ओपेड

यस्ता छन् नेकपा फुटका प्रमुख कारणहरु

15 Shares

डा. चित्र मावो (लिम्बु )

सात दशकपछि आम नेपाली कम्युनिस्ट समर्थक र शुभचिन्तकलाई खुशीयाली दिँदै २०७५ जेष्ठ ३ गते नेपालका दुई ठूला ठूला पार्टी नेकपा (माओबादी केन्द्र ) र नेकपा (एमाले) ले पार्टी एकता गरिरहँदा आम नेपाली जनतामा अब समृद्ध नेपालको नेतृत्व यो मुलुकले पायो भन्ने आशा पलाएको थियो। पार्टी एकता भएको तीन वर्ष नबित्दै पार्टी फुटको अवस्थामा पुग्दा सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक र मतदातामा गम्भीर चोट पुगेको छ। यसको चिन्ता जनतालाई मात्र होइन नेताहरुलाई पनि उत्तिकै लागेको छ। यसरी पार्टी फुटमा पुग्नाको मुख्य मुख्य कारणहरु के थिए यसको गम्भीर समीक्षा गर्न आवश्यक देखिन्छ।

एकता पदको स्वार्थ केन्द्रित हुनु

पार्टी केन्द्रका बात मिल्ने औंला भरिका केही नेताको ब्यवस्थापनमा केन्द्रित रहेर चमत्कारपूर्ण एकता भैरहँदा आम पार्टी कार्यकर्ताका योगदान र तिनका भविष्यप्रती खासै चिन्ता गरिएको थिएन। त्यो अवस्थामा देशको निम्ति भन्दा पनि को नेता कसरी सुरक्षित हुने भन्ने चिन्ताले एकता सम्म पुर्याएको थियो । एकता भैरहँदा पार्टीका मुख्य सिद्धान्तको सम्बन्धमा खासै चिन्ता गरिएको थिएन। चिन्ता थियो त भागबन्डा कसरी मिलाउने र पार्टी कसको कब्जामा रहने भन्ने मात्र । त्यसैको फलस्वरूप पद्धतिमा नै नरहेको दुई अध्यक्ष रहने सहमति भयो। पार्टीलाई लयमा ल्याउन नसक्दै पार्टी फुट्नुको मुख्य कारण दुई अध्यक्षबीचको अस्तित्वको लडाई‌ँ नै प्रमुख कारण बन्यो।

पार्टी विधानमा राखिएको एक ब्यक्ति एक पदको सवाललाई विधिगत रुपमा कार्यान्वयन नगरी आसेपासे, हजुराइवादी र मपाइवादीहरुको चयनको निम्ति मात्र नेकपाको पद र सत्ता हालीमुहाली भयो। इमान्दार र बौद्धिक वर्गहरु किनारामा बसेर सामाजिक सन्जालमा रोइलो पोख्न मात्र भ्याए। त्यसको असर सामाजिक संजाल प्रयोगकर्तामा प्रत्यक्ष पर्न जानाले पार्टीप्रतीको विश्वास खस्किन पुग्यो। तसर्थ स्वार्थ केन्द्रीत भएर गरिएको पार्टी एकता देश र जनताको भलाइमा नभइ पदको लुछा चुँडिमा तल्लिन हुनुले पार्टी फुटको अवस्थामा पुग्यो।

आशंका सत्ता मोह र सर्वसत्तावादबीचको द्वन्द्व

कम्युनिस्ट पार्टीको निम्ति प्रतिगमन ठुलै अपराध हो। नेकपाको एतिहासिक शक्तिशाली बहुमतको सरकारले आफैँले ७० वर्ष लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई जलाइ प्रतिगमनको बाटो रोज्न पुग्नु एउटा अध्यन योग्य इतिहास बनेको छ। यो संवैधानिक अपराध पनि हो। यसरी प्रतिगमनकै बाटोमा पुग्नु बाध्य गराउने कारण सत्ताको आशँका हो। एक अर्कामा बिश्वास नहुनु हो। चरम सत्ता मोह हो। त्यसैले अध्यक्ष प्रचण्डले आधा आधा सत्ता सम्झौताको बाण हानिरहनु र आगामी सरकारमा आफू सत्ता नेतृत्वको लागि बाटो खोल्दै जानू पनि फुटको कारण बन्यो। प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डको नेतृत्व असहैय भयो।

प्रधानमन्त्रीको भित्री धारणा आफू इतरका कुनै पनि गुटलाई नेतृत्व सुम्पने पक्षमा थिएनन् । सकेसम्म पुस्तानान्तरणको लगामले भएपनि आफ्नो गुटलाई नै पार्टी र सत्ता हस्तान्तरण गर्ने पक्षमा थिए। यसरी आफ्नै गुटमा पुस्तान्तरणमा सफल भएमा गुन पनि तिरिने र आजसम्म बनाएको छवि पनि जोगिने भन्ने भित्री धारणा रहेको थियो। आफू आत्मसमर्पण गरेर नखुम्चने र अरुलाई गरिखान पनि नदिने सर्वसत्तावादी चिन्तन, अहंकार र मपाइवाद पार्टी एकताको लागि बाधक बन्यो। त्यसैले पार्टी फुटमा पुर्याउने कारण आशंका, सत्ता मोह र सर्वसत्तावादी चिन्तन पनि हो।

माधव नेपालको व्यवस्थापन

पार्टी एकतापछि माधव नेपालको हैसियतका बारेमा उठेको प्रश्न पनि समस्याकै रुपमा खडा भएको थियो। पार्टीमा नेपालले धेरै अपमान सहँदै आएका थिए। भागबन्डामा पनि हेपिएका थिए। चुनावमा टिकट बाँडफाँडदेखि लगातार हेपिँदै आएका नेपाल पक्षलाई सत्ता साझेदारीमा समेत अन्याय भएको थियो। पूर्व एमालेको भागमा परेको सबै मुख्यमन्त्रीमा नेपाललाई भाग लगाइएन। मन्त्री बनाउने क्रममा पनि एउटै नेपाल पक्षको समेटिएन। प्रदेश प्रमुख नियुक्ति गर्दा समेत माधव नेपालको रायलाई पार्टीले आवश्यक नठानी एकलौटी ढंगले गर्यो।

पार्टी संगठन निर्माण गर्ने क्रममा पनि वरिष्ठता मिचेर ओली पक्षको कनिष्ठ नेतालाई महत्त्वपूर्ण जिम्मेवारी दिनाले नेपाल पक्ष आक्रोशित बनेका थिए। त्यसैले नेपाल पक्षले बारम्बार पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भन्ने आवाज राखिरहेका थिए। त्यति मात्र नभएर जनताको बहुदलिय जनवादवादी दलले दलको विधान अनुसार चल्नु पर्छ। प्रधानमन्त्री दलले पठाएको सिपाही भएकोले पार्टीको विधानमा निर्देशित भएर काम गर्नु पर्छ भनि पार्टी भित्र संघर्षरत रहेका थिए।

नेपालले उठाएका विधि र पद्धति अनि जबजको मार्ग निर्देशित सिद्धान्त दलको आधिकारिक निर्णाय प्रधानमन्त्रीले मान्नु पर्ने प्रस्ताव प्रधानमन्त्रीलाई घाँडो बनेकोले पार्टी फुटको दिशामा अगाडि बढ्यो।

प्रकाशित: १४ पुस २०७७ १२:१२ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी