विचार

मध्यावधि चुनाव : चुनौतीमा नेकपा, कांग्रेसका लागि अवसर

15 Shares

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भयो । संसद विघटनपछि मुलुकको राजनीति यतिबेला अन्योलमा परेको छ । यो अवस्थामा मुलुकको अस्थिर राजनीतिले कहिले निकास पाउँछ भन्ने यकिन छैन ।

यो सरकार गठन भएदेखि नै विकास, समृद्धि र सुशासनलाई मूल नाराले प्राथमिकता पाउँदै आएको थियो । तर, गठन भएको ३ वर्षसम्म पनि सरकारको नारा नारामै सिमित देखिएको छ । यससँगै नेकपा दुई खेमामा विभाजित भएपछि झनै नागरिकमा निराशा पैदा भएको छ ।

सुरुका दिनमा वर्तमान सरकारप्रति आमजनतामा एक प्रकारको आशा थियो । देशमा विकास समृद्धि र सुशासन कायम होला भनेर जनताले केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नेकपालाई बहुमत दिएका थिए । बहुमत त सोचे अनुरुप नै आएको हो । तर नेकपाले यसलाई सदुपयोग गर्न नसकेको विश्लेषण हुन थालेको छ ।

अहिले नेकपा माथिबाट तलसम्म विभाजनको दिशामा गएको छ । जसले गर्दा तीनै तहमा हुने गरेका नियमित कामहरू प्रभावित बनेका छन् । विकास निर्माणका काम प्रभावित भएका छन् । नेतृत्वमा देखिएको अहमता र आकांक्षाको टकरावले सिंगो मुलुक बन्धक जस्तै बनेको छ । नेकपा भित्रको आन्तरिक कलहले संविधानको भावनामाथि प्रहार भएको छ ।

यही कारण गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको तल्लो सदन विघटन स्वीकृत भयो । यो विषय आजको मितिसम्म पनि सर्वोच्च अदालतमा विचराधिन छ । निष्कर्ष विहिन छ । यदि, सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदन सही ठहर गरेर फैसला गरे मुलुक अनिवार्य निर्वाचन जानै पर्ने हुन्छ । त्यो समयसम्मका लागि ओली नेतृत्वको सरकार रहने निश्चित देखिन्छ ।

नेकपा औपचारिकरुपमा विभाजित नभएपनि ओली पक्ष र दाहाल–नेपाल पक्ष भनेर २ समूहमा छुटिएका छन् । निर्वाचन आयोगले कुनै निर्णय नदिएपनि दुवै समूह आफूलाई आधिकारीक नेकपा नै भएको दावी गरिरहेका छन् ।

चुनावमा जानु नेकपाका लागि ठूलो चुनौती
नेकपा औपचारिकरुपमा विभाजित नभएपनि ओली पक्ष र दाहाल–नेपाल पक्ष भनेर २ समूहमा छुटिएका छन् । निर्वाचन आयोगले कुनै निर्णय नदिएपनि दुवै समूह आफूलाई आधिकारीक नेकपा नै भएको दावी गरिरहेका छन् । प्रत्यक्षरूपमा दुई समूहमा रहेर काम कार्वाही गरिरहेपनि दुवै समूह विभाजन भएको मान्ने तयार छैनन् । यो विवाद अहिले निर्वाचन आयोगमा विचाराधिन छ । आयोगले मान्यता कसलाई दिन्छ वा औपचारिकता कसले पाउँछ अहिले यसै भन्न सकिने अवस्था छैन । यो मुद्दा सर्वोच्चसम्म पनि जान सक्ने अवस्था छ ।

नेकपाभित्रको नेतृत्व यतिबेला एकआपसमा गाली र दोष थोपर्ने काममै तल्लिन छ । यहाँसम्म कि, उनीहरुले सार्वजनिक रूपमा बोल्न हुने वा नहुने शब्दका विषयमा समेत हेक्का राख्न छोडेका छन् । अझ भनौं नेकपामा एक प्रकारका वाक युद्ध चलिरहेको छ ।

कार्यकर्ता निराश
नेतृत्वमा देखिएको भागबण्डा र असन्तुष्टिपूर्ण व्यवहारले तल्लो तहका नेता तथा कार्यकर्तामा अन्यौलता सृजना गरिदिएको छ । कम्युनिष्टको एकतामा खुसियाली मनाएका कार्यकर्ताहरू यतिबेला निराश भएका छन् । आफ्नै नेतृत्वप्रति आक्रान्त कार्यकर्ता पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरेर कम्युनिष्टकै विकल्प खोज्नुपर्ने मानसिकतासम्म पुग्न थालेका छन् ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचमा एकता भइरहँदा तल्लो तहका नेता तथा कार्यकर्ताबीचमा बेमेल र बैमनस्यता कायमै थियो । सुरुबाटै पार्टीको एकिकरण प्रक्रिया टुंगोमा पुग्ला नपुग्ला भन्नेमै रहेको कार्यकर्ताहरुको शंका अन्ततः सोही अनुरुप नै पार्टी दुर्घटनामा पर्यो । यसले गर्दा नेकपा भित्रका नेता तथा कार्यकर्तामा झनै असन्तुष्टीका स्वरहरू बढेका छन्, एक पार्टी दुई समूह बनेर वक्तव्यबाजीमा लागि रहँदा तल्लो तहको नेतृत्व अप्ठ्यारोमा परेको छ ।

पार्टीभित्रका यस्ता गतिविधिले अबको निर्वाचनमा जनताको मन जित्न नेकपाले ठूलै कसरत गर्नु पर्ने देखिन्छ । निर्वाचनमा जनताको मन जित्न एकातिर समय कम छ भने अर्कातिर विवादको आलो घाउ बाँकी नै छ । यस्तो अवस्थामा नेकपा फेरि पहिले जस्तै अवस्थामा फर्कने सम्भावना पनि देखिंदैन । त्यसैले आन्तरिक कलह र आरोप प्रत्यारोपको परिणाम नेकपा स्वयंले भोग्नु पर्ने निश्चित देखिन्छ ।

फाइदा कसलाई त ?
नेकपा फुटको फाइदा प्रतिपक्षी दललाई हुने निश्चित देखिन्छ । सरकार बाहिर रहेर प्रतिपक्षी दलको भूमिका निर्वाह गरिरहेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा लगायतका दलहरूका लागि यो समय निकै फाइदाजनक देखिन्छ ।

सडकमा राजावादी भनिएकाहरुको भिड बाक्लिँदै गएको छ भने, हिन्दु राज्यको माग पनि केही टड्कारो बन्दै गएको छ । तथापि, यस्तो अवस्थामा निर्वाचन भएर जनमत बाँडिए पनि प्रत्यक्ष फाइदा प्रमुख प्रतिपक्षी दल कांग्रेसले नै उठाउने पक्का देखिन्छ ।

यी भन्दा बाहेकका अन्य साना दलहरु पनि सरकार बाहिर नै छन् । यस्तो अवस्थामा नेकपा फुटको फाइदा नेपाली कांग्रेसले प्रमुखतः लिन सक्ने अवस्था छ । राजावादी भनेर चिनिएको राप्रपाले पनि नेकपाभित्रको फुटको अवस्थालाई आफ्नो पकडमा बनाउन सक्ने संभावना बलियो देखिन्छ । किनकी अहिले सडकमा राजावादी भनिएकाहरुको भिड बाक्लिँदै गएको छ भने, हिन्दु राज्यको माग पनि केही टड्कारो बन्दै गएको छ । तथापि, यस्तो अवस्थामा निर्वाचन भएर जनमत बाँडिए पनि प्रत्यक्ष फाइदा प्रमुख प्रतिपक्षी दल कांग्रेसले नै उठाउने पक्का देखिन्छ ।

कांग्रेसलाई फाइदा कसरी ?
२०७४ सालमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनाएर उनीहरु चुनावमा गएका थिए । निर्वाचनपछि पार्टी एकिकरण पनि भयो । सो निर्वाचनमा दुवै शक्ति एक हुँदा कांग्रेसलाई घाटा हुनु स्वाभाविक थियो, भयो पनि । ४० निर्वाचन क्षेत्रमा कांग्रेसले झिनो मत अन्तरले हार खाएको थियो । जहाँ सधैं उसले जीत हात पार्ने गरेको थियो । समग्र समानुपातिक मत पनि कांग्रेसले नै बढी पाएको थियो । यो अंकगणितीय हिसाबमा अब नेकपाका कार्यकर्तामा आएको निराशापनको फाइदा कांग्रेसले उठाउन सक्ने सम्भावना बलियो देखिएको छ ।

विगतबाट सच्चिएर लयमा फर्कने कांग्रेसको अवसर
हुन त नेपाली कांग्रेसले पनि विगतका निर्वाचनमा जनमत राम्रै पाएको हो । २०४८ सालदेखिकै कुरा गर्ने हो भने कांग्रेसले त्यतिबेला बहुमत प्राप्त गरेको थियो । तर, त्यो लामो समय टिकाउन कांग्रेस असफल रह्यो । फलत, २०५१ सालमा मध्यावधि निर्वाचन भयो । सोही बेला एमाले ठूलो दल बन्यो तर बहुमत भने एमालेले ल्याउन सकेको अवस्था थिएन । २०५६ सालमा कांग्रेसले पुनः बहुमत प्राप्त गर्यो । तर स्थिर सरकार यसपटक पनि रहन सकेन । त्यसपछि ०६४ सालमा संविधानसभाको निर्वाचन हुँदा तत्कालिन नेकपा माओवादीले सबैभन्दा धेरै सिट जित्यो र ठूलो दल बन्यो । ०७० को निर्वाचनमा कांग्रेस पुनः ठूलो दल बन्यो । ०७४ सालमा नेकपाले इतिहासकै धेरै बहुमत पाएर शक्तिशाली सरकार बन्यो तर दुर्भाग्य शक्तिशाली भनिएको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्दा ३ वर्षमै तासको घर भत्किए झैं नेकपा एकता ढल्यो ।

२०४७ को संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीमा दिएको भएपनि कांग्रेसले जनताको मतको कदर गर्न सकेको भने देखिन्न । पटक पटक प्राप्त गरेको बहुमत र त्यसबाट चुकेको कांग्रेसले उक्त राजनीतिक घटनाबाट पाठ सिक्न नसके अबको अवसरको पनि कुनै तुक रहनेछैन ।

त्यसो भए कांग्रेसले के गर्ला त ?
हुन त कांग्रेस भित्रपनि आफ्नै खाले आन्तरिक किचलो कायमै छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूखुशी काम गरेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ । अन्य साना गुट उपगुट पनि कांग्रेसमा हाबी छन् । यस्तो अवस्थामा कांग्रेसले आन्तरिक कलह मिलाउँदै अघि बढ्नु जरुरी हुन्छ । तर, इतिहास हेर्दा त्यो सम्भव देखिन्न । किनकी आगामी महाधिवेशनमा कसले नेतृत्व लिने भन्ने होडबाजी कांग्रेसभित्र अहिले पनि कायमै छ । कांग्रेसले आफ्नै पार्टीभित्रको विवाद कसरी मिलाउँछ भन्ने जिज्ञासाकै बीचमा अब निर्वाचनको मैदानमा प्रवेश गर्नु पर्ने छ । यस्तो अवस्थामा कांग्रेसले आन्तरिक विवाद मिलाउने र नेकपा भित्रको फुटलाई सदुपयोग गर्दै, घमण्ड नगरि अघि बढ्ने हो भने जनमत आफ्नो पक्षमा ल्याउन ऊ सक्षम ठहरिनेछ ।

प्रकाशित: ७ माघ २०७७ १४:१२ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी