ओली–माधवको पशुपति यात्रा, अब पालो प्रचण्डको!

ओली–माधवको पशुपति यात्रा, अब पालो प्रचण्डको!


प्रधानमन्त्री केपी शर्मा ओली गत माघ १२ गते शुक्लपक्षको द्वादशी तिथि सोमबारका दिन पशुपति दर्शनका लागि गएका बेला पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, पशुपतिनाथका भक्त र सुरक्षाकर्मीले भव्य स्वागत–सत्कार गरेका थिए।

मन्दिरको गर्भगृहको ढोका छेउमा बसेर विशेष पूजाअर्चना र बन्दना गरेर गलाभरि माला लगाएर मन्दिर परिसर बाहिर निस्किएपछि सञ्चारकर्मी र शुभेच्छुकको साथमा उनले फोटो सेसनसमेत गरेका थिए।

पशुपति क्षेत्र विकास कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीको  पशुपतिनाथ यात्रामा संस्कृति मन्त्री, कोषका पदाधिकारीले पशुपति क्षेत्रको विकास निर्माणबारे जानकारी दिँदा ओलीले रुचिपूर्वक सुनेका थिए।

त्यसबेला कोषका संरक्षक र प्रधानमन्त्रीको हैसियतमा पशुपतिनाथको गर्भगृहमा राखिने सुनको जलहरि निर्माणका लागि सरकारको तर्फबाट ३० करोड रुपैयाँ दिने घोषणा र त्यसपछि तत्कालै त्यसबारे निर्णय गरेपछि सनातनीले प्रधानमन्त्री ओलीको निर्णयलाई हृदयदेखि स्वागत गरेका थिए।

पूर्वजानकारी बिना प्रधानमन्त्री पशुपतिनाथ दर्शनका लागि गएको र त्यहाँ पुगेपछि जलहरि निर्माणका लागि करोडौं रकम दिएको भन्दै तत्कालिन नेकपाभित्रका विपक्षी गुटका नेताहरुले ओलीको आलोचना गरे।

ओलीको निर्णयको विरोध गर्ने पहिलो नेता थिए माधव नेपाल। उनकै गुटका तत्कालीन नेकपा र हाल एमाले नेताहरुले ओलीको पशुपतिनाथ यात्रा र जलहरि निर्माणमा दिएको रकमबारे सार्वजनिक अभिव्यक्ति दिँदै विरोध जनाएका थिए। नेपाल गुटका नेता रघुजी पन्तले अलि चर्को स्वरमा विरोध जनाएका थिए भने भीम रावल, रामकुमारी झाँक्रीले मलिन स्वरमा ओलीको पशुपति यात्राविरुद्ध बोलेका थिए।

तत्कालीन प्रचण्ड–माधव समूहले माघ २८ गते भृकुटीमण्डपमा सरकारविरुद्व आयोजना गरेको राष्ट्रिय भेलामा माधव गुटका नेता रघुजी पन्तले ओलीलाई पशुपतिनाथले आशिर्वाद नदिने, पशुपतिनाथ भनेका नेपाली जनता हुन् भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए। उक्त समारोहमा नेपालले ओली वादशाह भएको भन्दै पशुपतिनाथको शरणमा गए पनि उनको राजनीतिक हार निश्चित भएको भविष्यवाणी गरेका थिए।

नेता नेपाल र पन्तले पशुपतिनाथबारे व्यक्त गरेको धारणाप्रति नेपालका धार्मिक संघ–संगठनले विज्ञप्तिमार्फत् अभिव्यक्ति फिर्ता र माफी माग्नुपर्ने माग राखेका थिए।

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द्र सरस्वती, महासचिव डा.गुरुप्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा श्री पशुपतिनाथप्रति अनास्था जगाउने र नेपालीजनहरुको आस्थामा चोट पुर्याउने अभिव्यक्ति भएको भन्दै भ्रत्र्सना जनाइएको थियो। राष्ट्रिय धर्मसभा नेपाल, सनातनी संगठनले  विरोध जनाए पनि उनीहरुले सार्वजनिक रूपमा माफी मागेका थिएनन्।

नेकपा एकता नहुने भएपछि जीवनभर मेहनत गरेर बनाएको पार्टी एमालेबाट अलग हुने कि विद्रोह गर्ने मुडमा गुटको राजनीति गरिरहेका नेता नेपालले आइतबार आराध्यदेव श्री पशुपतिनाथमा पूजा आराधना गरे। 

श्रीमती गायत्री नेपालको जन्मदिनको अवसर छोपेर पशुपतिनाथ र गुहेश्वरीदेवीको दर्शनका लागि माधव नेपाल मन्दिर पुगेको देखेपछि भक्तहरु आश्चर्यमा परे। श्रीका भक्त र सनातनीहरु माधव नेपालले पशुपतिनाथ यात्रा गरेपछि निकै खुसी भएका थिए।

नेपालमा क्रिश्चियन धर्म प्रवर्धनका लागि आयोजित होली वाइन समारोहका नेतृत्वकर्ता माधव नेपाल पशुपतिनाथ दर्शन गर्न गएको खबर सुरुमा आमजनताले विश्वास गर्न सकेनन्।

सोमबार दिउँसो केन्द्रविन्दु डटकममा उनी पशुपतिनाथ गएको खबर छापिएपछि पत्याउन नसकेका पाठकहरूले उनी गृहेश्वरीमा उभिएर खिचेको फोटो छापिएपछि पत्याउन बाध्य भए।
निक्कै हतास, निरास मुडमा पशुपतिनाथ पुगेका नेता नेपाल पशुपतिनाथको दर्शन गरेपछि फर्कदा उत्साही र प्रफुल्ल देखिएका थिए।

‘नेपालका कम्युनिस्टहरु धर्मलाई अफिम भन्ने गर्छन्–धर्म–संस्कृति बुझेर हो न नबुझी। माक्र्सवाद पढेकाहरुले मन्दिर जान नहुने, पूजा पाठ गर्न नहुने भन्ने मान्यता राख्ने यी नेताहरु अहिले धर्म र अध्यात्ममा रुचि राख्न थाल्नुलाई सकारात्मक र सद्बुद्धि आएको हो मान्न सकिन्छ,’ अभियन्ता भरत जंगमले सामाजिक सञ्जालमा लेखेका छन्।  

नेपालीजनहरुको धरोहर श्री पशुपतिनाथको दर्शन र पञ्चामृत पूजा गर्दा मनमा शान्ति, सद्भाव र आत्मबल उच्च हुने शास्त्रीय मान्यता  छ।

केही समययता राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पशुपतिनाथको दर्शन र पूजामा सहभागी हुने गरेका छन्।

त्यसैबीच, आइतबार माधवकुमार नेपाल पशुपतिनाथ गए पनि गोप्य राख्न खोजिएको थियो। तर, सोमबार बिहानैदेखि नेपाल पशुपतिनाथ आएको खबर मन्दिर परिसरमा एक कान, दुई कान, मैदान हुँदै थियो।

पूर्वजानकारी बिना प्रधानमन्त्री पशुपतिनाथ दर्शनका लागि गएको र त्यहाँ पुगेपछि जलहरि निर्माणका लागि करोडौं रकम दिएको भन्दै तत्कालिन नेकपाभित्रका विपक्षी गुटका नेताहरुले ओलीको आलोचना गरे।

सनातन धर्म विरोधी माधव नेपाल पशुपतिनाथ किन आए ? त्यहाँ कार्यरत पण्डितहरुले एक–अर्कालाई प्रश्न गरिरहेका थिए। 

होलीवाइन खाएका नेपालले पशुपतिनाथमा क्षमापूजा र प्रायश्चित गर्नका लागि आएका हुन भन्ने अनुमान पनि लगाए।

मन्दिर परिसरमा हरेक दिन रुद्राभिषेकमा सहभागी ब्राह्मणहरु माधव नेपालको पशुपतिनाथ यात्राबारे अनेकन व्याख्या र विश्लेषण गर्दै थिए।

शक्ति र सत्ताका लागि सधैँ हानथाप गरिरहेका माधव नेपाललाई पशुपतिनाथको आशिर्वाद किन चाहियो? पछिल्लो दिनमा उनको आत्मबल कमजोर भएकै हो? नेपालको पू्जामा सहभागी एक ब्राह्मणले उनको अनुहार पढे। निकै क्रोधित र चिन्तित नेपालले पशुपतिनाथमा विशेष पूजा गरेपछि अनुहारमा खुसी छाएको अनुभव उनले सुनाए। 

उनको पशुपतिनाथ यात्रालाई विगतमा धर्म संस्कृतिप्रति नेता नेपालले गरेका गल्ती कमजोरीको पश्चाताप र क्षमा हो भन्न सकिन्छ । आगामी दिनमा नेता नेपालले क्रिचियन मिसन छोडेर सनातनीको हितमा काम गर्नेछन् कि भन्ने आशा राख्नु पर्छ।   

नेकपाभित्र रहेर गुट–फूटको राजनीतिको नेतृत्व गरेको आरोप लागेका नेता नेपाललाई आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन्। माधव गुटका नेताहरु ओली गुटमा जाने क्रम बढ्दो छ।

नेता नेपालले कमसेकम यो कठिन अवस्थामा श्री पशुपतिनाथमा पुगेर क्षमापूजा र आफ्नो सत्सङ्कल्प गर्नुलाई उनको व्यक्तिगत जीवनमा माक्र्सवाद र अध्यात्म जीवनबारे नयाँ दृष्टिकोण बनेको हो? भनी प्रश्न गर्न सकिन्छ।

ओली–माधवको पशुपतिनाथ यात्रापछि अब प्रचण्डको पालो आएको छ। एक दिन प्रचण्डले पशुपतिमा पञ्चामृत पू्जा गराउन जाने दिनको प्रतीक्षा गर्न थालिएको छ।

नेपाल र नेपालीजनको प्रमुख आराध्यदेव मन्दिर परिसरमा कम्युनिस्ट नेताहरु लुकिछिपी जाने गरेका छन्। आगामी दिनमा कसैले पनि लुकेर पशुपति जानु नपर्ने गराइदिएका छन् नेता केपी र माधवले।  

हँसमुख शैलीमा पशुपति पुगेका केपी ओली र गुपचुप गएका नेता नेपालले पशुपतिनाथ दर्शन गरेपछि अरु कम्युनिस्ट नेताहरुलाई पशुपतिनाथ जान सहज बाटो खुलेको छ।

अब केपी ओली निकट र माधव नेपाल गुटका सबै नेताहरुले पशुपतिनाथ दर्शनका लागि जाने क्रम बढ्ने छ ।

याे पनि पढ्नुस् 

माधव नेपाल पनि पशुपतिनाथकै शरणमा

Logo