्रय दिने भनिएको तर पछि उही माक्सवादी दर्शनमा आधारित नयाँ ढर्राको आरोप खेपेको वाद) ले उठाएको देखिन्छ । तसर्थ, व्यवहारिक समाजवाद पछिल्लो नेपाली संस्कारमा जति निरङ्कुश छ त्यो भन्दा धेरै राम्रो परम्परा हिजो पनि समाजमा रहेको हुन सक्छ । आज पनि इटालेली नवमाक्सवादी चिन्तक इन्टोनिया ग्राम्चीले भनेझैं इतिहास पनि पूर्वाग्रही छ ।

हाम्रा संस्कृतिले त सानालाई माया र ठूलालाई आदर गर भनेको छ । नेपाली सन्दर्भको वस्तुस्थितिलाई हेरौँ : पुल निर्माण, भवन निर्माणाधिनमा मजदुरले पसिना बगाउँछन् तर शिलालेख आदिमा नाम चाहिँ उनै नेताको नै हुन्छ । किनकि, त्यो कामदारले पाउने रकमको ढुकुटी राज्यको हो भने त्यो निर्मातालाई पैसा दिएकै भरमा उसको श्रमको मूल्य समाप्त हुन्छ । इतिहासको लेखन एकल, पूर्वाग्रही र असमावेशी यसकारण छ । यसर्थ तल्लो तहबाट इतिहासको व्याख्या भएकै छैन । रानीपोखरीको वास्तविक निर्माता को हो ? तर, उद्घाटनकर्ताको नाम जसरी आउँछ त्यसरी निर्माण गर्ने कलाकार र मजदुरको सिप र क्षमताले कुनै स्थानमा मूल्य पाउँदैन । केवल पैसा दिएर सबै कारीगरीलाई त्यहीँबाट सदाका लागि समाप्त पारिन्छ । यो त कोही चित्रकारले आफूले बनाएको चित्र बेच्दा पैसा लिए पनि उसको नाम राखे जस्तो हुनुपथ्र्यो । त्यो संस्कृति हामीमा सदियौँदेखि रहेको छैन तर रामायण कथामा समुद्रमा पुल बनाउने ‘नल र नील’ को नाम भने आएको छ । यो संस्कृतिलाई हामीले भुल्नु चाहिँ गलत हो ।

प्रकाशित: २८ कार्तिक २०७७ ११:२८ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी