विचार

तपाईं–हामी जनता कि आन्दोलनकारी ?

15 Shares

कुरा कदापि पनि पक्ष र विपक्षको होइन मात्र प्राथमिकताको हो । यत्तिका भिड सडकमा उत्रिएको देख्दा तिनले होटलमा खाने, बस्ने, पेट्रोल, झन्डा, पर्चा पम्प्लेट, ब्यानर आदिको खर्च कति हुन्छ होला ? के कुनै पार्टीले त्यो खर्च र शक्ति प्रदर्शनको साटो गरिबहरूका लागि केही सेवा गरौँ र जनताको मन जितौँ भनेर लाग्ने दिन कहिले आउला ? यत्रो जमात मानवीय सेवामा एक भएर लाग्ने दिन पनि त आए हुन्थ्यो । जनताको मन जित्न लाखौँ खर्चेर शक्ति प्रदर्शन गर्नेभन्दा जनताकै सेवा गरेर जनमतलाई तान्ने राम्रो लाग्छ ।

अहिले देखिएका नेकपाका दुई कित्ता र नेपाली काङ्गे्रस दुवैमा युवा नेतृत्वले अवसर पाउने सम्भाव्यता कम देखिन्छ । उही परिपथमा राज्यको बागडोर सम्हाल्ने लयमा परिवर्तन सम्भव छ त ! दिनभरि श्रम गरेर बेलुका छाक टार्नेको अवस्थालाई घोषणापत्रमा राखेर महलमा भुजा ज्युनार गर्ने/गराउने राजनीतिक परिपाटीका पछि लाग्ने हामी जनता साँच्चै अचम्मकै प्राणी पनि हौँ । अहिले पत्रकारहरूले, नेपाल प्रहरीले दिलो ज्यान दिएर यो भिडलाई साथ दिएको कुरा सधैँ स्मरणीय रहँदैन । जो जसले जे जे गरे पनि प्रहरीहरूलाई सबैभन्दा बढी हैरानी हुन्छ, एकातिरबाट आदेश अर्कातिरबाट दबाब । आखिर, मुलुकमा यो जे भइरहेको छ त्यो पनि कम्युनिस्ट शासनका लागि राम्रो भएको होइन । यत्तिको राम्रो मत पाएकाहरू जुध्दै गर्दा पक्ष–विपक्षमा तथानाम गाली गर्ने स्वार्थसम्मत वचनवाण भोलि मिल्नुपर्दा भारी हुने होइन र !

प्रचण्ड–नेपाल समूहको भिड हेर्यो उत्तिकै बाक्लो र विशाल लाग्छ । सत्तापक्ष ओली समर्थक पनि कमजोर हुन् भन्ने लाग्दैन । काङ्ग्रेस, राप्रपा सबैको भिड पनि उस्तै बाक्लै देखिन्छ । अनि, हरेक नेताका स्टाटसका मुनि तथानाम गाली र समर्थनको लामो सूची हुन्छ । प्रतिक्रिया र उप–प्रतिक्रियाको लर्कोमा लड्नेहरूले मुखै छोड्न पनि बाँकी राखेको देखिँदैन । त्यसो भए नेपाली जनता के आन्दोलन गर्नलाई नै जन्मेका हुन् ?

हिजो २००७ सालदेखि २०४६, २०५२ देखि माओवादी द्वन्द्व, ०६२/०६३ को आन्दोलन हुँदै अस्थिर सरकारको क्रमिकतादेखि आजसम्म जनताले गरेका दर्जनौँ आन्दोलनको परिघटनाले एउटै लक्ष्यमा पाइलो टेक्न खोजेको हो– मुलुकमा स्थिर शान्ति र उच्च समृद्धि चाहिएको छ । बलिको बोको बन्न रुचाइरहने कार्यकर्ताले देखेको राजनीतिक परिवर्तन केवल चाकडी मात्रै हो । एकदिन के सनक चढ्छ अर्थात् मोलमोलाइमा कुरा मिल्छ तब नेताजीले भन्नुहुनेछ– ‘हामी मिल्यौँ’ तब यही आज सडक र सामाजिक सञ्जालमा रोइलो मच्चाइरहेको नागरिक फेरि चुपचाप बस्छ । जनताले राजनीति गर्दैन र देशको उन्नति चाहन्छ । तसर्थ पनि, जनताले अब सही र गलत अनि समय र सोचलाई पहिचान गर्नु आवश्यक देखिन्छ । आपसमा शत्रुता साँधेपछि मुलुकको स्थिरता र विकासमा बाधा नै हुने हो । अझै कति अस्थिरताको भाँडभैलोमा सहभागी भइरहने । दुवैतर्फको कित्ता होस् या अन्य कित्तामा होस् आखिर स्वार्थी नेताको सोचलाई साथ दिएर विकासवादी समय खर्चिनुको कुनै तुक देखिँदैन । अब जनताले नेताको स्वार्थलाई साथ दिनु हुँदैन केवल विकास र समृद्धिमा मात्रै हात दिनुपर्छ भन्नुपर्छ ।

अहिले मुलुकमा प्रायः धेरै पार्टीहरू जनताको मन भाँडेर सडकमा उतार्ने होडबाजीमा छन् । जब जब नेताको स्वार्थ अधुरो हुने स्थिति हुन्छ तब तब जनतालाई ढाल बनाएर भाँड्ने र लडाउने होड चलिरहन्छ । नेता तबसम्म मात्र नेता हुन्छ जबसम्म जनताले उसलाई साथ दिन्छ । तर, कुनै पनि पार्टीले कस्को चुलो बल्दैन, को दुःखी छ भनेर तिनलाई पहिचान गर्ने र सहयोग गर्ने होडबाजी गरेको कहिल्यै देख्न पाइन्छ र ? कोरोना महामारीको अर्को डरलाग्दो रूप आयो भन्ने सुन्दा समेत बेवास्ता गरेर मान्छे सडकमा ओइरिएको छ । यो विचार कदापि पनि सदनधारीको समर्थन भन्ने अर्थमा होइन । विषयको प्रष्टोक्तिका आधारमा जनताको सेवा हो कि स्वार्थको दुर्गन्ध हो त भन्ने एउटा विश्लेषण मात्र हो । यत्तिका समय कामधन्दा ठप्प भएर बल्लतल्ल यसो सञ्चालन हुन लागेको व्यवसायलाई भन्दा पार्टीकै भक्त भएर कुर्लने मान्छेले साँच्चै विकासका लागि नै आन्दोलन गरेको हो ?

शहीद सप्ताहमा शहीदको खिल्ली उडाउने खेल यतिखेर मुलुकमा खेलिँदैछ । यस्तो पनि लाग्छ– नेपालमा एउटा नेकपा भन्ने नाम गरेको पार्टी थियो जसले बहुमतको घिउ पचाउन नसकेर शौचालयमा झगडा गर्यो भन्नुपर्ने इतिहास लेखियो भने पनि जनतालाई नै घाटा छ !

पछिल्लो घटनाक्रमले हाम्रो मुलुकलाई राजनैतिक संगठनको अभ्यास गर्ने एउटा मैदान बनाइदियो । स्थिर प्रजातान्त्रिक सरकारको अपेक्षा गरेर बहुमत प्रदान गर्दा समेत थ्याङ्थिलो पारेपछि आपूm राम्रो हो भन्ने पुष्ट्याइँमा नेकपाको दुई कित्ता डटेर लागेको छ । सत्तामा रहने र सडकमा उत्रिने दुवै नेकपालाई अहिले खाली आरोप लगाएर सत्तोसराप गर्ने अनि संगठन विस्तारको अग्नि परीक्षामा होमिने होडबाजी छ । को कौरव र को पाण्डव भन्ने कुराका बारेमा त सामान्य जनता मात्रै होइन सच्चा विश्लेषकहरू पनि अलमल्ल हुने स्थिति छ । अदालती निर्णयको पर्खाइमा स्वच्छता रहोस् भन्ने कामना गर्न भने सकिन्छ । तथापि, जनता बेरोजगार भएकैले पनि नेताका पछि ठूलो भिड जम्मा हुने रहेछ । यो पनि एउटा सत्य हो तर स्थायित्वका लागि हो कि होइन, त्यो अन्योल अवस्थामै छ । अबको उत्तम निकास प्रचण्ड प्रधानमन्त्री या माधवकुमार नेपाल या त शेरबहादुर देउवा भन्ने हो भने पनि त्यहाँसम्म कतै पनि नयाँ मान्छे र नयाँ सोच नदेखिनुले परिवर्तनको ठूलो अपेक्षा गर्न सकिँदैन ।

को कस्तो र कुन सिद्धान्त कति बलियो भन्ने कुराले विपन्न मुलुकमा उस्तो असर पार्दैन । जनतामा त केवल समृद्धि, सुशासन र रोजगारको उचित प्रबन्धको आवश्यकता र तीव्र चाहना मात्रै छ । घोषणापत्रका पानामा जनता झुक्याउन कोरिएका कनीकुथी विचारमा अडिने अक्षरले जनताको बिहान बेलुकाको जोहो गर्दैन । खाली राजनीतिक पदलोलुपतामा केही नेतृत्वले खोजेको भाग नपाएका कारण अहिलेको द्वन्द्व बढेको हो । जनतालाई यही भासमा ल्याएर जाक्ने जघन्य अपराध नेताबाटै भएको हो तर हामीले समर्थन र साथ जति दियौँ त्यति विश्लेषण र विमर्श गरेनौँ । यो पनि अचम्मकै मूर्खता होइन र ! अरू जे कुरा गरे पनि जनताचाहिँ साँढेको जुधाई बाच्छाको मिचाइमा परिरहेकै छन् । नेपालमा राजनीति फोहोरी खेल हो भन्ने कुराको दह्रो दृष्टान्त पक्कै बनेको छ । यही फाइदालाई मौका पारेर विदेशी शक्तिले सानो देशमा ठूलो आँखा नलगाउला भन्न सक्ने अवस्था नभएको पनि होइन ।

अरूबेला विकासका लागि छिरिक्क सहयोग गर्न नसक्ने पार्टीले चुनावका बेलामा कसरी यत्ति धेरै सक्षम हुन्छ ? चाहे कोरोना महामारीका बेला जनता भोको हुँदा एक माना चामल र एउटा ओच्छ्यान दिने मन नहोओस् तर चुनावमा नेताजीले पैसाका बिटा सर्वहारा वर्गलाई बाँढ्ने होडबाजी गर्नुहुनेछ । हरेक नागरिक नागरिक होइन एक भोटको मूल्यमा गनिने छन् । एक पटक सोचौँ– यत्तिका धेरै पार्टीले प्रचारका नाममा, आन्दोलन र विरोधका नाममा गर्ने गरेका खर्चका बिटालाई अख्तियारले किन खोजी गर्दैन ? यो कुरा त प्रष्ट छ तर सबैले झिनो स्वार्थमा बिक्नुलाई आवश्यक ठान्छन् । ‘बिग्रेको पार्टीको फुटेको घर, फुटेको पार्टीसँग केको भर’ भन्ने भान त जनतामा भइसकेको छ ।

उता सत्तामा हुनेहरूमा चुनावको कुरा छ– फेरि देखिने गरी लाखौँ अनि नदेखिने अर्बौँ खर्च हुन्छ तर विपन्नको वेदना, दूरदराजको मानिसको व्यथा, बेरोजगारको छटपटी, अस्थायी जीवन बाँच्ने मानिसको दुर्दशा, विसङ्गतितिर अलिकति पनि पैसा खर्च हुने छैन । यो चुनावमा खर्चिने रकम कहाँबाट र कसरी ह्वारह्वार्ती आउँछ, त्यो अचम्मकै विषय हो । यसरी मुलुकको ढुकुटीमा दाहीँ हुँदैन भन्ने अभ्यासै छैन । पाँच वर्ष काम गर्न दिएको जिम्मेवारी टिकाउन नसकेर पदको लालसाको लालकिल्ला बाँध्नका लागि नै नेकपाले यो महामारी निम्त्याएको छ । यदि मुलुकमा यही कारणले जनताले शहीद हुने अवस्था आयो भने यो दोष त सडक र सदन दुवैलाई उत्तिकै जानुपर्छ नै । यतिखेर राष्ट्रिय स्वार्थको खडेरी मच्चिरहेको छ ।

शहीद सप्ताहमा शहीदको खिल्ली उडाउने खेल यतिखेर मुलुकमा खेलिँदैछ । यस्तो पनि लाग्छ– नेपालमा एउटा नेकपा भन्ने नाम गरेको पार्टी थियो जसले बहुमतको घिउ पचाउन नसकेर शौचालयमा झगडा गर्यो भन्नुपर्ने इतिहास लेखियो भने पनि जनतालाई नै घाटा छ ! यो समय केही पछि बसेकाहरूले अघि देखिने अवसर त होला तर झगडाले व्यक्तिको पदमा तलमाथि हुने मात्रै हो । अहिलेको अवस्थामा भइरहेको आन्दोलन र मोर्चाबन्दीको तुकै छैन किनभने यो देशलाई चाहिँ घाटा नै हुने कुरा हो । आखिरमा वार्ता र सहमति गरेर उत्तम विकल्प रोज्नुभन्दा उत्तम विकल्प केही होइन । अब जनतालाई श्रम, समय र सम्पत्ति खर्च गर्न गराउन दुवै पक्षले रोकौँ । जनतालाई हैरानी दिनु नपर्ने बाटो खोजौँ । जनतालाई आफ्नो काम गर्न दिऔँ ।

प्रकाशित: ११ माघ २०७७ १४:०९ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी