भारतबाट अब खोप आउँदैन, चीन र रुसबाट कसरी ल्याउने?

भारतबाट अब खोप आउँदैन, चीन र रुसबाट कसरी ल्याउने?


कोरोना महामारीपछि पहिलो चरणको ‘खोप’ लगाएकाहरुले दोस्रो चरणको खोप लगाउने पालो पर्खदै गर्दा खोप अभियान नै स्थगित गरिएको छ। कोरोना भेरियन्ट दोस्रो चरणको महामारीमा प्रवेश गरेपछि सरकारले ‘खोप’ अभियान पर सारेको हो।

अब कहिले दोस्रो चरणको पालो आउँछ? पत्तो छैन। दुई छिमेकी भारत र चीनबाट उपहारप्राप्त खोपबाट पहिलो डोज लगाएकाहरुले एक महिनापछि पालो आउने आशा राखेका थिए। तर, अब कहिले खोप अभियान फेरि सुरु हुने र पालो कहिले आउने भन्ने टुंगो नै छैन।

यतिबेला देशमा कोरोना महामारी–२ ले जनता निषेधाज्ञा पालना गर्दै घरमै बसेका छन्।

भारत सरकारले उपहार दिएको १० लाख डोज ‘कोभिशिल्ड’ र  चीन सरकारले दिएको आठ लाख ‘भेरोसेल’ बाहेक सरकारले भारतसँग २० लाख कोभिशिल्ड खरिद गर्ने निर्णय भएको थियो। पछि १० लाख खोप आयात भएपनि बाँकी १० लाख खोप भारतले दिएको छैन ।

केही समयअघि चीनबाट उपहार प्राप्त गरेको भेरोसेलको पहिलो डोज खोप लगाएकाहरुको दोस्रो डोज लगाउने पालो कहिले हो? यो प्रश्नको उत्तर  अहिले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, खोप विभाग कसैले पनि दिन सकेका छैनन्।

खोप खरिद प्रक्रियामा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सरकार प्रमुख बस्ने बालुवाटारका तालुकदार, खोप ल्याउन सहयोग गर्ने स्थानीय एजेन्टबीच स्वार्थको द्वन्द्वले खोप आयातमा झेली खेल भएको छ। देशमा भ्रष्ट शासक, दलाल र कमिसनको खेलमा चल्ने व्यापारीका कारण जनताले महामारीका बेला पनि ‘खोप’ लगाउन पाउने अधिकारबाट बन्ञ्चित हुनु परेको छ। 

दुई देशले उपहार दिएकोबाहेक १० लाख खोप भारतबाट ल्याइए पनि बाँकी १० लाख खोप दिन नसक्ने भन्दै भारतले खोप निर्यातमा रोक लगाएको छ। सरकारले २० लाख खोप किन्न आवश्यक ८० प्रतिशत रकम खोप निर्माता भारतीय कम्पनी सेरमलाई पठाइसकेको छ ।

पछिल्लो समय स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपालमा खोप निर्यातमा सरकारले पहल गरे पनि भारतबाट खोप आयातमा सेरमको नेपालस्थित आधिकारिक बिक्रेता हुकुम डिस्ट्रिब्युसन प्रालिले कमिसन नपाउने भएपछि खोप आयातमा भाँजो हालेका कारण नेपालमा खोप खरिद हुन नसकेको भन्ने अभिव्यक्ति दिएका छन्।

कोराेना महामारीका कारण अस्पतालका शैया नभएको र अक्सिजन अभाव भएका बेला स्वास्थ्य मन्त्रालयले  खोपका कुरा उठाएको छ।

 केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारले रुस, चीनबाट खोप खरिदका लागि पहल गर्ने अभिव्यक्ति दिएका थिए। सायद भारतबाट खोप पाउन नसक्ने जानकारी बालुवाटारमा पुगेपछि रुस र चीनबाट भ्याक्सिन ल्याउनका  लागि पहल भएको हो।

दुई देशले उपहार दिएकोबाहेक १० लाख खोप भारतबाट ल्याइए पनि बाँकी १० लाख खोप दिन नसक्ने भन्दै भारतले खोप निर्यातमा रोक लगाएको छ। सरकारले २० लाख खोप किन्न आवश्यक ८० प्रतिशत रकम खोप निर्माता भारतीय कम्पनी सेरमलाई पठाइसकेको छ।

चीनका लागि नेपाली राजदूत डा.महेन्द्रबहादुर पाण्डे अहिले चिनियाँ खोप कम्पनीसँग छलफलमा जुटेका छन्। रुसमा नेपालका राजदूत नभएकाले नेपालस्थित रुसी राजदूतसँग प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले पहल गरेपछि प्रधानमन्त्रीको सम्बोधनमा उक्त विषय समावेश भएको हुनसक्छ ।

पछिल्लो समय कोरोना महामारीको ग्राफ उकालो लाग्दैछ। विगत केही दिनदेखि कोरोना संक्रमितको संख्या र मृत्यु हुने पनि बढ्दै गएका बेला सरकारले जनतालाई उपचार गर्ने अस्पताल अभाव हुनु, खोप ल्याउने काममा पनि ढिलाइ हुनु,  खोप अभियान पनि स्थगित गर्नु आदि कारणले जनताले प्रश्न गर्नु स्वभाविक हो। यसले महामारीसँग लड्न सरकारको कुनै तयारी नभएको स्पष्ट हुन्छ। 

छिमेकी भारत अहिले आफैं अन्य देशबाट खोप आयातका लागि लागिपरेको छ।  खरिद गरिसकेको १० लाख खोप पनि भारतबाट नेपाल आउने सम्भावना कम छ। स्वास्थ्य सेवा विभाग र सेरमको नेपालस्थित एजेन्टले खोप आयातका लागि भाँजो हालेपछि कम्पनी र विभागबीच पत्राचारमा ढिलाइ भएको पक्कै हो।

भारतजस्तो देशमा स्वास्थ्य सेवा प्रणालीले काम गर्न नसकेको अवस्था छ। राजधानी दिल्ली, व्यापारिक सहर मुम्बई र अन्य प्रान्तमा डरलाग्दो गरी फैलिएको कोरोना महामारीको बीचमा खोप लगाउने अभियान जारी छ। सेरमले उत्पादन गरेको खोप अपुग भएपछि भारतले समेत रुसको ‘स्पुतिक–भी’ खोप आयातका लागि अनुमति दिएको छ ।     

नेपालले समेत चीनमा उत्पादन भएको ‘भेरोसेल’ र रुसी खोप ‘स्पुतिक–भी’  ल्याउन सरकारीस्तरबाट ठोस पहल गरिएको छैन। खोप आयातमा भारतको निर्भरताले गर्दा नेपालमा चीन र रुसबाट खोप खरिद प्रक्रिया अघि बढ्न नसकेको हो।

केही समयअघि रुसी खोप कम्पनीका प्रतिनिधि नेपाल आएका थिए । उनीहरुले नेपाल सरकारलाई खोप बिक्रीका लागि पहल गर्दा एकतर्फी रुपमा अनुदान सहयोगका लागि अनुरोध गरेको खबर आएको थियो। त्यसपछि कुनै ठोस पहल हुन नसक्दा ढिलो भएको हो। खोप आयातको सम्पूर्ण जिम्मेवार संस्था भनेको सरकारको तालुकदार स्वास्थ्य मन्त्रालय हो।

हिजो मात्र अब खोप खरिदको काममा अब स्वास्थ्य मन्त्रालयले होइन, सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पहलकदमी गर्ने खबर आएको छ। स्वास्थ्य मन्त्रालयले समन्वय गर्न नसक्ने भएपछि उपप्रधानमन्त्रीको हातमा पुगेको हो। 

आफ्नो अधिकार खोसिन लागेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले भारतबाट ल्याउन लागेको १० लाख ‘खोप’ खरिदमा बालुवाटार र व्यापारीका कारण ढिलो भएको खबर नजानिदो तरिकाले बाहिर ल्याएका मन्त्रालयका एक अधिकारीको भनाइ छ।

स्वास्थ्य सेवा विभाग र सेरमबीच भएका पत्राचारसमेत मन्त्रीको सचिवालयबाट बाहिर आएपछि खोप खरिदमा एक अर्कालाई दोष लगाउने काम मात्र भएको छ।

विगत १५ बर्षदेखि स्वास्थ्य मन्त्रालयमा नेतृत्व तहसम्म पहुँच राख्न सक्ने भनेका ‘बिचौलिया’ नै हुन्। स्वास्थ्य मन्त्रालयका औषधि, उपकरण खरिद गर्ने बिचौलायाले आफ्नो पक्षमा काम हुन नसक्दा अर्को पक्षका कागजपत्र बाहिर ल्याउने र अख्तियारमा समेत उजुरी दिने यो सामान्य परम्परा हो।

भारतबाट खोप ल्याउने काममा सेरमको नेपालको आधिकारिक विक्रेता हुकुमले यसअघि पनि सेरमबाट उत्पादित अन्य खोप ल्याउने गरेको थियो। पछिल्लो चरणमा ‘कोभिशिल्ड’ खरिदमा कमिसन नपाउँदा असहयोग गरेको हो भने छानबिन गरी एजेन्टलाई कारबाही गरिनुपर्छ। 

 यो विपद्मा पनि यस्तो हर्कत  कम्पनीबाट भएको हो भने त्यसको अनुसन्धान गर्ने काम सरकारको हो। स्वास्थ्य मन्त्रालय अहिले आएर पन्छिन मिल्दैन। हिजो साँझ मात्र मन्त्री त्रिपाठीले आफ्नो कार्यकक्ष एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा खोप खरिदबारे लेखिएका समाचार सबै गलत भएको भन्दै पत्रकारलाई दोष दिएर पन्छिन खोजेका छन्।

अब भारतबाट खोप आउने सम्भावना देखिँदैन। भारतले निर्यातमा रोक लगाएको छ। अब कहिले निर्यात खुला गर्ने हो भन्ने पत्तो छैन। विगतका सेरमको नेपालस्थित विक्रेतालाई कारबाही गरेर चीनमा निर्मित भेरोसेल र रुसी स्पुतिक–भी ल्याउने काममा पहल गरेर छिटोभन्दा छिटो खोप नेपालमा ल्याउने उपाय खोज्नु नै उत्तम हुनेछ।

अब खोप खरिदमा स्वास्थ्य मन्त्रालयको भर पर्न हुँदैन भन्ने बालुवाटारको निष्कर्ष छ। त्यसैले त अब खोपको काम कोभिड व्यवस्थापनको सीएमसीसीको संयोजकसमेत रहेका ईश्वर पोखरेलको जिम्मामा परेको हुनसक्छ।

अब भारतबाट खोप आउने सम्भावना देखिँदैन। भारतले निर्यातमा रोक लगाएको छ। अब कहिले निर्यात खुला गर्ने हो भन्ने पत्तो छैन।

केही समयअघि चीनका खोप निर्माता भेरोसेल र अन्य कम्पनीका नेपाली प्रतिनिधिहरुसमेत स्वास्थ्य मन्त्रालय, सरकारी निकायमा पहल गर्न थालेका थिए। त्यतिबेला सरकारले भारतको कोभिशिल्डको भरोसा रहेको जानकारी पाएपछि चिनियाँ खोप भेरोसिलका प्रतिनिधि पछि हटेका थिए।

अहिले भारतबाट नपाउने भएपछि सरकारले चीन, रुसतिर लागे पनि सरकारी संयन्त्रले एकले अर्कालाई दोष दिदै रहने हो भने अन्य खोप नेपाल भित्र्याउन मुस्किल पर्छ। विपद्को बेलामा पनि सामाजिक उत्तरदायित्व नराख्ने व्यापारी र भ्रष्ट मानसिकतामा चलेको सरकारको रबैयाले आमनेपाली महामारीमा बाँच्न पाउने अधिकारबाट बञ्चित हुनु परेको हो ।
 
अहिलेको कोभिड अस्पताल निर्माण, उपकरण व्यबस्थापन, स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारी निकाय स्वास्थ्य मन्त्रालय र विभागबाट विगतमा आफैंले गरेको गल्तीका पत्र सञ्चारमाध्यमलाई उपलब्ध गराएर दोष पन्छाउन खोजिएको मात्र हो।

 गत वर्षको महामारीमा पनि स्वास्थ्य मन्त्रालयले चीनबाट उपकरण खरिदमा ओम्नी नामक खरिदकर्ता र मन्त्रालयका पदाधिकारीले गरेको बदमासीका कारण जनता मन्त्रालय र तत्कालीन स्वास्थ्यमन्त्रीविरुद्ध आक्रोशित भएका थिए।

अहिले आएर सेरमसँग कोभिशिल्ड खरिदमा मन्त्रालयका पदाधिकारी र नेपालस्थित सेरमका बिक्रेताको झेली खेलका कारण खोप आयातमा ढिला भएको भने पक्कै हो। यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी र कमिसनको चक्करमा रहने व्यापारीले लिनुपर्छ।

अब खोप आउँछ त?

भारतमा बनेको खोप नेपालले तत्काल पाउनसक्ने अवस्था छैन । त्यो कुरा आज मात्र सेरमको नेपालस्थित विक्रेता हुकुमको तर्फबाट प्रष्टीकरणको विज्ञप्ति आएको छ। उसले भनेको छ–‘हाम्रो केही गल्ती छैन। हामीले कसिमन लिन चाहेका थिएनौं।’ हामीलाई स्वास्थ्यमन्त्रालयले धन्यवादको पत्र समेत दिएको हुकुमको दाबी छ। यो प्रकरणमा मन्त्रालयका पदाधिकारी  र व्यापारी बीचको मनमुटाव मात्र कारक देखियो ।

अब प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार देशबासीको नाममा गरेको सम्बोधन अनुसार छिट्टै चीन र रुसमा निर्मित खोप नेपाल आउने सम्भावना कति होला? यतातिर सञ्चारमाध्यमले पनि पैरवी गर्ने हो कि?

अमेरिकामा बनेको खोप फाइजर नेपालमा आउने सम्भावना छैन। किनकी त्यसका लागि माइनस १७ डिग्रीको तापक्रम आवश्यक पर्दछ। यसैले नेपालका लागि अब चीन र रुसमा निमिति दुई खोप मात्र उपयुक्त हुन्छन्।

 विषम महामारीको बेला सरकारले तत्काल दुई देशमा निर्मित खोप आयात गरी नेपाली जनतालाई कोरोनाविरुद्धको खोप लगाउने अभियानमा सहभागी गराउनुपर्छ। यसो गरिएमा कोरोनासँग लड्न आत्मबल बढ्ने थियो।

Logo