कोराेनाले ज्यान लिएकाहरूको शवले भारतका घाट भरिभराउ, रातभरि जल्छन् चिता

कोराेनाले ज्यान लिएकाहरूको शवले भारतका घाट भरिभराउ, रातभरि जल्छन् चिता


(सिएनएन)

नयाँ दिल्ली (सिएनएन)– रातैभरि जसो जल्ने चितासामु उभिएर आफ्ना प्रियजनको मृत्युको शोकमा डुबेका नयाँदिल्लीका मानिसको चित्कार र प्रार्थनासँगै आगो दन्किएको आवाज सुनिन्छ। 

भारतमा कोरोना भाइरसको दोस्रो लहर देशभर फैलिँदै गर्दा घाटहरूले थाम्न नसक्ने गरी शव आउन थालेका छन्। 

‘महामारीपूर्व हामी दैनिक आठदेखि दशवटासम्म शव जलाउने गर्थ्यौं। अहिले उक्त संख्या दैनिक १ सयदेखि १ सय २० को हाराहारीमा छ,’ नयाँ दिल्लीस्थित सीमापुरी घाटका प्रमुख जितेन्द्रसिंह सन्टीले बताए। 

शवहरूको चाप यति धेरै छ कि सीमापुरी घाटलाई पार्किङ क्षेत्रसम्म विस्तार गरिएको छ, जहाँ शवदाहका लागि नयाँ स्थान निर्माण गर्ने क्रम जारी छ। 

सीमापुरी घाटको क्षमताको तुलनामा शवहरूको चाप यति धेरै छ कि त्यहाँ टिकट प्रणाली लागू गरिएको छ। कोरोनाका कारण मृत्युदर बढेकाले नयाँ दिल्लीमा दाउराको अभाव नै भएको छ। 

उत्तर दिल्लीका मेयर जय प्रकाशले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई चिठी लेख्दै वन विभागसँग निरन्तर दाउराको आपूर्तिको माग राखेका छन्। 

यस्तो अवस्थामा परिवारका सदस्यले आफ्ना मानिसको शव जलाउन आफैं दाउरा किन्नुपरेको छ। शवहरूले घाट भरिएपछि केही मानिस बिनाविकल्प भौतारिइरहेका छन्। 

आत्माको पुनर्जन्मका लागि शरीर नास गरिनुपर्छ भन्ने मान्यताका कारण दाहासंस्कारका बेला शरीर जलाउने परम्परा हिन्दु संस्कृतिमा रहेको छ। 

‘आउने क्रम जारी छ’

बिहीबार मात्र भारतमा ३ लाख ८० हजार नयाँ संक्रमित फेला परे। यो संसारभरिमा अहिलेसम्मकै उच्च दैनिक संक्रमितहरूको संख्या हो। बिहीबार भारतमा ३ हजार ६ सयजनाको निधन भयो। 

नयाँ दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयरका अनुसार गत सातादेखि दिल्लीका घाटहरूमा मात्र दैनिक ६ सय शव जलाइँदै छन्। उक्त संख्या दिल्लीको आधिकारिक मृत्युदरको दोब्बर भएकाले आधाभन्दा बढी मृत्युका घटना आधिकारिक तथ्याङ्कमा नआएको अनुमान गरिएको छ। 

‘बिहानदेखि नै शव आउन थाल्छन् र, आउने क्रम दिनभरि चलिरहन्छ,’ दिल्लीको निगमबोध घाटका एक अधिकारी सुमनकुमार गुप्ताले भने। 

घाटहरूमा खटाइएका कर्मचारी र स्वयम्सेवकका लागि दिनै आउने सयौँ शवहरू सम्हाल्न र मृतकका आफन्तहरूको चित्कार सहन सजिलो छैन। सीमापुरी घाटमा केही स्वयम्सेवकहरू काम सुरु गर्नुअघि आफ्नो निद्रा पुर्याउन पर्खालमा अडेस लागिरहेका थिए। 

सीमापुरी घाटका प्रमुख सन्टी नयाँ चिता बनाउन र शव ओसार्नका साथै मृतकका आफन्तलाई सान्त्वना दिनमा व्यस्त रहन्छन्। 

‘पछिल्लो पाँच घन्टामा हामीले ५५ वटा शव जलाइसक्यौँ। दिनभरिमा त्यो संख्या १ सय  पुग्छ। थाकेको छु तर यो समय थाक्नका लागि होइन। यो समय देशका लागि, मानवताका लागि काम गर्ने र ज्यान जोगाउने समय हो,’ उनले भने। 

सन्टीलाई सबैभन्दा दुःख लागेको चाहिँ युवाहरूको मृत्यु भएकोमा हो। ‘एकै परिवारका दुईदेखि तीन युवाको मृत्यु भएको हामीले देख्यौँ। दिल्लीलाई के भयो भन्ने नै मैले बुझ्न सकेको छैन। यो एकदमै दुखदायी छ,’ उनले थपे।

भारत सरकारको कोभिड–१९ टास्कफोर्सको तथ्याङ्क अनुसार युवाहरूमा संक्रमणको दर गत वर्ष जत्तिकै छ। तर, विज्ञ, स्वास्थ्यकर्मी, घाटका कर्मचारी र राजनीतिज्ञले ह्वात्तै बढेको संक्रमित संख्या र मृत्युदरले युवाहरू पनि प्रभावित भएको देखाएको दाबी गरेका छन्। 

‘यसपालिको कोरोनाले युवाहरूलाई निकै असर गरेको छ। सबै युवाहरूलाई आफ्नो ख्याल राख्न अनुरोध गर्दछु,’ दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले अप्रिल १५ मा गरेको भिडियो ट्वीटमा भनेका छन्।

‘हामीप्रति घात भयो’

भाइरस तीव्र गतिमा फैलिरहेको अवस्थामा भारत सरकारलाई ठोस कदम चाल्न अप्ठेरो भइरहेको छ। केही राज्य र सहरले संक्रमण रोक्न निषेधाज्ञा लगाउने र उद्योगधन्दा बन्द गराउने जस्ता कदम चालिरहेका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीले एक ठाउँदेखि अर्को ठाउँ लान सकिने एक लाख अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने र सयौँ नयाँ अक्सिजन प्लान्ट स्थापना गर्ने प्रस्ताव पारित गरिसकेका छन्।

अक्सिजन सिलिन्डर, भेन्टिलेटर, औषधीलगायत अन्तर्राष्ट्रिय सहयोग मंगलबारदेखि आउन थालेका छन्।

तर, यी सामग्री वितरण गर्न समय लाग्छ र, अक्सिजन प्लान्ट पनि निर्माण गर्नुपर्ने हुन्छ। नयाँ दिल्लीजस्ता बढी प्रभावित सहरहरूमा ढिलासुस्तीको अर्थ शवहरूको थुप्रो बढ्दै जानु हो। 

‘यस समस्याको सम्बोधन जसले गर्नुपर्ने हो, उसले गरिरहेको छैन। उनीहरू आश्वासन दिएर गायब भए,’ सन्टीले दुःख पोखे।

‘हामीसँग १८ एम्बुलेन्ससहित सीमित स्रोतसाधनहरू मात्रै छन्। हामी दैनिक ५०–५५ शवहरू उठाइरहेका छौँ। सम्बन्धित निकायले ध्यान नदिएपछि स्वयंसेवकहरू खटिनु परेको हो,’ उनले थपे।

आफन्त गुमाएका परिवारले पनि कुनै किसिमको सहयोग पाएका छैनन्। ‘हामीलाई नीतिनिर्माता र राजनीतिज्ञका तर्फबाट धोका भएको छ। दोस्रो लहरलाई कसरी नियन्त्रण गर्ने भन्ने योजना नबनाएर सरकारले हामीप्रति घात गरेको छ,’ यसै साता कोरोनाका कारण पिता गुमाएकी वासिङ्टन पोष्टकी स्तम्भकार बर्खा दत्तले भनिन्।

अनुवादः कुशल बस्नेत

Logo