माधव नेपाल पनि पशुपतिनाथकै शरणमा

माधव नेपाल पनि पशुपतिनाथकै शरणमा


सोमबार बिहान ५ः३० बजे पशुपतिनाथ परिसरको दर्शन गरी पूर्व मुखबाट श्रीको अर्चन गरेर फर्कनै लाग्दा ड्युटीमा रहेका  सुरक्षाकर्मीले बोलाए। यसो फर्केर हेरेँ। उनले संकेत गरेर भने-यहाँ आउनुस्। उनले भनेपछि म लुरुक्क परेर नजिकै गए।

दर्शनार्थीहरु निकै पातला थिए। म चाहिँ मन्त्रोचारण र अर्चना गर्दै थिए।  ती सुरक्षाकर्मीले भने, 'गुरु, तपाईँ त पत्रकार पनि हो नि! तपाईलाई एउटा लेखको विषय दिन्छु ।'

 मैले भने के विषय भनिहालेँ– ‘म हतारमा छु, विमानस्थल जानुछ, गोसाइकुण्ड जाने यात्रीलाई हेलिकप्टरसम्म पुर्याउनुछ।’

पाँच मिनेट समय चाहिन्छ–सबै कुरा बताउन। मलाई समय दिनुहुन्छ। घडी हेरेँ– बिहान ५ः५० मिनेट भएको रहेछ। 

‘ठिक छ पाँच मिनेट म कुरा सुन्छु।’

‘हिजो (आइतबार) हाम्रो देशका ठूला नेता पूर्वप्रधानमन्त्री माधव नेपाल पशुपतिनाथ दर्शन गर्न आउनुभएको थियो,’ उनले भने।
 
मैले आश्चय व्यक्त गर्दै भनेँ–‘समाचार र फेसबुकमा कतै फोटो आएको छैन।’

‘हो, मैले पनि धेरै हेरेँ। यो समाचार नआएपछि आज (सोमबार) तपाइँ पशुपतिनाथ आउनुहुन्छ अनि भनौंला भनेर पर्खेर बसेको,’ उनले भने।

‘म पनि आरआर क्याम्पसमा आइएमा एक बर्ष पत्रकारिता पढ्दै गर्दा प्रहरीमा जागिर खान आएको हुँ। समाचार र लेख भनेको कुरा के हो अलिअलि मलाई पनि थाहा छ। पूर्वप्रधानमन्त्री माधव नेपाल पशुपतिनाथ दर्शन गर्न आएको समाचार कतै सुन्न पाइनँ, लेख पढ्न पाइनँ,’ उनले थपे।

म हतारमा थिएँ । उनी नेता नेपालको राजनीतिक व्यक्तित्वबारे मलाई पढाउन खोज्दै थिए।

 मैले भने–'मेरो काम सकेर फेरि ७ बजे पशुपति आएर भेट्छु। अनि कुरा गरौैंला।' 

म विमानस्थल हुइँकिएँ। मेरा लागि प्रहरीको कुरा र माधव नेपालको पशुपतिनाथ यात्राको कथा सुन्नुभन्दा पहिले  धादिङ, सल्यानटारदेखि हेलिकोप्टरमा चढेर गोसाइँकुण्ड दर्शनका लागि आउनुभएका दाजु, भाउजू र भतिज भरत खत्रीलाई विमानस्थलको प्रवेशद्वारमा टिकट थमाउने र यात्राबारे जानकारी दिने पहिलो काम थियो। 

'प्रधानअर्चक गणेश भट्टले श्रीमा अर्पण गरिएको माला लगाइदिनुभयो, निकै खुसी देखिनुभएका हाम्रा नेता माधव नेपाल पनि मुसुक्क हाँस्नुभयो। त्यसपछि  फूल प्रसाद लिएर हाम्रो नेतालाई हामीले उहाँको मोटरसम्म छोड्न गयौं,' उनले भने

आफ्नो काम सकेपछि प्रहरीको आदेशअनुसार म फेरि ७ बजे पशुपति पुगेँ। उनी ड्युटी सकेर मलाई नै कुरेर बसेका रहेछन्।

उनले माधव नेपालको जीवनी र व्यक्तित्वबारे बताउन थाले। 

‘उहाँ जनताले जिताएको नेता हो। उहाँ हिजो बिहान दुईजना नेता लिएर श्रीमतीको साथमा पशुपतिनाथको दर्शन गर्न आउनुभएको थियो। उहाँलाई हामीले निक्कै सम्मानका साथ घुमायौं। तर, उहाँको पशुपतिनाथ यात्रा गोप्य थियो। चार जनामात्र आउनुभएको थियो। पशुपति क्षेत्र विकास कोषका कोही पदाधिकारी पनि उहाँहरुको स्वागतका लागि आएनन्।   सुरक्षाकर्मीका उच्च अधिकारीलाई पनि थाहा रहेनछ। हामीले स्वागत गर्दैं घुमाउने ठूलो मौका पायौं,’ ती सुरक्षाकर्मीले थपे।

मैले प्रश्न गरेँ–'माधव नेपालले पशुपतिनाथ यात्रामा के–के गर्नुभयो?'

‘बिहान नौं बजे आउनुभयो। पशुपतिनाथको बाहिर रहेका सबै मठ मन्दिरको विधिपूर्वक दर्शन गरेपछि मूल मन्दिरभित्र प्रवेश गरेर पञ्चामृत पूजा गर्नुभयो। श्री पशुपतिनाथको पहिलो आदिकलसको जल अभिषेक लिनुभयो। गुरुहरूसँग आशिर्वादका लागि अनुरोध गर्नुभयो। श्रीका चारैजना अर्चकले उहाँलाई आशिर्वाद दिनुभयो। प्रधानअर्चक गणेश भट्टले श्रीमा अर्पण गरिएको माला लगाइदिनुभयो, निकै खुसी देखिनुभएका हाम्रा नेता माधव नेपाल पनि मुसुक्क हाँस्नुभयो। त्यसपछि  फूल प्रसाद लिएर हाम्रो नेतालाई हामीले उहाँको मोटरसम्म छोड्न गयौं।’

'यस्तो अवसरमा तपाईँले नेतासँग बसेर फोटो खिच्नुभएन?'

सुरक्षाकर्मीले गाेजीबाट मोबाइल निकालेर फोटो देखाए अनि भने- 'नेता माधव नेपाल, पत्नी गायत्री र दुई सहयोगीको साथमा गलाभरि सुनकेशरी फूलको माला, टीकाचन्दन लगाएका थिए। यो फोटो ऐतिहासिक छ।' यो फोटो अहिले कसैलाई दिन पनि मिल्दैन, फेसबुकमा राख्न पनि मिल्दैन । 

पशुपतिबाट फर्कदा बाटोभरि सोचेँ– पछिल्लो समयमा नेपालको कम्युनिस्ट राजनीतिका एक खेलाडी हुन् माधव नेपाल।

नेकपा एकतापछि प्रचण्ड–माधव समूहका अध्यक्ष भएका उनी अहिले नेकपा एमालेभित्र विद्रोह र अधिकारको गुटबन्दी राजनीतिमा लागेका छन् । राजनीतिक जीवनकै अप्ठेरो अवस्थामा रहेका माधव नेपाल आफूलाई खुसी राख्न तथा आत्मबल बढाउन पशुपतिनाथ गएका हुन् भनी अनुमान लगाउन सकिन्छ।

आइतबार नेपालले पशुपतिनाथमा आफ्नो सकल परिवार र आफ्नो राजनीतिक यात्राको फड्कोका निम्ति नाम–गोत्र उच्चारण गरी श्री पशुपतिनाथको मूल मन्दिरभित्र सत्संकल्प गरी पूजा आराधना गरे।

त्यसो त मनका चाहना पूरा होस्, अनि जानअन्जानमा गरेका गल्तीहरु क्षमा होस् भनेर पशुपतिनाथमा पञ्चामृत पूजा गर्ने शास्त्रीय मान्यता रहेको छ।

नेपालले पञ्चामृत पूजा गरेपछि पढिने क्षमापूजाका मन्त्र  र रुद्राभिषेक पनि श्रवण गरे ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ गएर सवालाख दीप प्रज्वलन र विशेष पूजा गर्दा उनका विरोधी नेकपा खेमाले निक्कै विरोध गरेका थिए।

पशुपतिनाथ सकल नेपालीहरुको आस्थाको केन्द्र हो । भनिन्छ, हाम्रा अभिभावक हुन पशुपतिनाथ। त्यसैले त हाम्रा नेताहरु सुखमा भन्दा दुःख परेको बेला पशुपतिनाथ जान थालेका छन् ।  

प्रधानमन्त्री ओलीले पशुपतिनाथ दर्शन गरेपछि माधव नेपाल गुटका नेता रघुजी पन्तले पशुपतिनाथले ओलीलाई बचाउन नसक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

भृकुटीमण्डपमा आयोजित समारोहमा स्वयं माधवकुमार नेपालले ओली पशुपतिनाथ दर्शन गर्न गएकोमा आपत्ति जनाएका थिए। 

आज तिनै नेता माधव नेपाल गोप्य र छद्म भेषमा पशुपतिनाथ दर्शन र पूजा गर्न गएकामा सनातनी नेपालीजनहरुले भन्नेछन्– श्री पशुपतिनाथले माधव नेपाललाई पनि कल्याण गरुन्।

Logo