विचार प्रदेश ३

नेपालमा गरिबीका कारण र उन्मुक्तिका उपायहरू

15 Shares

• पदम चालिसे  

नेपाल गरिब हुनुमा अनेकौँ कारणहरूको मिश्रण छ । कुनै एउटा कारणलाई मात्रै दोष लगाइयो भने त्यो त्यति पूर्ण हुँदैन । म पनि यहाँ केही आर्थिक कारणहरूको चर्चा र समाधानका उपायहरूको विश्लेषण गर्ने प्रयास गर्दैछु।

कारण १- पहिलो कारण सामाजिक सञ्जाल, चिया पसल, होटेल, स्कुल, कलेज जहाँ जहाँ मान्छेको जमघट हुन्छ, त्यहाँ त्यहाँ राजनीतिक गफ र सरकारको हरेक कामको विरोध गर्ने संस्कारको विकास हुनु हो । नराम्रो कामको विरोध त जायज नै हो तर विरोधका लागि विरोध गर्ने हाम्रो संस्कार नै गरिबीको १ कारण बन्न पुगेको छ आजकल । राम्रै कामको पनि विरोध हुन थालेपछि सरकार पनि अलमलमा पर्न जान्छ र निर्णय ढिला हुने र काम पनि ढिला हुने हुन्छ साथै मान्छेहरू काम छोडेर विरोधका लागि बाटोमा आन्दोलनमा आउँदा नियमित गर्नु पर्ने कामहरू रोकिन्छन् र गरिब हुन बाध्य भइन्छ ।  

यहाँ बुझ्नु पर्ने कुरा के छ भने जनतालाई चाहिने सबै कुरा सरकारले गर्ने होइन, जनता आफैँले गर्ने हो । सरकारले जनतालाई काम गर्नको लागि आवश्यक नीति नियम बनाएर काम गर्नसजिलो पार्ने हो।यसो सोचौँ त सरकारले जनताले कमाएको आम्दानीबाट १ प्रतिशतदेखि करिब ३५ प्रतिशतसम्म कर लिन्छ , औसतमा निकालियो भने जनताको कुल आम्दानीबाट २० प्रतिशत करको रूपमा सरकारले लिने हो । भने पछि ८० प्रतिशत आम्दानी त जनताकै अधीनमा हुने गर्छ । साथै सरकारको करको हाम्रो देशको हकमा त पुरानै चालु खर्चमा सकिन्छ अन्य देशको हकमा पनि ७० प्रतिशतदेखि माथि चालु खर्चमा सकिन्छ ।  

 यसरी जनताबाट उठाएको २० प्रतिशत रकमले त्यसमा पनि नगरी नहुने खर्च गरेर अनि सरकारबाट नै सबै विकास फटाफट होस् भन्ने भ्रम जुन जनतामा देखिएको छ, यसलाई राम्रोसँग बुझाउन आजसम्म कसैले सकेको छैन । त्यसैले सबै काम सरकारले गरेन भन्ने जुन भ्रम छ त्यो नै गरिब हुनुको एक कारण बनेको छ ।

कारण २- हरेक जनताले राजनीति बुझ्नु, चासो राख्नु त्यो स्वाभाविक नै हो तर राजनीतिलाई नै आफ्नो मुख्य पेसा बनाएर युवालाई सङ्गठित गरेर समय बरबाद पार्नु चाहीँ गरिबीको अर्को उदाउँदो कारण बनेको छ हाम्रो देशमा । देश कुनै वाद र दर्शनले विकास हुने होइन, हरेक देश कामले विकास हुने हो । काम गर्ने मान्छे जति राजनीतिक दलका झोला भिरेर हिँडेपछि गर्नु पर्ने काम कसले गर्दिन्छ र अनि देश बन्छ ?

कारण ३ - व्यापकरूपमा कर छली हुनु नै नेपाल गरिब हुनुको अर्को कारण हो । नेपालका धेरै जसो व्यवसायिक संस्थाहरूले दुई प्रकारका खाताहरू सञ्चालन गरेका हुन्छन् । पहिलो  सरकारलाई तिर्ने करको लागि अर्को वास्तविक जानकारीको लागि । जब कर नै नतिरेपछि सरकारले कसरी गर्नु पर्ने विकासका काम गर्न सक्छ र ? त्यसैले यो पनि देश गरिब हुने र थोरै मानिस धनी हुने मुख्य कारण बनेको छ ।  

जनताबाट उठाएको २० प्रतिशत रकमले त्यसमा पनि नगरी नहुने खर्च गरेर अनि सरकारबाट नै सबै विकास फटाफट होस् भन्ने भ्रम जुन जनतामा देखिएको छ, यसलाई राम्रोसँग बुझाउन आजसम्म कसैले सकेको छैन । 

कारण ४ - अनावश्यकरूपले विदेशी कम्पनीलाई नेपालमा ल्याउनु-सरासर हेर्दा विदेशी कम्पनी आए रोजगार बढ्यो भन्ने लाग्छ तर विदेशी कम्पनी विदेशी पूँजीसहित नेपाल आउँदा नेपालबाट ठूलो रकम बर्सेनि ती कम्पनीहरूको नाफाको हिस्सा विदेसिने गर्छ जुन राष्ट्रका लागि ठूलो घाटा हो । त्यसैले जथाभाबी विदेशी कम्पनी देशमा सञ्चालन गर्न दिनु पनि गरिबीको अर्को कारण बन्न पुग्यो ।

कारण ५ - कृषिलाई सरकारले उचित नीति बनाएर संरक्षण गर्न नसक्नु नै गरिबीको मुख्य कारण बन्न पुग्यो ।

कारण ६- अर्थशास्त्र बुझेको मान्छे आर्थिक नीति निर्माणमा नहुनु नै गरिब हुनुको मूल कारण भयो ।

कारण ७- कर छली र भ्रष्टाचारले गर्दा सीमित मानिसहरू धनी भए जसले गर्दा ती मानिसहरूको सोखले विदेशी महँगा ब्रान्डका सामानहरूको आयातमा वृद्धि पुग्यो । जब आयात बढ्यो हाम्रो ढुकुटी रित्तियो यो पनि गरिब हुनुको एउटा कारण हो ।

कारण ८- सरकारले समयमै आफ्नो बजेट खर्च गर्न नसक्नु । जसले गर्दा पैसाको चलायमान रोकियो र गरिब झन् गरिब भए । जति छिटो पैसालाई आवश्यक पर्ने ठाउँमा चलायमान गर्न सकिन्छ त्यति नै छिटो विकास हुन्छ ।

कारण ९- आफ्ना साधन र स्रोत प्रयोग नगरी विदेशबाट सामान खरिद गर्नु नै गरिबको अर्को कारण भयो । जस्तै नेपालका जङ्गलमा धेरै रुखहरू ढलेर कुहिएर गएका छन् तर हामीले चीनबाट करोडौँको फर्निचर किनेका छौ , त्यस्तै हरेक क्षेत्रमा यस्तो भइराखेको छ । यो नै गरिब हुनुको कारण भयो ।

कारण १०- दक्ष जनशक्तिलाई सरकारले उपयुक्त वातावरण निर्माण गरेर देश भित्रने कामको सिर्जना गर्न नसक्नु पनि गरिब हुनुको कारण बन्यो ।

गरिब हुनुका अनेकौँ कारणहरू छन् । माथिका केही आर्थिक सम्बन्धी कारणहरू खोतल्ने प्रयास गरेको मात्रै हो । एक जना मान्छे १८ वर्षसम्म जग्गा बेची बेची डिग्री पास गर्छ अनि कलेज पढाउन जान्छ । १ कक्षा एउटा क्याम्पसमा अर्को कक्षा अर्को क्याम्पसमा दिनभरि यता र उता कुदेर १ महिनामा २५००० तलब बुझ्छ । त्यही पनि कलेजले ३ महिनामा पटक पटक गरेर बल्ल बल्ल गरेर दिन्छ । त्यतिले के के लाई पुर्यािउने अनि कसरी नेपाल बस्न सक्छ एउटा योग्यमान्छे ? यो एउटा कलेज पढाउनेको व्यथा हो । यस्तो व्यथा हरेक क्षेत्रमा छ । यसका प्रमुख कारण यिनै माथिका आर्थिक कारणबाट सृजित अवस्थाहरू हुन् । यिनका केही समाधानका उपायहरू छन् जुन यस प्रकार छन् ।

उपाय १ - युवालाई राजनीतिक झोला भिरेर हिँडाउन छोड्ने । राजनीतिप्रति मानिसहरू आफैँ आकर्षित हुन्छन् जसको व्यक्तिगत स्वार्थ हुँदैन र मन भित्र नै देश र जनताको लागि केही गरेर मर्छु भन्ने भावना जागृत भएको हुन्छ र राजनीतिमा लागेको हुन्छ । त्यस्तै मानिसहरूले अध्ययन गरेर राम्रो नीति नियम निर्माण गरी देश बन्ने हो त्यसैले कुनै पनि वादको नाममा युवालाई फुस्रा सिद्धान्त र गफ दिन छोडेर उनीहरुलाई काम गर्ने वातावरण निर्माण गर्दिनु नै देशलाई गरिबबाट मुक्त गर्नु १ उपयुक्त उपाय हो ।

उपाय २ - खान नपाएर मर्नु भन्दा पुग्दासम्म आयात गरेर खानु राम्रो हो, आयात गरेर खानु भन्दा विदेशी कम्पनी नेपालमै खोल्न दिएर उत्पादन गर्नु राम्रो हो । विदेशी कम्पनी पूँजीसहित ल्याउनु भन्दा रोयल्टी तिर्ने गरिल्याउनु राम्रो हो। विदेशी कम्पनी रोयल्टी तिरेर ल्याउनु भन्दा विदेशबाट प्रविधि आफ्नै पूँजीमा किनेर ल्याई आफैँले कम्पनी खोल्नु राम्रो हो । विदेशबाट प्रविधि किन्नु भन्दा आफ्नै देशमा प्रविधिको विकास गर्नु राम्रो हो । यो कुरालाई ध्यानमा राखेर विदेशी लगानी भित्रियो भने देशलाई हुने ठूलो घाटाबाट बचाउन सकिन्छ ।

उपाय ३- कृषिलाई सहकारी मोडेलबाट सबै जग्गा भाडामा लिएर सरकारले बिना ब्याज सहकारीलाई लोन उपलब्ध गराउन केन्द्रीय बैङ्कलाई निर्देशन दिन सक्दछ र त्यसको उत्पादन र बिक्री वितरण सबै सहकारीद्वारा गर्ने हो भने हाम्रो कृषिको आयात रोकिन जान्छ र देशले गुमाउँदै आएको ठूलो नोक्सानी रोकिन्छ । सहकारीमा धेरै नेपालीको लगानी हुने हुँदा केन्द्रीय बैङ्कले मौद्रिक नीतिमा अलिकति परिवर्तन गर्दा सहकारीलाई दिने लोनलाई फ्रीमा उपलब्ध गराउन सकिन्छ यो गर्दा सरकारलाई कुनै थप आर्थिक भार नपारी मौद्रिक नीतिलाई मात्रै प्रयोग गरेर यो काम सजिलै गर्न सकिन्छ ।

उपाय ४ - जति पनि नेपालमा कर छली हुन्छ त्यसमा लेखा परीक्षण गर्नेको मुख्य भूमिका हुन्छ । त्यसैले यो रोक्नलाई केही संस्थाको फुल लेखा परीक्षण गरी तुरुन्तै त्यस्ता गल्ती गर्ने लेखा परीक्षण गर्ने संस्थाहरूको लाइसेन्स खारेज गरी जेलमा हाल्दिने हो भने यो कर छली धेरै हदसम्म रोकिन्छ । जब कर छली रोकिन्छ तब सरकारलाई विकास गर्न यथेष्ट पैसा पुग्ने हुन्छ । म दावाका साथ भन्छु नेपालमा अहिले वार्षिक ९ खर्ब कर उठ्छ । यदि सबै कर छली रोकिने हो भने वार्षिक सजिलै २० खर्ब कर उठ्नेछ । त्यो बढी उठेको करले सजिलै केही वर्षमा नै शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिन्छ ।

उपाय ५ - सरकारले व्यवसाय गर्नलाई प्रोत्साहन गर्नु पर्छ । नेपालमा नाफामा लगाउने कर ठिक छ तर त्यो नाफाबाट व्यवसायीले आफ्नो व्यक्तिगत प्रयोजनको लागि पैसा लिन्छ । जसलाई लाभांश भनिन्छ, त्यो लाभांश कर निकै थोरै छ जसले गर्दा थोरै मानिसले धेरै सुविधा पाए र धेरै गरिब भए । त्यसलाई मिलाउन लाभांश कर वृद्धि गरेर ५० प्रतिशत सम्म पुर्याउँदा हुन्छ । फिनल्यान्डमा लाभांश कर ५२ प्रतिशत सम्म छ । जसले गर्दा कुनै व्यवसायीले आफ्नो व्यापारको नाफालाई थप लगानी गर्न प्रोत्साहित गर्छ , तर यदि व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्छ भने राज्यलाई ठूलो कर तिर्नु पर्छ । हाम्रो देशमा लाभांशकर ५ प्रतिशत छ जसको फाइदा केही व्यक्तिलाई हुन् पुग्यो । त्यसैले यो समस्या सुल्झाउन लाभांश कर वृद्धि गर्नु पर्दछ जसले गर्दा कर वृद्धि हुन जान्छ र त्यो पैसा बेरोजगार युवालाई वितरण गर्न पुग्छ।

नेपालमा धेरै राम्रा आइटिका विद्यार्थी छन् तर नेपालका बैङ्कहरूमा विदेशी सफ्टवेयरहरू प्रयोग गरेका छन् ती सफ्टवेयरहरू प्रयोग गरेबापत करोडौँ पैसा विदेश गएको छ । 

उपाय ६ - नेपालमा धेरै राम्रा आइटिका विद्यार्थी छन् तर नेपालका बैङ्कहरूमा विदेशी सफ्टवेयरहरू प्रयोग गरेका छन् ती सफ्टवेयरहरू प्रयोग गरेबापत करोडौँ पैसा विदेश गएको छ । त्यो सजिलै सस्तोमा नेपाल भित्रनै बनाउन सकिन्छ । त्यस्तो ठूलो हाउगुजी देख्नु पर्ने केही छैन त्यो सामान्य कुरा हो जतिसुकै ठूलो बैङ्क किन नहोस् लेखा राख्ने तरिका उस्तै नै हुन्छ । त्यसैले यो विदेशिएको पैसालाई रोकियो भने जनताले सस्तो ब्याज दरमा ऋण लिन सक्ने थिए र आर्थिक गतिविधिको वृद्धि हुने थियो।

उपाय ७- पुर्खौली सम्पत्ति हस्तान्तरणमा कर लगाउनु पर्छ। जब शिक्षा स्वास्थ्य निशुल्क गर्न सकिन्छ तब मानिसहरूलाई आफ्ना सन्ततिको पढाई र स्वास्थ्य प्रतिको बोझ निकै नै हलुङ्गो हुने गर्दछ । त्यति भए पछि पुर्खौली सम्पत्ति हस्तान्तरणमा कर लगाउँदा जनताबाट पनि विरोध गर्नुपर्ने हुँदैन । त्यतिभए पछि गरिबको छोरा सधैँ गरिब र धनीको छोरा सधैँ धनी हुने समस्या केही हदसम्म सुल्झाउन सकिन्छ।

उपाय ८- हामीले जे जे गरेर नेपाल भित्रिएको विदेशी मुद्रालाई बढी भन्दा बढी वृद्धि गर्न सकिन्छ त्यो त्यो गरेपछि केन्द्रीय बैङ्कले सस्तो ब्याजदरमा लोन दिन सक्ने मौद्रिक नीति अवलम्बन गर्दछ । जब लोन सस्तोमा पाइन्छ तब धेरै जनताले आफूलाई आवश्यक परेको जस्तै घर, कार, जग्गा किन्न र व्यवसाय सञ्चालन गर्न सक्दछन् । अहिले हाम्रो अर्थतन्त्र सबै आयातमा निर्भर छ त्यसैले केन्द्रीय बैङ्कले सस्तो ब्याजदर गराउने मौद्रिक नीति अवलम्बन गर्न सक्दैन जसको कारणले हाम्रा सबै आवश्यकताका सामानहरू महँगो भए । जति काम गरे पनि जीवन निर्वाह गर्न नसक्नुको मूल कारण महँगो ब्याजदर पनि हो ।

उपाय ९- हामी धेरै रेमिटेन्स भित्राउने मुलुकमा टप १० मा पर्दछौँ । तर हाम्रो सबै पैसा आयातमा नै सकियो, त्यसैले जसरी हुन्छ त्यो पैसा उत्पादनमा लगाएर आयात रोक्नु पर्यो  । उत्पादन गर्दा हाम्रो उत्पादन लागत बढी परेर विदेशी वस्तुसङ्ग प्रतिस्पर्धा गर्न सकिएन भने तत्काल सरकारले त्यस्ता उत्पादनहरूलाई सहुलियत दिएर प्रतिस्पर्धा गर्न सघाउनु पर्दछ । तब मात्रै स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्दछ र अनावश्यक आयात रोकिन्छ।

उपाय १०- गाउँ गाउँमा सहकारी मोडेलबाट देशभित्र मात्रै उत्पादन भएका सामान बेच्ने पसल सञ्चालन गरियो भने सरकारले बेरोजगार युवाहरूलाई उक्त सहकारीबाट मात्रै आवश्यक पर्ने सामान किनेर लान सक्ने गरी बेरोजगार भत्ता कार्ड वितरण गर्न सक्दछ । जब बेरोजगार युवाहरूले ती सामान किनेर लैजान्छन् तब सामानको माग बढ्छ । त्यसपछि फेरी आपूर्ति बढाउन तिनै बेरोजगार युवाले रोजगार पाउन थाल्दछ यसरी यो अर्थशास्त्रको चक्र बुझेर बेरोजगार युवालाई रोजगार सजिलै दिन सकिन्छ ।

यो आर्थिक नीति अवलम्बन गर्न नेपालमा जुनसुकै पार्टी आए पनि गर्न सकिन्छ । यसे गर्दा कसैलाई बेफाइदा हुँदैन सजिलै सबै कामहरू लयमा अगाडि बढ्दै जान्छन् र केही वर्षमा नै नेपालबाट गरिबीको अन्त्य गर्न सकिन्छ ।

प्रकाशित: २७ माघ २०७७ १४:५४ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी