१० असोज २०७८ आइतबार

ट्राफिक प्रहरी हाम्रो शत्रु ?

रामजी बलामी 

“ट्राफिक प्रहरी त सिनो कुरेको गिद्ध जस्तो लाग्छ”, “ट्राफिक प्रहरी आहारा कुरेर बसेको बाघ जस्तो लाग्छ”, “ट्राफिक प्रहरी देख्ने बित्तिकै हात काम्छ”, “ट्राफिक प्रहरी देख्यो कि रिस उठ्छ,”, “ट्राफिक प्रहरीलाई त एक सयको रिचार्जले किन्दिन्छु” । ट्राफिक प्रहरीबारे आम सवारीचालकहरुको मुखबाट निस्किने टिप्पणीहरु हुन यी ।

उनीहरु भन्थे ट्राफिकको कारवाही उसको ‘मुड’मा भर पर्छ ‘मुड अफ’ भएको बेला प-यो भने बिनाकारण निँहु बनाएर चिट ठम्याउँछ । तर मलाई यी सब टिप्पणी बकवास लाग्थ्यो किनकी ‘प्रहरी हाम्रो साथी हो शत्रु होईन, गल्ती नगरी पनि कारवाही गर्छन र ?’ भन्ने मेरो तर्क थियो । त्यसैले मेरो अगाडि जो जसले यस्तो टिप्पणी गरे पनि म प्रतिवाद गरि हाल्थे । र मित्रहरुको भिडमा म हाँसोको पात्र बन्थे ।

ट्राफिक प्रहरीको काम सुरक्षा निकायमध्ये सबैभन्दा बढी सकसपूर्ण हो भन्ने मेरो मान्यता छ । कुनै सवारीको सानो नट खुस्क्यो भने पनि ट्राफिक प्रहरीको ज्यान धरापमा पर्छ । कसैले रिस फेर्न सबैभन्दा सजिलो पेशा पनि हो । हावाहुरी, घामपानी, ठण्डी, गर्मी कसैले नछोड्ने पेशा हो । हामीले जाममा एक घण्टा यात्रा गर्नुपर्दा कति अत्यास लाग्छ ।

सवारी चलाईरहेका बखत एकैछिन कसैले अवरोध गर्दा कत्रो रिस उठ्छ । तर ट्राफिक प्रहरी जसले यस्ता हण्डर ठक्कर त कति पचाउनु पर्छ पर्छ । दिनभर अनेक खाले मान्छेसँग संगत गर्नुपर्छ । बाटो काट्ने बटुवादेखि लाठेहरुको सवारी हँकाईलाई पनि टह लगाउनुपर्छ । त्यसैले ट्राफिक प्रहरी महान छन ।

मुडको भरमा कारबाही

म अहिलेसम्म जम्मा एक पटक चेकिङमा परेको छु । म भन्दा अघिका र पछिका सवारीलाई चेक गर्दा पनि मलाई किन चेक गर्दैन त्यो सम्वन्धित ट्राफिक प्रहरीले नै जानून् । बिबेकशिल चालक हुँ । कागजात, मापसेदेखि गतिसम्ममा मेरो जहिले ध्यान जान्छ । तर कहिलेकाँही आफू सही हुँदाहुँदै पनि अरुको नियत खराब भएपछि कसैको केही लाग्दैन् । दशा लागेपछि ओछ्यानमा डस्नामा अल्झेर पनि बिरामी हुन्छ भने झै एक दिन पार्किङबाट बाइक स्टार्ट गरेर गेटमा नपुग्दै कारवाहीमा परियो ।

नम्बर प्लेट खुलष्ट हुनुपर्ने भनेर चिट ठम्याईयो (फोटो सुरक्षित छ)। तर मेरो बाइकको नम्बर प्लेट त्यस्तो खुइलेको थिएन । सडकमा गुडीरहेका कयौ सवारीको नम्वर प्लेट भन्दा मेरो बाइकको नम्बर प्लेट क्लियर नै थियो । यसको मतलब अरुले चलाउन हुने मैले चलाउन नहुने भन्न खोजेको होईन ।

नम्बर प्लेट खुइलिएकाहरु सबैलाई कारबाही गरुन् भन्ने मात्र हो । पाँच सय रुपैया जरिवाना तिर्नुपर्छ भन्ने जान्दाजान्दै तीन समय रुपैंयाको नम्बर प्लेट बनाउन कसैले कम्जुस्याँइृ गर्न हुन्न । यो कुरा मलाई राम्रोसँग थाहा थियो र मेरो नम्बर प्लेट त्यति साह्रो बुझ्दै ननबुझ्ने गरी खुइलिएको पनि थिएन ।

मैले रिपोर्टिङकै सिलसिलामा कयौ पटक ट्राफिक प्रहरी कार्यालयमा पुगेर रोकेको छु, त्यसबखत एक पटक सम्झाई दिएको भए पनि हुन्थ्यो अथवा कारबाही गरेको भए पनि हुन्थ्यो तर किन सम्झाइएन, त्यतिबेला किन कारबाही गरिएन ? घरमा श्रीमान श्रीमतीको रिस अफिसको कर्मचारीलाई पोखे जस्तो ब्यवहार सहि हुन्न नि । ट्राफिक प्रहरीले बास्तविकता, मानवीयता र संवेदनशिलतालाई पनि ख्याल गर्न सिक्ने कि मुडमा मात्रै भर परेर कारबाही गर्ने ?

ट्राफिक प्रहरीको चिटमा उल्लेखित नियम ‘घ’ को ६ मा लेखिएको छ – ‘अवस्था ठिक नभएको सवारी चलाएमा’ । यस अन्तर्गत के के पर्छ भन्ने सबैलाई थाहा होला तर मुडको भरमा कारबाही गर्न यो बुँदाले ठूलो राहत दिलाएको देखिन्छ । लुकिङ ग्लास सही तरिकाले राखिएन, लाइट मधुरो बल्यो, स्ट्याण्ड अलि बढी बाँगियो जस्ता झिनामसिना कुरालाई पनि इस्यू बनाउन यो बुँदाले मज्जाले सहयोग गरेको देखियो । आफ्नो सवारीलाई सही अवस्थामा राख्नुपर्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । यस्तो सामान्य नियम पनि नबुझ्नेलाई जति कारबाही गरे पनि सुध्रिदैन । चालकको स्वभाव कस्तो छ भन्ने कुरा ट्राफिक प्रहरीले हाउभाउ हेरेरै थाहा पाउनुपर्छ र सोही अनुसार निर्णय गर्न सक्नुपर्छ । आप्mनो हातमा कानून छ भन्दैमा त्यसको अनावश्यक प्रयोग र दुरुपयोग कसैले गर्न हुँदैन । र आवश्यक परेको ठाउँमा कानूनको प्रयोग गर्न पनि छोड्नु हुन्न ।

हास्यास्पद ट्राफिक नियम

देशकै राजधानी काठमाडौंको ट्राफिक नियम नै सान्दर्भिक छैन । जस्तो ललितपुरबाट प्रसुतीगृहमा जचाँउन आएको बिरामी कि कुपण्डोल ओर्लिनुपर्छ कि माइतीघर पुगेर ओर्लिनुपर्छ । कलँकीबाट आएका बिरामी पनि कि त्रिपुरेश्वर नै ओर्लिनुपर्छ कि त माइतीघर पुगेर ओर्लिनुपर्छ । कुपण्डोल, माइतीघर वा त्रिपुरेश्वर जहाँ ओर्लिए पनि प्रसुतिगृह पुग्न कम्तिमा ५ मिनेट हिड्नुपर्छ ।

८ महिनाको गर्भवती महिला पनि सकी नसकी त्यो ५ मिनेट हिडिरहेको देख्छु । त्यस्तै त्रिपुरेश्वर र थापाथलीबीचको मान्छे त्रिपुरेश्वर जानु प-यो भने कि कुपन्डोल–सानेपा–टेकु घुमेर फर्किनुपर्ने कि माइतीघर–सहिदगेट–सुन्धारा घुमेर आउनुपर्ने । दुई मिनेटको गणतब्य पुग्न कम्तिमा आधा घण्टा यात्रा गर्नुपर्ने कस्तो ट्राफिक नियम ? यो त केवल एउटा उदाहरण मात्र हो ।

राजधानीमा यस्तो अवस्था धेरैतिर छ । नियम बनाउँदा ख्याल होस कि यहाँ सबै नागरिक सचेत छैनन्, सबैसँग ट्याक्सी चढ्ने औकाट छैन, सबैको खुट्टा बलिया हुदैनन् । सवारी टाढा रोकिँदैमा जाम कम हुन्छ भन्ने फुस्रो धारणा हो । चढ्ने र ओरोल्ने ब्यवस्था चोकचोकमै गरे पनि जाम हुँदैन । सवारीसाधनलाई यात्रु कुर्न दिनु भएन ।

सबै चालकलाई सही ट्राफिक नियम सिकाऔ, अटेर गर्नेलाई ५/५ हजारको जरिवाना गरौ । नियत र मुडको आधारमा होईन प्रमाणसहित कारबाही गरौ अनि हेरौ त कसले मान्दैन नियम । तर ट्राफिक प्रहरीले नियतबश र मुडको भरमा कारबाही गर्ने प्रवृति नरोक्ने हो भने नेपालमा ट्राफिक नियमको उलंघन स्वयं ट्राफिक प्रहरीले नै गरिरहेको आभास हुन्छ ।

हरेक मान्छेले जानाजान गल्ती गर्छ भन्ने हुँदैन । कतिपयले अनजानवश पनि ठूला ठूला गल्ती गरिरहेका हुन्छन् । कतिपयले भने ठूला गल्ती पश्चात अनजानवश भयो भनेर भनिरहेका पनि हुन्छन् । यावत कुराहरु व्यक्तिको विगत र ब्यवहार अध्ययन गरेपछि थाहा हुन्छ । तर कतिपयले भने अनजानवश सानातिना गल्तीहरु गरिरहेका हुन्छन् ।

त्यस्तो अवस्थामा भने मानवताका नाताले सचेत बनाएर पुनः त्यस्तो गल्ती नगर्ने र गरे कडा कारवाही गर्ने ब्यवस्थासहित पहिलो पटकलाई माफी दिँदा कुनै पहिरो खस्दैन बरु स्याबासी पाइन्छ । अतः यो लेखको आशय ट्राफिक प्रहरीको आस्थामाथि चोट पु-याउने हुँदै होईन बरु बास्तविकता औल्याएर सुधारको अपेक्षा चाँही पक्कै हो ।

प्रकाशित: २५ माघ २०७४ १७:२५ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी