माओवादीले समर्थन फिर्ता लिएपछिको परिदृश्य

माओवादीले समर्थन फिर्ता लिएपछिको परिदृश्य


नेपाली राजनीति एकपटक पुनः तरंगित हुन पुगेको छ। हाम्रा यशस्वी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना विपक्षी/विधर्मीजनको निष्क्रियता र समाप्तप्रायः हुँदै गइरहेको राजनीतिक छवि एवं जीवनप्रति करुणा जागेर आयो।  आखिर उनीहरु उनका सुख दुःखका साथी न हुन्। 

 झन्डैझन्डै हालै सम्पन्न भारतको पूर्वी प्रदेश पश्चिमी बंगाल राज्यको चुनावमा भएको वामपन्थीहरुको दुर्दशामा पुगेका नेपाली वामपन्थीहरुप्रति (२ सय ९२ सिटमा शानदार जीरो सीट पाएका वामपन्थी) पूर्व मित्रका नाताले ओलीलाई सहानुभूति हुनु अनौठो होइन।

अचानक बेमौसमको हिमपातझैं समाचार आयो–प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने रे ! पूर्ण बहुमतमा रहेका ओलीज्यूलाई यस्तो सनक किन आयो। राजनीतिका धुरन्धरदेखि धुरन्धर एवं झोले–मझौले सबै किसिमका महानुभावका लागि बुझिनसक्नु भयो।

 अब यस पुनीत एवं महत्वाकांक्षी कार्य हेतु संसद्कै कपट खोलिने फरमान आइसकेपछि स्खलित विपक्षी खेमामा मानौं कोरोना संक्रमण भएर ज्वरो आएझैं राजनीतिक माहोल तातेको छ।

यसका लागि सर्वप्रथम त म प्रधानमन्त्रीज्यूलाई बधाई दिन चाहन्छु। झन्डै विधवा प्रलापझैं देशविदेशका कोरोना महामारी विषयक आतंकजन्य–वीभत्स फोटो प्रकाशित गरिरहेको नेपाली पत्रकारितालाई उसले मास्ट्रेट गरेको विषयसम्बन्धी अनर्गल प्रलाप गर्ने सुअवसर प्राप्त भयो।  

अब उसले आफ्नो कार्यालयमै बसी विभिन्न आकृति र आकारका सरकार गठन गर्ने मौका पाएको छ।  यो आभासी कार्य उसले पूर्ण मनोयोग र महत्वाकांक्षाका साथ विभिन्न स्थानबाट प्राप्त गरेका विभिन्न किसिमका ‘एनर्जी बुस्टर’ उदरस्थ गर्दै मञ्चित गर्छ। महामारीले थलिएका नेपालीजनले यसबाट पूर्ण मनोरञ्जन पाउने अपेक्षा गर्न सकिन्छ।

जंगलबाट बाघ सहर प्रवेश गरेपछि केही वर्षमै उसको हैसियत बिरालो सदृश्य हुने जनश्रुतिलाई चरितार्थ गर्दै म्याउ गर्याे माओवादी खेमाले।  सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिने निर्णय गर्याे। 

यी पंक्ति लेखि रहँदासम्म निर्णय मात्र भएको छ टेक्निकली फिर्ता भएर सरकार अल्पमतमा पुगेको छैन। शायद यसपटक आफ्नो निर्णयमा अडिग रहेर फिर्ता गर्छ होला र, सरकार अल्पमतमा पुग्छ।

कांग्रेसले विश्वासको मतका विपक्षमा उभिने निर्णय  गरेर  ‘वेलकम फिलिम’का आरडीएक्स (फिरोज खान) को सम्झना गरायो–‘अभी हम जिन्दा है।’

नेपाली पत्रकारिता जगतका मूर्धन्य हस्तीहरुले अड्कल /सम्भावना / अंकगणित र बीजगणितको नगरवधुयीय गायन, नृत्य तथा सम्मोहनीय भावभंगिमा प्रस्तुतिको अभ्यास प्रारम्भ गरेका छन्। ‘कमनसेन्स’ सम्म नभएको जमात अबका केही दिनसम्म  राजनीतिको भीषण पुरोधा बनेर प्रकट हुनेछ।

‘माधव  नेपाल पक्षले संसदबाटै राजीनामा दिने, ओलीले यस पक्षका सारा सांसदलाई कारबाही गर्दै पंक्तिकार जस्तै हैसियतमा पुर्याउने, फलानो सांसद केपी पक्षमा आयो, फलानो देश ओलीलाई टिकाउने षड्यन्त्रमा, चीनले विश्वासको मत कुनै पनि हालतमा लिन नदिने, अब यस यस ‘कम्बिनेसन’को सरकार बन्ने, जसपा यता, महन्त उता, बाबुराम कता, उपेन्द्र बेपत्ता, फलानो यता न उता आदि–आदि चुट्किलाले महामारीको त्रासले थकित गलित सर्वसाधारण नेपालीलाई अलिकति  भए पनि स्वाद फेर्ने मौका प्राप्त भएको छ। 

जंगलबाट बाघ सहर प्रवेश गरेपछि केही वर्षमै उसको हैसियत बिरालो सदृश्य हुने जनश्रुतिलाई चरितार्थ गर्दै म्याउ गर्याे माओवादी खेमाले।  सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिने निर्णय गर्याे। 

मूल प्रश्न एउटै छ विश्वासको मत लिने दिन के हुन्छ?  कि त ओलीले विश्वासको मत पाएर आफ्ना विपक्षीको बाँकी रहेको ‘नुर पनि बेनुर’ बनाई दिन्छन् कि यो पाउन नसकेर साँच्चै अल्पमतमा झर्छन्। उनले विश्वासको मत पाउने सफलता पाए भने ‘ह्विच फादर हवाट भिटामिन’कै अवस्था आउँछ। 

उनले त्यही दिन अथवा दुइ चार दिन आफ्ना विपक्षीहरुको अरण्य रोदन श्रवण गरेर भरपूर ‘इन्जोय’ गरी संसद् भंग घोषणा गरेर नयाँ निर्वाचनको मार्गचित्र कोर्छन्। 

केपी ओलीको मनमा के छ? त्यसको भेउ पाउन सजिलो छैन। यति अन्दाज मात्रै लाउन सकिन्छ उनी बहुमत पाएर निर्वाचनमा जाने योजनाको सट्टा अर्कै विधिले चुनाव गराउने बाटो रोज्छन्। किनकी बहुमत प्राप्त सरकारले समय पूर्व  (झन्डै एक वर्ष पहिले) संसद भंग गरेर निर्वाचन गराएको अपजस किन लिन्छन् उनी ? कथंकदाचित उनले बहुमत पाए भने पनि उनी संसदले चार वर्षको कार्यकाल पूरा भए पछि मात्रै नयाँ निर्वाचनको दांवा खेल्छन्।

 संसदीय व्यवस्थामा संसद्ले चार वर्ष पूरा गरेपछि भएको निर्वाचनलाई असमय अथवा मध्याविधिको चुनाव भनिँदैन। ‘धूर्तहरुमा म मामा शकुनी हुँ भन्ने अच्युत उद्घोष’ पढेका ओलीले यतिको धूर्तता अंगीकार गर्छन भन्नेमा किंञ्चित पनि सन्देह छैन।

 कथंकदाचित उनलाई विस्मृत भएको खण्डमा विभीषणझैं रामदलमा उनको स्वागत गरेका  नल –नील– अंगद –जामवंत सदृश्यका रामभक्तहरुले उचित समयमै उनलाई संज्ञान दिनेछन्।

अर्को सम्भावना भने यो  सम्भावनाभन्दा प्रबल छ। ओलीले विश्वासको मत पाउन धेरै प्रयत्न गर्ने छैनन्।  संसदमा अल्पमतमा पुगी उनले नेपाली जनमानसलाई गज्जबको चटक देखाउँदै  विपक्षी खेमालाई तहसनहस बनाउने छन् ।  

यसका लागि उनको तूणीरमा दुइटा अमोघ बाण छन्।  पहिलो बाण अल्पमतमा परेपछि संसदबाट सोझै राष्ट्रपति निवास गई संसद समापनको घोषणा गर्न सक्छन् उनी।  उनको यस कदमले हद भए अदालतमा मुद्दा पर्छ, मुद्दाको फैसला नआएसम्म देशको कमान उनैले सञ्चालित गर्ने ‘कन्टीन्युटी’ रहन्छ।

दोस्रो बाणको प्रयोग गरेमा राष्ट्रपतिलाई राजीनामा दिँदै कार्यवाहक प्रधानमन्त्रीको उत्तरदायित्व बोकेर बालुवाटार फर्किन्छन्। राष्ट्रपतिबाट सबै दललाई सरकार बनाउने आग्रहमूलक आभासी प्रस्ताव प्रसारित हुन्छ।

फेरि एकपटक असंंसदीय शब्दावली ‘ह्विच फादर ह्वाट भिटामिन’को अवस्था सिर्जना हुन्छ। देउवाजी र ओलीजीको सहभागिताबिना जुनसुकै मदारीको संकेतमा जतिसुकै बाँदर उफ्राइ गरे पनि राजनीति कुनै पनि नयाँ कोर्समा प्रवेश गर्न सक्ने छैन। 

ओलीभन्दा पनि नयाँ निर्वाचनमा जानु देउवाजीको रहर, इच्छा, आकांक्षा र बाध्यता हो। देउवाजीले नयाँ सरकार बनाउने रुचि कुनै पनि अवस्थामा लिनु उनको आफ्नै तथा दल नेपाली कांग्रेसका लागि प्राणघातक हुन्छ। देउवाजीले अग्रसरता नलिए सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय सीमा झोले  विश्लेषक तथा पत्रकारहरुको प्रलापमै समाप्त हुन्छ।

राजनीतिले जुनसुकै कोल्टे फेरे पनि बाजी ओलीकै हातमा रहन्छ।  ‘केयर टेकर’ प्रधानमन्त्रीकै हैसियतले उनले नयाँ निर्वाचनमा जाने मार्गचित्र तेस्र्याउन सक्छन् अथवा सबैभन्दा ठूलो दलको नाताले प्रधानमन्त्रीमा पुनर्नियुक्ति लिएर नयाँ निर्वाचन गराउने अभिभारा बाँकी दिएको  प्रहसन  सम्पन्न गर्न सक्छन्।  

स्थिति जुन परिदृश्यतिर लम्के पनि अर्को नयाँ चुनाव भएर परिणाम नआएसम्म नेपाली राजनीतिको बागडोर ओलीकै हातमा रहन्छ। ओली अल्पमतमा पुगेको खण्डमा  (यसकै प्रबल सम्भावना छ, र अहिलेको गोप्य खेल यही हो) उहाँ नेपाली राजनीतिको अहिलेसम्मकै सर्वाधिक शक्तिशाली राजनेताका रूपमा प्रतिष्ठित हुन पुग्छन। 

 कोरोना दुनियाँका लागि कहर भएर आएको भए पनि ओलीका लागि जीवनकै सर्वोच्च सौभाग्य साबित हुनेछ। कोरोनाको ग्राफ नेपालमा ‘डेल्टा कर्भ’का भाँति उकालो लाग्दै गइरहेको छ। यस ‘डेल्टालाई प्लेट हुँदै समान्तर रेखा’ मा आउन अझै लामो समय लाग्छ। 

कम्तीमा आउँदो तीन महिनासम्म यसको सम्भावना छैन। ‘डेल्टा कर्भ को पिक’ कहाँसम्म पुग्छ त्यसको अनुमान लगाउन सम्भव छैन। यो पंक्तिकार त्यसको अनुमान लाउन पनि चाहन्न।
ओलीजीलगायत सबै राजनीतिक दलका पुरोधाहरुलाई विनम्र आग्रह छ– कोरोनाका कारण कम्तीमा एक वर्षसम्म चुनाव हुनु सम्भव छैन। यस्तो दुस्साहस गरेमा मुलुकले अपूरणीय क्षति भोग्नुपर्ने हुन्छ। 

सबै राजनीतिक पुरोधाले यस समयमा राजनीतिलाई एकतिर थन्क्याएर महामारीको प्रकोपबाट उम्किन एकजुट हुनुबाहेक कुनै उपाय छैन। ५–६ हजार कै क्षतिमा कोरोनालाई सीमित राख्न सकियो भने यो नै ठूलो उपलब्धि हुनेछ।

Logo