आज वशिष्ठ होइन, दुर्वासा बनेको छु

आज वशिष्ठ होइन, दुर्वासा बनेको छु


केही वर्षपहिले परम श्रद्धेय स्वामी चन्द्रेशलाई एकजना ब्युरोक्रेटले अति दुःख दिए। आफू त्यसबेला अधिकांश समय भारतमा परिब्राजक बनी हिँडिरहेको अवस्था थियो।  भेट हुँदा स्वामीजीले सबै घटनाक्रम भन्नुभयो।  स्वामीजीको मुखबाट दुष्ट एवं पापाचारीजनको कुकृत्यबारे थाहा पाउँदा मेरो मुखबाट अकस्मात् निस्कियो–यी सबै दुष्टहरुको सत्यनाश हुन्छ।

'अच्युत! यो तिमीले के गर्याैं ? क्षमा गर्नु नै संन्यासीको गुण हो’, तिमी संन्यास धर्मबाट ‘च्युत’ भयौ।  रिस र आवेगमा आउनु हुन्न संन्यासीले। हेर त मैले यति विघ्न सहेर पनि कसैका लागि  दुर्विचारसम्म आउन  दिएको छैन मनमा।  तिमी किन आवेगमा आयौ?

क्षमा गर्नुहोस् स्वामीजी।

 ‘क्षमा शोभती उस भुजंगको जिसके पास गरल हो।’

यो साहित्य र व्यावहारिक जगतको सत्य हो।  संन्यासीको सत्य होइन अच्युत।
पुनः क्षमा गर्नुहोस् स्वामीजी! ‘म परशुराम र दुर्वासाभन्दा उच्च कोटीको सन्यासी होइन।’ 

 र, मैले ‘अहिंसा परमो धर्म’ का साथसाथै ‘धर्म हिंसा तथैव च’ पनि आत्मसात गरेको छु।

कहिल्यै कसैको तर्क के, कुतर्कबाट पनि निराश्रित नहुने पूज्य स्वामी चन्द्रेशले वार्ताको दिशा परिवर्तित गर्ने उद्देश्यले भन्नुभयो– ‘तिमी झिनामसिना कुरामा अल्झेर मुक्तिको मार्गबाट विचलित एवं विमुख हुन चाहन्छौ भने मेरो भन्नु केही छैन।’  

स्वामीजी एकपटक पुनः क्षमा गर्नुहोस्–’मुक्तिको चाहना त्यसले गरोस्, जुन मानिस बन्धनमा छ, म सधैँ मुक्त छु, श्वास–प्रश्वासमा मुक्त छु। मैले मुक्तिका लागि कुनै प्रयास गरिरहेको छैन।  मुक्तले कुन मुक्तिका लागि प्रयास अथवा संघर्ष गरोस्? यस शरीर, मन, वचनबाट भएका  कुनै पनि कर्मले मलाई छुँदैनन्। कृपया अन्य सबै देशना छाडेर मैले भनेको चरितार्थ होस् भन्ने आशीर्वाद मात्रै दिनुस्। यसबाट हुनसक्ने सारा कर्मफल भोग्न म आफैं तयार छु।’

‘तिम्रो मनोरथ पूरा हुन्छ,’ स्वामीजीको मुखबाट सहज प्रस्फुटित भयो।

नभन्दै केही समय अन्तरालमै स्वामीजीलाई दुःख दिने र यस घटनाक्रमका मूकदर्शक एवं मतियार बन्नेहरुको हविगत नै देखियो।

मैले पनि कर्मफल भोग्नु  पर्याे। जसलाई श्राप दिएको थिएँ, तिनै पात्रसँग अप्रिल ११ का दिन कुम्भनगरी हरिद्वारमा भेट भयो।  केही घन्टासम्म ती पात्रसँग समय बिताउने संजोग फलित भयो। पात्रसँगका केही तस्बिर र भिडियो सार्वजनिक हुँदा मलाई राजावादी भएको आरोप पनि लाग्यो।

म कुन वादी हो? मलाई आजका मितिसम्म थाहा हुन सकेको छैन। मिडिया तथा साथीहरुले राजावादीको टोपी भिराई दिनुभएकोमा पनि मलाई कुनै आपत्ति छैन।  मलाई त आजसम्म यही लाग्थ्यो–मेरो हैसियत र अस्तित्व केही हुँदै होइन, राजावादीको टोपी खप्परमा आइलागे पनि कुनै गुनासो छैन, हर्ष छैन, विषाद छैन।

राजन! मैले तपाईंलाई क्षमा दिएको छु।  तर, मेरो क्षमा नै पर्याप्त छ जस्तो लाग्दैन। स्वामी चन्द्रेशको ब्रह्मतेज समावेश रहेको थियो मेरो तत्कालीन अभिव्यक्तिमा। उहाँबाट क्षमादान नपाएसम्म मेरो मात्र सदाशयताले तपाईंको कल्याण हुन सक्दैन। बाँकी तपाईंको आफ्नै सोच, आफ्नै विचार आफ्नै कर्मगति।

आज मभित्रको दुर्वासा पुनः  जागृत भएको छ। मैले चाहेर पनि यस भावलाई जागृत हुनबाट रोक्न सकिनँ। पूज्य स्वामी चन्द्रेशज्यू, हजुरको यस नालायक शिष्यलाई एक पटक पुनः क्षमा गर्नुहोला। मैले जीवनमा तपाईंसँग क्षमाबाहेक अन्य केही माग्न सकिनँ।

कोरोना महामारीले सारा देश आक्रान्त भइरहेका बेला समाचार आयो, देशका अस्पतालले बिरामीको उपचारार्थ नयाँ मूल्यतालिका  बनाएका छन्। मेरो संज्ञानमा दुईवटा अस्पतालको ‘मूल्य–तालिका’ आइपुगेका छन्। 

यिनले बिरामीको उपचारका लागि दैनिक २० हजारदेखि ५० हजारसम्मको मूल्यतालिका सार्वजनिक गरेका छन्।  यो थाहा पाएर खुट्टाको रौँदेखि ब्रह्मरन्धको कपाल नतात्ने मानिस मेरा लागि पशु हुन्।  यस्तो पाशविक, अमानुषी, जघन्य, लुटतन्त्र, मानवीय संवेदनामाथिको खुला बलात्कार,  घृणितभन्दा घृणित अपराधको विरुद्धमा प्रतिकारको स्वर र शब्द उच्चारित नगर्ने मानिस जिउँदा प्राणी नै होइनन्।  यिनले बाँचेको कुनै सार छैन अथवा यी यिनै अपराधीका मतियार हुन्।

कोरोना महामारीले सारा देश आक्रान्त भइरहेका बेला समाचार आयो, देशका अस्पतालले बिरामीको उपचारार्थ नयाँ मूल्यतालिका  बनाएका छन्। मेरो संज्ञानमा दुईवटा अस्पतालको ‘मूल्य–तालिका’ आइपुगेका छन्। 

अचम्म त के भने यी अस्पतालमध्ये एउटामा नेपाली कांग्रेस र अर्कोमा कम्युनिस्टको लगानी रहेको छ।

हद्द भए १०–१२ हजार नेपाली कोरोना संक्रमण भएर  मर्लान् उपचार नपाएर।  मलाई विश्वास छ–महाकालले यसभन्दा बढी क्षति हुन दिनु हुन्न। तर, यस वशिष्ठ गोत्रीले दुर्वासा रूपधारण गर्दै विषवमन गरिरहेको छ– यस्तो लुटतन्त्र मच्चाउने जो कोहीलाई पनि शीघ्र नै कोरोना संक्रमण होस्।  दस दिनमै उनीहरु कोरोना संक्रमणबाट मुक्त हुन्।

तर, कोरोना भाइरस संक्रमणले मुक्त हुनुभन्दा  पहिले उनीहरुको किड्नी – फोक्सो –हृदय– पाचन तन्त्र –स्वशन तन्त्रलगायत विभिन्न शारीरिक अंग ८० प्रतिशतभन्दा बढी बेकम्मा बनून्।  मस्तिष्क भने पूर्णरूपेण सुरक्षित रहोस्। यो सुरक्षित नरहे पीडाबोध हुँदैन। 

 मृत्यु यिनीहरु रहेका कोठा बाहिरसम्म आएर नृत्य र गानमा मग्न भएर यी पापाचारीहरुलाई लैजान बिर्सियोस्। व्यथा र व्याधिले तड्पेर  यिनले स्वेच्छासाथ मृत्युको निवेदन हाल्नु परोस् र, त्यो स्वीकृत नहोस्। संसारमा कोरोना भाइरस र यसको संक्रमण र घातकता रहेसम्म यी मृत्युबाट विमुख रहुन्। प्रतिदिन प्रतिपल मृत्युको चाहना गरुन् र मृत्यु यिनीहरुलाई गिज्याउँदै बासुँरी बजाई बसोस्।

मलाई यी अस्पतालका मालिक र सञ्चालकको नाम थाहा छैन अन्यथा यिनको नाम नै उल्लेख गरेर आग्रह गर्ने थिएँ। पैसा कमाउन यति लामो बाटो किन? यो पनि डकैती हो, बरु यो अप्रत्यक्षको डकैती  छाडेर बन्दुक बोकी लुट्दै हिँड। राज्य तिमीहरुको पेवा नै हो, उसले तिमीहरुलाई रोक्दैन। 

तपाईंहरुको नाम थाहा भएको भए नाम किटेर तपाईंहरुको सर्वनाश कामना गर्ने थिए।  नाम थाहा नभए पनि यो तपाईंहरुकै लागि लेखेर गरिएको विषवमन हो ।  तपाईंहरुलाई संक्रमण भएर नमर्ने तथा सजिलो गरी बाँच्न नसक्ने स्थिति आओस् भन्ने कामना गरेको छु। तपाईंहरुले ममाथि यसै लेखका आधारमा मुद्दा हाल्ने स्वतन्त्रता छ।  अदालतले यसका लागि जे सजाय दिन्छ, त्यो भोग्न तयार छु।

पर्यटन विभाग तथा मन्त्रालयले क्वारेन्टिनका लागि होटलले लिने अधिकतम शुल्क निर्धारण गर्न सक्छ, गरिसकेको छ। स्वास्थ्य मन्त्रीज्यू, तपाईं यतिबेला कता रमण गर्दै हुनुहुन्छ? पर्यटन विभागले क्वारेन्टिनका लागि होटलले लिन पाउने  अधिकतम शुल्क निर्धारित गर्दा पनि तपाईंको चेत खुलेको छैन।  

आइसोलेसनका लागि ७ हजार, १० सम्मको शुल्क लिइरहेका छन् आइसोलेसन केन्द्र र अस्पतालले दिनको ५० हजारसम्म शुल्क उठाइरहेका छन, तपाईंको निद्रा अझै खुलेको छैन ? तपाईंको अकर्मण्डयतामा मैले भन्न नपाउने धिक्कार छ तपाईंलाई ।

Logo