कोरोना कहर : आतंकित हाेइन, सचेत बन्नुहाेस्

कोरोना कहर : आतंकित हाेइन, सचेत बन्नुहाेस्


कोभिड-१९ भाइरसको नयाँ-नयाँ भेरिएन्टले  नेपाल प्रवेश गरी तान्डव मचाइरहेको तथ्य दिनहुँ बढ्दै गइरहेको संक्रमित संख्याले प्रमाणित भइसकेको छ । हिजो बैशाख ११ गते स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क प्रकाशित गर्दै नेपाली अनलाइनलगायत पत्रपत्रिकाले लेखेका छन्- 'नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणका  २ हजार ६१९  नयाँ संक्रमित भेटिएका छन् ।  यसमध्ये काठमाडौंमा संक्रमित संख्या ६४४, ललितपुरमा १४१ र भक्तपुरमा यो संख्या ८७ रहेको छ । ८७२ जना संक्रमित काठमाडौं उपत्यकामा मात्रै भेटिएका हुन् ।

देशभर भेटिएका २ हजार ६१९ संक्रमितमध्ये काठमाडौंमा ८७२ जना संक्रमित भेटिनु निश्चय पनि डराउने संकेत हाे । देशभर विगत २४ घण्टामा एण्टीजेन प्रविधिबाट ११४८  र अरटी पीसीआर  प्रविधिबाट ७  हजार ५२५  गरी कूल ८  हजार ६७३ जनाकाे कोरोना  परीक्षण गर्दा नेपालमा २ हजार ६१९  जना संक्रमित भेटिएका हुन् । जम्मा ८  हजार ६७३  परीक्षण हुँदा २ हजार ६१९  जना संक्रमित भेटिनु निश्चय पनि चिन्ताजनक कुरा हो ।  यो झण्डै ३०  प्रतिशत हुन आउँछ । 

स्वास्थ्य मंत्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २  सातादेखि  संक्रमित भेटिनुको संख्यामा निरन्तर वृद्धि हुँदै गइरहेको छ। नेपालमा हुने कोरोना संक्रमण परीक्षण संख्या अति न्यून रहेको छ।  दैनिक ९ हजारको हाराहारीमा परीक्षण हुँदा २ हजार ५०० भन्दा बढी संक्रमित थपिरहेका छन् । परीक्षण भएकामध्ये प्रतिशत ३० प्रतिशत संक्रमित नाघिसेकाे अवस्थामा ‍सहज अनुमान गर्न सकिन्छ कि परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा रिपोर्ट पोजिटिभ आउनु भनेको हाम्रो अवस्था भारतभन्दा पनि गम्भीर भइसकेको छ। भारतमा १७  लाख परीक्षण हुँदा तीन लाखभन्दा बढी संक्रमित देखा परिरहेका छन् । संख्यामा नगएर परीक्षण भएकामध्ये संक्रमित निस्कनुको प्रतिशत हेर्ने हो भने भारतकाे संक्रमणदर २० प्रतिशतको हाराहारीमा छ भने नेपालकाे संक्रमणदर ३० पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयले दिएको अर्को जानकारीअनुसार प्रत्येक चौथो दिनमा संक्रमितको संख्या दोब्बर हुन थालेको छ। हिजोको दिनसम्म देशमा सक्रिय  संक्रमित संख्या १६  हजार ८२८  रहेको थियो।

आयोमेल अनलाइनमा बैशाख ७ गते अनीता श्रेष्ठ लेख्छिन – 'हाल देशका सबै अस्पतालमा उपलब्ध  आईसीयूको कूल संख्या १ हजार १६७  तथा ५१२  भेन्टिलेटर सेवा उपलब्ध रहेका छन् । बैशाख ५ को तथ्याङ्कअनुसार यसमध्ये १३ प्रतिशत आईसीयू तथा १० प्रतिशत भेन्टीलेटर कोरोना संक्रमितले भरिएका छन् । पछिल्लो दिनमा  देशमा सक्रिय संक्रमित संख्या बढेर १६  हजार ८२८  पुगेको छ। यसमध्ये २ प्रतिशतमा संक्रमितमा संक्रमण गम्भीर प्रकृतिको रहेको छ। स्वास्थ्य मंत्रालयका अनुसार १७० जना संक्रमित  आईसीयू र ५९ जना  भेन्टीलेटरमा रहेका छन (रातोपाटी / राजधानी दैनिक  बैशाख १० गते)।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार विगत झण्डै ४-५ दिनदेखि नेपालमा २ हजार भन्दा बढी नयाँ संक्रमित देखा पर्ने क्रम सुरू भएकोछ।  कोरोना संक्रमणको ग्राफ दिन प्रतिदिन उकालो लाग्दै गइरहेकाे छ । 

स्वास्थ्य मन्त्रालय तथा कोरोना महामारीलाई  विश्लेषण गरिरहेका विज्ञहरूका अनुसार अहिले नेपालमा कोरोना संक्रमण पार्ट २ को उत्कर्ष आऊन  बाँकी छ।  केहीदिन पहिला स्वास्थ्य मन्त्रालयका प्रवक्ताले चेतावनी दिँदै भनेका थिए,-'सर्बसाधारण नेपालीले सावधानी नअपनाए  देशमा प्रत्येक दिन नयाँ संक्रमित आउने संख्या ११ हजारसम्म पुग्न सक्छ । एक अनुमान अनुसार कोरोना संक्रमण पार्ट २ को 'पीक' जेठ १५ सम्ममा पुग्छ र यस दोस्रो कोरोना 'वेभ'को असर तीन महिनासम्म जारी रहन्छ।

पंक्तिकार भर्खरै भारतको उत्तराखंड राज्यको हरिद्वारमा चलिरहेको महाकुम्भ भ्रमण गरेर फर्केको हो ।  यस यात्रामा उत्तर प्रदेशको राजधानी लखनउलगायत प्रदेशका  विभिन्न सहर हुँदै उसले धनगढी नाकाबाट नेपाल प्रवेश गरेको थियो ।  त्यस नाकाबाट दिनहुँ हजारौ नेपाली स्वदेश फर्किरहेका छन। सिमानामा स्वास्थ्य परीक्षणको व्यवस्था अति फितलो छ।

जमिनको सिमानाको के कुरा हवाई उडानबाट काठमाडौंको विमानस्थलमा ओर्लिनेहरूको स्वास्थ्य परीक्षणमा चरम लापरवाही भइरहेको कुरा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह दिल्लीबाट फर्किँदा प्रमाणित भएको हो।  उहाँ एयरपोर्टबाट परीक्षण नगराई बाहिर निस्किनुभएकाे कुरा सार्वजनिक भइसकेको छ। यसका साथै उहाँ कोरोना संक्रमित भएको पनि समाचार आउनाका साथै बैशाख ११ गते शनिवार राजधानीको नार्भिक अस्पतालमा भर्ना हुनु भएको छ।

हरिद्वारमा भेट हुँदा उहाँको शालीनता एवं भद्रताले अति प्रभावित यो सन्यासी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्छ। यसै क्रममा उहाँको सचिव फणिराज पाठक (पाठकजी  स्वयं कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बसिरहनु भएको छ ) सँग कुरा गर्दा थाहा भयो पूर्वराजाको स्वास्थ्य स्थिति राम्रो छ।  डाक्टरगण एवं हस्पिटलको अनुरोधमा उहाँ भर्ना हुन आउनु भएको हो ।

भारतीय विज्ञहरूका अनुसार दैनिक झण्डै साढ़े तीन लाख नयाँ संक्रमित आउँदा  पनि अहिलेसम्म भारतमा कोरोना संक्रमण पार्ट २ को उत्कर्ष आइसकेको छैन। अनुमान अनुसार 'मे महिना'को मध्यतिर भारतमा कोरोना २ को उत्कर्ष आउने छ। त्यो बेलासम्म भारतमा दैनिक ६-७ लाख नयाँ संक्रमित भेटिने अनुमान गरिएको छ।  संक्रमित बढेकै दरले त्यहाँ  मृत्यु दर पनि वृद्धि हुनेछ।  

हरिद्वार महाकुम्भमा भारतभरीका मानिस पुगेका थिए ।  उत्तराखण्डमा कोरोना संक्रमणको स्थिति भयावह नै छ ।  त्यहाँ पुगेका मानिस  आफ्नो गाउँ घर फर्किन्छन्।  यदि ती त्यहाँबाट संक्रमित भएर फर्किन्छन् भने कोरोना संक्रमण भारतको गाउँ-गाउँ तथा घर-घरमा पुग्नेछ ।

यसले कस्तो विकरालरूप धारण गर्ने हो त्यसको अनुमान लाउन सजिलो छैन । यति भने भन्न सकिन्छ, भारतले कोरोना संक्रमणका दुबै मामलामा अमेरिकालाई समेत उच्छिननेछ।

भारत सरकार जस्तै नेपाल  सरकार विगतका झै पूर्ण लकडाउन लाउने मूडमा देखिएको छैन। कुनै पनि विवेकशील व्यक्तिले लकडाउनको वकालत गर्न  मिल्दैन।  विगतकै लकडाउनको असरबाट के व्यक्ति, के संस्थाहरू र के देश कोही पनि  तङ्रिन सकेका छैनन् । यस्तो अवस्थामा फेरि लकडाउनको सम्झनाले मात्रै बढेको बीपी डाउन हुन्छ ।

तर स्थिति नियन्त्रणमा आउने कुनै संकेत नदेखिँदा कुनै पनि सरकारसँग विकल्प के नै हुन सक्छ ! आखिर दिल्ली र महाराष्ट्रका प्रान्तीय सरकारले कुनै सीप नलागेर लकडाउन घोषणा गर्ने बाध्यात्मक पाइला चाल्नु पर्यो । भारतका अन्य कतिपय राज्यले अघोषित रूपमा लकडाउन लगाइसकेका छन् । नेपाल सरकार सामु पनि यस्तो धर्मसंकटको स्थिति निर्मित भइसकेको छ।  कुनै दिन पनि सरकारले यस सम्बन्धी अप्रिय घोषणा गर्न सक्छ।

निश्चय पनि  कोरोना भाइरसका नयाँ भेरिएन्ट पहिलाको तुलनामा बढी नै घातक छन्। नेपालमा तीव्र गतिले बढिरहेको संक्रमण दरले स्वतः प्रमाणित छ नेपालमा कोरोनाका नयाँ घातक भेरिएन्टको एन्ट्री भइसकेको छ । यूके भेरिएन्ट र डबल म्युटेन्ट भेरिएन्ट भेटिएको परीक्षणबाटै साबित भइसकेको छ। अन्य घातक भेरिएन्ट पनि भित्रिएको प्रबल संभावना छ।

पुरानो भेरिएन्टको तुलनामा कोरोनाका नयाँ भेरिएन्टले बालबालिका एवं युवालाई अत्याधिक आक्रमण गरेको छ।  यो पनि आफैँमा अत्यन्त चिन्ताजनक कुरा हो किनकि बालबालिका एवं युवाहरू वृद्धवृद्धाकाे तुलनामा अधिक सक्रिय हुन्छन्। उनीहरूले काम विशेषले बाहिर जाने बाध्यात्मक परिस्थिति हुन्छ।  

सबैले हेक्का राखे हुन्छ, कोरोना भाइरसको कुनै पनि औषधि छैन ।  भ्याक्सिन कोरोना भाइरसविरुद्धको औषधि होइन ।  भ्याक्सिन लाएका मानिसमा भाइरसविरुद्ध लड्ने एन्टिबडी बनेको हुन्छ।  भ्याक्सिन लाउदैमा कोरोना संक्रमित नहुने भन्ने होइन। नेपालमा आएका एवं वितरित गरिएका भ्याक्सिनको ईफिकेसी ६५-७० प्रतिशत रहेको छ अर्थात दुबै डोज भ्याक्सिन लाएका १०० जना मध्ये ६५-७० व्यक्तिमा भाइरस विरुद्ध लड्ने एंटीबडी निर्मित हुन्छ। तपाईं भ्याक्सिन लिँदैमा कोरोनाबाट सुरक्षित हुनु भएको छैन।  स्मरण रहोस्, ब्राजिलमा ऐस्ट्रेजेनेका भ्याक्सिन नयाँ भेरिएन्टविरुद्ध १०-१२ प्रतिशत मात्रै सफल रहेको अध्ययन रिपोर्ट आइसकेका छन् । गत २४ घण्टामा मात्रै ब्राजिलमा ३ हजार ४ बढीले  कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ। ब्राजिलमा भ्याक्सिनको प्रभावकारिता अति न्यून रहेको पाइएको छ।
भ्याक्सिन लाएको छु भन्दैमा जथाभावी नगर्नुस्, कोरोनाबाट जोगिने सबै उपाय पहिलाका भाँति नै जारी राख्नुस्। नेपालमा पनि भ्याक्सिनका दुबै डोज लाएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको अनेको केस सार्वजनिक भइसकेका छन्।

सबै नेपालीसँग विनम्र आग्रह छ, सरकारले गर्ने लकडाउन घोषणाको प्रतिक्षा नगर्नुस, आफूलाई लकडाउन गर्नुस् । अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किनुस्। होश गर्नुस्, नेपालमा कोरोना  संक्रमणको दोस्रो वेभको उत्कर्ष आउन  बाँकी नै छ।  आउँदो एक महिना ( मे महिनाको अन्त्यसम्म ) को समय अति जोखिमपूर्ण छ। यस समय सीमासम्म आफूलाई सबै किसिमले सुरक्षित राख्नुस्। सजगता अपनाए कोरोना भाइरसका नयाँ भेरिएन्टबाट पनि सुरक्षित रहन सकिन्छ। आफ्ना बालबालिकालाई घरबाट बाहिर निस्किन अविलम्ब प्रतिबन्ध लाउनुस्। कोरोनाका नयाँ भेरिएन्ट थप जटिलता लिएर आएका छन्।

संक्रमित भएको व्यक्तिमा प्रारम्भमा कुनै लक्षण देखिँदैन। शरीरभित्र भाइरस छिरेर विभिन्न अंगलाई क्षतिग्रस्त तुल्याएपछि मात्रै परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थाहा हुन्छ।  कतिपय केसमा कोरोना पोजिटिभ भएको थाहा पाएको एक दिनभित्रै व्यक्तिको मृत्यु भएका अनेको घटना भइसकेका छन्। संक्रमित संख्या बढ्दै जाँदा देशमा उपलब्ध चिकित्सा व्यवस्था अपुग  हुन पुग्छ। यस कारण संक्रमित मध्येको मृत्युदर झनै बढ़न जान्छ।

एकपटक पुनः सबै नेपालीसँग विनम्र आग्रह गर्छु, आफ्नो सुरक्षा आफैँ गर्नुस् । अत्यावश्यक काम नभएसम्म घर बाहिर नजानुस्। आफ्ना बालबालिकालाई बाहिर जान रोक लाउनुस्।  संक्रमित हुँदैमा अस्पताल नधाउनुस् ।  याद गर्नुस् अस्पतालमा पनि कोरोनाविरुद्ध कुनै औषधि छैन । घरमै आइसोलेसनमा बसेर कोरोनालाई परास्त गर्न सकिन्छ।  संक्रमणले गाह्रो बनाएका व्यक्तिले मात्रै अस्पताल खोज्नुहोस। डाक्टरहरूले पनि होश गर्नुहोस् रेमेडिसीभीर कोरोनाविरुद्धको औषधि होइन जथाभावी यो प्रेस्क्राइभ गरेर आतंक नफैलाउनुस , काला बाजारीलाई प्राेत्शाहण नगर्नुस् । संक्रमणबाट फोक्सो र निमोनियाको अवस्था जटिल भएका केसमा मात्रै यो प्रभावकारी औषधि हो । यसभन्दा पहिला अन्य औषधिको प्रयोग गर्नुस् । संक्रमित अस्पताल आउनेवित्तिकै रेमेडिसीभीर प्रयोग सिफारिस नगर्नुस्।

सरकारले विगतका कोरोना अस्पताल पुन: सञ्चालन गर्ने व्यवस्थामा ध्यान नदिए स्थिति अप्रीय अवस्थामा पुग्न सक्छ। हुलमुल भीडभाड हुने किसिमका सबै खाले गतिविधि स्थगित गर्नुस्। रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम सुरक्षित उपाय र बुद्धिमानी हो।
बुद्धिमताभन्दा ठूलो उपाय विधि प्राविधि औषधि अरु केही हुन सक्दैन। यो बुद्धिमता हामी सबैजनासँग छ।  यसको उपयोग गरौँ, कोरोना संक्रमणलाई आफ्नो घर,आफ्नो छेउ आउन  नदिउँ। विगतमा सधै लकडाउनको विरोधमा सरकारको आलोचना गर्दै आएको यो पंक्तिकार आजैदेखि सरकारसँग आफ्ना सबै गतिविधि स्थगित गर्दै एक साताको समय दिएर ( मानिसलाई आवागमन हेतु ) २१ दिनको लकडाउन लाउने सिफारिस गर्छ। सरकारले अविलम्ब यस दिशामा सकारात्मक पाइला नचाले देवलोकबाट स्थिति नियण्त्रण गरी दिन कुनै देवदूतको अवतरण हुने आशा नगरोस् ।  महामारी हो यो, हामी सबैले मिलेर यसको सामना र यसलाई परास्त गर्ने उपक्रम गर्नुपर्छ।

Logo