ओपेड

वैदेशिक श्रम, युवा पलायन र दीर्घकालीनरूपमा देशलाई हुने बेफाइदाहरू

15 Shares

• मोहम्मद अजिज अली

मतदान गर्ने उमेर भएका युवाहरू वैदेशिक रोजगारीका लागि बाहिरिनु हाम्रो बाध्यता भएको छ । एउटा सुरक्षित भविष्यको खोजीमा युवाहरू देश छोडेर पलायन हुनुपर्ने अवस्था भनेको अल्पकालीन उपार्जनका हिसाबले फाइदाजनक देखिए पनि यसरी युवाहरू बिदेसिनु र आफ्नै देशमा उपयोग हुनुपर्ने श्रम विदेशमा खर्च हुनु दीर्घकालीन रूपमा देशका लागि नोक्सानदायक छ । यो प्रचलनले कतै फाइदा गर्दैन, न राजनैतिकरूपमा न आर्थिक र सामाजिक रूपमा नै यसले फाइदा पुर्याउँछ।

मुख्यतया त्यसरी हुने नोक्सानीहरू:

सामाजिक नोक्सानी:
सबैभन्दा पहिलो बेफाइदाको खुड्किलो पारिवारिक विखण्डनबाट सुरु भएको हामीहरूले प्रस्ट सँग देख्न सकिरहेका छौँ । एउटा उमेरदार जोडी जो सन्तान उत्पादन र अन्य सामाजिक जिम्मेवारीको लागि महत्त्वपूर्ण उमेरको सङ्घारमा उभिएको हुन्छ त्यो जोडी नै अलग अलग भूगोलमा रहेर बाँच्नु पर्ने भएपछि हाम्रो समाजको ‘जेनेरेसन ग्याप’ अत्यन्तै फराकिलो भएर जाने निश्चित छ । करियर निर्माणका हिसाबले सन्तानोत्पादनमा समयको अन्तराल राख्ने जुन प्रचलन अन्य विकसित देशहरूमा रहेको छ त्यस्तै प्रचलन हाम्रो समाजको लागि बाध्यता बन्दै गइरहेको छ । सोझो शब्दमा भन्नु पर्दा अधिकांश प्रवासीको सन्तान जन्माउने योजनाहरू एकदमै कमजोर रहेका छन् त्यसले आज तुरुन्तै समाजमा कुनै असर नदेखिए पनि भोलि दुई तीन दशक पछाडि पक्कै नकारात्मक असर पार्ने देखिन्छ ।

एक्लै सङ्घर्ष गर्नुपर्ने अर्को बाध्यता रहेको झन् टड्कारो प्रतिकुल परिस्थिति हो । पैसा कमाउन परदेश गएको युवाको परिवार नेपालमा लगभग एक्लै सङ्घर्ष गरिरहेको देख्न सकिन्छ । त्यसलाई विभिन्न समयमा विभिन्न खाले विद्वानहरूले आफ्नो आफ्नो तरिकाले परिभाषित गरेको देख्न पढ्न पाइन्छ । चाहे जुन सुकै बहानामा परिवार बिछोडिएको किन नहोस् त्यो विखण्डनले समाजमा नकारात्मक असर पारिरहेको हुन्छ । अहिलेका युवा र युवतीहरूका चाहानाहरूलाई कुनै सीमित दायरा भित्र बाँधेर राख्न सम्भव छैन त्यसैले होला पैसा कमाउन परदेश आएका धेरै युवाहरूका अभिभावकहरूले पुर्ख्यौली घरमा एक्लो जीवन यापन गरिरहेको र उनीहरूका परिवारले सहरमा उस्तै एकाङ्की जीवन बिताइरहेको देख्न सकिन्छ । अल्पकालीन आम्दानीले ल्याएको यो अल्पकालीन सुखको सोचको कारण हामीले निकै ठुलो सामाजिक नोक्सानी बेहोर्नु पर्ने निश्चित जस्तै देखिन्छ ।

आर्थिक नोक्सानी:
वैदेशिक रोजगारीले जुराएका आर्थिक अवसरहरूका कारण हामीहरू गरिबीको रेखाबाट अलिकति माथि उठ्दै गरेको सत्य हो । यही आर्थिक स्रोतलाई देखाउँदै सरकारले समेत देशमा गरिबी घट्दै गइरहेको खुसीयाली मनाएको देख्न सकिन्छ । विप्रेषणले धानेको अर्थतन्त्र भनेर देश धान्ने दायित्व नै विदेशमा आय आर्जन गरिरहेका युवाहरूको काँधमा बोकाएको हामीहरूले भाषणहरूमा पटक पटक सुन्ने गरेका छौँ तर सरकारले विदेशमा गरिएको कमाइलाई उचित स्थानमा लगानी गर्ने र दीर्घकालसम्म त्यसको फाइदा अहिले विदेशमा श्रम गरेको मजदुरले पाउन सक्ने कुनै ठोस नीति तर्जुमा गरेको देखिएको छैन ।

विदेशमा भएको कमाइको ठुलो हिस्सा अनुत्पादक क्षेत्रमा लगानी भइरहेको देखिन्छ । जस्तै एक जना श्रमिकले विदेशमा कमाएको धन अधिकांश हिस्सा डेरा भाडा र खानपानमै खर्च भएको देखिन्छ । त्यसबाट बचेको पैसा लत्ताकपडा, गहना र विलासितामा जाने गरेको देखिन्छ । त्यसपछि पनि बच्यो भने जग्गा जमिन किन्ने र घर बनाउने गरेको भेटिन्छ । यी सबै लगानी भनेका अनुत्पादक लगानी हुन् । कालान्तरमा घडेरीको मूल्य बढेर त्यो लगानी नोक्सानमा नगए पनि घडेरीमा गरेको लगानीलाई उत्पादनमूलक लगानी मान्न सकिँदैन ।

खेतीयोग्य जमिन किन्नु मात्र पनि उत्पादन मूलक लगानी मान्न सकिँदैन जबसम्म आफ्नो जमिनमा आफैँ खेती उत्पादन गरिँदैन । हामी सबैलाई थाहा भएको कुरा हो कि वैदेशिक रोजगारीमा रहेका अधिकांश युवाहरूका पुर्ख्यौली जमिन समेत बाँझै रहेका छन् । तसर्थ केही आपवादलाई छोडेर अब वैदेशिक रोजगारीमा बानी परेका युवा या उनका परिवारले कृषि पेसालाई उत्पादनमुखी बनाएर अगाडि बढ्ला भन्ने सोच राख्नु समेत सर्वथा गलत हुनेछ ।

यसैकारणले पनि वैदेशिक रोजगारीमार्फत भएको आम्दानीलाई सरकारले नै उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनु पर्थ्यो जुन हुन सकेन । उद्योगहरूमा लगानी हुन सकेको भए दीर्घकालीनरूपमा हामीलाई आर्थिक फाइदा हुने थियो त्यसो हुन नसक्नाले अब समयको अन्तरालसँगै वैदेशिक रोजगारीबाट पैसा कमाएर गरिबीको रेखामाथि उठेका परिवारहरू पुनः गरिबीको रेखामुनि नै फर्कनेछन्, यसरी नै दीर्घकालीन रूपमा हाम्रो समाज आर्थिक नोक्सानीमा जानेछ ।

राजनैतिक नोक्सानी:
सबैभन्दा गम्भीर र देशलाई दीर्घकालीन नोक्सान हुने कुरा भनेको वैदेशिक रोजगारीमा गएका युवाहरू राजनीतिकरूपमा समेटिन नसक्ने परिस्थितिले निम्त्याउने जटिलता नै हो । आजको अनुमानित तथ्याङ्क अनुसार लगभग साठी लाख नेपालीहरू विभिन्न कारणले मुलुक बाहिर रहेका छन् र ती सबै मतदान गर्न पाउने उमेर समूहका छन् । हाम्रो देशको राजनैतिक अस्थिरताको मूल जड पनि यसैसँग जोडिएको छ । वास्तविकरूपमा इमान्दार उम्मेदवार चिनेर मतदान गर्न सक्ने साठी लाख युवाहरू अहिले देशमा छैनन् त्यसैले पनि सही पार्टीको सही उम्मेदवार चुनाव जितेका छैनन् । आर्थिक या अन्य प्रलोभनमा पार्न नसकिने मतदाता जति सबैलाई वैदेशिक रोजगारीको लागि पठाएपछि वाँकी मतदाताबाट चुनिने उम्मेदवार कस्तो होला र त्यसले समाजलाई, आफ्ना मतदातालाई र देशलाई कस्तो योगदान देला भन्ने कुरा हामीहरूले प्रत्यक्ष देखिरहेका छौँ ।

सही उम्मेदवार चुन्न सक्ने मतदाता मतदानबाट वञ्चित हुनु, विकृति विसङ्गति र भ्रष्टाचारको विरोधको लागि सडकमा उत्रेर सङ्घर्ष गर्न सक्ने युवा शक्ति सीमाना बाहिर रहनु र सही समयमा आफ्नो आवाज उठाउने मौकाबाट युवा शक्ति वञ्चित रहनु–यो ठुलो राजनैतिक नोक्सानी हो । यसले हाम्रो समाजलाई राजनैतिक रूपमा कुण्ठित बनाउँदै लैजान्छ । युवाहरूको मनमा राजनीति प्रति आक्रोश र वितृष्णा बढाउँदै लैजान्छ । नेताहरू प्रतिको विश्वसनीयता घटाउँदै लैजान्छ । यो सत्य हो कि अहिले विदेशमा श्रम गरिरहेका अधिकांश युवाहरूले कुनै पनि राजनैतिक दलका नेताहरूलाई विश्वास गर्न सकिरहेका छैनन् । यो अविश्वास भविष्यमा झन् बढ्दै गएर विकराल र भयावह नहोला भन्न सकिन्न ।

हामीले युवाहरूलाई राजनीति भनेकै देश निर्माणको मुख्य नीति हो भनेर बुझाउन सकिरहेका छैनौ । राजनीति र चुनाव जित्ने उम्मेदवार भनेका एउटै कुरा हुन् भन्ने सोचले जरा गाडेको छ युवाहरूको मस्तिष्कमा । यस्तै राजनैतिक चेतको कमीले गर्दा नै हो अहिले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्रति नै वितृष्णा उत्पन्न हुँदै गएर ‘राजसंस्था’ को पक्षमा आवाजहरू उठ्न थालेका छन् । सामाजिक सञ्जाललाई नजिकबाट अध्ययन गर्ने हो भने हामीले प्रस्ट रूपमा देख्न सकिन्छ त्यहाँ या त राजाले शासन गरुन् भन्ने चाहना देखिन्छ या कतै कतै त सैनिक शासन नै लागोस् भन्ने विचार अभिव्यक्त भएको समेत देख्न पाइन्छ । यो सबै हामीले वैदेशिक रोजगारमा भएका युवाहरूलाई सही राजनैतिक चेत प्रदान गर्न नसकेको कारण भएको हो । यसले भविष्यमा जनताको राजनैतिक चेतको विकासले उल्टो गति लिने या वैदेशिक श्रममा रहेका युवाहरूले समग्र राजनीतिलाई नै गलत तरिकाले बुझ्ने समस्या नआउला भन्न सकिँदैन यदि त्यसो भयो भने यो हाम्रो देशको लागि ठूलो नोक्सानीको विषय हुने देखिन्छ ।

(नेपाली काँग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति मार्फत प्रवासमा काँग्रेसको उपस्थिति बलियो पार्ने अभियानमा लागेका मोहम्मद अजिज अली जनसम्पर्क समिति कतारका महामन्त्री साथै आगामी कार्यकालका सभापतिका दाबेदार हुन् ।)

प्रकाशित: ९ पुस २०७७ १४:४१ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी