पैसासँग विकासको सम्बन्ध

पैसासँग विकासको सम्बन्ध

केन्द्रबिन्दु संवाददाता
0
Shares

  • पदमप्रसाद चालिसे

संसारभर आर्थिक र राजनीतिक क्षेत्रमा धेरै चर्चा हुने विषय भनेको विकासको मोडल नै हो । यस विषयमा सबैका आ–आफ्नै तर्क र विश्वास हुने गर्दछ । कसैको तर्क छ, सम्पूर्ण साधन र स्रोतलाई परिचालन केन्द्रमा राखेर सरकारले गर्दा छिटो विकास हुन्छ । जसलाई कम्युनिष्ट विचारधारा भनिन्छ । कोही तर्क गर्छन्, सरकारले सानो क्षेत्रजस्तै देश र जनताको शान्ति सुरक्षामा मात्रै ध्यान दिने, अरू सबै कुरा निजी क्षेत्रलाई स्वतन्त्र रूपले छाडीदिँदा छिटो विकास हुन्छ । 

जसलाई पुँजीवाद भनिन्छ । कोही तर्क गर्छन्, जनताका आधारभूत आवश्यकता जस्तैः शिक्षा र स्वास्थ्यका साथै शान्ति सुरक्षा र केही विशेष आवश्यक अवस्थामा मात्रै बजार हस्तक्षेप गर्ने नीति लिएर अरू सबै निजी क्षेत्रलाई छोडीदिँदा विकास छिटो हुन्छ । जसलाई समाजवाद भनिन्छ । वास्तवमा समाजवाद भनेको त्यस्तो समाजको निर्माण गर्नु हो, जहाँ हरेक व्यक्तिले आफ्नो काम गरेर सम्मानजनक जीवन जिउन सकुन् । कुनै पनि तरिकाले वा बहानामा एकभन्दा अर्को व्यक्ति हेपिने थिचोमिचोमा नपर्ने समाजको निर्माण गर्नु नै समाजवादको लक्ष्य हो ।
 
यी माथिका तीनै मोडेलमा संसारभर धेरै लेख, रचना र किताब  लेखिएका छन् । जसका आ–आफ्नै फाइदा र बेफाइदा छन् । तर यहाँ  म यी तीन मोडेलको बारेमा चर्चा गर्दिन ।   
 
विकास भनेको मानिसहरूले जीवन सहज तरिकाले जिउनको लागि चाहिने आवश्यक सामान र सुविधा हुनु नै आर्थिक रूपले विकासको सूचक मान्ने गरिन्छ ।  जस्तैः जिउनका लागि स्वस्थ खाना, लगाउनको लागि लुगा, बस्नको लागि सुविधाजनक घर, शिक्षाको लागि गुणस्तरीय विद्यालय र कलेज, उपचारको लागि सुविधासम्पन्न अस्पताल आदि पर्दछन् । अब ती सामान र सुविधा प्राप्त गर्न तिनै मानिसले प्रकृतिमा उपलब्ध साधन र स्रोतको प्रयोग गरी मेसिन र मान्छेले काम गरेर आवश्यक सामान बनाउनुलाई नै विकासको रुपमा लिने गरिन्छ । 
 
सरसर्ती हेर्दा जति विकास सरल छ, त्यति नै कठिन पनि ।  त्यसैले संसारका धेरै देशहरूमा  साधन, स्रोत र बेरोजगार मानिसहरू हुँदा पनि काम गर्ने तालमेल नमिलेपछि गरिबीमा पिल्सिन बाध्य भएका हुन् । नेपाल पनि त्यस मध्येको एक देश हो । खासमा प्रकृतिमा उपलब्ध साधन र स्रोत प्रयोग गरी आवश्यक सामान उत्पादन मेसिन र मान्छेको कामले गर्ने हो ।  यसलाई गर्नको लागि विभिन्न किसिमका कामहरू गर्नुपर्ने हुन्छ ।  कामको प्रकृति हेरी त्यही अनुसारको कसैलाई धेरै र कसैलाई थोरै सामान दिनुपर्ने हुन्छ ।  तिनै सामानहरूको भागबन्डा मिलाउन पैसाको विकास क्रमिक रूपले हुँदै आएको हो ।
 
पैसाको विकासले नै सजिलै उत्पादित सामानको भागबन्डा लगाउन सक्ने काम गरेको समय र कामदारले प्रयोग गरेको सीप र क्षमताअनुसार सम्बन्धित व्यक्तिलाई सुविधा र सामान दिन मिल्ने भएको हो । पैसाको प्रयोगले नै सजिलै आफूलाई मन परेको कुरा किन्न र बेच्न सकिन्छ । पैसाको प्रयोगले नै आज कमाएर भविष्यको लागि सञ्चित गर्न सहज भएको छ । पैसाका धेरै गुणकारी विशेषता हुँदाहुँदै पनि यसको प्रयोगले मानिसलाई केही हदसम्म बेफाइदा पनि पुर्याएको छ ।  पैसाको लागि मानिस लुट्न, ढाँट्न, छल्न, मार्न जे पनि गर्न तयार भएको हामीले देखेका छौं । खासमा हामीलाई पैसा होइन सुविधा चाहिएको थियो । तर पैसाको प्रयोग गरेसँगै मान्छे सुविधा बढाउने कामभन्दा कसरी हुन्छ पैसा बढाउने कामतिर लागेकाले नै पैसाको सबैभन्दा ठूलो अवगुण हुन पुगेको हो । जस कारणले संसारले अनावश्यक दुःख पाइरहेको छ ।
 
पैसा कुनै पनि देशको केन्द्रीय बैङ्कले निष्कासन गरेको हुन्छ । त्यसको लागि आवश्यक सुन र चाँदी राख्नुपर्ने हुन्छ । पहिले–पहिले सुन र चाँदीलाई मात्रै अन्तर्राष्ट्रिय मान्यता दिएको हुँदा अझ भनौँ सबै देशले स्वीकार्ने हुँदा ती चिज मात्रै धरौटीको रूपमा राख्ने चलन थियो । तर पछि सन् १९४४ माव्रेटोन वुड्स सम्झौता (बेट्रोन उड्स एग्रीमेन्ट) गरी संसारको दुई तिहाइ सुन अमेरिकासँग भएको अवस्थामा अब अमेरिकन डलरको  धरौटी सुन हुने र अन्य देशले धरौटीको रूपमा सुन जस्तै डलर राख्न सक्ने सम्झौता गरी त्यसको नीतिनियम अन्तर्राष्ट्रिय मुद्रा कोष  र विश्व  बैङ्कले  बनाई सम्पूर्ण अन्तर्राष्ट्रिय व्यापारिक कारोबारलाई व्यवस्थित गराउने भूमिका खेलेको थियो ।

यसो गर्दैगर्दा सुनको मागमा वृद्धि भई अमेरिकन डलरको मागमा कमी भयो । जब डलरको मागमा कमी भयो, तब अमेरिकामा महँगी धेरै बढ्न पुग्यो । त्यसपछि सन् १९७१ मा सुनसँग डलरको सम्बन्ध अमेरिकन राष्ट्रपतिले तोडेको घोषणा गरेसँगै अहिले संसारभरको पैसा (फ्याट मनी) बन्न पुगेको छ । 

अब कुनै पनि देशले आफ्नो पैसा छाप्न ब्याकअपको रूपमा सुन चाँदी वा विदेशी मुद्रा राख्नुपर्ने अनिवार्यता छैन । तर बाध्यता चाहिँ सबै देशलाई हुन्छ । किनकि बिना धरौटी  पैसा छापेर देशभित्र धेरै आफ्नो पैसा भयो भने त्यसले आयातमा वृद्धि गर्छ र विदेशी पैसाको माग उच्च हुन्छ ।  यदि विदेशी पैसाको आपूर्तिभन्दा माग  उच्च हुन्छ, त्यसले आफ्नो पैसालाई कमजोर बनाउँछ । जसले गर्दा महँगी बढेर अर्थतन्त्रमा आर्थिक जटिलताको अवस्था आइपुग्छ ।
 
त्यसैले बुझ्न सकिन्छ कि कुनै पनि देशले आफ्नो पैसा छाप्न विदेशी मुद्रा राख्नैपर्ने अनिवार्यता छैन । तर वैदेशिक व्यापारको लागि नराखी हुँदैन । किनकि कुनै पनि देशले अन्य देशबाट सामान खरिद गर्नुपर्ने हुन्छ । त्यसको लागि विदेशी मुद्रा राख्नैपर्ने हुन्छ । त्यसैले अर्थतन्त्रमा वैदेशिक व्यापारको कारणले जटिल अवस्था आउन नदिनको लागि भने विदेशी मुद्राको सञ्चिति गर्नुपर्ने  बाध्यता हरेक देशलाई छ ।
 
अब जनतासँग आफ्नो देशको पैसा हुन्छ । तर केन्द्रीय बैङ्कमा विदेशी मुद्राको सञ्चिति गर्नुपर्ने हुन्छ । किनकि हरेक देश आफैंमा आत्मनिर्भर हुँदैन । जसले गर्दा  विदेशबाट सामान खरिद गर्नुपर्ने हुन्छ । त्यसैलाई हरेक देशले कम्तीमा पनि ६÷७ महिनाको लागि आयात धान्ने गरी  विदेशी मुद्रा राख्ने गरेका हुन्छन् ।
 
यसरी हरेक देशमा विदेशी मुद्राको माग  आयात गर्नको साथै विभिन्न उद्देश्यको लागि हुने गर्दछ र विदेशी मुद्राको आपूर्ति  निर्यात, विप्रेषण  तथा अन्य विभिन्न माध्यमबाट हुने गर्दछ । यही विदेशी मुद्राको माग  र आपूर्तिको अवस्था र आवश्यकता तथा बजारको मूल्यस्तर, सामानको अभाव वा अधिक आपूर्ति अनेकौँ कारणको विश्लेषण गरी केन्द्रीय बैङ्कले आफ्नो पैसाको विनिमय दर डलरसँग तोकेको हुन्छ ।
 
नेपालको हकमा सुरुवाती चरणमा डलरसँगै दर तय गरिन्थ्यो । तर दुई देशबीच दैनिक रूपमा धेरै कारोबार हुने हुँदा, विनिमय दर परिवर्तन भइरहँदा व्यापारमा कठिनाई उत्पन्न हुने हुँदा नेपालको पैसालाई डलरसँग नभई भारतीय पैसासँग निश्चित दरमा स्थिर विनिमय दर कायम गरिएको हो । अब भारतसँग कसरी १ रुपियाँ भारतीय बराबर नेपाली १.६ रुपियाँ हुन्छ भन्ने कुरा दुवै देशको बजारको मूल्य स्तरले तय हुने कुरा हो ।
 
यो भनेको भारतको बजारमा गएर करिब एक सय वटा सामानको कुल मूल्य जोढिन्छ । अनि उस्तै सामानको मूल्य फेरी नेपालको बजारमा पनि जोढिन्छ । अब यस्तो अवस्थामा भारतीय बजारको कुल मूल्य दश हजार भारतीय रुपियाँ अनि नेपालको बजार सामानको मूल्य रुपियाँ सोह्र हजार भयो भने अब दुई देशबीच यही दरमा एक अर्काको पैसाको विनिमय दर तोक्ने सहमति गरिन्छ  । यसरी संसारका छिमेकी देशहरूले एक आपसमा विनिमय दर तोक्न सक्छन् ।
 
कुनै पनि देशको पैसा महंगो हुनु र सस्तो हुनुमा त्यो देशको समग्र बजारको मूल्यस्तरले तय हुने कुरा हो । अनि त्यो बजारको सामानको मूल्यस्तर भनेको कामदारको तलबको स्तर र  उत्पादकत्वले हुने गर्छ । अमेरिकामा एउटा कामदारको तलब करिब एक हजार ५०० डलर मासिक हुन्छ । त्यसैले त्यहाँको समग्र बजारको मूल्यस्तर कम अङ्कमा हुने गर्दछ । तर नेपालमा कामदारको मासिक तलब रु चौध हजार जति छ । जसले गर्दा सबै सामानको मूल्य धेरै अङ्कमा हुने गर्दछ । त्यसैले अमेरिकाको पैसा हाम्रोभन्दा महँगो भएको हो । अब दक्षिण कोरियामा कामदारको तलब प्रति तीस लाख ६८ हजार ५९० वोन छ । जसले गर्दा समग्र बजारको मूल्यस्तर बढी छ । त्यसैले देश विकसित भए पनि हाम्रो पैसाभन्दा उसको पैसा कमजोर भएको हो ।
 
त्यस्तै हामीभन्दा इरान पनि निकै धनी छ । तर त्यहाँको पैसा पनि हाम्रोभन्दा निकै कमजोर छ । त्यसैले भन्न सकिन्छ पैसा कमजोर र बलियो हुने कुरा बजारको मूल्यस्तरले तय हुने कुरा हो । अनि जापानसँग तुलना गर्दा त्यहाँको कामदारको तलब हाम्रोमा भन्दा धेरै छ । तर हाम्रो पैसाभन्दा उसको पैसा थोरैले महँगो छ । यसको कारण चाहिँ जापानको उत्पादकत्व हाम्रोभन्दा ज्यादै बढी छ । जसको कारणले उसको प्रतिव्यक्ति आम्दानी हाम्रोभन्दा करिब ४७ गुणा बढी छ । त्यसैले  त्यहाँ कामदारको तलब हाम्रोमा भन्दा धेरै पनि उसैको पैसा थोरैले महँगो भएको हो । तर दक्षिण कोरियाको हकमा उत्पादकत्व साथै प्रतिव्यक्ति आय हाम्रोमा भन्दा बढी भए पनि उसको कामदारले पाउने मासिक तलबको अङ्क हाम्रोमा भन्दाअधिक धेरै गुणा बढी  भएकोले त्यहाँको पैसा हाम्रोभन्दा कमजोर भएको हो ।
 
त्यसैले भन्न सकिन्छ, पैसा कमजोर होस वा बलियो त्यसले खासै फरक पर्ने होइन । त्यो त धेरै अङ्कमा माने धेरैमा कारोबार हुन्छ । थोरै अङ्कमा माने थोरै अङ्कमा हुने हो । तर जुन देशमा धेरै महँगी बढी छ, त्यो देशको पैसा छिटो कमजोर हुँदै जान्छ भन्ने हुन्छ । अनि पैसा कमजोर होस वा बलियो विकास गर्न मान्छेले उचित ठाउँमा काम गर्नैपर्छ यो अनिवार्य शर्त हो ।

Logo