आइन्सटाइनको ‘दिव्य’ चाहनाः अर्को जुनीमा सामान्य ‘प्लम्बर’ हुन पाऊँ

आइन्सटाइनको ‘दिव्य’ चाहनाः अर्को जुनीमा सामान्य ‘प्लम्बर’ हुन पाऊँ


ओशोले यस विषयबारे यसो भन्नुभएको छ। सद्गुरु जग्गी वासुदेव भन्नुहुन्छ–सुख बाहिर होइन, आफैंभित्र खोज्नुपर्छ। फलानो गुरु एकदम ‘साइन्टिफिकली’ बोल्नुहुन्छ।

मस्तिष्कको यस भागले हाम्रा समवेदना र भाव  नियन्त्रण गर्छ। ‘डोपामिन’, ‘सेरोटोनिन’, ‘अक्सिटोसिन’लगायत हर्मोन्सको खेल हो माया–प्रीति–आनन्द –खुसी।

 वैवाहिक व्यक्तिभन्दा अविवाहित व्यक्तिहरू रुखा हुन्छन्। मनोवैज्ञानिकका  अनुसार यी–यी कारणले मानिस आत्महत्या गर्छन्। वेदकै ज्ञान साँचोे र सर्वाेत्तम हो। ध्यान शान्ति  पाउने अचुक विधि हो। वैज्ञानिक युगमा विज्ञानले पुष्टि नगरेका सबै कुरा अन्धविश्वास हुन आदि–आदि।

तपाईंले पनि विभिन्न महानुभावका लेखमा यस्तो भाव र  आशय झल्किने अनेकौं दृष्टान्त  पढ्नुभएको होला। उधारो ज्ञानका भरिया यस्ता लेखक वर्गले यताउतीबाट बटुलेको सामग्री वमन गर्नुसट्टा क्षुद्र भए पनि आफ्नो अनुभव सम्प्रेषित गर्दा दुई पैसाको भए पनि त्यसमा यथार्थ हुन्थ्यो, सापेक्षिक सत्यता हुन्थ्यो।

प्रकृति, प्रकृतिको विकासक्रम (बिग  ब्यांगदेखिकै उत्तरोत्तर विकास) र यस विकासक्रमको झन्डै अन्तिम चरणको अभूतपुर्व फड्को (७० हजार वर्षपूर्व  होमो सेपियन्समा भएको बुद्धि विकास) ले के मानिस प्रकृतिका सबै रहस्य जान्ने–बुझ्ने क्षमता राख्छ ? भन्ने जिज्ञासा आउनु स्वाभाविक हो।

एक्काइसौं शताब्दीको उन्नत वैज्ञानिक युगमा म सकेसम्म विज्ञानसम्मत ढंगले  लेख्ने प्रयास  गर्छु।

१३.८ अर्ब वर्षपहिले प्रारम्भ भएको सृष्टिमा मानिसको अस्तित्व २५ लाख वर्ष पहिला भएको मानिन्छ। अहिलेको जस्तो स्वरुपको होइन, यसका पनि विभिन्न आदिम प्रजाति थिए। ७० हजार वर्षअघि एउटा प्रजातिमा बुद्धि  विकसित भयो र, यसको परिणामस्वरुप अन्य प्रजाति विलुप्त हुनुपग्यो।  बुद्धिको सबैभन्दा  उत्कट र उत्कृष्ट उपयोग शायद यस्तै कार्यका लागि हुने ‘म्याट्रिक्स’ रहेछ।

यस्तै, ८–१० हजार वर्षपहिले यो  प्रजाति घर बनाएर खेतीबारी गर्न थाल्यौं र, आधुनिक युग  अर्थात् वर्तमानमा आएर यसले ब्रम्हाण्ड उत्पत्तिको रहस्य बुझ्ने प्रयास गर्दैछ।

१३.८ अर्ब वर्ष अवधिलाई एक घन्टाको सिनेमा मान्ने हो भने यस सिनेमामा मानिसको ‘एपिरेन्स’ नै ५९ मिनट ५९  सेकेन्डमा भएको हो।  सिनेमाको ५९ मिनट ५८  सेकेन्ड पहिलेको लामो कथानकमा के–के घटना–परिघटना भए त्यो जान्ने प्रयास गर्दैछ मानिसले! विज्ञानको मूलधार नै अनुमानकारितामा केन्द्रित भयो।

‘मेरो जिनोम परीक्षण गरेर ५०  पुस्ता पहिलेका मेरा हजुरबुबाको जिनोम  संरचना बुझ्ने प्रयास गर्छ विज्ञानले! र, स्वयं विज्ञान आफैँ नै जिन ‘म्युटेट’ हुने र लोप हुने कुरा पनि गर्छ।’

विश्वभरि जति पुस्तक छन् कल्पना गर्नुस् ती सबै पुस्तक कुनै एउटा ‘अब्जेक्ट’को चियो–चर्चामै केन्द्रित भएर लेखिएका छन्। मानी लिऔं त्यो ‘अब्जेक्ट’ एउटा बालुवाको कण हो, पहेलो हो, सुख मानिने भाव अथवा अवस्था हो, जीवन हो, मृत्यु  हो। के तपाईंलाई लाग्छ, यसो हुँदा उपयुक्ति वर्णित कुनै पनि ‘अक्जेक्ट’बारे हामीलाई पूर्ण ज्ञान हुन्थ्यो वा हुन  सक्छ?

सुख, जीवन, मृत्यु अलिक जटिल र रहस्यमय  विषय भए। बालुवाको कण र पहेलो त सामान्य विषय हुन्, के यिनका बारेमा हामीलाई समग्र र यथार्थ ज्ञान हुन्थ्यो अथवा हुन सक्छ?

आइन्सटाइनले एकपटक भनेका थिए–यदि पुनर्जन्म हुन्छ भने म अर्को जुनीमा एउटा सामान्य ‘प्लम्बर’ हुन चाहन्छु। हामीले मानेको ‘फादर अफ मोर्डन साइन्स’ अर्को जुनीमा (छ भने) वैज्ञानिक  बनेर यस जुनीमा गरिएका प्रकृतिका रहस्य उद्घाटनलाई निरन्तरता दिनुको सट्टा ‘प्लम्बर’ भई आजीविका धान्ने इच्छा गर्छ। विज्ञानको यसभन्दा ठूलो अपमान अरु केही हुन सक्दैन।

आधुनिक विज्ञानको आधार रहेका अनेकौं ‘थ्योरी’ आइन्सटाइनकै देन हुन्। यसोउसो कलम चलाउने लेखक त के आधुनिक विज्ञान नै आइन्सटाइनको महिमामण्डनमा लीन  रहिआएको छ।

आइन्सटाइनले एकपटक भनेका थिए–यदि पुनर्जन्म हुन्छ भने म अर्को जुनीमा एउटा सामान्य ‘प्लम्बर’ हुन चाहन्छु ।

आफ्नो सिद्धान्तले  समग्र विज्ञानलाई न्युटनीय शास्त्रीय भौतिकीबाट टपक्क टिपी आधुनिक चरणमा प्रवेश गराउने  आइन्सटाइनका सिद्धान्तप्रति कसैले सामान्य शंका  पनि उठाएको देखिन्नँ।

चाहे ‘स्पेसटाइम’ होस्, गुरुत्वाकर्षणको  परिभाषा होस्, 

‘स्पेसटाइम’मा  आउने ‘कर्भेचर’ को कुरा, समयको अगाडि पछाडि जाने कुरा  होस्।  सबै कुरा राजाको नयाँ  ड्रेसजस्तै हविगतका कुरा भए पनि हामी  दरबारीझैं वाह क्या राम्रो लुगा भनेर प्रशंसा गर्न बाध्य छौं।

 आइन्सटाइनले  भन्नुभयो–‘स्पेस’मा कुनै ठूलो खगोलीय पिण्ड आएका  कारणले त्यहाँको ‘स्पेसटाइम’मा ‘कर्भेचर’ आउँछ । कसैले सोधेन यो ‘स्पेसटाइम’को ‘फेब्रिक’ चाहिँ के हो? ‘कर्भेचर’ आउनलाई त केही हुनुपर्यो!

विज्ञानले नै भन्छ–ब्रम्हाण्डको ‘डेन्सिटी’ ९.९८१० माइनस ३० ग्राम प्रति घन सेन्टिमिटर  रहेको छ।  यस अनुसार हामी जसलाई ‘डिप स्पेस’ भन्छौं, त्यहाँ प्रति घन मीटरमा  जम्मा ५.९ प्रोटोन मात्रै रहेका छन् (प्रोटोनलाई एटम नसम्झिनु होला।

सन् २०१३ को नासाको रिसर्चअनुसार ब्रह्माण्डको ‘डेन्सिटी’ ९.९८१० माइनस ३० ग्राम प्रति घन सेन्टिमिटरमध्ये  ९५ प्रतिशत ‘डेन्सिटी’ प्रोटोनको नभइ इनर्जीको हो। यस अनुसार ब्रह्माण्डमा प्रति ४ घन मीटरमा  मीटरमा एउटा प्रोटोन मात्रै रहेको छ।

के ठूला खगोलीय पिण्डले यस एउटा प्रोटोनमा ‘कर्भेचर ल्याउँछन्  अथवा इनर्जीमा ‘कर्भेचर’ आउँछ?

‘स्पेसटाइम’ र ब्रह्माण्डको ‘एक्सपान्सन’बारे बैलुनको उदाहरण दिएर सम्झाइन्छ। हावा नभएको बेलुनमा चारैतिर केही ‘डट’ बनाएर त्यसपछि हावा भरिन्छ। हावाले बेलुन ठूलो भएपछि भनिन्छ –हावा नभरिँदा बेलुनमा ‘डट’ नजिक थिए। तर, हावा भरेपछि ‘डट’ एक अर्काबाट टाढा गए, यसरी नै ब्रह्माण्डको विस्तार हुँदा खगोलीय पिण्ड टाढा गएका हुन।

आजसम्म विश्वको कुनै पनि व्यक्तिले सोधेन, बेलुनलाई फुल्ने ‘स्पेस’ पहिला देखि नभएको भए बेलुन कसरी फुल्थ्यो, ‘डट’ कसरी टाढा जान्थे। ‘डट’ बनाइएको बेलुनलाई हावा भर्नुभन्दा पहिले बेलुन आकारकै बाकसमा प्याक  गरेर हेरौं बेलुन  कुन ‘स्पेस’मा फुल्छ?

विज्ञान भन्छ–ब्रह्माण्ड ‘हब्बल कन्स्टेन्ट’  अर्थात् ७३ किमी प्रति सेकेन्ड प्रति मेगा पारसेकको गतिले ‘एक्सपान्सन’ भएरहेको छ। एक पारसेक भनेको ३.२६१   प्रकाश वर्ष हुन्छ। एक मेघा पारसेक भनेको १० लाख पारसेक अर्थात् ३२ लाख ६१ हजार प्रकाशवर्ष हुन्छ।

पृथ्वीदेखि ३२ लाख ६१ हजार प्रकाश वर्ष टाढाको ‘स्पेस’ प्रति सेकेन्ड ७३ किमीका दरले ‘एक्सपान’ भइरहेको छ।  हिसाब गर्दै जाऊँ, पृथ्वीदेखि ३ करोड २६ लाख प्रकाश वर्षमा ७ सय ३० किमी प्रति सेकेण्डले ‘एक्सपान्सन’  भइरहेको छ। ३२ करोड प्रकाश वर्षमा ‘एक्सपान्सन’को दर ७ हजार ३ सय किमी प्रति सेकेन्ड रहेको छ। तीन अर्ब प्रकाश वर्ष टाढाको ‘स्पेस’ ७३ हजार   किमी प्रति सेकेन्डले फैलिरहेको छ।

हिसाब गरौं–१५ अर्ब प्रकाश वर्ष टाढाको ‘स्पेस’ ३ लाख ६५ हजार  प्रति सेकेन्डले ‘एक्सपान्सन’ भइरहेको छ । यो वृद्धि  भनेको प्रकाशको गतिभन्दा बढी भइसक्यो। ४६ अर्ब प्रकाश वर्ष टाढाको ‘स्पेस’ प्रति सेकेन्ड १० लाख किमी प्रति सेकेन्डभन्दा बढी ‘एक्सपान’ भइरहेको छ। यो ब्रम्हाण्ड रूपी ‘बेलुन’ कहाँ वृद्धि  भइरहेको छ? वृद्धि हुनुको कारणमा ‘डार्क एनर्जी’ अथवा ‘डार्क म्याटर’को भूमिका रहेको छ।  

 एउटा प्रश्न गरी हेर्नुस्–भौतिकशास्त्री–खगोलविदहरुसँग ‘स्पेस  एक्सपान्सन’ भइरहेको छ भने पृथ्वी र सूर्यको दूरी  स्थिर किन छ ?

तपाईं जवाफ पाउनुहुन्छ। पृथ्वी र सूर्यको दूरी  जम्मा आठ मिनेट २०  प्रकाश सेकेण्ड हो। यो यति ‘नोमिनल’ छ कि यस दूरीमा भइरहेको ‘एक्सपान्सन’ गणनामा आउँदैन। तपाईं चुप लाग्नु हुन्छ, हो त साँच्चै ३२ लाख ६१ हजार प्रकाश वर्षमा ७३ किमी प्रतिसेकेण्डले विस्तार भइरहेकोमा सूर्य  र पृथ्वीको दूरीमा यसको गणना नै हुन्न।

तर पर्खिनुस् है विश्वका चर्चित भौतिकविद्हरूसँग तपाईंको पहुँच नभए पनि बिएससी–एमएससीका विद्यार्थीले आफ्ना प्रोफेसरसँग सोधे हुन्थ्यो, ‘सर मैले पृथ्वीका सापेक्ष सोधेको होइन। म २० अर्ब प्रकाश वर्ष टाढाबाट हेरिरहेको छु,  हाम्रो सौर्यमण्डलको ‘एक्स्पान्सन’ ५ लाख किमी प्रति सेकेन्डभन्दा बढी गतिले भइरहेको छ।

निश्चय कि त प्रोफेसरले क्लासरुम छाडेर जान्छन् कि तपाईंलाई  ‘गेट आउट फ्रम माइ क्लास’ भन्ने छन्।

विज्ञानले भनेअनुसार वृद्धि हुनुको कारण 'डार्क एनर्जी’ अथवा ‘डार्क म्याटर’को  रहेका छन् ।  प्रश्न गर्नुभन्दा पहिले यी दुवैबारे आफ्नो अध्ययन बढाउनुहोला। प्रोफेसरले जागिर खाएपछि पनि विज्ञानमा रुचि राखेर अध्ययन गर्न छाडेका छैनन् भने उनले यी दुवै पदार्थबारे व्याख्यान दिएर तपाईँलाई चुप लगाउन सक्छन्। यहाँ पनि तपाईंले प्रश्न गर्नुहोला के ‘डार्क एनर्जी’ र ’डार्क म्याटर’ ग्यालेक्सीका बीचमा मात्रै छ, सौर्यमण्डलभित्र छैन र?

शंकराचार्यको भनाइ ‘भज गोविन्दम, भज गोविन्दम, गोविन्दम भज मूढमते’ र आइन्सटाइनको वक्तत्य अर्को जुनीमा ‘म प्लम्बर हुन चाहन्छु’  दुवैमध्ये कुनै  भिन्नता छैन।  दुवै बुद्धिको आश्रय छाड्ने आशय व्यक्त गरिरहहेका छन्। प्रकृति र जीवन बुझेर बुझिसक्ने कोटीका विषय होइनन्, जति बुझ्दै गयो उत्ति नै आफ्नो अज्ञानता प्रष्ट हुँदै जान्छ।

फलानोले यो भनेका छन्, अर्को फलानोले त्यो भनेका छन्। विज्ञानले यसबारे यसो भन्छ। सुख–दुख–क्रोध हर्मोन्सको खेल हो। क्रोध उत्पन्न हुँदा लामो सास  फेर्नुस्, क्रोध शान्त हुन्छ। कसैसँग रिस उठ्दा तुरुन्त प्रतिक्रिया व्यक्त नगरेर २४ घन्टा प्रतीक्षा गर्नुस्, रिस शान्त हुन्छ। ओशोसँगै  एउटा कुरा सोध्ने मन छ, खै कसरी सोधौं?

 जर्ज बुस र आनन्द शीलाप्रति उनको क्रोध र रिस जति लामो सास फेरे पनि, जति समय बिते  पनि किन शान्त भएन? बुस सैतान र आनन्दशीला घृणित नै किन भइराखे जीवनभरि? अब  बुद्धस्तरमा यस ‘थेरापी’ले काम गर्दो रहेनछ भने तपाईं हामी जस्ता अधम र पातकीको स्तरमा  यसको के काम?

चाहे धर्म होस् अथवा विज्ञान दुवैका लागि अन्धाहरूको हामी छम्याइ नै हो सत्य र यथार्थको कल्पना! कान छोयो पंखाजस्तै, खुट्टा छोयो पिलरजस्तै, पुच्छर छोयो कुचोजस्तै, सुँढ छोयो खै के थोक जस्तै?

एक सय वर्ष अथवा एउटा  अर्को विश्व युद्धपछि २० वर्षभित्रै विज्ञानका अधिकांश आधारभूत मान्यता परिवर्तित हुन्छन्। आइन्स्टाइन, हकिन्सलगायतका समस्त धुरन्धर सुकरातकै स्तरमा सीमित हुन पुग्छन्।

जीवन र जगतबारे कसले के भन्छन्, तपाईंका लागि त्यसको कुनै अर्थ छैन। तपाईंसँग एक अद्भूत जीवन छ, यो ईश्वरले आफ्नै हातले बनाएका हुन् अथवा प्रकृतिक विकासको परिणाम हो, यसले के नै अन्तर पार्छ? तपाईंका लागि महत्वपूर्ण र काम लाग्ने आफ्नै भोगाइ हो। तपाईंलाई दान गर्नुभन्दा खोस्नुमा आनन्द प्राप्त हुन्छ भने के तपाईंका लागि दान गर्नाले आनन्द प्राप्त हुने भनाइ ठिक हुन्छ?

उपदेश दिनु, काउन्सलिङ गर्नु, लेख्नु यी सबै पेसा हुन्। आइन्सटाइनको ‘प्लम्बर’ जस्तै। यिनले भनेका कुरालाई सत्य अथवा जीवन उपयोगी ठान्नुहुन्छ भने तपाईंको स्वतन्त्रता! अन्यथा यिनको आफ्नै जीवन यति गडबढ र भताभुंग हुन्छ कि कुनै दिन सुख, खुसी र शान्ति पाउने औषधी बन्यो भने यिनीहरुलाई  आफूभन्दा अगाडिको   किन्ने लाइनमा  उभिएको पाउनुहुन्छ, जसले आज तपाईंलाई सुख, खुसी, आनन्द र शान्ति उपलब्ध हुने सूत्र बाँड्दै  छन्।

पुनश्चः इतिहास, धर्म, अध्यात्म, विज्ञान अथवा कुनै पुस्तकबाट ऊर्जा प्राप्त गरी ऊर्जावान बन्न सक्नुहुन्छ भने मात्रै यी सबैको उपयोगिता हुन्छ।  तपाई यिनको  भारी एवं बोझले थिचिएर सकी नसकी  जीवन घिसार्नु हुन्छ भने (बुद्धिमान बन्ने प्रयास गर्नुहुन्छ भने ) यो बोझलाई एउटा कुनामा थन्काएर   बोझरहित (आइन्सटाइनको ‘प्लम्बर’ अथवा शंकराचार्यको मूढ़मते) बन्नू नै श्रेयष्कर हुन्छ।

Logo