ओपेड

गैर-श्वेतवर्ण जनसंख्या र आत्मनिर्भरता

15 Shares

गैर-श्वेतवर्ण जनसंख्यामा सामान्यतया उपेक्षित काला र गहुँगोरो छाला भएका मानिसहरु पर्दछन्। यही वर्गमा पनि महिलाहरु लिङ्गभेदका कारण पुरुषहरु भन्दा निकै बढी पीडित देखिन्छन्।

अमेरिका जस्तो विकसित लोकतान्त्रिक मुलुकमा गैर-श्वेतवर्ण महिला हिंसाविरुद्धको आन्दोलन सन् १९७० को अन्त्यतिर मात्र सुरु भयो र अझै पनि यहाँ महिलाहरुले प्रणालीगत नीतिहरू जस्तै रोजगारका  अवसरहरु, आम्दानी आदिमा असमानता बेहोर्नु परेको छ। नेपाल जस्ता अरु धेरै विकासशील देशहरु जहाँ महिलाहरु आफ्नो न्युन अधिकार जस्तै शैक्षिक अवसर देखि गाडिको अनुमतिपत्रका लागि लडीरहेका छन्, यो २१ औं शताब्दीमा निकै गम्भीर विषय हो। 

अमेरिकी गैर-भेदभाव नीतिले स्पष्ट रूपमा वर्ण, लिङ्ग, धर्म, राष्ट्रियता, अशक्तता, उमेर, आनुवंशिक जानकारीका आधारमा हुने भेदभावलाई अवैध भनी उल्लेख गरे पनि नीति र कानूनहरु त्यति प्रभावकारी हुन सकेका छैनन्। मानव सभ्यताको यो चरणमा आफूले जानी नजानी गैर-श्वेतवर्ण जनसंख्याप्रति भेदभाभ गरे पनि यसलाई स्वीकार्न नसक्नु चाहिँ यसको निर्मुल हुनुमा मुख्य तगारो बन्न पुगेको हो। हालै एसियन अमेरिकनमाथि बढेको घृणा र हिंसाले पनि यसलाई छायाँकन गर्छ। यो कुरालाई  FBI को  घृणाको कारण हुने अपराधको प्रतिवेदन (२०१९) ले पनि पुष्टि गरेको छ । जहाँ लगभग ६०% पीडितहरु उनीहरुको कुल/जातीयताको आधारमा लक्षित भएका छन् । 

जगडिएको सामाजिक पूर्वाग्रहको आधारमा गठीत र परिमार्जित अधिकतर विद्यमान नीति र कानूनहरुबाट हाम्रो मानसिकतामा परिवर्तन आउन निकै समय लाग्ने देखिन्छ। आधुनिक शैक्षिक प्रणाली पनि दीगो र लचिलो सामुदायिक विकास अनि सशक्तिकरण भन्दा पनि व्यक्तिगत वित्तीय लाभमा निहित हुँदा आमुल सामाजिक रुपान्तरणको खाँचो देखिन्छ।  त्यो रुपान्तरण घरबाट सुरु भई बाल सदन, विद्यालय, विश्वविद्यालय, कार्यस्थल, र समुदायसम्म पुग्नु जरुरी छ। अहिलेको स्थितिमा शारिरीक, मानसिक, भावनात्मक आयामहरुलाई सन्तुलनमा राखी हामीलाई सचेत अवस्थामा पुर्याउन मद्दत गर्ने आध्यात्मिक योग, ध्यान केन्द्रीत अभ्यासहरुबाट मात्र यो सम्भव देखिन्छ। 

अमेरिकी तथ्याँक अनुसार गैर-श्वेतवर्ण जनसंख्या आपराधिक गतिविधिहरुमा बढी सङ्लग्न देखिएका छन् र यसैको आधारमा उनीहरुको सजाय पाउने दर पनि बढी छ।

गैर-श्वेतवर्ण महिलाहरु लिङ्गभेदको अलवा यौन र विभिन्न अरु आक्रमणको सिकार हुने बढी जोखिममा छन्। Brandeis विश्वविद्यालयको अध्ययनले महिलामाथिको याैन आक्रमणको मुद्दामा पनि जातिको रुपमा विभेद देखाएको छ- श्वेत महिलामाथिको आक्रमणमा अभियोजकले ७५% मुद्दाहरुमा अभियोग लगाएको छ भने काला वर्णमा यो मात्रै ३४% पाइएको छ।   

गोरो संस्कृतिको अहिले पनि ठूलो प्रभाव छ। उपनिवेशिताको प्रारम्भ देखिनै यो प्रवल रह्यो जसले गर्दा काला र गहुँगोराहरु फोहोरी, अनैतिक, र अस्वच्छ भनी अपहेलित हुन थाले। काजु खायो भने बच्चा गोरो जन्मिन्छ, घाममा राख्दा बच्चा कालो हुन्छ, छ्या कस्तो कालो गोरो हुने क्रीम लगाउनु, आदी जस्ता टिप्पणीहरु नेपाली समाजमा अझै विद्यमान देखिन्छन्।  छाला गोरो बनाउने उद्योगहरु पनि यसैको नतिजा हुन्। यदि काला र गहुँगोराहरुको संस्कृति प्रवल भएको भए नतिजा उल्टो हुन सक्थ्यो होला। त्यसैले अहिलेको अवास्तविक सामाजिक स्थापनालाई मध्य नजर राखेर हामीले प्रत्येक ब्यक्ती विशेषलाई बिना पूर्वाग्रह पहिचान र सम्मान गर्न सिक्नु पर्छ; अरुलाई परीक्षण गर्ने योग्यता हामी कसैसँग पनि छैन।   

अमेरिकी तथ्याँक अनुसार गैर-श्वेतवर्ण जनसंख्या आपराधिक गतिविधिहरुमा बढी सङ्लग्न देखिएका छन् र यसैको आधारमा उनीहरुको सजाय पाउने दर पनि बढी छ। निकै समयसम्म अधिकारबाट बन्चित भएर र लोकतन्त्रको नाममा समस्यालाई देखवटी रुपमा टाल्ने प्रयासले यो समस्या आएको हो। त्यसैले निर्भरताको दुष्चक्रमा जगेल्टिनु भन्दा उनीहरुको सशक्तीकरणमा ध्यान दिइ आत्म-निर्भरताका अवसरहरु सृजना गर्नु  जरुरी देखिन्छ। गोरो बन्ने वित्तिकै राम्रो होइन्छ त भन्ने कुरालाई हामी नेपालीहरुले पनि फेरि मनन् गर्नु निकै जरुरी छ।

प्रकाशित: ११ चैत्र २०७७ १५:३८ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी