लकडाउनका बेला बालबालिका इन्टरनेटको कुलतमा त छैनन्?

लकडाउनका बेला बालबालिका इन्टरनेटको कुलतमा त छैनन्?


कोरोना महाव्याधिका कारण अहिले आर्थिक, सामाजिकसँगै मनोवैज्ञानिक समस्या देखिन थालेको छ। कोरोना कहरले मानिसमा चिन्ता तथा नैराश्य थपेको छ। 

एकातिर, मानिसमा कोरोना संक्रमणको त्रास भय र त्रास बढेको छ भने दैनिक रोजगारीमा असर पर्दा कतिपय मानिस डिप्रेसनको सिकारसमेत भएका छन्। कोरोना कहरका बीच नेपालमा आत्महत्या गर्नेको संख्या पनि बढ्दै गएको छ।

यस्तो विषम परिस्थितिमा आफूलाई कसरी मनोवैज्ञानिक रुपले स्वस्थ्य राख्ने, निषेधाज्ञाका बेलामा सकारात्मक चिन्तनलाई कसरी बढाउने, डिप्रेसनमा जानबाट कसरी जोगिने, बालबालिकाको रेखदेख कसरी गर्ने, खानपान र जीवनशैलीलाई कसरी बदल्नेलगायत विषयमा केन्द्रबिन्दुकर्मी विकास आचार्यले मनोविद् पदमराज जोशीसँग गरेको कुराकानीमा आधारित सामग्रीः

स्वीकारोक्ति जरुरी 
सुरुमा कोरोना भाइरसबाटै कुरा गरौं, नयाँ भेरियन्टको संक्रमण तीव्र बन्दै गएपछि अहिले नेपालमा पनि लकडाउन भनौं वा निषेधाज्ञा लागू भएको छ। यसपटक पहिलाको जस्तो भयानक अवस्था सिर्जना त भएको देखिँदैन। तथापि, संक्रमण दर र मृत्युदर चाहिँ बढेको हुनाले एन्जाइटी, डिप्रेसन बढ्दै गएको पाइएको छ।

यहाँ पहिलो कुरा के हो भने यस्तो असामान्य अवस्था आएको छ भनेर स्वीकार गर्नैपर्छ। किनकि कोरोनाको दोस्रो तरंगले संसारभर नै दुःख दिएको छ भने नेपाल पनि यसबाट अछुतो रहन सक्दैन। मानिस १५ वर्षभन्दा बढी उमेर समूहका चेत विकास भएका वा भनौं बुझ्ने नागरिकले यो परिस्थिति बुझ्न सक्नुपर्दछ। आफैंले स्वीकार गर्नुपर्दछ कि यो संकट नेपालमा मात्र आएको होइन, यसले विश्वलाई नै त्राहिमाम मच्चाइरहेको छ। 

 युवा अवस्थाका परिवारका सदस्यले आफ्नो परिवारको लेखाजोखा राख्न सक्नुपर्दछ। हामी को–कता छौं, कसलाई के समस्या छ, भोलि परिआइ हाल्यो भने कसरी काम गर्नेलगायत विषयमा यो महामारीका बेला मात्र होइन, अन्य जुनसुकै विपद्मा पनि लेखाजोखा राख्न सक्नुपर्दछ। 

वृद्धवृद्धा, बालबालिकालगायत सबैको उचित रेखदेख गर्नुपर्छ। त्यसका लागि दैनिक पारिवारका सदस्यहरुबीच आधा/एक घन्टाको अनौंपचारिक बैठक गर्न सकिन्छ।

यस माध्यमबाट परिवारका सदस्यमा भएको मनोसामाजिक वा स्वास्थ्यसम्बन्धी समस्याबारे छलफल हुन्छ र, समयमै उचित कदम चाल्न सकिन्छ। यसरी, मानसिक समस्याको कारण दुर्घटना हुनबाट परिवारका सदस्यलाई जोगाउन सकिन्छ।

अर्को, यस्तो बेला प्रायः हामी घरभित्र बसिरहेका हुन्छौं। हामी सबै कुनै न कुनै समस्याबाट प्रताडित भएका हुन्छौं। तथापि, घरमा एक्लै बस्नुभन्दा पनि आफूलाई मनपर्ने वा आफ्ना कुरा सुनिदिने मान्छेसँगै रहनुपर्छ। यसको मतलब आफूलाई व्यस्त राख्नुपर्छ भन्ने हो।

विशेषगरी अहिले सामाजिक सञ्जालमा नकारात्मक सूचना र भ्रामक समाचार आउँछन्। त्यसबाट चाहिँ हामीले आफूलाई टाढा राख्न सक्नुपर्दछ र, त्यसका लागि हामीले हाम्रो व्यवहार परिवर्तन गर्नुपर्दछ। 

नकारात्मक र भ्रामक खबर
कहिलेकाही हामीलाई व्यवहार परिवर्तन र नियन्त्रण गर्न गाह्रो पर्छ। यसका लागि के सोच्नुपर्छ भने मेरो पहिलो दायित्व आफूलाई नचाहिने, भ्रामक वा चिन्तामा पुर्याउने समाचार वा खबर छन् भने पनि त्यसबाट सतर्क बस्नु हो।

हामीले हाम्रो मस्तिष्कलाई सकारात्मक ऊर्जा दिनुपर्ने हुन्छ। हामीले हेर्ने, सुन्ने र पढ्ने काम गरेपछि मस्तिष्कले ‘ए यस्तो त सामान्य हो, यो त सबैलाई पर्ने कुरा म मलाई पनि पर्याे’ भन्ने खालको ऊर्जा निकाल्न सक्नुपर्छ।

कहिलेकाही हामीलाई ‘ल, मेरा  सबै बाटा सकियो, अब त म केही गर्न सक्दिनँ होला, मैले सक्ने यति मात्रै हो,’ भन्ने जस्ता नकारात्मक विचार पैदा हुन सक्छ। तर, त्यस्ता नकारात्मक विचार आउँदै गर्दा सबै बाटो बन्द भएका हुँदैनन्। त्यो काम गर्न कुनै न कुनै उपाय हुन सक्छ  भन्ने सोच विकास गर्न तत्पर बन्नुपर्छ, त्यसका लागि हामीले सोच्न र मनन् गर्न  समय दिनुपर्छ।  

त्यसो गर्याैं भने हामीबाटै उत्पन्न हुने विकारले पनि हामीलाई केही गर्न सक्दैन। अहिले दोस्रो तरंगले निम्त्याएको समस्या यही हो। यसलाई हामीले चुनौतीका रुपमा लिनुपर्छ र, त्यही चुनौतीसँग  सहजै लड्न सक्छु र, जित्न सक्छु भन्ने भावना र विचार हामीमा ल्याउनुपर्छ।

अहिलेको यो महामारीमा वृद्ध हजुरबुबा, हजुरआमाहरुको व्यवहार परिर्वतन भएको र छिट्टै रिसाउनेजस्तो व्यवहार देख्न सकिन्छ। महामारीको बेलामा विकारयुक्त सोच मस्तिष्कमा खेलाएको कारणले समस्या आएको हो।

 यस्तो परिवर्तित व्यवहार भएका हाम्रा अग्रजलाई तुरुन्त प्रतिवाद नगर्ने, बरु केही समय हेरविचार गर्ने र उहाँलाई एक्लो हुन नदिनेजस्ता काम गर्नुपर्छ। अहिले यस्तै समस्या देखिएको खबर हामीलाई प्राप्त भइरहेको छ। 

कोही छिटो रिसाउँछ र, झर्किन्छ भने यो असामान्य परिस्थितिमा पैदा भएको सामान्य व्यवहार हो। यसलाई यो हिसाबमा बुझ्दा राम्रो होला।

कतै बालबालिका मोबाइल र इन्टरनटेको लतमा त छैनन्?

त्यस्तै बालबालिकामा सबैभन्दा गाह्रोे भनेको चाहिँ उहाँहरुलाई मिलाएर राख्न सक्नु हो। विशेषगरी अहिले सहरी क्षेत्रका बालबालिका विद्यालयभन्दा बाहिर छन्। अहिले लगभग ६० जिल्ला लकडाउनमा छन् भनौं ती सबै क्षेत्रका बालबालिका अहिले अनलाइनबाट अध्ययन गरिरहेका छन्। 

बालबालिका आमाबुबाको आँखा छलेर मोबाइल वा इन्टरनेटको लतमा फसिरहेका त छैनन् भनी चनाखो हुन जरुरी छ। यदि यो समयमा आफ्ना नानीहरुमा अरु बेलाभन्दा फरक व्यवहार पायौं भने उनीहरुसँग साथीजस्तै व्यवहार गर्नुपर्छ।

अघि भनेजस्तै घरमा बैठक गरेर उनीहरुको समस्या सुन्ने र उनीहरुको व्यवहार परिर्वतन गर्न कोशिष गर्नुपर्छ। त्यसो गर्दा पनि भएन भने मनोविमर्शकर्तासँग समन्वय गर्न सकिन्छ। तर, यो परामर्श लिने र सुरुआतदेखि नै उनीहरुको व्यवहार परिर्वतन गर्न ढिलाइ भयो भने चाहिँ ठूलो भएर सही ट्रयाकमा ल्याउन गाह्रो पर्छ।

अर्को चाहिँ हामी युवाहरु पनि अहिलेको यो समय नै खराब छ भनी चिन्तित हुन्छौं। यस्तो बेलामा हामी विभिन्न तथ्यहीन कुरालाई उदाहरण लिएर जसले जे भन्छ, त्यसको पछि दौडन्छौं। त्यसको पछि नदौडेर न्यूनतम स्वास्थ्य मापदण्ड अंगीकार गरेर हामीले दैनिकी सुरु गर्नुपर्छ। अर्को चाहिँ हामीले नकारात्मक सोच पालेर बसिरहनुभन्दा पनि केही नयाँ कुराको खेजी गर्न जरुरी छ। 

बालबालिका आमाबुबाको आँखा छलेर मोबाइल वा इन्टरनेटको लतमा फसिरहेका त छैनन् भनी चनाखो हुन जरुरी छ। यदि यो समयमा आफ्ना नानीहरुमा अरु बेलाभन्दा फरक व्यवहार पायौं भने उनीहरुसँग साथीजस्तै व्यवहार गर्नुपर्छ।

विद्यार्थीलाई बाहिरी ज्ञान आर्जन गर्ने अवसर

विद्यार्थी वर्गलाई त झन् यो सुनौलो अवसर पनि हो। त्यसो भन्दै गर्दा हाम्रो  परीक्षा नै भएन भन्ने चिन्ता विद्यार्थीमा छ। २०७६ देखि २०७८ सालसम्म पनि स्नातक प्रथम वर्षको परीक्षा भएको छैन् भन्ने सोच पनि अहिले विद्यार्थीमा छ। 

तर, त्यो अवस्था हाम्रो कारणले आएको होइन भन्ने कुरा बुझ्न जरुरी छ। यसबीचमा ममा भएको प्रतिभा के हो भनेर खोज्ने, किताबभन्दा बाहिर पनि अध्ययन गर्ने विषय छन् भन्ने कुरा बुझियो भने राम्रो होला। 

अहिले रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बचाई राख्नका लागि मनोविज्ञानमा हाम्रो मस्तिष्क, बुद्धि–जुक्ति र प्रतिरक्षा प्रणालीबीच एकदम घनिष्ट सम्बन्ध रहन्छ। यदि हामीले हाम्रो मस्तिष्कमा नकारात्मक सूचना दियौं भने त्यसै प्रकारको सोच हामीमा आउँछ। 

हामीले जस्तो सोच बनाउँछौं, त्यस्तै प्रकारको हर्मोन पैदा हुन्छ। त्यसको प्रभाव चाहिँ के हो  अरुलाई जे भएको छ, आफूलाई पनि त्यस्तै भएको महसुस गर्नु, अरुलाई कोरोना भयो भने  आफूलाई पनि कोरोना भएजस्तै रियाक्ट गर्नु। यसो भयो भने हाम्रो रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर हुन जान्छ र, हामीलाई त्यही नभए अन्य रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ।

सोचाइ, खानपान र रहनसहन 

मनोविज्ञानमा के भनिन्छ भने हाम्रो सोचाइ र वातावरणमा एकरुपता आएन भने हामीमा समस्या आउछँ। एकरुपता भन्नाले के भने हाम्रो चाहना पूरा होस् भनेर हामीले केही लक्ष्य राखेका हुन्छौं, त्यो पूरा भयो भने हामीमा सन्तुष्टि हुन्छ र, हाम्रो शरीरले समस्थिति ल्याउँछ। तर, त्यो पूरा भएन भने मानिस चिन्तित हुन्छ, फ्रस्टेट हुन्छ र, फ्रस्टेसन भयो भने डिप्रेसनमा जान्छ। 

डिप्रेसनमा पुगिसकेको थाहा भएन र मनोपरामर्श लिएनौं भने हामी त्यसको कडा रुपमा जान्छौं। त्यसको यस्तो कोर्स हुन्छ। 

विशेषगरी, हाम्रो सोचाइ, प्रवृत्ति र घरको वातावरणबीच समस्थितिको अवस्था ल्याउने हो भने हामी सामान्य रहन्छौं। तर, तिनीहरुबीच समस्थितिको वातावरण भएन भने हामीमा समस्या आउँछन्। 
त्यसैले, महामारीमा मात्र होइन, अन्य बेलामा पनि यी माथि उल्लेख भएका विषयमा तादात्म्यता नमिल्दा मानिस मानसिक रोगले ग्रस्त हुन पुग्छ।

 मानसिक तनावबाट मुक्त हुन के–कस्ता उपाय अपनाउने ?

पहिलो त, मैले अघि भनिसकेँ हामी अहिले असामान्य परिस्थितिबाट गुज्रिरहेका छौं। यसमा रम्न र रमाउन सिक्नुपर्याे। यसका लागि दैनिक तालिका बनाएर के–के गाह्रोसाह्रो छ, त्यो व्यवस्थापन गर्नुपर्याे। 

दोस्रो, हामीले काम गर्ने ठाउँ र घरलाई अपग्रेड गर्नुपर्छ। कतिपय कुरालाई हामीले कहिलेकाही मनोरञ्जनका हिसाबले लिइरहेका हुन्छौं भने अहिले चाहिँ शिक्षा लिनुपर्ने हुन्छ परिवार भित्रैपनि।  त्यो शिक्षा लिन हामीलाई पहिलो बुँदाले पनि सहयोग गर्छ। 

तेस्रो चाहिँ, अहिले हामी घरभित्रै छौं। घरमै रहँदा हामी चौबिस घन्टा नै एउटै घर, एउटै कोठामा रहँदै आएका छौं। त्यस्तो बेलामा कहिलेकाहीँ घरभित्रकै सदस्यबीच कुरा नमिल्ने अनि मनमुटाव हुने गर्छ।

 त्यसबेला परिवारका सबै सदस्यले सकारात्मक सोच र चिन्तनमनन गर्नुपर्छ। हामी भित्र बसिरहेका बेला कहिलेकाहीँ नकारात्मक सोच आउनसक्छ।

अर्को चाहिँ, दैनिक तालिका बनाएर खानेकुरादेखि कामको पनि बाँडफाँट गर्नुपर्छ। स्वास्थ्यबद्र्धक खानपानमा जोड दिने र घरमै बसी योग–ध्यान गर्न सक्छौं। हाम्रो शरीरबाट उत्पादन हुने नकारात्मक विकारलाई परास्त गर्न सक्छौं। यी चीज मात्र गर्न सकियो भने अहिलेको तनावबाट मुक्त हुन सकिन्छ। 

Logo