दीर्घरोगीले किन लगाउनु हुँदैन कोरोना भ्याक्सिन?

दीर्घरोगीले किन लगाउनु हुँदैन कोरोना भ्याक्सिन?


कोभिड–१९ विरुद्ध खोप लगाउनुभएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई खोपको ‘साइड इफेक्ट’ देखियो।  फागुन २० गते विभिन्न पत्रपत्रिकामा आएको समाचार अनुसार खोप लगाएपछि उहाँमा उच्च ज्वरोको समस्या देखिएको थियो।

ज्वरो १ सय ४ डिग्री फारेनहाइट पुगेपछि स्वास्थ्य जाँचका लागि उहाँ  बिहीबार फागुन २० गते  त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुग्नुभयो।  विभिन्न जाँचपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा रहने गरी डा. भट्टराई बिहीबारै घर फर्किनुभयो।

नेपालमा संसद्को आउँदो  अधिवेशनलाई मध्यनजर गरी सरकारले गत फागुन १९ गते देखि संघीय संसद्का सांसद र कर्मचारीलाई खोप लगाउने कार्य थालेको थियो।
 
भट्टराईले पहिलो दिन अर्थात् बुधवारै खोप लिनुभएको थियो। खोपको सामान्य ‘इफेक्ट’ हुनु ठूलो कुरा  होइन। तर, बाबुरामजीको केसमा भने आश्चर्य लागिरहेको छ।

ज्ञातव्य छ– केही दिनअघि मात्रै उहाँ शंकास्पद क्यान्सरको जाँच गराउन भारत जानुभएको थियो।  त्यहाँ भएका विभिन्न टेस्टबाट उहाँमा क्यान्सरसम्बन्धी लक्षण देखिएनन्। तर, झन्डै एक साताको समय उहाँले निश्चय पनि भंयकर ‘स्ट्रेस’ मा बिताउनुभयो होला। रिपोर्ट आएपछि मात्रै उहाँको मस्तिष्कले शान्ति अनुभव गर्यो होला। आखिर क्यान्सरको भयावहताबारे को नै अनभिज्ञ हुन्छ आजको युगमा ? र, स्वदेशका डाक्टरले शंका गरेर  आधुनिक पद्धतिद्वारा परीक्षणका लागि विदेशी अस्पताल जान सिफारिस गर्नाले  मात्रै व्यक्तिको आधा आत्मविश्वास थकित हुनु पनि अस्वाभाविक होइन।  झन्डै एक साताको भारत  प्रवास र त्यहाँ भएका विभिन्न परीक्षण र स्वदेश फिर्तीको धपेडीले ६६ वर्षीय बाबुरामजीको शरीर थकित/गलित हुनु कुनै नौलो कुरा होइन।

बाबुरामजी कोरोना भाइरस र यसका भ्याक्सिनबारे अनभिज्ञ  हुनुहुन्छ भन्ने पत्याउन सकिँदैन। उहाँलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको भ्याक्सिन सम्बन्धी प्रोटोकलबारे जानकारी छैन भन्ने कसरी पत्याउनु !

विश्वभरि बनेका झन्डै सबै भ्याक्सिनका सम्बन्धमा पटक–पटक जानकारी सार्वजनिक भएका छन्, भ्याक्सिन कसले लगाउन मिल्छ, कसले लगाउन मिल्दैन ?

बाबुरामजीले आफ्नो स्वास्थ्यको ख्याल गरी बितेका १०–१५ दिनमा भोगेको ‘स्ट्रेस’को ख्याल गरी, विगत ८–१० दिनभित्रको धपेडी सम्झी फागुन १९ गते भ्याक्सिन लगाउन हुन्न थियो। यो पंक्तिकार डाक्टर होइन, भाइरोलोजिस्ट पनि होइन, बायोकेमिस्ट पनि होइन, कुनै पनि विधाको मर्मज्ञ होइन।  यस पंक्तिकारसँग चीनमा कोरोना भाइरस सुरू भएदेखि यताको यस विषयमा अध्ययनबाहेक अन्य कुनै योग्यता छैन। 

अक्सफोर्ड   र जेनर इन्स्टिच्युटले सराह गिल्बर्टको नेतृत्वमा भ्याक्सिन विकसित गर्ने घोषणा गरेको दिनदेखि मैले यस सम्बन्धी पाएसम्मका सबै जानकारी लिएको छु। ती जानकारीका आधारमा विभिन्न अनलाइनमा लेख   लेख्दै आएको छु। त्यस्तै ‘म्यासेन्जर आरएनए’ भ्याक्सिन (कोरोना भाइरसको जेनेटिक म्याटेरियलबाट बनेको नयाँ प्रविधिको भ्याक्सिन  र अक्सफोर्डको भ्याक्सिन पुरानो प्रविधि भाइरल भेक्टर प्रविधिमा आधारित  रहेको ) का बारेमा पनि यथाशक्य जानकारी बटुली लेखेको छु।

विभिन्न मसँग प्रश्न गरिन्छ, कुन भ्याक्सिन राम्रो हो?

यस विषयमा डा. शेरबहादुर पुन, डा. रवीन्द्र समीर, डा. सुनील शर्मा, बायो टेक्नोलोजिस्ट नवीन मुनंकर्मी,  ब्लड ट्रान्सफ्युजन विशेषज्ञ डा. बिपिन नेपालसँग भएको कुराकानी र छलफलको आधारमा यति मात्रै भन्न सकिन्छ– अहिले यो प्रश्न सोध्ने बेला नै भएको छैन।  यसको जवाफ पाउन कम्तीमा एक वर्ष प्रतीक्षा गर्नुपर्छ।  करोडौं जनतामा विभिन्न भ्याक्सिनको प्रयोग र त्यसले देखाएको परिणामको विस्तृत अध्ययनपछि मात्रै यसबारे केही भन्न सकिन्छ।  र, फेरि वर्तमानको अवस्था जहाँ विश्वभरि नै भ्याक्सिनको हाहाकार छ, यस्तो अवस्थामा जुन देशलाई जुन भ्याक्सिन उपलब्ध हुन्छ, त्यही राम्रो।

प्रश्न भ्याक्सिन कुन राम्रो भन्ने होइन, मूल प्रश्न उपलब्ध भएको भ्याक्सिन क–कसले लाउने हो अथवा लगाउन मिल्छ ? यसबारे नेपालमा व्यापक छलफल नभएको स्वास्थ्यमन्त्री हृयदेश त्रिपाठीले स्वीकार गर्नै पर्छ।

कथंकदाचित भारतबाट फर्किनुभएका बाबुरामजीसँग मेरो भेट भएको भए म उहाँलाई भ्याक्सिन   नलिने सलाह दिन्थे।  उहाँलाई मात्रै होइन, स्वास्थ्य अवस्था विचार गरी प्रधानमन्त्री केपी ओलीज्यूलाई पनि यस्तो सल्लाह दिन्छु–उहाँले भ्याक्सिन लिनुहुन्न।

सम्माननीय राष्ट्रपति महोदयले पनि स्वास्थ्यका कारणले भ्याक्सिन लिन मिल्दैन। ल एकछिनलाई बाबुरामजीको अथवा शरीरमा विभिन्न रोग रहेर औषधि सेवन गरीरहेका महानुभावहरुले पनि भ्याक्सिन लिनु हुन्न। यसको कारण बुझ्न शरीरको इम्युन सिस्टमलाई बुझ्नुपर्ने हुन्छ।

तपाईं  मधुमेह पीडि़त हुनुहुन्छ, औषधि खाइराख्नु भएको छ। अन्य कुनै रोग गम्भीर भई औषधि खाइराख्नु भएको छ।  बुझ्नुस् तपाईंको इम्युन सिस्टमले शरीरभित्र रहेका रोगविरुद्ध दिनहुँ लडिराख्नु परिरहेको हुन्छ।  जति बढी रोग, त्यति बढी मात्रामा इम्युन सिस्टमको शक्ति बाँडिएको  हुन्छ।  मानौं तपाईंसँग तीनवटा रोग छन् अर्थात् तपाईंको इम्युन सिस्टमले तीन मोर्चामा शत्रुसँग लडिराख्नु परिरहेको छ। तपाईंले भ्याक्सिन लिनुभयो। पहिले बुझ्नुस् भ्याक्सिन के हो ? सामान्य शब्दमा भ्याक्सिन अरु केही नभएर कमजोर पारिएको भाइरस नै हो।  भ्याक्सिनमार्फत् शरीरमा प्रवेश गराइएको भाइरसविरुद्ध इम्युन सिस्टमले थप नयाँ मोर्चामा शक्ति बाँड़नु पर्छ। यसरी इम्युन सिस्टमको शक्ति बाँडिदा तपाईंको शरीरमा रहेको पुरानो रोग उग्र बनी  प्रकट हुन सक्छ। हिजोसम्म इम्युन सिस्टमले त्यसविरुद्ध पर्याप्त ध्यान दिएर त्यसलाई नियन्त्रणमा राखेको थियो । तर, नयाँ  मोर्चामा शक्ति परिचालित भएकाले परिणामस्वरुप त्यस रोगले तपाईंलाई थला बनाउन सक्छ।

यसैकारणले विश्व स्वास्थ्य संगठनले कुनै पनि रोगका दीर्घ रोगीलाई भ्याक्सिन नलिने सल्लाह दिएको छ। बाबुरामजीले विगत १२–१५ दिनदेखि जुन मानसिक सन्ताप व्यहोर्नुपर्याे त्यसले निश्चय पनि उहाँको आत्मविश्वास कमजोर हुनुका  साथै इम्युन सिस्टम अति सक्रिय भएर अति व्यस्त थियो।  यसलाई पूर्ण सत्य ठान्ने गल्ती नगर्नु होला, एउटा सम्भावनाको प्रक्षेपण मात्रै हो। इम्युन सिस्टमको कार्यपद्धतिको विश्लेषण मात्रै हो।  याद राख्नुस् सबै मानिसको शरीर र इम्युन सिस्टमको सामथ्र्य बेग्लाबेग्लै हुन्छ।

साथीभाइले पटक–पटक  सोध्छन तपाईंले भ्याक्सिन लिनुभयो ? यस प्रश्नको सार्वजनिक रुपले जवाफ दिनबाट म जोगिँदै  आई रहेको  थिएँ, तर आज यसबारे बोल्न करै लागिरहेको छ।
मैले भ्याक्सिन लिएको छैन र, म भ्याक्सिन लिन्न पनि।  कारण म मधुमेह,  उच्च रक्तचाप, कोलेस्ट्रोलको औषधि सेवन गर्नुका साथै पेटको अति कमजोर व्यक्ति हुँ तसर्थ म भ्याक्सिन लिन्नँ। मेरो घरमा ७४ वर्षीय आमा हुनुहुन्छ  उहाँ पनि अनेकौं रोगले पीडि़त भई विभिन्ने किसिमका औषधि सेवन गर्नुहुन्छ।  तसर्थ, उहाँले पनि भ्याक्सिन लिनु हुन्न्न।  मेरो दिदीको शरीर नै अति एलर्जिक भएकाले उहाँले पनि भ्याक्सिन लिनु हुन्न।  भिनाजुको अवस्था र उमेर पनि यसै वर्गको छ।  एकजना भान्जी १६ वर्षीय रहेकी छन्, उनका लागि भ्याक्सिन बनेकै होइन।  तसर्थ मेरो घरमा भ्याक्सिन लिने कोही पनि छैन।  हो, एकजना भाइ छ, उसका बारे मलाई थाहा छैन, आफ्नो पालो आउँदा उसले भ्याक्सिन लिने–नलिने उसको स्वतन्त्रतता।

तपाईं कुनै रोगको दीर्घरोगी हुनुहुन्छ, तपाईंको घरमा भएका वृद्धजन यदि दीर्घरोगी छन, विभिन्न औषधि सेवन गरिरहेका छन भने उहाँहरुलाई पनि भ्याक्सिनबाट टाढा राख्नुस्। रुघाखोकी, ज्वरो लगायत संक्रमण भएका व्यक्तिले निको भएपछि मात्र खोप लगाउनुहोला,

कुनै खोप, औषधि वा खानाको एलर्जी भएका व्यक्तिले खोप केन्द्रमा परामर्श गरी मात्रै भ्याक्सिन लगाउने काम गर्नुहोला, सिकिस्त बिरामीले  खोप नलिनुहोला, रगत पातलो हुने औषधि लिनुभएका, अंग प्रत्यारोपण वा ‘इम्युनोकम्प्रोमाइज्ड’ अवस्था भएका वा  स्टेरोइड औषधि सेवन गर्नुभएका, हृदयाघात भएका तथा  न्युरोलोजिकल समस्या भएका व्यक्तिले आफ्नो विशेषज्ञसंग परामर्श गरेर मात्रै  भ्याक्सिन  लगाउनुहोला।  गर्भवती महिलाका लागि भ्याक्सिन हुँदै होइन।  निकट भविष्यमै यदि आमा हुने सोच छ भने भ्याक्सिन लिन  सिफारिस गर्न सकिन्नँ। नेपालमा आएको भ्याक्सिन १८ वर्ष मुनिका केटाकेटीका लागि पनि होइन।

भ्याक्सिन लिने–नलिने निर्णय तपाईंको व्यक्तिगत निर्णय हो यसमा  कसैले कर गर्न वा सुझाव दिन मिल्दैन।

नेपाल सरकारले यस सम्बन्धमा प्रचारप्रसार गरिदिएमा लोकको कल्याण हुन्थ्यो।  एकदिन एउटा अनलाइनमा प्रकाशित भएको कुनै सामग्रीले सबैलाई सन्देश पुग्न सक्दैन।

अन्तमा बाँकी रहेका सबैजना सांसदहरुसँग यति नै अनुरोध भ्याक्सिन लिनुभन्दा पहिला आफ्नो डाक्टरसँग सल्लाह लिनुस्। तपाईं कुन कस्तो रोगले ग्रस्त हुनुहुन्छ, भ्याक्सिनले त्यसमा के कस्तो प्रभाव पार्न सक्छ?

हल्लाका पछाडि नलाग्नुस्, भ्याक्सिन नलगाउँदैमा तपाईंलाई संसद भवनमा पस्नबाट कसैले रोक्न सक्दैन।  याद गर्नुहोस् सबैखाले  भ्याक्सिन स्वास्थ्य मानिसका लागि हुन्। पूर्वप्रधानमन्त्री बाबुरामजीको शीघ्र स्वास्थ्य लाभको कामना।

 अहिले एउटा चलन देखिएको छ, भ्याक्सिन लिने उच्च ओहोदाधारीले आफूले भ्याक्सिन लिएपछि ढुक्क भई भ्याक्सिन लिनुहोस् भन्ने अभिव्यक्ति दिने।  सभामुखबाट पनि यस्तो अभिव्यक्ति आएको सुनियो। यो चलन ठीक होइन।  यो चाहे सभामुखले गरेको होस् अथवा कुनै अन्य नेता अभिनेताले। जिम्मेदार व्यक्तिले यस विषयक केही भन्नु  पर्दा विश्व स्वास्थ्य संगठनले जारी गरेको  निर्देशिका अनुसार बोल्नुपर्छ।  सबैले ढुक्क भएर भ्याक्सिन लिन मिल्दैन।
 

Logo