कोभिड-१९ को उत्पत्तिबारे विवाद फेरि सतहमा, खास कुरा के हाे?

कोभिड-१९ को उत्पत्तिबारे विवाद फेरि सतहमा, खास कुरा के हाे?


कोभिड–१९ को उत्पत्ति फेरि चर्चामा आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्लो साता बुधबार कोभिड–१९ को उत्पत्तिबारे नयाँ अनुसन्धानको घोषणा गरेपछि भाइरसको उत्पत्तिबारे विवाद फेरि सतहमा आएको हो। उनले अमेरिकाका जासुसी संस्थाहरूलाई आफ्नो प्रयास दोब्बर बनाई कोभिड–१९ को उत्पत्ति प्राणीबाट भएको हो वा वुहान स्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट भएको हो भन्ने ९० दिनभित्र टुंगो लगाउन आदेश दिएका थिए। 

यस घोषणासँगै सन् २०१९ मा पहिलो पटक चीनको वुहानमा देखा परेको कोरोनाभाइरस त्यहाँको प्रयोगशालाबाट आम मानिसहरूमा सरेको भन्ने अनुमानले पुनः चर्चा पाएको हो। 

डिसेम्बर २०१९ मा वुहानमा देखा परेको भाइरस केही महिनाभित्रै विश्वव्यापी भई संयुक्त राज्य अमेरिकामा जनधनको ठूलो क्षति भएको अवस्थामा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका थिए।

वुहानस्थित प्रयोगशाला कोरोना भाइरसको श्रोत भएको दाबी ट्रम्पले गरेसँगै भाइरसको उत्पत्तिबारे उक्त धारणा चर्चामा आएको थियो। त्यसबेला ट्रम्पको उक्त दाबीलाई नजिकिँदै गरेको चुनावमा जीत सुनिश्चित गर्नका लागि कोभिड–१९ महामारीमा आफ्नो सरकारको कमजोेर भूमिका ढाकछोप गर्ने प्रयास भनी व्याख्या गरिएको थियो। ट्रम्पले चुनाव हारे, तर बाइडेन प्रशासनको घोषणासँगै कोरोना भाइरसको उत्पत्ति सम्बन्धी उनको धारणाले फेरि चर्चा पाउन थालेको छ। 

ट्रम्प प्रशासनमा अमेरिकाको ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन’ का आयुक्त रहेका स्कट गटलिबले वुहानको प्रयोगशालाबाट कोरोना भाइरस उत्पति भएको हो भन्ने दाबी अझ मजबुत भएको बताएका छन्। 

चीनले वुहानको प्रयोगशालाबाट कोरोना भाइरस उत्पत्ति भएको होइन भनेर साबित गर्न नसकेको र वन्यजन्तुबाट कोरोना भाइरसको उत्पतिबारे खोज पनि निस्कर्षहिन भएको अवस्थामा उक्त दाबी झन् मजबुत भएको उनको भनाइ छ। उनी अहिले खोप निर्माता फाइजरको बोर्डमा रहेका छन्। 

अध्ययनहरूले के भन्छन्?
मार्च ३० मा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको कोभिड–१९ सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार कोभिड–१९ संक्रमण गराउने भाइरस सार्स–कोभ–२ सँग मिल्दोजुल्दो कोरोना भाइरसका प्रकार चमेरा र सालकमा भेटिएको भए पनि यी प्राणीबाटै मानिसमा कोभिड–१९ सरेको भन्ने पुष्टि भएको छैन। 

जमाएर राखिएको (फ्रोजन) खानेकुरामा पनि सार्स–कोभ–२ रहन सक्ने र वुहानस्थित ह्युनान बजारमा फ्रोजन खानेकुरा चीनका विभिन्न स्थानहरू र २० देशहरूबाट आउने गरेकाले त्यसबाट पनि संक्रमणको सम्भावना रहेको उक्त अध्ययन बताउँछ। ती प्रान्त र देशहरूबाट पनि फ्रोजन खानेकुरामार्फत् सार्स–कोभ–२ वुहान छिरेको हुन सक्ने बताउँदै चीनले त्यस सम्बन्धी पनि अनुसन्धान आवश्यक रहेको जनाएको छ।

इनभाइरोमेन्टल केमिस्ट्रि लेटर्स’ मा प्रकाशित एक अध्ययनले भने कोभिड–१९ प्राणीहरूबाट मानिसमा सरेको विश्वास गरिँदै आएको भए पनि सार्स–कोभ–२ कोरोना भाइरसका कतिपय गुण त्यस विश्वाससँग मेल नखाने खालको भएको बताएको छ।

साथै वुहानको प्रयोगशालाबाट सार्स–कोभ–२ (कोरोना भाइरस) फैलिनु अति नै कम सम्भाव्य रहेको निष्कर्ष उक्त अध्ययनको रहेको छ। 

नेचर जर्नलमा प्रकाशित क्रिस्टियन एन्डर्सनको अगुवाइमा भएको एक अध्ययनले पनि कोरोना भाइरस प्रयोगशालामा निर्मित वा नियतवश उत्परिवर्तित भाइरस नभएको निष्कर्ष निकालेको छ।

‘इनभाइरोमेन्टल केमिस्ट्रि लेटर्स’ मा प्रकाशित एक अध्ययनले भने कोभिड–१९ प्राणीहरूबाट मानिसमा सरेको विश्वास गरिँदै आएको भए पनि सार्स–कोभ–२ कोरोना भाइरसका कतिपय गुण त्यस विश्वाससँग मेल नखाने खालको भएको बताएको छ। प्रयोगशालाबाट कोरोना भाइरसको उत्पत्तिको सम्भावनालाई गलत साबित गर्न सक्ने तथ्याङ्क भएको अनुसन्धान अहिलेसम्म नभएकाले उक्त सम्भावनालाई नकार्न नहुने उक्त अध्ययनको निष्कर्ष छ। 

यद्यपि, सार्स–कोभ–२ (कोरोना भाइरस) को उत्पत्तिबारे कुनै ठोस निष्कर्ष भने कुनै पनि अध्ययनले निकाल्न सकेको देखिँदैन।    
  
‘उत्पत्तिबारे स्पष्ट नभए कोभिड–२६ र कोभिड–३२ पनि आउँछन्’: वैज्ञानिक
उत्पत्तिबारे स्पष्ट नभएसम्म कोभिड महामारीको समस्या नजाने एक अमेरिकी वैज्ञानिकले बताएका छन्।

‘भाइरस कहाँबाट आयो भन्ने स्पष्ट नभए कोभिड–२६ र कोभिड–३२ पनि आउँछन्,’ अमेरिकी खोप वैज्ञानिक पिटर होटेजले भने, ‘त्यो पत्ता लगाउन वैज्ञानिक, महामारी विशेषज्ञ, भाइरस विशेषज्ञ र चमेराबारे जानकारहरूले वुहानमा ६ महिनादेखि एक वर्षसम्म अनुसन्धान गर्न पाउनुपर्छ।’

चीन भन्छ-‘राजनीतिकरण नगरियोस्’

सोमबार चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले कोभिड–१९ को उत्पतिलाई राजनीतिकरण नगरिदिन आग्रह गरेका छन्। 

‘अमेरिकाले कोभिड–१९ को उत्पत्तिको विषयलाई राजनीतिकरण गरेकाले अन्तर्राष्ट्रिय सहकार्य र महामारीसँग जुध्न र ज्यान बचाउन भइरहेको प्रयासमा बाधा पुर्याएको छ,’ प्रवक्ता वेन्बिनले भने।

‘हामी विवाद र विभाजन ल्याउने खालका जासुसी संस्थाको अनुसन्धानभन्दा वैज्ञानिकहरूको ऐक्यबद्धता र सहकार्य दर्शाउने अनुसन्धानको पक्षमा छौँ,’ बाइडेनले जासुसी संस्थाहरूलाई दिएको आदेशलाई इंगित गर्दै उनले थपे। 

विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकट कार्यक्रमका निर्देशक माइकल रायनले कोभिड–१९ को स्रोत पत्ता लगाउने सम्पूर्ण प्रकृयालाई त्यसमाथि भइरहेको राजनीतिले असर गरेको बताएपछि वेन्बिनले त्यस्तो वक्तव्य दिएका हुन्।

बाइडेनले राष्ट्रपति हुनुअघि अक्टोबर २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई इंगित गर्दै कोरोना भाइरस राजनैतिक हतियार नभई एक भाइरस भएको बताएका थिए। तर, बाइडेनले अहिले कोभिड–१९ को उत्पति सम्बन्धी नयाँ अनुसन्धान घोषणा गरेसँगै त्यस विषयलाई फेरि राजनीतिकरण गर्न खोजिएको चीनको धारणा छ।

Logo