कोरोना भाइरसको नयाँ ‘भ्यारिएन्ट’, अझै उच्च सतर्कता जरुरी

कोरोना भाइरसको नयाँ ‘भ्यारिएन्ट’, अझै उच्च सतर्कता जरुरी


विश्वभरि नै कोरोना भ्याक्सिन प्रयोगमा आउन  थालेपछि ठूलो राहत महसुस गरिएको छ। विश्वका अधिकांश मुलुकले विभिन्न कम्पनीले बनाएका भ्याक्सिनलाई प्रयोग गर्ने अनुमति दिएर भ्याक्सिनेसन सुरु गरिसकेका छन्।

अनेकौं प्रविधिले तयार भएका थरिथरीका भ्याक्सिन खुलाबजारमा उपलब्ध नभए पनि सम्बन्धित मुलुकका सरकारले नै उत्पादक मुलुक तथा उत्पादक कम्पनीसँग भ्याक्सिन  प्राप्त गरी आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्ध सुरक्षित राख्ने उपाय गरिरहेका छन्।

एकातिर, भ्याक्सिनले कोरोनाविरुद्ध आस र भरोसा जन्माएको छ। अर्कोतर्फ, कोरोना भाइरस  ‘म्युटेट’ भएर देखिएका यसका नयाँ ‘भ्यारिएन्ट’ले  सरकार र सर्वसाधारणको चिन्ता अझै बढाएको छ।  विश्वमा कोरोना ‘म्युटेट’ पछि विकसित भएका यसका अनेकौं नयाँ ‘स्ट्रेन’ (भ्यारिएन्ट) फेला परिसकेका छन्।

छिमेकी भारतबाटै यस सम्बन्धमा आएका नयाँ खबरले जोकसैको पनि मस्तिष्क रन्थिने परिस्थिति बन्दै गइरहेको छ।

केही समयअघि भारतमा ‘नयाँ कोरोना संक्रमित देखिने’को  संख्यामा कमी आएको थियो। तर, हालै आएर एकपटक पुनः कोरोना संक्रमित हुनेहरूको संख्यामा वृद्धि देखिएको छ। समाचारअनुसार पछिल्लो समय भारतका १०–१२ राज्यमा संक्रमित संख्या बढेको छ।

केही दिनअघि भारत सर्वाधिक संक्रमित हुने टप १५ मुलुकको सूचीबाट बाहिरिएको थियो। तर, नयाँ उपलब्ध तथ्यांकले भारत एकपटक पुनः टप १५ भित्र पर्न पुगेको छ।  यस मामलामा भारत अहिले विश्वको १३ औं सर्वाधिक संक्रमित भएको  मुलुक बनेको छ ।

भारतमा यसरी संक्रमित संख्या बढ्दै जानु नेपालका लागि पनि शुभ संकेत होइन। यसै क्रममा देखिएको  नयाँ परिस्थितिले भारत सरकारलाई  सतर्क बनाएको  छ। नेपाल सरकारले पनि भारत सरकारझैं उच्च सतर्कता अपनाएर तदारुकता देखाउने बाध्यात्मक परिस्थिति आएको छ।

दिल्लीको ‘इन्स्टिट्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’ र  गाजियावादको एकेडमी अफ साइन्टिफिक एन्ड इनोभेटिभ रिसर्च’का अनुसन्धानकर्ताका अनुसार भारतमा  देखिएको कोरोनाको नयाँ ‘स्ट्रेन–एन४४०के’ ले पुनः कहर फैलाउने सम्भावना बढ्दै गइरहेको छ। 

अनुसन्धानको प्रारम्भिक नतीजाअनुसार यस नयाँ कोरोना ‘स्ट्रेन’ले कोरोनाका पुराना ‘स्ट्रेन’का कारण संक्रमित भई निको भइसकेका व्यक्तिलाई पनि गम्भीर अवस्थासम्मको संक्रमण हुन सक्छ। यस शोध तथा अनुसन्धानमा भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको कुरनुल मेडिकल कलेजका अनुसन्धानकर्ताको पनि संलग्नता रहेको थियो।

अनुसन्धानमा संलग्न शोधकर्ताका अनुसार कोरोनाको यो नयाँ ‘स्ट्रेन’ ले कोरोना संक्रमित भई निको भएका व्यक्तिहरुमा विकसित भएको ‘एन्टीबडी’ अर्थात् उनीहरुको ‘इम्युन सिस्टम’बाट जोगिदै घातक रूप धारण गर्न सक्छ।

अनुसन्धानकर्ताले  पहिले कोभिड–१९ बाट  संक्रमित भई निको भएका दुईजना व्यक्तिमा यस नयाँ ‘स्ट्रेन’ले पुनः संक्रमण फैलिएको पत्ता लगाएका थिए।

सम्बन्धित विज्ञले यस कोरोना भाइरसको  नयाँ ‘स्ट्रेन–एन४४०के’लाई अहिलेसम्मकै सबैभन्दा खतरनाक ‘भ्यारिएन्ट’को संज्ञा दिएका छन्।  साथै यो ‘भ्यारिएन्ट’ भारतको लोकल भ्यारिएन्ट भएको पनि थाहा भएको छ।

कुनै पनि भाइरसले ‘म्युटेट’ भएर आफ्नो स्वरुप परिवर्तित गरी राख्नु असामान्य कुरा होइन, यो प्राकृतिक नियमकै कुरा हो। दक्षिण अफ्रिका र भारतमा देखिएको कोरोना भाइरसको यो नयाँ स्वरुप (स्ट्रेन ) पहिलेको कोभिड–१९ भन्दा घातक भएको कुराले सम्बन्धित क्षेत्रका विशेषज्ञको चिन्ता बढाइदिएको छ।

यदि  यस नयाँ ‘स्ट्रेन’ले कोभिड–१९ बाट संक्रमित भई निको भएका, एन्टीबडी बनिसकेका व्यक्तिमा गम्भीर अवस्थासम्मको संक्रमण फैलाउन सक्छ भने कोभिड–१९ लाई लक्षित गरी बनाइएका  सबै  भ्याक्सिनको उपयोगिता र प्रभावकारितामाथि पनि सन्देह पैदा भएको छ।

भ्याक्सिन वास्तवमा अन्य कुनै औषधिमूलो नभएर कोरोना अथवा अन्य कुनै  भाइरसकै कमजोर पारिएको स्वरुप हुन्छ, जसले भ्याक्सिनका माध्यमले शरीरमा प्रवेश गरी ‘इम्युन सिस्टम’ लाई त्यसविरुद्ध एन्टीबडी बनाउन  प्रेरित गर्छ।

यदि कोरोना संक्रमण भई निको भएका अर्थात् एन्टीबडी बनिसकेका मानिसलाई यस नयाँ ‘स्ट्रेन’ले पुनः सिकार बनायो भने भ्याक्सिनबाट बनेको एंटीबडी विरुद्ध पनि यो नयाँ ‘स्ट्रेन’ विजयी हुन्छ र, भ्याक्सिन लिएका व्यक्तिलाई खतरा हुन सक्छ।

 अनुसन्धान रिपोर्ट अनुसार  आन्ध्रप्रदेशमा देखिएका नयाँ संक्रमितमध्ये झन्डै ३३ प्रतिशत संक्रमित यसै नयाँ ‘स्ट्रेन’बाट  संक्रमित भएका हुन्। उता, भारतको नीति आयोगका सदस्य वीके पालले युके ‘स्ट्रेन’बाट  भारतमा १ सय ८० भन्दा बढी  संक्रमित देखिसकिएको बताएका छन।  ‘युके’को कोरोना ‘भ्यारिएन्ट’ पनि कोभिड़–१९ भन्दा घातक रहेको प्रमाणित भइसकेको छ। दक्षिण अफ्रिकामा भेटिएको नयाँ कोरोना ‘स्ट्रेन’ का विरुद्ध अक्सफोर्डको एस्ट्रेजेनेका  भ्याक्सिन (नेपालमा कोभिशिल्डका नामले आएको भ्याक्सिन अक्सफोर्डकै भ्याक्सिन हो ) प्रभावी  नरहेको समाचार आइरहेका छन्।

भारतमा देखिएको एउटा कोरोना ‘भ्यारिएन्ट इ४८४के’ पहिलेको कोभिड–१९ भन्दा अतिघातक रहेको भनिएको छ। भारतको महाराष्ट्र, तेलंगाना, आन्ध्रप्रदेश, केरला राज्यमा देखिएका नयाँ संक्रमित यसै नयाँ ‘स्ट्रेन’ एन४४०के र इ४८४के बाट संक्रमित भएको आशंका गरिएको छ ।

अहिले भारतमा नयाँ संक्रमितको संख्या निको हुनेभन्दा बढी हुन गएको छ ।  समाचार एजेन्सी एएनआइका अनुसार गत २४ घन्टा (३ मार्चको समाचार अनुसार ) भारतको कोरोना मिटरमा  १४,९८९ नयाँ संक्रमित थपिएका छन्। यस अवधिमा स्वास्थ्य लाभ गर्नेको संख्या १३,१२३ रहेको थियो। र, २४ घण्टाको अवधिमा संक्रमणका कारण ९८ व्यक्तिको निधन भयो। अहिलेसम्मको तथ्यांकअनुसार भारतमा कूल संक्रमित संख्या १,०८,१२,०४४ पुगेको छ।  यस मध्ये १,५७,३४६ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा पछिल्लो समाचारअनुसार भारतमा सक्रिय संक्रमित संख्या १,७०,१२६ रहेको छ। यो भनेको कोरोना बमतुल्य नै हो।

२ मार्चको साँझसम्म भारतका कूल १,५६,२०,७४९ जनालाई कोरोनाविरूद्वको पहिलो खोप लगाइसकिएको छ। यो भनेको जनसंख्याको पुग नपुग १ प्रतिशत मात्रै हुन आउँछ। सबैभन्दा पछिल्लो समाचारअनुसार  नरेन्द्र मोदीको केन्द्रीय सरकारले  महाराष्ट्र, केरला, छत्तीसगढ़, मध्य प्रदेश, गुजरात, पञ्जाव, कर्नाटक, तमिलनाडु, पश्चिम बंगाल र  जम्मु–कश्मीर राज्यका लागि उच्च स्तरीय ‘मल्टी –डिसिप्लीनरी’ टिम गठन गरेको छ। यस टिमले राज्य सरकारसँग समन्वय गरी कोरोना रोकथामका लागि काम गर्नेछ। 

नयाँ परिस्थिति हेर्दा भारतमा एकपटक पुनः कोरोनाको त्रासदी फैलिएर नियन्त्रण बाहिर जाने सम्भावना देखिएको छ। भारतको स्वास्थ्यमा असर पर्नु भनेको नेपालको स्वास्थ्यका  लागि टाउको दुखाइ हुनुपर्ने हो। तर, नेपाल सरकार, सबै जिम्मेदार प्रतिपक्ष र यहाँसम्म कि सामान्यजनको व्यवहार हेर्दा कसैलाई यस विषयमा अलिकति पनि चिन्ता भएको देखिँदैन।  सरकार टिकाउने र सरकार गिराउने खेलमा रमाइरहेको समग्र नेपाली राजनीति मानाैँ ‘आ  बैल मुझे मार’को निष्फिक्री मुद्रामा सुतेको छ।

राजधानी काठमाडौंमा केही समय अघि ‘युके भ्यारिएन्ट’का केही संक्रमित देखिएका थिए। यसपछि समाचार आएको थियो केही शंकास्पद नमुना परीक्षणका लागि मुलुकबाहिर पठाइएको थियो। त्यसपछि यस विषयमा अन्य कुनै जानकारी आएको छैन।  नेपालसँग कोरोनाको नयाँ ‘स्ट्रेन’ पत्ता लाउने प्रविधि भए–नभएकैबारे अहिलेसम्म केही स्पष्ट भइसकेको छैन। बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल–बिएसएनका अध्यक्ष नवीन मुनंकर्मी दाबी गर्नुहुन्छ– हाम्रो संस्थासँग कोरोनाको नयाँ ‘स्ट्रेन’ पत्तालगाउने ‘स्वीकेन्सिङ’ मेसिन छ। हामीले सरकार र मन्त्रालयलाई पनि यसबारे सूचना दिएका छाैँ।  उहाँको दाबी के–कति दुरुस्त हो, यसबारे उहाँले नै पुनः स्पष्ट पारिदिनु पर्ने हो। अन्य सम्बन्धित विज्ञ भने यसबारे हामीले परीक्षण गर्न नमुना सिंगापुर पठाउने बाध्यता रहेको बताउँछन । हुन त  उनीहरु त्रिभुवन विश्वविद्यालय र केयुसँग ‘स्वीकेन्सिङ’ मेसिन रहेको पनि स्वीकार गर्छन्।

फागुन १९ को समाचारअनुसार गत २४ घन्टामा मुलुकभर कोरोना संक्रमणका ८७ नयाँ केस देखिएका छन्।  यसभन्दा अघिल्लो दिन ७८ र क्रमशः ७३, ७८, ८१, ११२, ९४, ११०, १२५ र ८० नयाँ संक्रमित फेला परेका थिए। महत्वपूर्ण कुरा के हुन आउँछ भने नेपालमा देखिरहेका नयाँ संक्रमित कोभिड–१९  बाट संक्रमित भएका हुन् वा बाहिरबाट आएका कुनै नयाँ युके, ब्राजिल, साउथ अफ्रिका वा भारतमा देखिएका नयाँ ‘भ्यारिएन्ट’बाट संक्रमित भएका हुन् ?

फागुन १९ गतेसम्म मुलुकमा संक्रमणबाट मर्नेको संख्या ३,०१० पुगेको छ र, अहिले सक्रिय संक्रमित संख्या करिब एक हजार रहेको छ।

कोरोनाविरूद्वको भ्याक्सिन नेपाल ल्याएर अभियान सुरू गरिए पनि कोरोनाको खतरा यथावत नै छ।  प्रारम्भिक अनुसन्धान अनुसार कुनै नयाँ ‘स्ट्रेन’ यदि भ्याक्सिनविरूद्व अविजित छ भने भ्याक्सिन लगाउनु/नलगाउनुको कुनै अर्थ रहँदैन।  तपाईंले मैले त  भ्याक्सिन लगाइसकेको छु भनी ढुक्क हुने अवस्था आइसकेको छैन।  जसरी सन् २०२०  कोरोनासँग जोगिँदै  बिताउनुभयो, तपाईंले सन् २०२१ भरि नै सबै सुरक्षाका मापदण्ड पालन गर्नुपर्ने स्थिति देखिएको छ।

सरकारको आस–भरोसामा नबस्नुस्, आफ्नो सुरक्षा आफैं गर्नुस्।  सरकारलाई त  के छ, देशमा १५–२० हजार संक्रमित देखिनेबित्तिकै ओलीजी ‘हेल्थ इमरजेन्सी लगाएर’ बाँसुरी बजाउँदै राज गर्नुहुन्छ। र, यो गर्न पाए उहाँमाथि आइलागेका सबै संकट पनि स्वतः मोचन हुन्छन्। 

Skip This
Logo