भ्याक्सिन लगाएपछि पनि देखिन सक्छ कोरोना संक्रमण

भ्याक्सिन लगाएपछि पनि देखिन सक्छ कोरोना संक्रमण


विश्वभरि नै कोरोना भाइरसका नयाँ–नयाँ ‘भ्यारिएन्ट’ देखापरेकाले यस भाइरसबारे स्थिति जटिल बन्दै गइरहेको छ। कोरोना भाइरस अति चाँडो ‘म्युटेट’ भएर यसका नयाँ–नयाँ ‘भर्सन’ अर्थात् नयाँ ‘भ्यारिएन्ट’ आउने क्रम जारी छ। भाइरसको प्रकृति नै ‘म्युटेट’ भएर बदली रहने किसिमको हुन्छ।

विगतमा देखिएका भाइरसमा पनि यस्तो हुन्थ्यो। उदाहरणका लागि इन्फ्लुएन्जा भाइरसकै कुरा गरौं।  यसको भाइरस पनि झन्डै प्रत्येक सिजनमा ‘म्युटेट’ भइरहेको हुन्छ।  यसै कारणले इन्फ्लुएन्जाको भ्याक्सिन वर्षैपिच्छे ‘अपग्रेड’ गरी राख्नुपर्ने बाध्यता हुन्छ।

कुनै भाइरसको भ्याक्सिन लगाएपछि पनि भ्याक्सिन लगाएको व्यक्तिमा त्यसै भाइरसको संक्रमण पुनः देखिनुका पछाडि अनेकौं कारण हुन सक्छन्।  यसमध्ये एउटा प्रमुख कारण त्यस भाइरसको नयाँ ‘भ्यारिएन्ट’को  प्रभावकारिता र मारकशक्ति बढी भएको सहज अनुमान गर्न सकिन्छ।

कुनै पनि भाइरसको प्रकोप हुँदा, महामारी फैलिँदा त्यसको ‘जिनोम सिक्वेन्सिङ’ गरी भ्याक्सिन बनाइन्छन्। कोरोना भाइरसविरुद्ध बनेका सबैखाले भ्याक्सिन चाहे त्यो अक्सफोर्ड (ऐस्ट्रेजेनेका–कोभिशिल्ड) र रुसको ‘स्पुतनिक भी’ जस्तो ‘भाइरल वेक्टर’ भ्याक्सिन  हुन्। चाहे फाइजर  माड्रोनाको ‘म्यासेन्जर आरएनए’ भ्याक्सिन हुन् अथवा भारतको स्वदेशी भ्याक्सिन भारत बायोटेकको ‘कोभ्याक्सिन’ अथवा चीनको ‘सिनोफार्म’ अथवा ‘सिनोवाक’का भ्याक्सिन हुन्।  ती सबै कोरोनाको प्रारम्भिक ‘भ्यारिएन्ट  कोभिड–१९ को जिनोम सिक्वेन्सिङ’बाट उपलब्ध ‘म्याटेरियल’बाट बनाइएका  थिए। 

अहिलेसम्म देखापरेका सबै भ्याक्सिनमा कोभिड–१९ को ‘स्पाइक प्रोटीन’ प्रयोग भएको थियो। भारतको ‘कोभ्याक्सिन’ र चिनिया ‘सिनोफर्म’ र ‘सिनोवाक’मा कोरोना भाइरस नै प्रयोग गरिएको थियो भने अक्सफोर्ड र रुसले आफ्ना भ्याक्सिनमा अन्य भाइरसमा (अक्सफोर्डले एडिनो भाइरसमा कोभिड–१९को ‘स्पाइक प्रोटीन’को ‘कोडिङ’ गरेर) कोभिड–१९ को ‘स्पाइक प्रोटीन’ लेपन गरेर  ‘भाइरल भेक्टर’ प्रविधिबाट भ्याक्सिन बनाएका हुन्। विश्वमा पहिलोपटक बनाइएको ‘म्यासेन्जर आरएनए’ भ्याक्सिनमा भने कोभिड–१९ को ‘जेनेटिक म्याटेरियल’ प्रयोग भएको थियो।

अहिले विश्वभरि नै कोभिड–१९ को भाइरस ‘म्युटेट’ भएर फरकखाले ‘जिनोम र ‘स्पाइक प्रोटीन’ले सुसज्जित भएर नयाँ–नयाँ ‘भ्यारिएन्ट’ का रूपमा देखा परिसकेको छ, र यो क्रम जारी नै छ। भ्याक्सिन निर्माता कंपनीले नयाँ भ्यारिएन्टलाई मध्यनजर गरी आफ्ना खोपलाई ‘अपग्रेड’ गर्दै जान्छन्।

केही  दिनपहिले अमेरिकाको ओरेगन  राज्यमा कोरोना भाइरसको पूर्ण खुराक अर्थात् भ्याक्सिनका दुवै डोज  लगाइसकेपछि पनि कोरोना संक्रमणका ‘ब्रेक थ्रु केस’ प्रकाशमा आएका थिए।

हुन  त यस्ता  संक्रमितहरूमा संक्रमणको प्रभाव  कडा रूपमा देखिएको  थिएन। भ्याक्सिनको पूर्ण डोज लिएका व्यक्तिहरूमा पुनः संक्रमण गर्ने भाइरस कोरोनाको कुनै नयाँ ‘भ्यारिएन्ट’ अर्थात्  परिवर्तित रूपको भाइरस थियो वा पहिलादेखि स्थानीय रूपमा प्रसारित रहेको भाइरस थियो भन्ने निक्र्योल हुन सकेको छैन।

यसबारे अनुसन्धान भइरहेका छन्। दुई डोज अर्थात् अहिले विभिन्न भ्याक्सिन निर्माता कम्पनीले भनिरहेका अनुसार भ्याक्सिनको कोर्स पूरा भएको १४ दिनपछि यदि पुनः कोरोना भाइरसको संक्रमण भयो भने चिकित्सकीय भाषामा यस्ता केसलाई कोरोनाको ‘ब्रेक थ्रु केस’ भन्ने  गरिन्छ।

सरसर्ती मूल्यांकन गर्नुपर्दा  विश्वमा हालसम्म प्रचलनमा आएका वा उपलब्ध भइसकेका कुनै पनि कोरोना भ्याक्सिन शतप्रतिशत प्रभावकारी  छैनन्। अर्को शब्दमा स्पष्टसँग  भन्नुपर्दा भ्याक्सिनका दुवै डोज लिएका मानिसहरूलाई पनि पुनः कोरोना संक्रमण हुनसक्ने सम्भावना रहन्छ। भ्याक्सिनले सबैलाई समान रूपले सुरक्षा नदिने कुरा  स्पष्ट छ।

त्यसो त अहिले बनेको भ्याक्सिन मात्र  किन,  मेडिकल साइन्सले बनाएका कुनै  पनि औषधि अथवा अन्य कुनै किसिमका उत्पादन न सय प्रतिशत प्रभावी  हुन्छन्  न  सय प्रतिशत बेकामे साबित हुन्छन्। 

प्रारम्भिक  अनुसन्धानका  नतिजाको आधारमा  नेपालमा  प्रयुक्त भइरहेको कोभिशिल्ड  भ्याक्सिनका  दुई डोज लगाएपछि झन्डै ६२ देखि ६८  प्रतिशत जतिलाई मात्रै  प्रतिरक्षा प्राप्त हुनेछ  र, बाँकी व्यक्तिहरूमा कोरोना संक्रमणका  ‘ब्रेक थ्रु केस’ देखिने प्रबल  सम्भावना यथावत नै रहन्छ।

‘ब्रेक थ्रु केस’ का  राम्रा–नराम्रा  दुवै पक्ष देखिन सक्छन्। हालसम्म देखिएका  ‘ब्रेक थ्रु केस’मा कसैलाई पनि स्वास्थ्यमा गम्भीर वा जटिल अवस्था भएको देखिँदैन, जसलाई सकारात्मक रुपमा लिन सकिन्छ। तर, आगामी दिनमा यसबारे अझ स्पष्ट जानकारी प्राप्त हुँदै जानेछ।

मैले भ्याक्सिन लगाइसकेको भन्दै जनस्वास्थका मापदण्ड बेवास्ता गरेमा कोरोनाका  ‘ब्रेक थ्रु केस’ले  समुदायमा विशेषतः ज्येष्ठ तथा दीर्घ रोगीसम्म संक्रमण पुर्याउन सहज र प्रबल माध्यम बन्नसक्ने खतरा झनै वृद्धि हुन आउँछ।

नेपालमा भ्याक्सिनेसन सुरु भएको झन्डै डेढ़ महिना भइसकेको छ। भ्याक्सिन लिइसकेका व्यक्तिमा भ्याक्सिनले के–कस्तो प्रभाव देखायो, यसबारे  राज्यस्तरबाट कुनै खोजीनीति गरिएको छैन

अहिले पनि भ्याक्सिन लगाएपछि संक्रमण भएको खण्डमा संक्रमित व्यक्तिबाट यो संक्रमण अरुमा सर्छ/सर्दैन भन्नेबारे यकिनसाथ केही  भन्नसक्ने  तथ्यांक उपलब्ध भइसकेको  छैन। तर, त्यस्ता ‘ब्रेक थ्रु केस’ का  संक्रमितको नाक तथा घाँटीमा कोरोना भाइरस रहनसक्ने भनिएको हुँदा  उक्त  संक्रमितबाट अरुलाई भाइरस नसर्ला भन्न सकिँदैन।

हालसम्मको ‘ब्रेक थ्रु केस’ हेर्दा सामान्य वा लक्षणविहीन  देखिएको हुँदा  कोरोना संक्रमण को÷कसलाई छ भनेर सहजै अनुमान गर्न नसकिने हुँदा  समुदायमा सजिलै संक्रमण  प्रसारण हुने सम्भावना देखिन्छ। स्मरण रहोस्, नेपालमा  कोभिड–१९ का  कारणले मृत्यु हुनेहरूमा अधिकांश ज्येष्ठ नागरिक तथा  दीर्घरोगीहरू नै रहेका छन्।  

नेपालमा यस्ता ‘ब्रेक थ्रु केस’ देखिन आएको खण्डमा  स्थानीय स्तरमा देखिरहेको कोरोना भाइरसको केस हो कि यो नयाँ ‘भ्यारिएन्ट’को प्रकोप हो ? यसको निक्र्योल गर्न अनेकौं जटिलता छन्। ‘पिसिआर’ परीक्षणबाट यसबारे थाहा हुँदैन। यसका लागि ‘जिनोम सिक्वेन्सिङ’ गर्नु आवश्यक हुन्छ।  नेपालमा यसको सुविधा उपलब्ध छैन। 

स्मरणीय छ नेपालमा देखापरेको ‘युके भ्यारिएन्ट’ का नमूना परीक्षणका लागि हङकङ पठाउनुपरेको थियो, र यो अति महँगो परीक्षण हो। त्यसयता नेपालमा देखिएका संक्रमितको ‘भ्यारिएन्ट’ परीक्षण भएको छैन। नेपालमा ‘युके भ्यारिएन्ट’का अतिरिक्त अन्य कुन–कुन (साउथ अफ्रिकन, ब्राजिलियन र भारतका दुइटा ‘वाइल्ड भ्यारिएन्ट’) कोरोनाका नयाँ संस्करणले प्रवेश गरे÷नगरेकोबारे हामीसँग कुनै तथ्यांक छैन। 

अहिले पनि देशमा दैनिक औसत एक सयजना नयाँ संक्रमित देखापर्ने क्रम जारी छ। नेपालमा कुनै (विदेशबाट) नयाँ ‘भ्यारिएन्ट’ आइसकेको छ वा नेपालमै कुनै नयाँ ‘भ्यारिएन्ट’ उत्पत्ति भइसकेको छ भने  नेपालमा भ्याक्सिन लगाइसकेका व्यक्तिहरूमा कोरोनाको ‘ब्रेक थ्रु केस’  आउने प्रबल सम्भावना मात्रै होइन, स्पष्ट खतरा नै विद्यमान छ।

दुःखका साथ भन्नुपर्छ नेपालमा भ्याक्सिनेसन सुरु भएको झन्डै डेढ़ महिना भइसकेको छ। भ्याक्सिन लिइसकेका व्यक्तिमा भ्याक्सिनले के–कस्तो प्रभाव देखायो, यसबारे  राज्यस्तरबाट कुनै खोजीनीति गरिएको छैन। यसका लागि  भ्याक्सिनेसन  सुरु भएको ८–१० दिनभित्रै भ्याक्सिन लिएका  व्यक्तिको रगतमा एन्टीबडी परीक्षण गरेर भ्याक्सिनको प्रभावकारिताबारे जान्न सकिन्छ।

सरकारले भ्याक्सिनेसनका साथै ‘रेडमली’ दिनमा सयौं एन्टीबडी टेस्ट गरेर नेपालमा उपलब्ध हुन आएको भ्याक्सिनको प्रभावकारिता बुझ्ने दिशामा पाइला चाल्नु अपरिहार्य बनेको छ।  

नेपालमा  प्रयोग भइरहेको कोभिशिल्ड भ्याक्सिनको  दक्षिण अफ्रिकी भेरिएन्टको कोरोना भाइरसविरुद्ध  प्रभावकारिता अतिन्युन भएको जानकारी आइरहेका  छन्। दक्षिण अफ्रिकामा नयाँ ‘भ्यारिएन्ट’विरुद्ध  कोभिशिल्डको प्रभावकारिता यस्तै रहेमा यसको उपयोग नै खारेज  हुने सम्भावना बढ्दै गइरहेका छन्। भारतमा चारजना संक्रमितमा दक्षिण अफ्रिकी भेरिएन्टको कोरोना भाइरस देखिएको भारतीय ‘काउन्सिल अफ मेडिकल रिसर्च तथा नेसनल  इन्स्टिच्युट अफ भाइरोलोजी’ (पुणे ) ले जनाएको  छ।

नेपालमा कुनै पनि समय यो ‘भ्यारिएन्ट’ को कोरोना भाइरस नदेखिएला भन्न सकिँदैन। त्यस्तो अवस्थामा नेपालमा पनि कोभिड–१९ को ‘ब्रेक थ्रु केस’ वृद्धि हुने प्रबल सम्भावना हुन्छ।

नेपालमा लक्षित जनसंख्यालाई  भ्याक्सिन दिन थप केही  महिना लाग्ने निश्चित  छ। कोभिड–१९ विरुद्धको भ्याक्सिन कोभिशिल्ड  लगाउन सुरु गरिएको भए पनि कति प्रतिशत जनसंख्यामा भ्याक्सिनको प्रभावकारिता देखिएला भनेर अहिले नै तथ्यांकबिना अनुमान गर्न सक्ने स्थिति छैन।  र, त्यस्तो तथ्यांकबिना ‘ब्रेक थ्रु केस’ को अवस्थाबारे पनि अनुमान गर्न सकिँदैन।

विश्वमा लाखौँ मानिसलाई दैनिक कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिँदै गर्दा आगामी दिनहरूमा कोभिड–१९ ‘ब्रेक थ्रु केस’ को बारेमा पनि थप तथ्यांक आउने क्रम जारी रहनेछ। नेपालमा हामी भ्याक्सिन लगाउँदै गर्दा खुशी हुनु त स्वाभाविक हो र, हुनु पनि पर्छ। तर, हामीमध्ये को–को  कोभिड–१९ को  ‘ब्रेक थ्रु केस’मा पर्न सक्छौं भनी अनुहार हेरेर दाबी गर्न सकिँदैन।

भारतको महाराष्ट्र , केरला र आन्ध्र प्रदेशलगायतका १२–१३ राज्यमा एकपटक पुनः कोरोनाको संक्रमण बढ्दै गइरहेको छ।  भारतमा दैनिक १५ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदै गइरहेका छन्।  भारतमा देखिएका दुइटा नयाँ ‘भ्यारिएन्ट’ शरीरमा रहेको एन्टीबडीविरुद्ध ‘सस्टेन’ हुने देखिन आएको छ। नेपालले विश्वभरि देखिएका स्थिति र छिमेकी भारतमा देखिएको नयाँ स्थितिले जागरुक एवं सचेत हुनु नितान्त आवश्यक भएको  छ। भारतमा व्याप्त भएको कुनै पनि कुरा नेपाल पस्न धेरै समय लाग्दैन।

निश्चय पनि विश्वभरि देखिएका कोरोनाको नयाँ–नयाँ ‘भ्यारिएन्ट’विरुद्ध भ्याक्सिन पनि अपग्रेड भइ प्रभावकारी बनाइने काम हुन्छ। तर, यसमा केही समय लाग्छ। यस्तो परिस्थितिमा भ्याक्सिन लिएका व्यक्ति निष्फिक्री हुने बेला भइसकेको छैन । अहिलेसम्म नेपालमा भ्याक्सिनको दोस्रो डोज लगाउने  बेला भएको छैन। नयाँ गाइडलाइन अनुसार पहिलो डोज लिएको ८ देखि १२ सातामा अर्को डोज लिनुपर्ने हुन्छ। पहिलो डोज लिएका व्यक्तिले पनि सुरक्षाका सबै मापदण्ड पूरा गरेर नै जीवनयापन गर्नुपर्ने आवश्यकता छ।  पहिलो डोज लगाउँदैमा निर्धक्क हुने अवस्था छैन।

हिजो ब्राजिलमा कोरोना संक्रमणबाट २ हजार २ सयजना व्यक्तिले ज्यान गुमाएका छन्।  एक सातादेखि भारतमा दिनहुँ १५ हजारभन्दा बढी नयाँ संक्रमित देखिइरहेका छन। हिजो (बिहीबार) यो संख्या २२ हजार ८ सय ५४ पुगेको छ र, पछिल्लो २४ घन्टामा भारतमा मृत्यु हुनेको संख्या १ सय २६ रहेको छ। भारतमा आज ‘एक्टिभ’ संक्रमित संख्या  १ लाख ८९  हजार २ सय २६ रहेको छ। फेरि स्थिति पुनः भयावह बन्दै गइरहेको छ। हालै भएको एक  अनुसन्धान अनुसार हाल भारतमा देखा परिरहेका कूल संक्रमितमध्ये झन्डै ३३ प्रतिशत नयाँ ‘भ्यारिएन्ट’बाट संक्रमित भएका छन् र, यो क्रम बढ्दै गइरहेको छ। 

नयाँ घटनाक्रममा डेनमार्क र नर्वेले ए स्ट्राजेनेकाको  कोभिड–१९ भ्याक्सिन  (नेपालमा आएको कोभिशिल्ड) को प्रयोगमा बन्देज लगाएका छन्। डेनमार्कका स्वास्थ्यमन्त्री म्याग्नस हुनिकेले ट्वीटरमा यससम्बन्धी जानकारी दिँदै १४ दिनका लागि एस्ट्रेजेनेकाको भ्याक्सिनमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएका छन्।

भाइरोलोजीको विद्यार्थी र यसैसम्बन्धी संक्रामक रोग चिकित्सक भएको नाताले मलाई यस विषयमा चिन्ता हुनुका साथै आफूले जानेको कुरा प्रवाहित गर्नु आफ्नो दायित्व नै भएको बोध भइरहन्छ। नेपालका लागि स्थिति दिनदिनै विस्फोटक बन्दै गइरहेको छ। सामान्य नागरिकदेखि राज्यस्तर नै यसप्रति गम्भीर हुनुपर्ने परम आवश्यकता छ।

 ‘ब्रेक थ्रु केस’ मा नपरे पनि कुनै बेला भ्याक्सिन लगाएको व्यक्ति संक्रमित हुन सक्छ । यसो भएमा उसले अरुलाई संक्रमण सार्न सक्दैन भन्ने बलियो आधार अहिलेसम्म उपलब्ध छैन।  यसकारणले पनि  भ्याक्सिन लगाएपछि पनि सबैले जनस्वास्थ्यका  मापदण्ड चटक्कै भुल्नु  हुँदैन।

(डा.पुन शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्। उनीसँग गरिएको वार्तामा आधारित यो लेख ज्ञानमित्रले लिपिबद्ध गरेका हुन् ।)
 

Logo