ओपेड

कथा : अव्यक्त प्रेम !

15 Shares

  • प्रान्जली पौडेल

ऊ मेरो प्रेमी हैन न त म नै उसको प्रेमीका बन्न सकें तर पनि उसले मेरो मन मा त्यो ठाउँ लिई दियो जसमा चाहेर पनि मैले अरुलाई राख्न सकिन । कहिले काहिं लाग्छ किन मैले उसलाई प्रेम प्रस्ताव राख्न सकिन ? किन उसको त्यति नजिक भएर पनि भन्न सकिन तिमीलाई हेर्दै मुस्कुराउने मध्ये म पनि एक हुँ । या त ऊ प्रती मेरो प्रेम थिएन ? हुन सक्छ केवल टिनएजको प्रभाव जसबाट म पनि अछुत रहिन तर पनि जब फोनमा “तुजे चादके वाहाने देखु” भन्ने गीत बज्छ मेरा बन्द ओठ यसै खुल्न थाल्छन् , उसको त्यो आकर्षित अनुहार मानसपटलमा घुमिरहन्छ ।

त्यो फागुनको अन्तिम हप्ता थियो मैले उसलाई पहिलोचोटी देख्दा, साउथ इन्डियन मूभिमा हिरोले हिरोईनलाई देख्दा मुटु धकधक धड्किएर देब्रे छातिमा छामेको सिन जस्तै मेरो मुटु फुत्त बाहिर निस्कन लागेको जस्तो गरेर जोडजोडले हल्लिएको थियो । केटी भएर पनि खासै लजाउने बानि नभएको म, त्यो दिन कता–कता लाज लागे जस्तो भयो । सेतो गालामा लाली चडेर मुस्ताङको स्याउ जस्तै रातो भएको थियो । उसले याद गर्यो कि गरेन, यदि गरेको थियो त पक्कै देख्ने थियो, नतमस्तक भएर ओझेल नपरुन्जेल उसलाई मैले हेरिरहे थें । फेरि ऊ सँग लामो समय भेट भएन, पहिलो भेटमै उसले बैशाख १२ को भन्दा ठूलो भूकम्प मेरो मनमा ल्याईदियो, जसको पराकम्पको असर अझै म मा सिमित छ ।

मेरा दिनहरुमा खासै केहि परिवर्तन थिएन कलेज जाउ फर्क, अफिस जाउ यस्तै दिक्क लाग्दो तर ब्यस्त दिनमा कहिले काहीं उसलाई देख्नु र बोलि सुन्नु माघको ठण्डिमा तुवाँलो लागेपछि झुल्किएको सूर्य जस्तै रमाईलो र न्यायो लाग्थ्यो । उसमा एउटा गज्जबको आकर्षण थियो, जसमा म हरेक दिन, हरेक छिन आकर्षित भईरहे । फलामका कण जस्ता छरपस्ट मेरा भावनालाई ऊ चुम्बक बनेर आयो र केहि समय नै नलगाई समेटेर लग्यो । उसको मेरो लागि पहिलो शब्द थियो मेरो नाम, मलाई मेरो नाम पहिले कहिल्यै त्यति प्यारो र सुन्दर लागेन जती उसको आवाजमा सुनेको थिए । त्यहि दिन त हो उसलाई मैले पहिलो पल्ट नजिकबाट नियालेको थिएँ ।

उसका ती ठूला–ठूला चम्किला आँखा, मुसुस्क मुस्कुराउँदा खोल्ने क्याटबरी ओठ, गालामा हल्का देखिएको दारी, बोलि रहँदा मुस्कुराई रहने बानि, सुगठित शरीर त्यहिदिन देखि त हो उसका बारेमा मैले कविता लेख्न सुरु गरेको । हरेक दिन सपनामा देख्न थालें । ऊ द्वापर युगमा जन्मिएको थियो त सोह्र हजार गोपीनी (नारीहरु) कृष्णलाई छोडेर उसलाई प्रेम गर्थे होलान् । उसलाई नजिकबाट नियालेको दिनदेखि त मलाई रनवीर कपुर पनि फिक्का लाग्न थालिसकेको थियो । हरेक दिन इन्सटा माउसको तस्बिरसँग कुरा गर्ने बानि त मलाई उसको नाम थाहा पाएको दिन देखि नै परेको थियो । अब त ऊ सँग घण्टौं कुरा गरेर दिन बित्न थाल्या छ । लाग्छ यो दिनहरु यसैगरि बितिरहोस्, समय यसैगरि कटिरहोस् । म, उसमा हराउँदै जाउँ उसका आँखामा डुब्दै जाउँ । उसको आँखा नै त हो, मलाई सबैभन्दा सुन्दर लाग्ने ।

उसको सुन्दरताको बर्णनको अगाडि त सिङ्गो प्रकृती फिक्का लाग्छ होला । उसको तुलना केहि अरुसँग गर्नु मेरा लागि, हिराको तुलना अरु कुनै धातुसँग गरे जत्तिकै हो । कसैले भनेको सुनेको थिएँ, आकर्षण नै प्रेमको शुरुवात हो । म पनि त ऊ प्रती आकर्षित भएर नै प्रेम गर्न थालिसकेको छु । यसरी उसका बारेमा लेखिरहनु पनि मेरो आदत बनि सकेछ । मलाई थाहा छ, ऊ मेरो कहिल्यै बन्न सक्दैन, न त म नै उसको बनिदिन सक्छु तर पनि म उसलाई प्रेम गर्छु र गरिरहन्छु पनि । हुन त ऊ मेरो एकदमै नजिक छ, एउटा आत्मिय मित्र जस्तै । लाग्छ कहिले काहि भनिदिउ म तिमीलाई माया गर्छु भनेर तर फेरि लाग्छ म त केटी पो हो त, प्रेम प्रस्ताव केटाले राख्नु पर्ने हो ?

डिसेम्बरको तेस्रो हप्ता चिसो बढेको थियो । पुतलीसडकको बाटोबाट चाबेल निस्किने गाडि भेट्न हतारिंदै थिए फोनको रिङ बज्यो उसकै फोन थियो । तिम्रो कलेज नजिकै छु भेट्ने हो ? ५ मिनेटको कुरा पछि उसले भन्यो । नाई कसरी भन्न सक्थे र ? म आफैं उसलाई हेर्न तड्पिरहेको हुन्थें । मोनिका क्याफे ! उत्तरतिर फर्किएको क्याबिनमा ऊ मलाई कुरेर बसिरहेको थियो । मन त थियो उसलाई झ्याप्प अँगालोमा बेरु र भनँु, “कालो जगर्स, कालो हुक, कालै स्पोर्ट्स सुज अनि कालो टोपीमा तिमीलाई क्या स्वाग देखिएको छ बेबि !” तर मुखबाट निस्कियो,
सन्चै हुनुहुन्छ ?

अं, तिमी नि ? (उसले मुस्कुराउँदै भन्यो ।)
गज्जब ! (मुस्कानको फिर्ता मुस्कान नै दिएर भनें)
म चियाको सौखिन ऊ कफीको, आफ्नो लागि अमेरिकानो अनि मेरो लागि मिल्क टि मगाईसकेको थियो ।
एउटा कुरा भनँु ?
दुइ ओटै भन्नुस न । (जिस्किने मुड देखाईदिए)
आई यम सिरियस
म पनि जिस्किरा छैन । (हाँस्दै भनें)
आउने वैशाखमा बिहे गर्दै छु नि,
के ? (अघि सम्म गुलियो लागि राख्या चिया एक्कासि तितो लाग्यो)
सधैंभरि कहाँ स्वतन्त्र बस्न पाईंदो रहेछ र ? फेमिली प्रेसर छ, जिम्मेवारी बढेको छ ।
फेमिली चोइस ? (कौतुहलता जाग्यो म, मा)
अँ मोमको चोइस मलाई नि राम्री लाग्यो । (उसको ममिले मलाई देख्या भए शायद मलाई नै मन पराउँथिन की ? खैर छोडौँ यी त मेरा मन गढन्ते कुरा हुन अब यीनले कुनै अर्थ राख्दैनन् ।)
बधाई ! छ (अनुहारमा खुशी ल्याउने कोसिस गर्दै भनें)
धन्यबाद, अब तिमी पनि ब्याचलर सकिएपछि गर केटीको लागि यो उमेर ठिक्क हो ।
मैले यो बारेमा अहिले केहि सोच्या छैन ।

सोचन, अर्को चोटि भेट्दा हामी चार जना भेटौंला । (हाँस्दै भन्यो)
कति सजिलै उसले हामी दुई जनाबाट चार जना भेटौला भनेर भनिदियो । जुन कुरा मेरो लागि एकदमै गाह्रो बनिदियो । यदि मैले उसलाई प्रेम प्रस्ताव राखेको हुँदो हँु त अहिले हामी दुई को दुई नै त रहने थियांै होला ?मलाई पहिलो पल्ट केटाले नै प्रेम प्रस्ताव राख्नु पर्छ भन्ने आफ्नो अहमदेखि रिस उठ्यो । घमण्डले मलाई यसरी पछारि दियो कि मेरो बगंैचा भरिको सुन्दर फूल कसैले चोर्दै गरेको थाहा पाएर पनि केहि गर्न नसक्ने लाचार भएर ढलिरहें ।
निस्कने हैन ? (सकिएको कफीको ग्लास टेबलमा राख्दै भन्यो।)
हुन्छ निस्किम । (घाँटीको मफलर मिलाउदै भनें ।)
मेरो बिहेमा त आउछेउ होला नि ?
त्यो पनि सोध्ने कुरा हो र ,
ल है त म ढुक्क भएँ गिफ्ट ल्याउनु पर्दैन तिमी आए पुग्छ । (बाईक स्टार्ट गर्दै ऊ बोलिरह्यो ।
हेलमेटभित्र उसका ती ठूला चम्किला आँखा चम्किरहे थे जुन आँखालाई मैले चाहेर पनि कहिल्यै चुम्न पाईन ।
अबको पचास बर्षपछि पनि मलाई कहिले काहिं उसको याद आउँदो हो ? मेरा चाउरी परेका ओठ मस्किन खोज्दा हुन् ? भर्खरै अठार, उन्नाईस हिड्दै गरेकी मेरी नातिनातिनीले किन मुस्कुराउनु भएको आमा? भनेर सोध्दी हो र म भनुँला तेरी हजुरआमाले जुन गल्ति गरी त्यो तिमीले कहिल्यै नगर्नु है बाबै !

प्रकाशित: १८ पुस २०७७ १३:१५ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी