1
1
1

यी १० कारणले मदन भण्डारीको मृत्यु रहस्यमयमा (भिडियो सहित)

1
1

दिवस गुरागाईं

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको मृत्यु रहस्यमय ढंगले जीप दुर्घटनामा भएको थियो भन्ने आम निश्कर्ष छ । उनको मृत्यु रहस्यमय ढंगले भएको थियो भनेर पनि एमाले नेताहरुले नै स्थापित गरेका हुन् । भण्डारीको मृत्यु आजभन्दा ठीक २५ बर्षअघि अर्थात् २०५० साल जेठ ३ गते नारायणगढ¬मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको थियो । र, उनीसँगै एमालेका तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रितको समेत मृत्यु भएको थियो ।

दुर्घटनाका प्रत्यक्षदर्शी थिए, गाडी चालक अमर लामा । अदालतबाट दोषी ठहर भइ सजाय भोगेका लामाको २०६० साउन ११ गते कीर्तिपुरमा रहस्यमय ढंगले नै हत्या गरियो । उनी दाशढुंगा काण्डका एकमात्र जिवित प्रत्यक्षदर्शी मानिन्थे ।

संसारमा कम्यूनिष्ट पार्टीहरु ओरालोमा रहेकावेला मदन भण्डारी तत्कालिन मालेको नेतृत्वमा आएका थिए । त्यहीवेला उनले कम्यूनिष्टहरु देशकाल परिस्थिति अनुसार चल्नुपर्छ भन्दै ‘जनताको बहुदलीय जनवाद’ नामक नयाँ सिद्धान्त प्रतिपादन गरेका थिए । यही विचारले उनलाई देश विदेशमा समेत चिनाएको थियो ।

‘इन नेपाल कार्लमाक्र्स लिभ’ अर्थात नेपाल जहाँ कार्लमाक्र्सजिउँदो छ । यही शीर्षकमा न्यूजवीक नामक अंग्रेजी म्यागेजिनले मदन भण्डारीको अन्तर्वार्ता छापेपछि उनी संसारका पढेलेखेका र बौद्धिक वर्गमा पनि परिचित बने । वीवीसीले त सर्वेक्षण नै गर्यो, नेपालमा किन कम्यूनिष्ट बढिरहेका छन् भनेर । उसको निश्कर्ष थियो, नेपालमा कम्यूनिष्ट बढ्ने मुल कारण हुन् – मदन भण्डारी । यी यावत कारणले कम्यूनिष्ट सकिए भनेर आनन्द मानेर बसेकाहरु वीच उनी घाँडो सावित भए । धेरैले मदनको मृत्युको कारण उनको लोकप्रियतालाई मान्दछन् । आजका दिनमा अमेरिका जसरी मुसलिम समुदायप्रति निर्मम ढंगले प्रस्तुत भइरहेको छ, उतिवेला अमेरिका कम्यूनिष्टप्रति निर्मम थियो । दाशढुंगा काण्डकावेला नेपालकालागी अमेरिकन राजदुत जुलिया चाङब्लक थिइन् । उनलाई कम्यूनिष्ट दवाउनकोलागी दक्षिण एसियामा सरुवागरि राखिएको एकथरीको आरोप थियो । यी तिनै राजदुत थिइन्, जसले शेरबहादुर देउवाको विवाह आरजुसँग गराउन लमीको भूमीका खेलेकि थिइन् ।

मृत्युपछि एमालेले मदनलाई जननेताको उपाधी दियो । तर, सत्तामा आएपछि आफ्ना जननेताको रहस्यमयी मृत्युको कारण खोजेन । वर्तमानमा यो नै सवैभन्दा ठूलो रहस्यको विषय बनेको छ । खासमा दाशढुंगा काण्डलाई किन रहस्यमयी भनिएको हो ? एमाले बरिष्ठ नेता माधव नेपालको भनाइ सापटी लिने हो भने मदन भण्डारीको हत्या नै भएको थियो । आखिर किन भनिन्छ मदनको हत्या भएको थियो भनेर ? र, किन देखिन्छ, दाशढुंगालाई रहस्यमयी ? आजको हाम्रो रिपोर्ट यही विषयमा केन्द्रीत छ । खासगरी यी कारणले मदन भण्डारीको मृत्युलाई रहस्यमयी बनाएको थियो र छ पनि ।

१.जीप खस्यो, ड्राइभर बाँचे
– पोखराको सभालाई सम्बोधन गरेर जीपमा फर्किदा त्यस दिन मदन भण्डारी, उनका सहयोद्धा जीवराज आश्रित, गोरखा जिल्ला कमिटीका सचिव ऋषि कट्टेल र चालक अमर लामा थिए । ऋषि कट्टेल वीचमा नै वर्लिए । मुङलिनआइपुगेपछि भण्डारीले चिया पिउने इच्छा गरे । चालक अमर लामालेसुनसान सडकको झुपडीमा चिया खुवाउने ब्यवस्था मिलाए । चिया खाएर अघि बढेको केही समयमा नै जीप दासढुङ्गासडकको दाहिनेपट्टिबाट १५० फिटमुनि त्रिशुली नदीमा खस्यो ।

जीप खस्यो, मदन र जिवराज अलप भए । तर चालक लामा बाँचे । उनको वयान अनुसार उनी पनि सँगै खसे । तर पौडिएर निश्किन सफल भएको उनले जिकिर गरे । धमिलो पानीवाट पौडिएर निश्किएको लामाको लुगा प्लाष्टिकमा राखियो । तर उनले लगाएको लुगामा बालुवाको मात्रा निश्किएन । अर्कोकुरा १ सय ५० फिट तल गाडीमा बजारिदै झर्दा उनको शरिरमा चोट लागेन । त्रिशुलीको त्यो पानीको वहाववाट उनी सजिलै पौडिएर निश्किए ।

२. गाडीको अवस्था संकास्पद
– दुर्घटना हुनुअघि गाडी सवैहिसावमा ठीक थियो । जस्तो – चारै वटा चक्काको हावा, स्टियरिङ्ग, गियर, ब्रेक आदि सबै ठीक थिए । गाडी एक नम्बर गियरमा थियो । गाडीको फोर व्हिल न्युट्रलमा राखेर चलाइएको थियो । अर्थात चालकले सजिलै हामफाल्न सक्ने अवस्थामा गाडी गुडाइएको थियो । अर्थात सजिलो वाटोमा गाडी एक नम्बर गियरमा र फोर व्हिल न्युट्रलमा राखेर किन चलाइएको थियो भन्ने प्रश्न सधैं अनुत्तरित छ ।

३. सडकमा थुपारिएको भुस
– जहाँवाट गाडी खसेको छ, त्यस ठाऊँमा भुसको दुईवटा थुप्रो राखिएको थियो । त्यही दुई थुप्रोको वीचवाट गाडी झरेको थियो । त्यो वाहेकको ठाऊँवाट गाडी झरेको हुन्थ्यो भने सिधैं पानीमा पर्ने संभावना कम हुन्थ्यो । प्रश्न उठिरह्यो, त्यो एकान्तमा कस्ले र कुन प्रयोजनले खन्याएर राख्यो भुस?यो पनि सधैंकालागी अनुत्तरित प्रश्न भएको छ ।

४. छानमिनकालागी आयोग नै आयोग
– दाशढुङा काण्डका नाममा ४ आयोग गठन भए । सरकारको तर्फबाट पूर्व न्यायाधीश प्रचण्डराज अनिल आयोग बन्यो । एमाले पार्टीको तर्फवाट तत्कालीन स्थायी समिति सदस्य केपी ओलीको अध्यक्षतामा भिन्न आयोग बन्यो भने जनस्तरवाट भन्दै पद्मरत्न तुलाधारको संयोजकत्वमा अर्को पनि आयोग बन्यो । अनिल आयोगको प्रतिवेदन चित्त नबुझेपछि एमालेले देशब्यापी आन्दोलन गर्यो र तत्कालीन वहालवाला न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा चौथो आयोग पनि बन्यो । तर यी कुनैपनि आयोगले उचित ढंगले काम गर्न सकेनन् । पार्टीवाट बनेको ओली आयोग पनि मुकदर्शक मात्र बन्यो । ओली आयोगको प्रतिवेदन कस्तो थियो भन्ने सम्बन्धमा एमाले नेताहरु नै अनविज्ञ छन् ।

५. कसरी खस्यो पाइन्ट ?
दुई नेताको पोस्टमार्टम गर्ने बेला शरीर चिरेका थिए, श्यामबहादुर तामाङले । उनीसँगको कुराकानीमा आधारितसामाग्री नेपाल साप्ताहिकले केही अघि छापेको थियो। त्यसमा श्यामबहादुर तामाङले भनेका छन् – ‘उनको (मदन भण्ण्डारी) शरीर मोटो थियो, पाइन्ट लगाउँथे। पाइन्टको बटम लगाएको छ भने मानिस पानीमा परे पनि पाइन्ट खस्दैन, खस्यो भने अन्डरवेयर पनि सँगै खस्छ। तर, मदनको शरीरमा पाइन्ट थिएन, खुकुलो इलास्टिकवाला अन्डरवेयरचाहिँ जस्ताको तस्तै थियो। पाइन्ट फुत्किने तर खुकुलो इलास्टिक भएको अन्डरवेयर सुरक्षित रहने, यो कसरी भयो ?’पोष्टमार्टमका अनुभवी श्यामले भनेका छन् – ‘मैले अहिलेसम्म यो पक्ष बुझ्न सकेको छैन ।’

६. भिसेरा रिपोर्ट नै गोलमाल
पोष्टमार्टममा संलग्न श्यामबहादुरले नेपाल साप्ताहिकमा भनेका छन्– ‘चिकित्सकहरूले दुवै नेताको शरीरका केही अंगका टुक्रा निकालेर राख्ने निर्णय गरेका थिए । ताकि, तिनको जाँच गरेर नेताद्वयको मृत्यु स्वाभाविक थियो वा अस्वाभाविक भन्ने कुराको अनुसन्धान गर्न सकियोस्।’ श्यामबहादुरले आवश्यक अंगहरू निकाल्ने निर्देशन चिकित्सकहरूबाट पाए। त्यसैले निर्देशनबमोजिम दुवै नेताको मुटुको सानो टुक्रा, दुवै मिर्गौलाको आधा–आधा भाग, आधा किलो जति कलेजो, गिदी र अन्य शरीरका टुक्रा निकाले ।

मृत शरीरबाट भिसेराका रूपमा निकालिने अंगको मुचुल्का जुन रूपमा बनाइन्थ्यो, त्यही रूपमा भिसेरा अनुसन्धान गर्ने निकायमा पुग्थ्यो। लाहाछापसमेत लगाइएको त्यस मुचुल्कामा पोस्टमार्टममा खटिएका चिकित्सक, प्रहरी र श्यामसमेतले हस्ताक्षर गरेका थिए। श्यामका अनुसार जब राणा आयोगले अनुसन्धान अगाडि बढायो, भिसेरा मुचुल्कामा उल्लेख भए अनुसार सिरिन्जमा होइन, भाइल (सिसाका बोतल)मा फेला परेछन्। उनको अनुमान के छ भने मुचुल्का बाँधेरै सिरिन्जमा पठाइएका शरीरका ती टुक्रा बिनामुचुल्का सिसाका बोतलमा भेटिएपछि आयोगभित्र हल्लीखल्ली भयो। त्यसैले आयोगले भिसेराको अवस्थितिबारे बुझ्न श्यामलाई बोलायो। आयोगका पदाधिकारीहरूले दोर्होयाएर उनलाई ‘सिरिन्जमै राखेका थियौ?’ भनेर सोधेछन्। सिरिन्जमै राखिएको र मुचुल्का पनि त्यही अनुसार बनाएर सबैले हस्ताक्षर गरेको जवाफ उनले दिएका थिए। यो जवाफपछि आयोगका पदाधिकारीहरू मुखामुख गरेर हिँडेछन्। मुचुल्का बाँधिएका नेताद्वयको शरीरका ती अंग रहस्यमय ढंगले सिरिन्जबाट सिसाका बोतलमा किन सारियो भन्ने विवाद सार्वजनिक भएन।

७.डुबेर मृत्यु भएको तर सास अवरुद्ध भन्ने देखियो
– दासढुङ्गाको घटना प्रकृतिमा भुस बालुवाका धार आदि त संखास्पद थिए नै । त्यसैगरी पोष्टमार्टम रिपोर्ट पनि संखास्पद नै रह्यो । डुबेर मरेको व्यक्तिको फोक्सोमा पानी भरिएको हुनु पर्दथ्यो । तर मदन भण्डारीको सास अवरुद्ध भएर मृत्यु भएको उल्लेख छ । यो तथ्यले पनि उनको मृत्यु स्वाभाविक दुर्घटना थिएन भन्ने पुष्टि गर्छ ।

८. गायव भए प्रतिवेदन र प्रत्यक्षदर्शी
– एमालेले केपी ओलीको संयोजकत्वमा वनाएको छानमिन समितिले तयार गरेको प्रतिवेदन अहिले कहाँ छ ? कसैलाई थाहा छैन । तत्कालीन केन्द्रीय कार्यालय बल्खुको लाइब्रेरीमा समेत थिएन । त्यसैगरी त्यस प्रतिवेदनमा घटनाको प्रत्यक्षदर्शी बनाइएको थियो, एकजना लामा थरको मानिसलाई । ती प्रत्यक्षदर्शीका अनुसार चालक अमर लामा गाडी छोडेर माथि नै हामफाले र निश्किए । र, तल झरेर अभिनय गरे । यस्तो भन्ने ती अर्का लामा कहाँ गए ? के भए ? उनको खोजखवर त्यसपछिका दिनमा कहिल्यै भएन ।

९. अमर लामा हत्या अघि र पछि
– दाशढुंगा काण्डका एक मात्र जिवित प्रत्यक्षदर्शी मानिने अमर लामालाई सुरुका दिनमा सवैले संका गरे । हात्याका मतियार भएको आम आरोप थियो उनलाई । त्यसवेला मदन पत्नी विद्याले अमरलाई संका नगर्न अपिल गरिन्, जनआस्था साप्ताहिकको अन्तर्वार्ता मार्फत । उनले भनेकि थिइन् – अमर हाम्रो घरको सदस्य जस्तै हो, छोरा जस्तै हो । जव अमरलामाको हत्या भयो, त्यसपछि भण्डारीले ‘एउटा प्रमाण थियो, त्यो पनि सके’ भनेर नयाँ प्रतिक्रिया दिइन् । अमरलाई खेदिखेदी हत्या गर्नुको कारण पनि रहस्यमयी नै छ । त्यसको पनि छानमिन गरिएको छैन ।

१०. छानमिनमा उदासिनता
– दाशढुंगा काण्डको छानमिन राम्रोसँग नभएको भनेर एमालेले उसवेला आन्दोलन पनि गर्यो । तर, जव डेढ बर्षपछि एमाले सत्तामा आयो, उसले छानमिनको ‘छ’ पनि उच्चारण गरेन । दाशढुंगा काण्डपछि तत्कालिन एमाले नेता केपी ओलीको संयोजकत्वमा छानमिन समिति बनाएको थियो । उनै ओली डेढ बर्षपछि गृहमन्त्री बनेका थिए । माधव नेपाल रक्षामन्त्री भएका थिए । सरकार नै एमालेको थियो । पछि मदन भण्डारी पत्नी विद्या पनि अन्यमन्त्री हुँदै रक्षामन्त्री समेत बनिन् । हाल उनी राष्ट्रपतिकालागी दोस्रो कार्यकालको सुरुवातमा छिन् । तर उनले पनि दाशढुंगा काण्डको छानमिन गर्ने शब्द उच्चारण गरिनन् र गरेकि पनि छैनन् ।

प्रकाशित: ३ जेठ २०७५ १६:५३ बिहीबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी