‘बहुरुपी कोरोना’ नेपाल भित्रिएको हुन सक्ने !

‘बहुरुपी कोरोना’ नेपाल भित्रिएको हुन सक्ने !


हाल विश्वमा कोरोनाका तीन प्रकारका ‘भेरिएन्ट’ विशेष बहस र चर्चाको शिखरमा छन्। यी युके, ब्राजिलियन तथा दक्षिण अफ्रिकी भेरिएन्टका नामले चिनिने गरेका छन्। 

यी कोरोना भेरिएन्टका जीनमा अत्यधिक ‘म्युटेसन’ देखिएको, हाल उपलब्ध भ्याक्सिनलाई चुनौती दिएको, अघिल्लो कोरोना भाइरसभन्दा तीव्र गतिमा फैलन सक्ने र घातकसिद्ध भएकाजस्ता विशेषताले सबैको चासो बढेको छ। यिनलाई त्रासका साथ नजिकबाट नियाल्न थालिएको छ।

यी तीनवटै भेरिएन्टका कोरोना भाइरस छिमेकी देश भारतमा आइसकेका छन्।  तीन भेरिएन्टमध्ये युके भेरिएन्ट नेपालमा आइसकेको पुष्टि भैसकेको छ। यद्यपि,  यसले के कति क्षति वा प्रभाव  पारिरहेको छ भन्नेबारे कुनै  विश्लेषण  नेपालमा गरिएको छैन।

 हाल भारतमा कोरोना संक्रमितको संख्या दिन दुई गुणा र रात चौगुणाले बढ्दै गइरहेको छ। त्यसैले गर्दा त्यहाँका विभिन्न सहरमा मानिसको आवतजावतमा कडाइ तथा लकडाउन सुरु भइसकेको छ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार अनुमानित ३ देखि ४ मिलियन (३० देखि ४० लाख) नेपाली बसोबास तथा रोजगारीको लागि भारतमा रहेका छन्।  विशेषगरी रोजगारीका लागि दैनिक काम गरेर कमाउनु पर्ने व्यक्तिहरु  भारतका सहरमा लकडाउनको अवस्था हुँदा नेपाल पनि त्यसतर्फ फर्कन सक्ने सम्भावना प्रबल हुन्छ।  

गतवर्ष भारतमा एकपछि अर्को राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन गरिएको थियो, जसले गर्दा हजारौं नेपाली आफ्नो देश फर्कनु परेको इतिहास हामीलाई विदित नै छ। यस्तो अवस्था फेरि सिर्जना हुँदा भारतमा देखा परिसकेका विभिन्न भेरिएन्टका कोरोना नेपालसम्म सहजै आइपुग्नेछ। यसलाई नै यहाँ पंक्तिकारले ‘बहुरुपि कोरोना’ अर्थात् एकभन्दा बढी भेरिएन्टका कोरोना भाइरस नेपालमा देखिन सक्नेछ भन्न खोजेको हो।

यी कोरोनाका भेरिएन्टबाहेक भारत तथा नेपालमा लामो समयदेखि कोरोनाको चक्र निरन्तर देखिँदै आइरहेकाले दक्षिण एसियाली भेरिएन्टको कोरोनाको विकास भइसकेको वा विकास हुँदै  गइरहेको नहोला भन्नेबारे सहजै केही भन्न सक्ने अवस्था छैन।  

ब्राजिलियन भेरिएन्टको कोरोना भाइरस तीव्र गतिमा फैलन सक्ने र अघिल्लो संक्रमणपछि विकास भएको रोग प्रतिरोधात्मक (एन्टीबडी) क्षमतालाई पनि आकस्मिकरूपमा छल्न सक्ने क्षमता भएको भनिएको छ । जसले गर्दा ‘रि–इन्फेक्सन’को सम्भावनालाई  बढाएको देखिन्छ। ब्राजिलको एक सहरमा गतवर्ष कोरोनाले ठूलो प्रभाव पारेको थियो, जसमा झन्डै अनुमानित ७६ प्रतिशत जनसंख्या संक्रमित भएको अर्थात् त्यहाँ ‘हर्ड इम्युनिटी’ विकास भइसकेकाले फेरि संक्रमणले ठूलो प्रभाव पार्न नसकिने भनेर अनुमान गरिएको थियो।

तर, यो अनुमानको ठिक विपरीत सात महिनापछि फेरि त्यसै सहरमा अर्को लहरले ठूलो जनसंख्या प्रभावित भएको हालै प्रकाशित एक अनुसन्धानले देखाएको छ। यही बेला ब्राजिलमा नयाँ भेरिएन्टको कोरोना भाइरस विकास भएको र त्यो बढी आक्रामक देखिएको अनुसन्धानबाट पत्ता लागेको थियो, जुन भेरिएन्ट अहिले भारत पुगिसकेको छ।

बेलायतमा देखिएको कोरोना भाइरसको भेरिएन्ट पनि अघिल्लो कोरोना भाइरसभन्दा झन्डै ४० देखि ७० गुणा तीव्रगतिमा फैलनसक्ने पत्ता लागेको छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानको नतिजाले यो भेरिएन्टको कोरोना संक्रमण भएमा मृत्युदर पनि अघिल्लो भेरिएन्टको भन्दा बढी हुने पत्ता लागेको थियो।

 नेपालमा पनि यो भेरिएन्टको कोरोना भाइरस पुष्टि भइसकेको छ। तर, नेपालमा यसले कस्तो प्रभाव  पारिरहेको छ/ थियो भनेर यकिन तथ्यांक भने छैनन् । अनुसन्धानले युके भेरिएन्टविरुद्ध कोभिशिल्ड (अक्सफोर्ड/एक्स्ट्राजेनेका) भ्याक्सिनले सन्तोषजनक काम गर्नसक्ने नतिजा देखाएको त छ, जुन  नेपालको लागि शुभसंकेत मान्न सकिन्छ । तर, भविष्यमा यो भेरिएन्टको कोरोना भाइरसमा ‘जेनेटिक’ परिवर्तनले थप निरन्तरता पाएमा भने सो भ्याक्सिनको प्रभावकारितालाई नै चुनौती दिन सक्नेछ।    

दक्षिण अफ्रिकी भेरिएन्टको कोरोना भाइरस पनि तीव्रगतिमा फैलने र हाल उपलब्ध भ्याक्सिनलाई छल्न सक्ने क्षमता भएको भनिएको छ। विशेष गरेर नेपालले प्रयोग गर्दै आइरहेको ‘कोभिशिल्ड’ भ्याक्सिनलाई पनि चुनौती  दिनसक्ने क्षमता देखिएको छ दक्षिणी अफ्रिकी कोरोनाको नयाँ भेरिएन्टमा। 

तीनवटै भेरिएन्टका कोरोना भाइरस छिमेकी देश भारतमा आइसकेका छन्।  तीन भेरिएन्टमध्ये युके भेरिएन्ट नेपालमा आइसकेको पुष्टि भइसकेको छ।  यद्यपि,  यसले के कति क्षति वा प्रभाव पारिरहेको छ भन्नेबारे कुनै विश्लेषण  नेपालमा गरिएको छैन।

दक्षिण अफ्रिकामा गरिएको अनुसन्धानले यस भेरिएन्टको कोरोना भाइरसविरुद्ध ‘कोभिशिल्ड’को  प्रभावकारिता विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (थ्रेसहोल्ड) भन्दा अत्यधिक कम देखिएको भनिएको छ। यो भेरिएन्टको कोरोना भाइरस हाल कम्तीमा पनि विश्वको ४० देशसम्म पुगीसकेको छ।

तसर्थ, नेपालले विदेशबाट (कुनै पनि देशबाट) आउने जो कोहीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था वा प्रयोगशाला परीक्षणलाई  व्यवस्थित गर्नुपर्ने देखिन्छ। हाल यो भेरिएन्टको भाइरस नेपालमा पुष्टि भइसकेको त छैन, तर तेस्रो देशबाट मात्र (अन्तर्राष्ट्रिय विमानस्थलबाट ) होइन, भारतबाट दुई देशबीचको लामो खुला सीमाको कारणले नेपालमा पनि नआउला भन्न सकिँदैन।

यदि दक्षिण अफ्रिकी भेरिएन्टको कोरोना भाइरस नेपालमा प्रवेश गरी फैलने क्रममा तीव्रता आएमा हाल हामीले लगाइरहेको भ्याक्सिनको प्रभावकारिता पनि खस्कने छ।                                

यस पंक्तिकारले फागुन १८ गते नै ‘भारतमा कोरोना ह्वात्तै बढ्यो, नेपालमा दोस्रो लहरको संकेत’ शीर्षकको लेख लेखेको थियो । सो लेख प्रकाशित भएको दुई साता नबित्दै स्वास्थ्य मन्त्रालयले चैत ८ गते एक विज्ञप्ति निकाल्दै छिमेकी देश भारतमा कोरोना फैलने गतिमा तीव्रता आएकोले नेपालमा पनि संक्रमणको जोखिम बढेको र त्यसैले सभा, जुलुस, भेला, गोष्ठी, भिडभाड नगर्न तथा जनस्वास्थ्यका मापदण्ड (मास्क, व्यक्तिगत दूरी, साबुन पानीले हात धुने) लाई निरन्तरता दिन सरोकारवाला सबैलाई अनुरोध गरेको छ। हुन त स्वास्थ्य मन्त्रालयले  केही दिनयता कोरोना संक्रमितको संख्यामा कमी देखिएको भए पनि जोखिम भने घटेको छैन भन्दै आइरहेको छ।

भारतमा देखिएका विभिन्न रुप/स्वरुपका आक्रामक तथा घातक कोरोना भाइरसका भेरिएन्टहरु अर्थात् ‘बहुरुपी कोरोना भाइरस’ को जमघट नेपालमा भए त्यो हाम्रो लागि गत वर्षभन्दा कम चुनौतीपूर्ण भने हुने छैन।

तर, नेपालमा कोरोना भाइरसको स्वरुपको विश्लेषण गर्ने प्रविधि नहुँदा कुन–कुन स्वरुपको भाइरस नेपालमा प्रवेश गरिसकेको छ भनेर यकिन हुन सकेको छैन। कोरोनाको स्वरुपबारे विश्लेषण/थाहा पाउन सके हाल प्रयोगमा आइरहेका भ्याक्सिनको प्रभावकारिताबारे अनुमान/थाहा पाउन सकिनेछ र, त्यसै अनुसार भ्याक्सिनको छनोट वा वैज्ञानिकले भ्याक्सिनलाई अद्यावधिक गर्न सक्ने छन्।

यो पंक्तिकारले दुई साता अघिदेखि नै भारतमा कोरोनाको अर्को लहर आइसकेको चेतावनी दिँदै त्यसबाट नेपाल अछूतो रहन नसक्ने स्पष्ट धारणा व्यक्त गर्दै आइरहेको छ। अर्थात् नेपालमा त्यहीँ बेलादेखि नै भारतमा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्ट  भित्रिने क्रम सुरु हुनसक्ने प्रबल सम्भावना रहन्छ।  

उपरोक्त अनुमान सही भए नेपालमा कोरोना भाइरसका बहु भेरिएन्ट अर्थात् ‘बहुरुपि कोरोना’ नेपाल भित्रिसकेको हुनसक्छ। जे जस्तो भेरिएन्टको कोरोना भाइरस भित्रिए पनि सुरक्षाका मापदण्डहरु अहिले पनि उत्तिकै सान्दर्भिक र आवश्यक छन। सुरक्षाका समस्त मापदण्डलाई हामी सबैले निरन्तरता दिऔं।   (लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

Skip This
Logo