नेपाली राजनीतिः फुटबल खेलमा टेनिस बलको निर्णायक गोल !

नेपाली राजनीतिः फुटबल खेलमा टेनिस बलको निर्णायक गोल !


अन्ततः २३ फागुनको दिन नेपाली राजनीतिमा ऐतिहासिक दिन साबित भयो। केही दिन पहिले न्यायालयले तत्कालीन नेकपाको माधव–प्रचण्डलाई ‘कर्नर किक’ उपलब्ध गराई गोल हान्ने  मौका दिएको थियो। यो समूह केपी ओलीलाई ढाल्न अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको थियो। तर, आइतबार न्यायालयले फुटबल गेममा टेनिस बलले पनि गोल गर्ने सुविधा उपलब्ध गराएर सारा गेम उलटपुलट गरिदियो– एमाले र माओवादी जुटेर बनेको एक शरीर दुई टाउको भएको चरा विज्ञानमा हुन्छ होला, राजनीतिमा यस्तो स्वीकृत हुन्न भनी एमाले र माओवादीको विलयलाई अस्वीकृत गर्दै दुवैलाई शरीर र टाउकोसहित छुट्याइ दियो न्यायालयले । अदालतको यस सानो निर्णयले नेपालको राजनीति मात्र होइन, भूगोल नै परिवर्तित गरिदियो।

केपी ओलीविरुद्ध अविश्वास प्रस्तावको हुँकार गरिरहेको प्रचण्ड समूह संसद अधिवेशनको पहिलो दिन नै संसदलाई ‘यह दुनियाँ यह महफिल मेरे काम की नहीं’ भन्दै बहिष्कार गर्न बाध्य बन्यो। कहाँ केपी ओलीलाई अपदस्थ गरी प्रधानमन्त्रीको सपना हेरिरहेका प्रचण्ड र अब खैर अर्को गीत ‘तकदीर का फसाना जाकर किसे सुनाये,  इस दिल में जल रही है अरमान की चिताएँ’ सुन्दै प्रचण्डले रातभरि यही चिन्तनामा समय बिताए होलान्–अब प्रत्यक्षतर्फका ३६ गुलाफ र समानुपातिकतर्फका १७ लाहुरे फूलको माला बनाई  कसरी कण्ठमा  धारण गर्ने! तर, हसरत जयपुरी लिखित उपरोक्त गीतका अन्तिम पंक्ति–

‘तुम तो रहो सलामत सेहरा तुम्हे मुबारक,
मेरा हर एक आँसु देने लगा दुआएँ’

घन्किँदा उहाँले बुर्जुआ गीत भनी ‘साउन्ड अफ’ गरी ख्वै कसलाई फोन गर्ने उपक्रम पो गर्नु भयो।

न्यायालयको ‘टेनिस बल प्रकरण’ले केपी ओलीलाई सबैभन्दा ठूलो दलको नेता बनाइदिएको छ।  प्रत्यक्षतर्फका ८० पुष्प र समानुपातिक तर्फका ४१ पुष्पका साथै हिन्दुहरुको पवित्र संख्या १२१ पुष्प दलको माला उहाँका कण्ठमा सुशोभित हुन आइपुगेको छ। भगवान् जब दिन थाल्छन् छानो–भित्ता– दल सबै फोडेर–फुटाएर मनवाञ्छित वस्तु प्रदान गर्छन्, केपी ओलीलाई यसको प्रत्यक्ष प्रतीति भएको छ।  जम्मा एकपटक पशुपति पुगेर ३० करोडको दान दिनासाथ भगवान भोलेनाथले उनलाई यस्तो गरिमा प्रदान गरिदिनु भयो कि शेष जीवनपर्यन्त केपी ओलीले यस भगवतकृपालाई विस्मृत गर्न सक्दैनन्। अब केपी ओलीले भगवत् कार्यलाई अर्को २–४ अर्ब समर्पित गर्ने के बेर ! मुलुकलाई  पुनः हिन्दु राष्ट्र बनाउने संकल्प लिने के बेर !!

केपी ओलीका पुराना मित्र माधव नेपालजीले भने केपीको कण्ठमा आसीन हुन आएको  माला चुडाएर केही पुष्प खोस्ने  जमर्को गर्नुहुन्छ अथवा आत्मालोचना गरी ‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव’को पथ अनुशरण गर्नु हुन्छ !  यो स्पष्ट हुन अझै केही दिनको प्रतीक्षा गर्नुपर्ने हुन्छ।  

अब देशमा लड्डु खाने– ख्वाउने पालो कस्को ? आफू त मधुमेहको मरिज ! एकजना अग्रज पत्रकारले यस्तो निमन्त्रणा पठाए पनि चिनी नभएको चिया खाएर नै काम चलाउने–निम्तो मान्ने मुडमा रहेको छु।

सबै नेपालीलाई उत्कण्ठा हुनु स्वाभाविक नै हो, अब देशमा के हुन्छ ? यस मामलामा ढुक्क भने केपी ओली पक्ष– नेपालका राजावादी समूह, १२ बुँदे समझौताका आलोचक बन्धुगणलगायतका थुप्रै हिन्दुवादी रहेका छन्। यिनीहरुलाई थाहा छ प्रक्रियागत रूपमा विभिन्न घटना–उपघटना घटित हुन्छन्, तर  यस्ता सबै  गतिविधिको अन्तिम परिणति भने देशलाई १२ बुँदे समझौताभन्दा पूर्वको स्थितिमा लैजानु नै रहेको हुन्छ।  यस ‘रोड म्याप’को मार्गमा बाधा बन्न आइपुगेका सबै व्यक्ति, समूह र संगठनको राजनीतिक रामनाम सत्य हुने पनि स्वाभाविक नै हुन्छ।

केपी ओलीका पुराना मित्र माधव नेपालजीले भने केपीको कण्ठमा आसीन हुन आएको  माला चुडाएर केही पुष्प खोस्ने  जमर्को गर्नुहुन्छ अथवा आत्मालोचना गरी ‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव’को पथ अनुशरण गर्नु हुन्छ !  यो स्पष्ट हुन अझै केही दिनको प्रतीक्षा गर्नुपर्ने हुन्छ।  

बाँकी देशमा अहिले पनि केपी ओली प्रधानमन्त्री छन्।  फागुन २३ गतेको टेनिस बलले भएको गोल पछि उनको सरकार अल्पमतमा आए पनि कुनै भुइँचालो  जाँदैन।  

अब उनका विरुद्ध नेपाली कांग्रेसको सदिच्छा बगेर अविश्वास प्रस्ताव आउँदैन। प्रचण्ड त आफ्नो बलबुतामा अविश्वास प्रस्ताव दर्ता गराउनेसम्मको हैसियतमा पनि रहेनन्।  रह्यो केपीले  विश्वासको मत लिने कुरा ! यो  उनको मुडमा निर्भर गर्छ।  मुड आयो भने  लिन्छन्, मुड चलेन भने शीतल निवास गई राजीनामा दिई कार्यवाहक प्रम भइ बस्छन्। कसैको तागत पुग्छ भने बनोस् प्रधानमन्त्री ! १५–२० दिनको समय दिनुहुन्छ राष्ट्रपति महोदयले।  संविधानका विभिन्न धारामा लडीबुँडी गर्दै कसैले १३८ को गणित पुर्याउन सक्छ भने बनोस् प्रधानमन्त्री।

नभए केपी ओलीसँग पुनः दुईवटा विकल्प हुन आउँछन् ।  संविधानकै धारामा टेकेर सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री पदबाट पुनः प्रधानमन्त्री पदको शपथ लिन्छन्। अथवा कुनै पनि सरकार बन्न नसक्ने कारण देखाई एकपटक मरेर ब्यूँतिएको संसदलाई पुनः आर्यघाट पुर्याइ नयाँ निर्वाचनको घोषणा गर्छन्। उनले सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेको केही दिनमा पनि गर्ने यही नै हो, संसद को हत्या।  कसैले रोक्न सक्छ भने रोकोस्। यस संसदको नियतिमा दुईपटक दुर्घटनामा परी इहलीला समाप्त हुनुपर्ने रहेको विधान अकाट्य छ, पूर्वजानकारी पाएपछि सक्नेले रोक्ने सामर्थ्य देखाउन्।

केपी ओली र उनको दल एमाले (हिजोदेखिको दल), बाबुराम भट्टराई र भर्खरै जंगलबाट सहर पसेका विप्लवले देशमा सबै किसिमका परिवर्तन हेतु आफू तयार रहेको अभिव्यक्ति दिइसकेका छन्। यसको प्रारम्भ नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्ने अभियानबाट हुन्छ। नेपाली कांग्रेसको दुर्भाग्य उ अहिलेसम्म यसप्रति सचेत छैन।  कांग्रेसबाहेक प्रचण्डजीले यस विषयक गन्ध पाए पनि ‘रुघाले आफ्नो नाक बन्द भएका  कारण  थाहा नपाएको अभिनय’ गरिरहनु भएको छ।  प्रचण्डजीसँग यस पंक्तिकारको कुनै साइनो छैन, तर विगतमा ‘डेमोक्रेट’ मतदाता भएका कारण नेपाली कांग्रेससँग यस विषयमा स्पष्ट धारणा आउने चाहना हुनु स्वाभाविक हो। सम्माननीय शेरबहादुर देउवाजी, डा. प्रकाशशरण महतजी  तपाईं दुवैजनाले केही दिन पहिले मसँग भएको भेटमा व्यक्तिगत रूपमा आफू हिन्दु धर्मको पक्षमा रहेको बताए पनि तपाईंको दल नेपाली कांग्रेसको यस विषयमा स्पष्ट धारणा नआएसम्म विश्वास गर्न सकिन्नँ। नेपालका प्रजातान्त्रिक हिन्दुले कांग्रेसलाई पछाडि गाईमा  भोट हालेको याद नै छ होला तपाईंहरुलाई। अब हिन्दूहरुको भोट कतै केपी ओलीतिर नओइरियोस्, समयमै संज्ञान लिनु होला। 

यसका लागि नेपाली कांग्रेससँग एउटा मात्रै उपाय छ–नेपाली कांग्रेसले अल्पमतमा पुगेका केपी ओलीलाई समर्थन गरी यसै संसद्बाट हिन्दु राष्ट्र घोषित गराउने अभियानमा होमिनुपर्छ नत्र देश विदेशका सारा शक्तिले  आउने निर्वाचनमा केपी ओलीलाई दुई तिहाईभन्दा बढी  सिटले जिताएर आफ्नो अभीष्ट पूरा गर्छन्। अब नेपालमा हिन्दुहरुको मार्गमा बाधा बन्न आउने जोकोहीको पनि राजनीति समाप्त हुने निश्चित भइसकेको छ, त्यो चाहे नेपाली कांग्रेस होस्, कुनै अन्य दल होस् अथवा नागरिक समाजका नाममा डलर खेती गरिरहेको जमात नै किन नहोस्।

Logo