कोरोनाभन्दा घातक सामाजिक भाइरस!

कोरोनाभन्दा घातक सामाजिक भाइरस!


कोरोना केही होइन। यो संसारका धनी वर्ग र धनी राष्ट्रको षड्यन्त्र मात्रै हो। सडकमा बस्नेलाई कोरोना संक्रमण किन हुँदैन? महलमा सुख सुविधासाथ बस्नेलाई किन हुन्छ?

भ्याक्सिन केही होइन, यसले केही गर्दैन। यो व्यापारीको पैसा कमाउने षड्यन्त्र मात्रै हो। भ्याक्सिनले डिएनए परिवर्तन गरी उच्च वर्गको दास बनाइदिन्छ। शारीरिक परिवर्तन गरेर अपांग बनाइदिन्छ।

म कोरोनासँग जोगिन केही उपाय गर्दिनँ। मलाई कोरोना लाग्दैन, यस्तै–यस्तैखाले मुर्खता र मूढता प्रदर्शित गर्ने व्यक्ति तपाईंहरूका साथी हुन सक्छन् सोसल मिडियामा।  

मलाई थाहा छैन यस्ता व्यक्तिमाथि कानुनी कारबाही गर्ने कुनै धारा, उपधारा अथवा आचारसंहिता छन् कि छैनन् कानुनका ठेलीमा। छैनन्  भने स्थानीयदेखि केन्द्रीय सरकारले अविलम्ब यसको व्यवस्था गरेर यस्ता मनगढन्ते, बकम्फुसे र वाहियात कुरा गर्ने /  लेख्ने, प्रसार गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ।

महामारीका बेलामा कसैलाई व्यक्तिगत स्वतन्त्रता हुँदैन। राज्य, स्वास्थ्य संस्था, विभिन्न नीति नियामक संस्थाले जारी गरेको परामर्श–निर्देशन–गाइडलाइन सबैले पालन गर्नैपर्छ।

कसैलाई आफ्नो जीवनप्रति विरक्ति भएर स्वर्गलोक अथवा नर्कलोकको यात्रामा प्रस्थान नै गर्नुछ भने उसले यसका निम्ति विभिन्न वैकल्पिक उपाय अवलम्बन गर्न सक्छ। 

म कोरोनालाई नै यसको माध्यम बनाएर यस निष्ठुर संसारलाई अलबिदा भन्न चाहन्छु भन्ने धृष्टता गर्न पाइन्न। यो संविधान प्रदत्त मौलिक अधिकार होइन।

सरकार र सरोकारवाला निकायले कोरोना भाइरस र भ्याक्सिनविरुद्ध  जथाभावी बोल्ने लेख्नेलाई तुरुन्त कानुनअनुसार नियन्त्रणमा लिनुपर्छ। यस्ता अभिव्यक्तिमाथि बन्देज लगाउनुपर्छ। यी सामाजिक अपराधी हुन्। समाजका सबै वर्गले यस्ता नालायक अराजक तत्वको सामूहिक बहिष्कार गर्नुपर्छ।

कोरोना भाइरस र भ्याक्सिनविरुद्ध लेखेको केही पनि लाइक नगर्नुस्, शेयर नगर्नुस्। यस्तो लेख्नेलाई हतोत्साहित गर्नुस्। यिनलाई मित्रसूचीबाट बाहिर हटाउनुस्। यी कोरोना भाइरसभन्दा पनि घातक सामाजिक भाइरस हुन्।

महामारीको बेलामा आफ्नो सामाजिक दायित्वको पालना गर्नुस्। आफू सुरक्षित हुनुस्, अरुलाई सुरक्षित भइ बस्ने प्रेरणा दिनुस्। कुनै किसिमको लक्षण देखिनसाथ संक्रमण परीक्षण गराउनुस्।  

आफ्नो घर–परिवार छरछिमेकमा कसैलाई लक्षण देखिनासाथ परीक्षण गराउन परामर्श दिनुस्, बिन्ती गर्नुस्।  ‘पोजिटिभ’ देखिएमा उसलाई ‘होम आइसोलेसन’ मा बस्ने प्रबन्ध मिलाउन सहयोग गर्नुस्। 

तपाईंसँग साधन–सुविधा क्षमता छ भने आइसोलेसन केन्द्र खोल्न पहल गर्नुस्। कसैसँग यस्तो चाहना छ भने म यसमा शारीरिक र मानसिक रूपमा सहयोग गर्न तत्पर छु।

मनुष्य प्रकृतिको अनुपम सिर्जना हो। श्रेष्ठ प्राणी हो। अनेकौं बाधा विपत्ति प्रकोपसँग लडेर उसले यो दर्जा हासिल गरेको हो।  यसपूर्व पनि मानिसले अनेकौं विपद् र महामारीसँग जुधी विजित भएर आफ्नो कीर्ति पताका स्थापित गरेको हो। 

यस महामारीसँग पनि अन्तिम विजय मानवकै हुन्छ।  हामी सबै विजेता हुन्छौं।  हो, यस समरमा हाम्रा केही प्रियजनले प्राणोत्सर्ग गर्नुपर्ने हुन्छ।  युद्ध हो, युद्धमा आफ्नो पक्षको पनि क्षति हुन्छ। यसलाई अन्यथा लिनु हुँदैन।

सरकार र सरोकारवाला निकायले कोरोना भाइरस र भ्याक्सिनविरुद्ध  जथाभावी बोल्ने लेख्नेलाई तुरुन्त कानुनअनुसार नियन्त्रणमा लिनुपर्छ। यस्ता अभिव्यक्तिमाथि बन्देज लगाउनुपर्छ। यी सामाजिक अपराधी हुन्।

हामी सबै सचेत र सजग भएर यसको मुकाबिला गरौं। कोरोनासँगको यस समरको अन्तिम विजेता हामी नै हुन्छौं।

उपलब्ध छ भने भ्याक्सिन लिनुस्।  भ्याक्सिनको उपलब्धता छैन भने कसैलाई दोषी स्थापित गर्नुको सट्टा वैकल्पिक उपाय र साधनको कड़ाइसाथ पालना  गरेर संक्रमणबाट जोगिनुस्।  कथंकदाचित कोरोना संक्रमण भई हालेमा नआत्तिनुस्। कोरोनाका नयाँ भेरियन्टबाट संक्रमित भएकामध्ये ८५ प्रतिशत व्यक्ति आइसोलेसन बसेर नै स्वतः स्वस्थ हुन्छन्।

 १०–१२ प्रतिशतलाई संक्रमणको प्रभाव केही बढी हुन सक्छ।  यस वर्गले पनि अस्पताल नगई स्वास्थ्यलाभ आर्जित गर्न सक्छन्। ३–५ प्रतिशतलाई गम्भीर संक्रमण हुन सक्छ। संक्रमित हुँदैमा अस्पताल धाउने प्रयत्न नगर्नुस्।

अस्पताललाई गम्भीर बिरामीका लागि आरक्षित राख्नुस्। कल्पना गर्नुस् तपाईंले सामान्य संक्रमित हुनासाथ अस्पतालको शैय्या ओगटी दिनुभयो, तपाईंकै कुनै मित्र वा आफन्तलाई संक्रमण बढेर गम्भीर अवस्था आयो र, उसका लागि अस्पतालमा शैय्या उपलब्ध छैन। 

तपाईं  सबैजनालाई स्पष्ट विदित नै छ, आधुनिक चिकित्सा विज्ञानसँग कोरोना संक्रमणको कुनै औषधि छैन।  संक्रमणले क्षति पुर्याएको अन्य शारीरिक अवयवमा आएको विकार निदान गर्छ अस्पतालले।  

रेमेडिसिभिर यस्तै औषधि हो। यो कोरोना संक्रमण अथवा कोरोना भाइरसविरुद्धको औषधि होइन।  पुनः स्मरण गर्नुस्–आइसियु र भेन्टीलेटर ‘लाइफ सपोर्ट सिस्टम’ हुन्। 

यिनीहरूलाई ‘क्रिटिकल’ अवस्थामा पुगेका बिरामीका लागि सुरक्षित राखिदिनुस्। यो नै सबैभन्दा ठूलो धर्म हुनेछ।

कथंकदाचित कोरोना संक्रमण भई हालेमा नआत्तिनुस्। कोरोनाका नयाँ भेरियन्टबाट संक्रमित भएकामध्ये ८५ प्रतिशत व्यक्ति आइसोलेसन बसेर नै स्वतः स्वस्थ हुन्छन्।

कोरोना प्रसारको ‘चेन’ नतोडेसम्म कोरोना संक्रमणलाई रोक्न सकिदैन। नेपाल सरकार  एक्सनमा आएको छ। भोलिदेखि नै देशका कतिपय स्थानमा निषेधाज्ञा लाग्ने सम्भावना छ। 

स्थानीय सरकार अथवा केन्द्रीय सरकारको यस्तो कुनै पनि घोषणाको विरोध गरेर असहयोग नगरिदिनुस्।  तपाईं–हामी सबैले २१ दिनसम्म संयमित भएर कोरोना संक्रमणलाई प्रसारित हुनबाट रोकिदियौं भने निषेधाज्ञा छिट्टै समाप्त हुन्छ।  हामीले अटेर गरेमा निषेधाज्ञाको अवधि लम्बिँदै  जान सक्छ।

सम्पूर्ण नेपालीले अनुशासित भएर निषेधाज्ञाको पालना गरिदिए यसको अवधि एक महिनामै समाप्त हुन्छ तर अनुशासनहीनताले यो कति  लम्बिन्छ/ लम्बिन  सक्छ, त्यसको लेखाजोखा सम्भव छैन।
विभिन्न सोसल मिडियामा सक्रिय र लोकप्रिय बनेका महानुभावले  #staysafeathome #breakcoronachain जस्तै अभियान चलाएर सर्वसाधारणलाई सचेत बनाउने कार्य गरे  हुन्थ्यो।  कोरोना भाइरस तथा भ्याक्सिनप्रति नकारात्मक टीकाटिप्पणी गर्नेको खण्डन मण्डन गरिदिए ठूलो उपकार हुन्थ्यो।

‘आइएम विद गभर्मेन्ट टु स्टप कोरोना भाइरस इन्फेक्सन’

दुःखका साथ भन्नुपर्छ अहिले नै देशको स्थिति गम्भीर मोडमा पुगिसकेको छ।  देशका अधिंकाश अस्पताल भरिभराउ  भइसकेका छन्।  

डा. सुनील शर्माले दिएको जानकारी अनुसार देशकै महँगो अस्पताल मेडिसिटीमा  ७० जना संक्रमितको उपचार भइरहेको छ। महँगो अस्पतालमा बिरामीको यस्तो चाप छ भने सरकारी र अन्य अस्पतालको अवस्थाबारे हामी सहज अनुमान गर्न सक्छौं। 

आधुनिक चिकित्सा सुविधा देशको सबै स्थानमा उपलब्ध छैन। देशभरिबाट गम्भीर प्रकृतिका बिरामी उपचारका लागि राजधानी काठमाडौं नै आइपुग्ने बाध्यता छ।  

हिजोकै समाचार छ–एउटा पहाडी जिल्लाबाट हेलिकप्टर चार्टर गरेर संक्रमित काठमाटौं आएका छन्।

काठमाडौका अस्पतालको पनि लिमिटेसन छ। अस्पतालका शैय्या मात्रै होइन, चिकित्साकर्मी, नर्स र अन्य सुविधाको पनि अभाव देखिन थालेको छ।  स्वास्थ्यकर्मीले १४–१५ घन्टा सेवा प्रदान गरिरहेका छन्। यो अवस्था कति दिन लम्बिने हो, कसैलाई थाहा छैन।

देश अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ।  सरकारले मौनता धारण गरे पनि यस विषयका सबै विज्ञलाई थाहा छ–संक्रमणको ग्राफ अहिले नै ‘पिक’मा पुगेको छैन।

हामी सबैले ड्यामेज कन्ट्रोल गर्नपट्टि दत्तचित्त भएर लाग्नुपर्ने अवस्था छ।  ड्यामेज हुने कुरा इमानदारीसाथ स्वीकार गरी यसलाई कन्ट्रोल गर्न अपनाइने व्यवस्थापनमा हामी सबैले सहयोग गरौं।

देशका सबै प्रकाशन गृह, पत्रकारबन्धुले नकारात्मक समाचार, वीभत्स समाचार तथा फोटो प्रकाशित नगरिदिए ठूलो सहयोग हुन्छ। मित्रहरूले यसतिर ध्यान दिनुहोस्। 

स्मरण रहोस् तपाईंहरूले प्रकाशित गरेका वीभत्स फोटा र नकारात्मक समाचारले तपाईं आफैं पनि संक्रमित भएको खण्डमा मनोबल र आत्मविश्वासहीन बन्नु हुनेछ।

 मनोविज्ञान बुझ्नुस्–तपाईं संक्रमित हुँदा तपाईंका आँखासामु तपाईंले प्रकाशित गरेका फोटा चित्कार गर्दै आइपुग्नेछन्।

कुनै पनि मित्रलाई कोरोना संक्रमण विषयमा कुनै किसिमको सुझाव परामर्श अथवा सहयोग आवश्यक छ भने यस पंक्तिकारसँग सम्पर्क गर्न सकिन्छ। फोन–फेसबुक–इमेल आदिबाट कुनै पनि माध्यमबाट सम्पर्क गर्न सकिन्छ। 

संक्रमित भएका व्यक्तिहरूले पनि सम्पर्क गर्न सक्नुहुन्छ। स्मरण गर्नुस् आधुनिक चिकित्सा विज्ञानसँग संक्रमण रोकथामका लागि कुनै औषधि छैन। यस्तोमा आयुर्वेद, होमियोप्याथीलगायत घरेलु उपचार जे–जे उपलब्ध छ/ उपलब्ध हुनसक्छ, तिनको उपयोग गर्नुस्।

बेसार, अदुवा, मरिच, ज्वानो, विभिन्न हर्बल चिया, काँढ़ा, विभिन्न जडि़बुटी तपाईं हामीले प्रयोग गर्दै आइरहेका हुन्।  यिनीहरूको सेवनले कुनै किसिमको हानि गर्दैन।  वैकल्पिक साधनका रूपमा यिनको प्रयोग गर्नुस्।  

संक्रमित हुँदैमा नआत्तिनुस्। अक्सिजन लेभल कम नभएसम्म तपाई अस्पताल जानुपर्दैन। अक्सिजन लेभल ९० भन्दा कम भएमा जुन अस्पतालमा बेड पाइन्छ, अविलम्ब भर्ना हुनुस्।
divinitycallsyou @gmail  
fb –gyanmitra  

 

Logo