मुलुक अँध्यारो सुरुङबाट बाहिर आउनेछ

मुलुक अँध्यारो सुरुङबाट बाहिर आउनेछ


नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत हेतु निरञ्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्दजीसँग हरिद्वारको चण्डी घाटस्थित दक्षिणकाली पीठमा उभिएको थिएँ। महाराजजी केही समयपहिले मात्रै आचार्य महामण्डलेश्वर पदमा सुशोभित हुनु भएको थियो। विगतमा उहाँको राजनीतिसँग नजिकको सम्बन्ध र उठबस नभएको होइन।

उत्तर प्रदेश राज्यको समाजवादी दलसँग उहाँको उठबस थियो। अखिलेश यादव मुख्यमन्त्री हुँदा भगवती कालीका साथै देवी लक्ष्मीको पनि उहाँमाथि राम्रै अनुकम्पा भएको थियो। हरिद्वारको साधु जगतको कालो–सेतो दुवै अनुहारसँग परिचित रहेको मलाई स्वामी कैलाशानन्दजीको बारेमा यथेष्ट ज्ञान हुनु अस्वभाविक थिएन। महाराजजीले  संयोगले एउटा राजपुरुषको स्वागत गर्ने अवसर पाउनुभएको थियो, खैर यो कथा फेरि कहिल्यै!

पूर्वराजाको गाडी परिसरको मूल गेटबाट भित्रिनासाथ स्वामी कैलाशानन्दले मेरो हात समाती ‘पहले स्वागत के लिए आप आगे बढिए’ भन्नुभयो र, स्वयं मेरो पछाडि हिँडेर गाडीतिर बढ्नुभयो।

ज्ञानेन्द्र शाह ओर्लिनेबित्तिकै उहाँको आँखा ममाथि प¥यो, ‘मैले दुवै हात जोडी नमस्कार गरेँ, प्रत्युत्तरमा उहाँले दुबै हातबाट नमस्कारको मुद्रा बनाउनुभयो।  लगत्तै मैले स्वामी कैलाशानन्दजीलाई हातले  अघि बढ्ने इशारा गरी मोबाइलको क्यामेरा अन गरे।

स्वामीजीले रंगीविरंगी पुष्पले बनाइएको पुष्पगुच्छा दिई स्वागत गर्नुभयो।  मैले क्यामेराम्यानको काम गरिरहे।

कैलाशानन्दजी ज्ञानेन्द्र शाहलाई लिई आफ्नो कक्षतिर अघि बढ्नुभयो।  केही सेकेन्डका लागि ज्ञानेन्द्र शाह बीचमा दायाँपट्टि कैलाशानन्दजी र बायाँपट्टि म भएर हिँड्यौ।

 म अरुको क्यामेरामा कैद भइसकेको मलाई थाहा नै भएन। म पूर्वराजा ज्ञानेन्द्र शाहसँग जानेर सँगै हिँडेको थिइनँ, संयोगले यस्तो हुन गयो। त्यसै क्षणको तस्बिर क्यामेरामा भिडियो बनेर कैद नभएको भए मलाई स्मरण पनि रहने थिइनँ कि म केही सेकेन्डका लागि पूर्वराजासँग हिँडेको थिए !

विभिन्न फोटो लिँदै बैठक कक्षसम्म पुगियो।
ज्ञानेन्द्र शाहले अहिलेसम्म मास्क लगाइरहनु भएको थियो, मैले केही बेरका लागि मास्क हटाउने अनुरोध गरे नेपालीमा।  उहाँले मास्क हटाउनुभयो।

 मैले पूर्वराजासँग नेपाली बोलेको सुनेर छक्क परे स्वामी कैलाशानन्दजी महाराज र मसँग  भने, ‘अरे महाराजजी,  आप तो इतनी बढिया नेपाली भी  बोलते है?’
‘महाराजजी मैं नेपाली  ही हुँ, नेपाल की पत्र पत्रिकाओं में लिखता हुँ नेपाली  भाषा में।’

‘महाराजजी, हिन्दी भी तो आप उम्दा बोलते है।’  ‘जी महाराजजी, मैं लखनऊ में पैदा हुआ था मेरी शिक्षादीक्षा लखनऊ में हुयी थी।’ ‘तब तो महाराजजी, नेपाली महाराज जो ‘स्पीच’ नेपाली में देंगे उसका हिन्दी अनुवाद बडे मजे से कर सकते है?’

‘बिल्कुल महाराजजी।’
महाराजजी  एक काम कीजिये,  मेरी और नेपाली महाराज की फोटो  लेकर फेसबुक पर डाल दीजिये।  मुझे और महाराज  को टैग भी कर दीजिये।’
'क्षमा करे महाराजजी, मैं नेपाली महाराज के साथ फेसबुक अथवा ट्विटर पर नहीं जुड़ा हुँ।’

‘म यस्तो कुनै मञ्चमा छैन,’ अति कोमल स्वरले ज्ञानेन्द्र शाहले भन्नुभयो।
पछाडिबाट एकजनाले आएर मेरो काँधमा हात राख्दै भन्नुभयो– सरकार कुनै पनि इन्टरनेट मन्चमा उपस्थित होइसिन्न। सरकारको नामबाट रहेका सबै अकाउन्ट ‘फेक’ हुन्।

मलाई अचम्म लाग्यो, कसैले मानोस्, नमानोस्, स्वयं पूर्वराजाले सार्वजनिक रूपमा स्वीकार गरे पनि नगरे पनि उहाँ पुनः नेपालको राजतन्त्र पुनस्र्थापित गर्ने मनसायले अभिप्रेरित हुनुहुन्छ भन्नेमा मलाई किञ्चित पनि सन्देह छैन।  उहाँका तमाम समर्थकहरुलाई मात्रै होइन, उहाँको रिपु खेमालाई पनि स्पष्ट विदित छ, अब धेरै दिन राजसंस्थालाई बाहिर राख्न सकिँदैन।  बढीमा २०८० भित्र कुनै न कुनै रूपमा राजसंस्थाको पुनर्बहाली हुन्छ। यस्तो मनसाय अथवा महत्वाकांक्षा लिएको राजपुरुष सामाजिक सञ्जालमा उपस्थित छैन।

र, योभन्दा घोर आश्चर्य त ती महानुभावले भनेको वाक्य सुन्दा भयो– उहाँको नाममा रहेका अकाउन्ट ‘फेक’ हुन्! यो कसको अकर्मण्यता हो, राजपुरुषको अथवा राज परिचरहरुको!  

ती महानुभावले सोध्नुभयो –तपाईंको नाम के हो, कहाँ बस्नु हुन्छ ?
‘म संन्यासी हो, बस्ने ठेगान छैन। विगत दुई वर्षदेखि काठमाडौंलाई केन्द्र बनाएर यात्रा गरिरहन्छु।  काठमाडौंमा बस्दा ज्ञानमित्रका नामले विभिन्न पत्रपत्रिकामा लेख्ने गर्छु।’

’ए हो, तपाईं ज्ञानमित्र हो।  तपाईंका देशसञ्चारमा प्रकाशित थुप्रै  लेख  मैले पढेको छु।’

मलाई अचम्म लाग्यो, कसैले मानोस्, नमानोस्, स्वयं पूर्वराजाले सार्वजनिक रूपमा स्वीकार गरे पनि नगरे पनि उहाँ पुनः नेपालको राजतन्त्र पुनस्र्थापित गर्ने मनसायले अभिप्रेरित हुनुहुन्छ भन्नेमा मलाई किञ्चित पनि सन्देह छैन।

’अनि तपाईंको शुभ नाम ?’
 ‘म सरकारको सेवक फणिराज पाठक।’
 ‘ए तपाईं पाठकजी।  कहिलेकाही युवराज घिमिरेसँग कुरा हुँदा तपाईंको प्रसंग आउने गर्छ। एवं रितले अर्को दिन सागर तिमिल्सिनाले पनि मसँग परिचय गर्नुभयो।’

संयोगले हरिद्वारको महाकुम्भमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट भयो। केही सामान्य कुराकानी गर्ने अवसर पाएँ। यो मेरा लागि न हर्षको विषय थियो न विषादको! जीवन यात्रामा घटित अनेकन संयोगका माफिक यो संयोग पनि घटित भयो। कुनै संयोगसँग टाँसिने संन्यासीको प्रवृत्ति नै हुन्न।

तर, संयोगको क्रम भने रोकिएन।  पुनः यस्तै संयोग घटित भयो।
प्रधानमन्त्रीले संसद पुनः भंग गरे। प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई यहाँसम्म पु¥याउन मेरो अलिकति भए पनि भूमिका रहेकै थियो र, हिन्दु धर्म पुनस्र्थापना हेतु रहिरहने छ। अतः संसद भंग हुँदा प्रसन्न हुनु स्वाभाविक थियो।  म मात्रै किन, देशलाई दानवहरुको चंगुलबाट आजाद गराई आफ्नो मौलिकता तथा संस्कृति अनुसारको पथमा आएको हेर्न चाहने सबै नेपालीका लागि यो खुसीको कुरा हो।

तर, मेरो खुसीमा झट्का लाग्यो। फेसबुकमा विभिन्न उपद्रवीले पूर्वराजाको नामले प्रेषित ट्वीट पोस्ट शेयर गर्दै प्रधानमन्त्री केपी ओलीले चालेको कदमको विरोध गरेको देखियो। एकपटक त लाग्यो, के ज्ञानेन्द्र शाह कालीदास नै हुन ?

केही समयपछि अरुणकुमार सुवेदीको फोन आयो।  मैले सोधेँ– ज्ञानेन्द्र शाहले यो के गरेको ? के लेखेको ?

होइन, ज्ञानेन्द्र कुनै सामाजिक सञ्जालमा छैनन्। उनका नाममा थुप्रै ‘फेक आइडी’ छन्।  यिनै ‘फेक आइडी’को कमाल हो यो।

अकस्मात् मलाई हरिद्वारमा भएको पूर्वराजासँगको भेट सम्झना आयो।  ए, हो त, ज्ञानेन्द्र शाहको आफ्नो कुनै ‘आईडी’ छैन। उहाँले आफैं भनेको कुरा हो।
तर, के थाहा! हरिद्वारबाट फर्केपछि उहाँले कुनै आइडी सञ्चालनमा ल्याएको हो कि?
सागर तिमिल्सिनालाई फोन गरें।  उनले ज्ञानेन्द्र शाहको आफ्नो कुनै आधिकारिक आइडी नभएको स्पष्ट गर्नुभयो।

अकस्मात् मलाई हरिद्वारमा भएको पूर्वराजासँगको भेट सम्झना आयो।  ए, हो त, ज्ञानेन्द्र शाहको आफ्नो कुनै ‘आईडी’ छैन। उहाँले आफैं भनेको कुरा हो।

‘अनि तपाईंहरु खण्डन किन गर्नुहुन्न?’
‘धेरैजनाले फोन गर्नुभयो।  मैले सबैलाई भनेको छु यो उहाँको आइडी होइन।’
गजब कुरा गर्नुहुन्छ तपाईं ! उहाँको नामबाट आएको सन्देश भाइरल भइरहेको छ।  र , तपाईं फोन गर्नेहरुलाई यो उहाँको आइडी होइन भनी स्पष्टीकरण दिइराख्नु भएको छ।  सार्वजनिक रूपमै तपाईंहरुले खण्डन गर्नुपर्ने होइन र ?

‘धन्यवाद, म यसबारे सल्लाह गरेर छिट्टै नै उपयुक्त पाइला चाल्छु।’
मन मानेन।  फणिराज पाठकलाई फोन गरेँ, फोन उठेन।  म्यासेज पठाएँ– मलाई एकपटक ‘कल’ गर्नुस्।

राति नयाँ नम्बरबाट फोन आयो।  
फोन पाठकजीको रहेछ।

‘स्वामीजी, क्षमा  गर्नुहोला।  व्यस्तताले मैले तपाईंलाई ’कल’ गर्न सकिनँ।  तपाईंले दिएको योगिक औषधिको सेवनले मलाई कुनै किसिमको  अप्ठेरो नभइकन नै म कोरोना संक्रमणमुक्त भए। संक्रमणमुक्त हुनसाथ छोरीको बिहे गर्ने संयोग जुर्याे।  त्यता व्यस्त भएँ।  र, त्यसपछि माताजीको स्वर्गारोहणले गर्दा तपाईंलाई फोन गर्न सकिनँ।  धन्यवाद पनि भन्न सकिनँ।  म तपाईंकै योगिक औषधिले निको भए। तपाईंलाई हृदयदेखि नै धन्यवाद छ।’

‘पाठकजी, धन्यवाद भनेर मात्रै पुग्दैन।  तपाईंले मलाई आफ्नो निवासमै बोलाएर एक कप चिया खुवाउनुपर्छ। साथै आफू ठीक भएको कुरा अन्यलाई पनि प्रसारित गरिदिनुपर्छ।’

'स्वामीजी, मैले धेरैजनालाई तपाईंको योगिक औषधिका बारेमा भनिसकेको छु। शीघ्र नै तपाईंलाई आमन्त्रित गर्छु।’
अनि पाठकज्यू, तपाईंले पूर्वराजाको नामबाट प्रसारित भइरहेको सन्देश हेर्नुभएको छ ?

‘मलाई यसबारे धेरै फोन आए।  यो सब धूर्तहरुको चाल हो।’
’अनि तपाईंहरुले यसको खण्डन गर्नु परेन ? ‘साइबर क्राइम’मा उजुरी दिनुपरेन ?’
‘त्यसबारे सल्लाह गरिरहेका छौ।’

पाठकजी क्षमा गर्नुहोला, यो अकर्मण्यताको पराकाष्ठा हो। तपाईंहरु आजसम्म के हेरेर बस्नुभयो।  ज्ञानेन्द्र शाहजस्तो व्यक्तिको नाममा ‘फेक आइडी’ सञ्चालित  हुँदा पनि आजसम्म केही प्रतिक्रिया किन आएन? यसको दोष कसले लिने?
'दोष हाम्रै हो। अब शीघ्र  नै उचित पाइला चाल्नेछौं।’

हेरौ, ज्ञानेन्द्र शाह र उहाँका सचिव अनुचरहरुले  यस प्रसंगमा के–कस्ता पाइला चाल्ने हुन् अथवा पूर्वका भाँती यस प्रसंगमा पनि मौन अख्तियार गरेर भद्रता प्रदर्शित गर्छन्।

मलाई दृढ विश्वास छ– १२ बुँदे सहमतिले अँध्यारो सुरुङमा प्रवेश गरेको मुलुक अब त्यस सुरुङबाट निस्कने चरणमा प्रवेश गरिसकेको छ। शीघ्र नै नेपाल अँध्यारोबाट बाहिर आउनेछ।  अझै यस कार्यमा अनेकौं बाधा विपत्ति आउँछन्।  विधर्मी दलालहरुले देशलाई अनिर्णायको बन्दी बनाई राख्न हजारौं जुगाड लगाउँछन्।  अवश्य नै यस धर्म संग्राममा अति कौतुहल र आनन्दको रस्वादन गर्न पाइन्छ।

Logo