वैश्य युगमा निठल्ला चिन्तन !

वैश्य युगमा निठल्ला चिन्तन !


आफ्नो जीवन जतिसुकै भद्रगोल भए पनि अर्काको जीवन  सुव्यवस्थित गर्न गराउन हामी कोही पनि किंचित विलम्व गर्दैनौँ । अहिले त यसले अति लाभकारी व्यवसायकै रूप लिइसकेको छ। उपदेशक- कथावाचक बितेको  युगका 'प्रोफेसन' थिए।  कोरोना भाइरसको नयाँ 'म्युटेन्ट' आए झैँ आधुनिक युगमा यिनका पनि विभिन्न नयाँ संस्करण बाजारमा उपलब्ध छन – 'मोटीभेटर,'  'मेन्टर,'  …

यिनले तपाईंलाई जीवन जिउने कला सिकाउँछन् … यिनका पूर्ववर्ती भाइरसहरूले तपाईंको पुर्खाहरूका मस्तिष्कमा बीजारोपण गरिदिएका थिए संसार पाठशाला हो र तपाईं विद्यार्थी। पाठशाला र विद्यार्थीको 'रिलेशनशिप' आजन्म रही रहन्छ अर्थात् तपाईं बाँचुञ्जेल विद्यार्थी हो,अन्तिम स्वास सम्म तपाईंले जीवन जिउने कला सिकिराख्नु पर्छ। भाइरसहरूका नयाँ नयाँ 'भेरिएन्ट'मा  कुटिलता-चपलता-धूर्तताको  त्यै 'डीएनए क्यारी अन' हुँदै आएको छ भने तपाईंले पनि आफ्ना पुर्खाको जीवन जिउने कला सिक्ने लालसारूपी 'डीएनए' बोकी आउनुभएको छ। 'डिमान्ड र सप्लाई'को खेल सुरुचिपूर्ण ढंगले सुचारु भइरहेको छ।  

उपभोक्ता र 'सप्लायर'का बीच यस निठल्ला चिन्तकको कुनै काम छैन।

आधुनिक विज्ञानले ब्रह्माण्ड विषयक अध्ययनमा भन्छ- ब्रह्माण्डमा ६८ प्रतिशत  'डार्क एनर्जी', २७ प्रतिशत 'डार्क मैटर'को साम्राज्य छ। दृश्य पदार्थ र एनर्जी जम्मा ५ प्रतिशत छ। ९३ अर्ब प्रकाश वर्षसम्म विस्तृत ब्रह्माण्डमा रहेका खर्बाैँ 'ग्यालेक्सी' र यसभित्र रहेका खर्बाैँ खरब पिण्ड दृश्य पदार्थमा आउँछन्। ५ प्रतिशतको दृश्य जगत नै अपार अनन्त छ बाँकीको ९५ प्रतिशतको कुरा गरी के साध्य ? के हो यो ९५ प्रतिशत ? विज्ञानलाई यसका बारेमा यति नै थाहा छ कि यो छ। यसभन्दा बढी अन्य केही थाहा छैन विज्ञानलाई ९५ प्रतिशतका बारे।

कहिले काही विचार आउछ संसारमा अर्बौ मानिस छन्। यहाँ पनि कता कता  ब्रह्माण्डकै प्रतिशत कायम छ कि भएका सबै मानिसलाई ५ प्रतिशतले डोर्याउँछन। मानव जीवनका विविध पक्षमा ५ प्रतिशतकै हाली मुहाली कायम छ। बाँकीका ९५ प्रतिशत मानिसले यिनै ५ प्रतिशतबाट शासित -अनुशासित- निर्देशित -हेलित हुनुपर्छ। ५ प्रतिशतले संसार चलाउछन, चलाइरहेका छन, चलाई रहने छन्। यस कुराको संज्ञान भएपछि मेरो जीवनको धार मोडियो। बुझाईको स्तरदेखि गुरुत्वसम्म बदलियो। यसको वर्णन एउटा परम्परागत कथाबाट गर्न गइरहेको छु।

हामी सबैले खरायो र कछुवा दौडको त्यो बेमेल कथा सुनेका छौँ जुन कथाको प्रयोग उपयोग गरेर ५ प्रतिशतले ९५ प्रतिशतलाई बेबकूफ बनाउँदै आइरहेका छन्।

कथा भन्छ – कछुवा र खरायोमा दौड प्रतियोगिता भयो, कसले छिटो दगुरेर बाजी मार्छ ! यहाँ प्रश्नवाचक चिन्हको प्रयोग नगरेर विस्मयादिबोधक चिन्हको प्रयोग गर्नुको मर्म बुझी सक्नुभएका पाठकले अब अगाडि नपढे पनि हुन्छ।  यस पाठकवर्गले  यस निठल्ला चिन्तकको 'माइन्ड रीड' गरिसक्नु भयो। खैर यसको व्याख्या र  'जस्टिफिकेशन' स्मरण र आवश्यकताबोध भयो भने केही अन्तराल पछि गरौँला ।  

कथाको व्याख्यामा भनिन्छ – खरायो अल्छी थियो ,कछुवा एकदमै सजग सतत उद्यमशील र प्रगतिको चाहना एवं जिजीविषाले अति कर्मठ, अति उत्साहित एवं कर्म र आफ्नो दायित्वप्रति अत्यधिक संवेदनशील।

दौड आयोजित भयो।  खरायोले प्रतियोगिताको प्रारम्भमै कछुवालाई टपेर जीतलाई सुनिश्चित गर्यो तर आफ्नो अल्छिपनाले दौडको समापन बिन्दुसम्म पुग्नुभन्दा पहिला विश्राम गर्ने सोच लियो र विश्रामको क्रममा उ निदायो।  कर्मठ र उद्यमशील कछुवाले दौडमा विजयी घोषित भएपछि मात्रै खरायोको निद्रा तोडियो।

मैले २०६० सालमा कुनै रात्रिको निद्रामा आएको सपनामा त्यस खरायोलाई भेटेँ।  त्यस बेलासम्म पत्रकार थिए, अतः खरायोसँग अन्तर्वार्ता  गरे।  

मैले सोधे, 'तिमी त्यै खरायो हो जुन कछुवासँग दौडमा पराजित भएका थियौं ?'

'स्मित मुस्कानका साथ उसले दन्तपंक्ति देखाउँदै स्वीकृतिमा टाउको हल्यायो।' उसले बोल्ने कष्ट नगरे देख्दा मलाई कता कता यो साच्चिकै अल्छे हो कि जस्तो प्रतीत भयो।

'अनि  प्रतिष्पर्धामा पनि अल्छी भएर सुत्ने ? तिमीले त सम्पूर्ण खरायो जातिकै नाक कटाई दियौ।'

'प्रश्न सुन्नसाथ उ दिल खोलेर हास्याे।'

'यसमा हाँस्ने  के कुरा, के तिमी वास्तवमै अल्छे र अकर्मण्ड्य हौ ?'

'यसपटक उ झनै बेजोडले हास्याे।'

'हास्छौ मात्रै कि मुख खोलेर केही भन्छौ पनि ?'

'म तिम्रो प्रश्नमा हाँसेको होइन।  भविष्यमा म जस्तै खरायोको उपमामा प्रतिष्ठित हुन गइरहेको एउटा खरायोको सपनामा आऊँन  पाउँदा आफ्नो सपना सम्झी आनन्दले हर्षित भएको हुँ।'

'तिमीले मलाई खरायो भनेको ?'

'हो साथी।  र, जुन सपनाले मेरो जीवनको दिशा परिवर्तित भएको थियो तिमी पनि त्यहीँ सपना हेरिरहेका छौँ। यसै कारण म हर्षले गदगद भएको हुँ।'

'के तिमी मलाई आफ्नो अल्छीपन र पराजयलाई 'डिफेन्ड' गर्न कुनै नयाँ कथा सुनाउन  गइरहेका छौ ? तर, होश गर है मेरा सामु तिम्रा प्रयास फलदायी हुने छैनन्।'

'ऐ मित्र मैले प्रयास गर्न त्यहीँ दिन छाड़ी दिएको थिए र कछुवासँग आफ्नो भइरहेको पराजयमा 'एन्जाेय' गरेको थिए।'

'मतलब ? अब अलिक विस्तारमा भन।'

'हेर, मेरो अहंकार र जगतको स्वार्थले एउटा बेमेल प्रतिष्पर्धा प्रायोजित भयो , वास्तवमा यसको कुनै अर्थ नै थिएन। तिमी आफैँ सोच, यस प्रतिष्पर्धालाई प्रायोजित गर्ने – गराउने कुटिल मानव मस्तिष्कधारीहरूलाई  के परिणामबारे थाहा थिएन र ? उनीहरूले यस्तो व्यर्थको आयोजनमा लगानी नै किन गरे ? कुरो 'क्रिस्टल क्लियर' थियो  कछुवाले एकपटक गन्तव्यमा पुग्नुभन्दा पहिला म  प्रारम्भबिन्दु र गन्तव्यस्थल बीचको दूरीमा सय पटकभन्दा बढी ओहोर दोहोर गर्न सक्थे।'

'हो, यो कुरा म पत्याउछु।  त्यसैले त मलाई आश्चर्य छ तिमी पराजित कसरी भयौ ?'

'ठीक त्यसरी नै, जसरी तिमी पराजित हुन गइरहेका छौ।  जगतको नजरमा  त तिमी पराजित हुन्छौ तर आफूमा भने अनन्त -असीम आनन्दले भरिपूर्ण हुन्छौ।'

'तिमी मलाई बीच म न ल्याई आफ्नो कुरा मात्रै भन।'

'जे आज्ञा हजुर, उसले विनोदका स्वरमा भन्दै गयो – हेर मेरो अल्छीपनको कथा जगतका सापेक्ष (रिलेटिभ ) ठीक हो।  म अल्छीपनले नै हारेको थिएँ। तर यस हारले मेरो जीवन र जीवनप्रतिको दृष्टिकोण नै परिवर्तित भयो।'  

'दौडमा म निकै अगाडि गइसकेको थिए।  मलाई गन्तव्यबिन्दु नै नजर आइसकेको थियो।  पछाडि फर्केर हेर्दा कछुवा टाडा टाडासम्म देखिएन।  राति प्रतियोगिताको 'फीभर'ले म राम्ररी सुत्न सकेको थिइन , दौडको प्रारम्भमा आफ्नो पूरा शक्तिले दगुरेर म थाकेको थिए,मेरो र कछुवाको बीचमा मनग्गे  दूरी भई नै सकेको थियो।  सोचे २ मिनट विश्राम गर्छु।  विश्राम गर्न म पीपल छायामा बसे।  राति नसुतेकोले म पीपल छायामुनिको शीतल सुगन्धित पवनले निदाए।  र, तिमीलाई थाहा छ मेरो सपनामा तिमी आएर अन्तर्वार्ता लिन थाल्यौ ?'

'तिमीले सोध्यौ, म के गरिरहेको छु ?'

"म कछुवासँग दौडमा प्रतिष्पर्धा गरिरहेको छु।'

'कछुवासँग किन प्रतिष्पर्धा गरिरहेका छौ ? के तिमीलाई आफ्नो गति र सामर्थ्यमा विश्वास छैन ?'

'किन नहुनु ! म कछुवाभन्दा हजारौ गुना गतिले कूद्न सक्छु।'

'त्यसो भए यो प्रतिष्पर्धा किन ?'

 'संसार सामु यो साबित गर्न कि म गतिका साथ कूद्न सक्छु।'

'तर यसले पनि तिमी संसारको श्रेष्ठ धावक त बन्दैनौ ! संसारमा तिमीभन्दा गतिले कूद्ने हरिण छ, बाघ छ।'

'यो प्रतियोगिता जितेपछि म थप अभ्यास गरेर अरु अरुसँग पनि प्रतिष्पर्धा गर्नेछु।'

'के पाउँछौ यसबाट ?'

'पदक पाइन्छ।  मान सम्मान पाइन्छ। धन पाइन्छ। राम्रो भोजन र सुविधाका सबै उपाय पाइन्छन्।'

'ल एउटा कुरा भन त आजभन्दा हजार वर्ष पहिला मान -सम्मान- धन -प्रतिष्ठा – जीतका सैयोँ पदक पाएको कुनै -कसैको नाम थाहा छ ?

तिमीलाई ? कुनै विशाल हात्ती, सुन्दर मृग, चक्रवर्ती सम्राट ! कसैलाई सम्झिन्छौ ?
'छैन ।'

'अनि तिमी आफ्नो नाम स्थापित गरेर के पाउछौ ? कछुवासँग जीतेपछि तिमीले बिरालोसँग लड्नु पर्ला, क्रमशः कुकुर, हरिण, बाघसँग जित्ने अभिलाषा तिमीमा आउँदैन र ?
'यही त जीवन हो। जीवन प्रतिष्पर्धा हो।  डार्विनले भनेका नै छन्, 'सरभाइभल अफ फिटेस्ट'।'
'तर तिमीले आफ्नो जीवनमा यसबाट के पाउँछौ ?'

'राम्रो भोजन पाउँछु ,राम्रा राम्रा तरुणी पाउँछु, सुख शयलका सामाग्री पाउँछु।'

'तिमी आफ्नो चारैतिर हेर त।'

'मैले गर्दन र आँखा घुमाएर हेरे- त्यहाँ चारैतिर मलाई मनपर्ने भोजन थियो। अनेकन तरुनी खरायो घूमीरहेका थिए। एउटा पोखरी पनि देखे। पोखरीमा अनेकन युवा युवती खरायोहरू जलक्रीडा गरिरहेका थिए।'

 मेरो मनोदशा बुझेर तिमीले  भन्यौ – 'तिमी  प्रतिष्पर्धा गरेर, विजयी भएर जे पाउने आशा गरिरहेका छौ त्यों सब त अहिले नै उपलब्ध छ।  अनि यो व्यर्थको प्रतियोगिता किन ? अहिले नै यसको आनन्द किन लिदैनौ ??'

तिम्रो कुरा सुनेर म पोखरीतिर लागे।  एउटी अति सुन्दरी खरायोले मेरो  स्वागत गरिन।  म उनीसँग जलक्रीडा गर्न थाले। अन्य अन्य सुन्दरीले आएर पनि मसँगै  जलक्रीडा गर्न थाले। म स्वर्गमा इन्द्र झै अप्सराहरूले घेरियर आनन्द उत्सव मनाउदै थिए। तिमीले आएर मलाई सुचना दियौ, कछुवा म भएको रुखसम्म आइ पुग्यो।  मैले प्रतियोगिता जित्नलाई जीवनको रासरंग त्यागेर कुदनु पर्छ। कछुवालाई हराउनु पर्छ। आफु कछुवा भन्दा श्रेष्ठ धावक रहेको प्रमाणित गर्नु पर्छ।

'मैले तिमीसँग सोधे केका लागि ?'

'तिमीले मैले नै भनेको जबाब दियौ – पदक पाउनका लागि, मान, सम्मान, यश, कीर्ति, धन, वैभव, सुख, शयल, भोजन, तरुनी पाउनका लागि।'

'मैले एउटी सुन्दरीलाई अँगालो मार्दै 'किस' गर्दै भने – के अहिले नै यी सबै कुरा मसँग छैनन र ? म केका लागि आफ्नो श्रेष्ठता साबित गरौ ?' मेरो जबाब पूरा नहुँदै तिमी विलुप्त भयौ र मेरो सपना टूट्यौ।

'मैले हेरे कछुवा म बसेको रुखभन्दा २० मीटर जति अगाडि गइसकेको थियो।  मैले चाहेको भए ५ सेकेण्डमै कछुवालाई उछिनेर दौडमा विजयी हुन सक्थे।  तर सपनामा तिमीसँग भएको संवाद सम्झेर मलाई यो सब गर्न मन लागेन र म रुख मुनिबाटै  कछुवालाई जीततिर लम्किदै गइरहेको हेरी बसे। मेरो अल्छीपनको कथा यही नै हो।

म आफ्नो सपनाभित्र चलीरहेको खरायोको सपनाबाट पुनः आफ्नै सपनामा फर्के। खरायो दन्तपंक्ति देखाएर मुसुमुसु हाँसिरहेको थियो।

'त्यसो भए आजको  मेरो यस सपनामा तिमी ऋण तिर्न आएको हो ?'

'गुरु ऋणबाट कहिल्यै उ ऋण हुन सकिँदैन।  मेरो भूमिका त यति मात्रै हो 'जाग मछिन्द्र गोरख आया'।'

 'धन्यवाद खरायो मित्र ! शिष्यले नै गुरुका माफिक ब्युझाइ दिएपछि अब मलाई जीवनमा कुनै अर्को  गुरु चाहिदैन।'

'मलाई विश्वास छ गुरुदेव ! हजुर समस्त त्रिगुणी मायाबाट पार भइसक्नु भएको छ। अब मलाई विदा हुने आज्ञा दिनुहोस् भन्दै खरायो चरणस्पर्श गरी विलुप्त  भयो। म सपनाबाट मात्रै होइन संसारका समस्त प्रतिष्पर्धाबाट मुक्त भइसकेको थिएँ।'

संसार त अझै थियो। संसारका आदि यावत व्यापार पनि यथावत नै थिए। मेलै बेमेलका प्रतिष्पर्धा चलिरहेका थिए। काग, बिरालो,कुकुर, माछा, हात्ती, जिराफ, कमिलालाई एउटा कक्षा कोठामा राखी एउटै कोर्सबाट प्रशिक्षित गर्ने उपक्रम मन्चित भई नै रहेका थिए।  सबैलाई रुखमा चढ्ने 'टास्क' दिइएको थियो। कमिला रुखमा चढ़न घस्रिदै थियो। बिरालो,कुकुर प्रत्यनरत थिए। काग उडेर एउटा हाँगामा बसी आफ्नो जीतको दन्दुभि बजाउदै थियो।  हात्ती,माछा जिराफ रुख छेउ पुगेर चिन्तनको मुद्रामा उभिएका थिए। निठल्ला चिन्तक यो दृश्य हेरी मनमनै मुस्कराउँदै 'आई ऍम नट इन दिस भिसियस सर्कल' भन्दै अन्यत्र मोडियो। 

Logo