ओपेड प्रदेश ३

नेकपा विवाद अब कतातिर ?

15 Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पछिल्लो विवाद यतिबेला शान्त बनेको छ । बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिनका लागि १० दिनको समय दिएसँगै नेकपाभित्रको पछिल्लो विवाद केहि दिनका लागि शान्त भएको हो । तर जानकारहरु यो विवाद यतिकै शान्त नहुने बताउँछन् । नेकपाको यो शान्त वातावरण आँधी आउनुभन्दा पहिलाको सन्नाटा भएको उनीहरुको भनाइ छ । हुन पनि एक पक्षले अर्को पक्षलाई भित्तामा पुर्याउने गरी रचिएको विवाद त्यतिकै साम्य हुने कुनै छाटकाँट देखिदैन । त्यसैले प्रधानमन्त्री ओलीले मंशिर १३ मा बस्ने सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिने छन् । प्रधानमन्त्री ओलीले त्यतिबेला इटाँको जवाफ पत्थरले फर्काउने छन् । कतिपयले नेकपा अब फुट्ने पक्का पक्की भएको दाबी गरेका छन् । तर प्रधानमन्त्री ओली निकट नेता भने कुनै पनि हालतमा नेकपालाई फुट्न नदिने बताउँदै आएका छन् ।

करिब दुई तिहाइ नजिकको बहुमत ल्याउन ठूलो त्याग र बलिदान भएकाले कसैलाई पद चाहिएर विवाद सृजना गर्दैमा नफुट्ने बरु चोइटिएर जान सक्ने उनीहरुको दाबी छ ।

करिब दुई तिहाइ नजिकको बहुमत ल्याउन ठूलो त्याग र बलिदान भएकाले कसैलाई पद चाहिएर विवाद सृजना गर्दैमा नफुट्ने बरु चोइटिएर जान सक्ने उनीहरुको दाबी छ । उता दाहाल–नेपाल पक्षका नेताहरु पनि पार्टी नै फुटाइ हाल्ने मनस्थितीमा देखिँदैनन् । सतही विश्लेषण गर्दा पनि नेकपा त्यतिकै फुट्ने देखिदैन किनभने नेकपामा शीर्ष नेताहरुभन्दा दोस्रो पुस्ताका नेताहरु क्षमतावान र बढी त्यागी देखिन्छन । नेकपामा जुनसुकै बेला देखिएका विवाद मिलाउनका लागि दोस्रो पुस्ताका नेताहरु नै हाबी हुँदै आएका छन् । अहिले पनि सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सार्वजनिक रुपमै पार्टी एकताका लागि आफूले राजीनामा दिन तयार भएको बताएका छन् । यता महासचिव एवं अर्थमन्त्री विष्णु पौडेले पनि पार्टी एकता जोगाउनका लागि सचिवालयका सबै सदस्यहरुले राजीनामा दिएर दोस्रो पुस्ताका साथीहरुलाई नेतृत्व सुम्पिनुपर्ने प्रस्ताव गरेका छन् ।

त्यसैले अहिलेको विवादले पनि नेकपा फुटी हाल्नेभन्दा पनि शक्ति सन्तुलन र भागबण्डामा नै सिमित हुने देखिन्छ । नेकपाको विवादको श्रृङखला हेर्दा पनि जति नै विधि र पद्धतिका कुरा गरेपनि अन्नतः मिल्ने भनेको भागबण्डामा नै हो । अहिले पनि प्रधानमन्त्री एवं अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विवाद समाधानको सेतु भागबण्डा नै हुनेछ । किनभने मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रचण्डले पूरै मन्त्रिमण्डल रिसेट गर्नुपर्ने बताउँदै आएका थिए । तर प्रधानमन्त्री ओलीले जम्मा तीन मन्त्रीलाई मात्र परिवर्तन गरेका थिए । त्यसैले नेकपाको अहिलेको विवाद समाधान गर्न पुनः मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने देखिन्छ ।

गत कात्तिक २१ गते सचिवालयका बहुमत सदस्यले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाइपास गरी अनौपचारिक बैठक डाकेसँगै नेकपा विवाद पुनः सतहमा आएको हो । पछिल्लो दिनमा दुबै पक्षबाट एकले अर्कोलाई हदैसम्मको आरोप प्रत्यारोप लगाउने श्रृङखला ह्वातै बढेको छ । प्रधानमन्त्री ओलीले दुई तिहाइको सरकारलाई हल्लाउने मुख्य जड नेकपाका पाँच भाइ रहेको आरोप लगाएका छन् भने दाहाल–नेपाल पक्षले इतिहासकै बलियो अर्थात दुई तिहाइ नजिकको सरकारले पनि प्रधानमन्त्री ओलीको हठका कारण जनअपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै आएका छन् ।

गत कात्तिक २१ गते सचिवालयका बहुमत सदस्यले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाइपास गरी अनौपचारिक बैठक डाकेसँगै नेकपा विवाद पुनः सतहमा आएको हो ।

दुबै पक्षको आरोप प्रत्यारोपका कस्तो रह्यो त नेकपाको पछिल्लो श्रृङखला ?

कात्तिक २१
नेकपाका बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक कात्तिक २१ गते पहिलो पटक बसेको थियो । पार्टी मुख्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको उक्त बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । नेकपा सचिवालयमा नौ सदस्य रहेका छन् । जसमध्ये चार जना भने उक्त बैठकमा सहभागी भएका थिएनन् । जसमध्ये प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल रहेका थिए । अनौपचारिक बैठकका लागि सचिवालयका नौ जना सदस्यलाई नै बैठकमा बोलाइएको थियो । उक्त बैठकले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

कात्तिक २२
नेकपाका कार्यकारी अध्यक्ष दाहालसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीलाई बालुवाटार पुगेर भेटेका थिए । शनिबारको उक्त भेटमा उनीहरूले सचिवालय बैठक माग गर्दै प्रम ओलीलाई लिखित पत्र समेत बुझाएका थिए । उक्त लिखित पत्रमा कोभिडका बेला भइरहेका कामहरूको समीक्षा र पार्टी निर्णय कार्यान्वयनबारे छलफल गर्नुपर्ने उल्लेख गरिएको थियो । सचिवालयका बहुमत सदस्यको लिखित पत्र बुझ्दै प्रम ओलीले छलफलपछि निर्णय गर्ने बताएका थिए ।

कात्तिक २३
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बीच भेटवार्ता भएको थियो । प्रम ओलीले वरिष्ठ नेता नेपाललाई भेटवार्ताका लागि बालुवाटारमै बोलाएका थिए । उक्त भेटवार्तामा स्थायी कमिटी सदस्यहरु डा. भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त समेत उपस्थित भएका थिए । प्रधानमन्त्री ओलीले पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि वरिष्ठ नेता नेपालसँग सहयोगको आग्रह गरेका थिए । वरिष्ठ नेता नेपालसहितका स्थायी कमिटी सदस्यसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग सहयोग मागेका थिए् । २३ गतेको भेटमा वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि प्रधानमन्त्रीका तर्फबाट के के प्रस्ताव छन् भन्दै राख्न आग्रह गरेका थिए ।

कात्तिक २४
नेकपाका दुई अध्यक्ष बीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए । प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा महासचिव पौडेलले पार्टी विधान अनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएका थिए । अध्यक्ष ओलीसँग सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र विधान अनुसार बैठक बोलाउने उनको भनाइ थियो । उक्त दिन कार्यकारी अध्यक्ष दाहालले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि मात्र अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएको जवाफ दिएका थिए । साथै उनले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुनेमा समेत जोड दिएका थिए । प्रम ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने चेतावनी समेत दिएका थिए ।

कात्तिक २५
नेकपाका दुई पाइलट बीच टकराब चुलिएका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल दाहाललाई भेट्न खुमलटार पुगेका थिए । मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा मुख्यमन्त्री पोखरेलले दुई अध्यक्ष बीच सहमति गरेर जानुपर्ने सुझाव दिएका थिए । साथै प्रधानमन्त्री एवं अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहाल बीच भेटवार्ता भएको थियो । मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त भेटमा पार्टीभित्रको जारी विवादबारे छलफल गरिएको थियो । तर २५ गतेको भेटमा पनि कुनै निष्कर्ष भने निस्किन सकेन । प्रम ओलीसँग भेटवार्ता गरेपछि कार्यकारी अध्यक्ष दाहाल धुम्बाराहीमा बैठकका लागि गएका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार अनौपचारिक बैठक डाकेका थिए । मंगलबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको उक्त बैठकमा प्रचण्डसहित सचिवालयका पाँच सदस्य उपस्थित भएका थिए । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले कात्तिक २७ गते सचिवालय बैठक राख्ने आशा गरिए पनि त्यस्तो हुन नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठको बताएका थिए । उक्त बैठक अनौपचारिक रूपमा बसेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

कात्तिक २६
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विधानको व्यवस्था अनुसार सचिवालय बैठक बस्ने बताएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्ष बीच भएको छलफलमा प्रधानमन्त्रीले प्रचण्डलाई पार्टी विधानको व्यवस्था अनुसार महासचिवले बैठक बोलाउने बताएका थिए । नेकपाभित्र चर्किएको विवाद यथावत रहेकै बीच प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक २६ गते नेपाल–चीन सीमा क्षेत्र किमाथांका गएका थिए । संखुवासभास्थित किमाथांकामा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी) को निरीक्षण गर्न उनी त्यसतर्फ गएका हुन् । किमाथांकाको कार्यक्रम पूरा गरेर प्रधानमन्त्री ओली सोही दिन काठमाडौं फर्किएका थिए ।

२८ कात्तिक
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तथ्यहरूको तोडमोड र झुटको खेती गरेको आरोप लगाएका थिए । प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा आफ्ना बारेमा अनेक हल्ला फैलाइएको समेत उल्लेख गरेका थिए । ‘मैले कहाँ मन्त्रिमण्डः पुनर्गठन सन्दर्भमा उपप्रधानमन्त्री कमरेड ईश्वर पोखरेल र गृहमन्त्री कमरेड रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ? पेरिसडाँडामा बसेको सचिवालयको बैठकदेखि आजसम्म पनि मैले पार्टीलाई संकटबाट बचाएको कारण स्थायी समितिको बैठकपछि आम पार्टी पंक्ति र आम जनसमुदायमा पनि निकै सकारात्मक सन्देश गएको छ । अब मन्त्रिमण्डलको व्यापक पुनर्गठन गरेर जाँदा राम्रो हुने मत राख्दै आएको छु’–प्रचण्डले पत्रमा भनेका थिए–त्यसो भनिरहँदा मैले सधैं नै तपाईंले आवश्यक ठानेका जिम्मेवार कमरेडहरूलाई भने निरन्तरता दिन उपयुक्त हुन्छ पनि भन्दै आएको छु ।’

अझ तपाईंसँग धेरै पटक मुख्य रूपमा कमरेड ईश्वर पोख्रेल, कमरेड रामबहादुर थापा र कमरेड प्रदीप ज्ञवालीका हकमा निरन्तरता दिनु पर्छ भन्दै आएको र कमरेड रामबहादुर थापाको हकमा तपाईंसँग गत सालदेखि नै उपप्रधानमन्त्री बनाउनु पर्छ भन्ने विचार राख्दै छु । आफूले राखेको तथ्यलाई झुटको पर्दाले छोप्ने काम गरेको भन्दै उनले प्रधानमन्त्रीको नियतमाथि समेत प्रश्न उठाएका थिए । अति गर्नु अत्याचार नगर्नु भन्दै प्रधानमन्त्रीको गतिविधिले आफूलाई पनि इनफ इज इनफ भन्न मन लागेको उनको भनाइ थियो ।

नेताहरूका बीचमा समन्वय कायम गर्न पहल गर्नुको सट्टा एक अर्काका विरुद्ध जुधाउन र चलखेल गर्न खोजेको समेत प्रचण्डले ओलीलाई आरोप लगाएका थिए । दुई अध्यक्ष बीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्बन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ’–उनले भनेका थिए–‘पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकारसमेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग गर्यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।’ केन्द्रीय समितिको दोस्रो बैठकको सफलतापछि प्रधानमन्त्रीले आफू निकटलाई भेला गराएर पूर्व माओवादीमाथि हमलाको अभियान चलाएको समेत उनले आरोप लगाएका थिए ।

त्यस्तै कात्तिक २९ मा प्रधानमन्त्री ओलीले आफू निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्बाङ, विष्णु रिमाल र भानुभक्त ढकालसँग छलफल गरेका थिए । साथै कात्तिका ३० गते उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी खेमाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीसँग छलफल गरी प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता गर्ने भूमिका खेल्न आग्रह गरेका थिए । मंशिर १ गते प्रचण्डले एक कार्यक्रममा बोल्दै पार्टीभित्रको अन्तसंर्घष झन झन पेचिलो बन्दै गएका बताएका थिए । साथै प्रचण्डले आफू निकटका वर्षमान पुन लगायतका नेताहरुसँग छलफल समेत गरेका थिए भने प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग छलफल गरेका थिए ।

त्यस्तैगरी मंशिर २ गते महासचिव पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए । उक्त भेटमा सचिवालय बैठक केहि दिन स्थगन गर्न आग्रह समेत गरेका थिए । तर उक्त आग्रहलाई प्रचण्डले ठाडै अस्वीकार गरेका थिए । यता प्रधानमन्त्री ओलीले सचिवालय सदस्य विष्णु पौडेल, इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ लगायतसँग छलफल गरेका थिए । उक्त छलफलमा उपस्थित नेताहरुले सहमति जुटाएर मात्र सचिवालय बैठक राख्न आग्रह गरेका थिए । प्रचण्डले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । उक्त बैठकमा सचिवालय बैठक नरोकी सोही बैठकबाट सचिवालय बैठक बोलाउने निष्कर्ष निकालेका थिए । साथै कार्यकारी अध्यक्षले राष्ट्रपतिसँग भेटवार्ता समेत गरेका थिए । उक्त भेटवार्तामा दुई अध्यक्षबीचको तिक्त सम्बन्ध सुधार गरेर मिलेर अगाडि बढ्न सुझाव दिएकी थिइन् ।

मंशिर ३
प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय माग गरेका थिए । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गत शुक्रबार कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ दिनका लागि आफूलाई केही समय लाग्ने बताएपछि सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित गरिएको हो ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले एकलौटी रुपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए । एकतर्फी रूपमा आएको प्रतिवेदनले पार्टी एकतालाई नै गम्भीर संकटमा पारेको भन्दै प्रधानमन्त्री निकटका नेता तथा कार्यकर्ताहरुले उक्त प्रतिवेदन तत्काल फिर्ता लिन सार्वजनिक रुपमा नै अपिल गर्दै आएका छन् । जसमध्ये सचिवालय सदस्य इश्वर पोखरेल, स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सुर्य थापा अग्रपंक्तिमा रहेका छन् ।

प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म कुनै पनि बैठक गर्नुको औचित्य नभएको उनीहरुको भनाइ छ । सोही अनुसार मंगलबार बालुवाटारमा जम्मा भएका ओली निकटका नेताहरुले पनि सचिवालय बैठक तत्कालका लागि स्थगित गर्न सुझाव दिएका थिए । त्यस्तैले प्रधानमन्त्री ओली बुधबारको बैठक सार्ने मनस्थितिमा रहेका थिए । तर सचिवालयका बहुमत (पाँच जना) सदस्यहरुले एकलौटी रुपमा सचिवालय बैठक राख्ने चेतावनी दिएका थिए । फलस्वरुपः दुबै पक्षको जितका लागि सचिवालय बैठक बसेजस्तो गरी तत्कालका लागि बैठक स्थगित गर्ने भित्रि सहमति भएसँगै प्रधानमन्त्री ओली अन्तिम घडीमा बैठकका लागि तयार भएका हुन् ।

प्रधानमन्त्री ओली बुधबारको बैठक सार्ने मनस्थितिमा रहेका थिए । तर सचिवालयका बहुमत (पाँच जना) सदस्यहरुले एकलौटी रुपमा सचिवालय बैठक राख्ने चेतावनी दिएका थिए ।

त्यस्तै बुधबारको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ । सचिवालय बैठकपछि पत्रकारहरूसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिए । साथै मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठकलाई मंसिर २५ गतेसम्मका लागि सारिएको उनको भनाइ छ ।

त्यस्तैगरी बुधबारको सचिवालय बैठकमा सचिवालय सदस्य, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव गरेका थिए । नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनका लागि कलकं हुने उनको भनाइ थियो । नेकपाको सचिवालय बैठक मंशिर १३ गतेसम्मका लागि स्थगित भएको छ । नेकपाको यो विवाद अब कता तिर जान्छ भन्ने मंशिर १३ पछिको समयले बताउला ।

प्रकाशित: ४ मंसिर २०७७ १३:५० बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी