के राजनीतिक दलबिनाको लोकतन्त्र सम्भव छ?

के राजनीतिक दलबिनाको लोकतन्त्र सम्भव छ?


अमेरिकी राष्ट्रपति जर्ज वाशिंगटनले राजनीतिक दलहरूले जनताको शक्ति निस्तेज गर्न धुर्त, महत्वाकांक्षी, र सिद्धान्तहिन मानिसहरूलाई सहयोग गरेको भनी आलोचना गरेका थिए।
उनको आलोचना अहिले अमेरिकी कंग्रेसका १४७ रिपब्लिकन सदस्यहरूले राष्ट्रपतीय निर्वाचनको परिणामलाई चुनौती दिएपछि सान्दर्भिक भएको छ। तर, यसभन्दा अगाडिदेखि नै वाशिंगटनको जस्तै दलहरूप्रति आपत्ति केहि मानिसहरूले प्रकट गर्दै आएका थिए।

डेमोक्रेटिक र रिपब्लिकन गरी अमेरिकाका दुवै मुख्य राजनीतिक दलहरूले जनताको प्रतिनिधित्व गर्न नसकेको र एलिट (सम्भ्रान्त)हरूको कब्जामा रहेको भन्ने आलोचना भइरहँदा दलहरूको लोकप्रियता तल्लोस्तरमा खस्केको स्पष्ट छ। सन् २०१८ मा ३८ प्रतिशत अमेरिकी मतदाताले आफू कुनै पनि दलसँग सम्बन्धित नरहेको बताएका थिए। त्यस्तै आफूलाई डेमोक्रेटिक र रिपब्लिकन दलसँग पहिचान गर्नेभन्दा कुनै पनि राजनीतिक दलसँग पहिचान गर्न नरूचाउनेको अनुपात बढी छ।

यो अमेरिका मात्रै नभई संसारभर देखिएको प्रवृत्ति हो। उदाहरणका लागि युरोपमा शक्तिशाली रहँदै आएका मध्य–बाम दलहरूले मतदातालाई धोका दिएको भन्ने आरोप लाग्न थालेको छ। सम्भवतः यसैकारण संयुक्त अधिराज्य युरोपियन युनियनबाट टाढा भएको हो। 

राजनीतिक दलहरूप्रति बढ्दै गएको यस किसिमको वितृष्णाले राजनीतिशास्त्रका विज्ञहरूबीच एक किसिमको बहस सिर्जना गरेको छ। दलीय व्यवस्थाका पक्षधर विज्ञहरूले बलियो, संगठित र विश्वसनीय राजनीतिक समूहहरूमाथि लोकतन्त्र निर्भर रहने तर्क गर्छन्। राजनीतिक दलहरूले सामना गर्दै आएका चुनौतीहरूबारे अध्ययन गरिरहेकी हार्वड विश्वविद्यालयकी राजनीतिशास्त्री नेन्सी रोजेनब्लम भन्छिन्–‘राजनीतिमा लागेकाहरू जनतासम्म पुग्न चाहन्छन्। तर, दलहरूबिना हामी लथालिङ्ग हुन्छौँ।’

यद्यपि, युवा राजनीतिशास्त्रीहरू भने दलहरू र नेताहरूको कम हस्तक्षेपसहितको ‘खुल्ला र प्रत्यक्ष’ लोकतन्त्रको परिकल्पना गर्ने समय आएको बताउँछन्। 

येल विश्वविद्यालयकी राजनीतिशास्त्री हेलेन ल्यान्डेमोरका अनुसार यस किसिमका प्रस्तावहरूलाई केहि दशक अघिसम्म खासै महत्वका साथ हेरिँदैनथ्यो। तर, सन् २००८ को आर्थिक संकट र सन् २०१६ मा डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतिय चुनावमा विजयले यस विषयमा बहसको बाटो खोलेको उनको ठम्याइ छ।

संयुक्त राज्य अमेरिकामा घट्ने क्रममा रहेको राजनीतिक दलहरूको लोकप्रियता र प्रभावलाई झन् घटाउन नयाँ घटनाक्रमहरूले भूमिका खेलेका छन्। अमेरिकी दलहरूले आफ्ना कार्यकर्तालाई सरकारी जागिरले पुरस्कृत गर्ने व्यवस्थालाई अब्बलतामा आधारित व्यवस्थाले विस्थापित गरिसकेको छ। स्वतन्त्र राजनीतिक कार्यगत समूहहरूको उदयका कारण चुनावी प्रतिस्पर्धीहरूलाई दलगत संरचनाभन्दा बाहिरबाट चन्दा प्राप्त गर्न सहज भएको छ। पछिल्लो दशकमा मात्र त्यस्तो खालको चन्दा ४.५ अर्ब अमेरिकी डलर रहेको थियो। यसका कारण चुनावी प्रतिस्पर्धीहरू दलभित्रको संरचनाप्रति कम निर्भर हुन थालेका छन्। 

अर्को कुरा, दलका भित्री सदस्यहरूले नभई प्राइमरी इलेक्सन (दलभित्र नै प्रतिस्पर्धा) गराएर चुनावी प्रतिनिधि छान्ने परपाटि पनि बसेको छ। सन् १९६८ मा १७ वटा प्राइमरी हुन्थे, त्यस किसिमको परिपाटि अहिले लगभग हरेक राज्यमा छ। प्राइमरी इलेक्सनको परिपाटिलाई सर्वव्यापीरूपमा अवलम्बन गरेपछि दलका पुराना र चल्तीका नेताहरूसँग रहेको पकड अझ अतिवादी अभियन्ताहरूमा स्थानान्तरण भएको येल विश्वविद्यालयकी राजनीतिशास्त्री इयन सपिरोले बताएका छन्। सन् २०१८ मा डेमोक्रेटिक नेशनल कमिटि (डिएनसी) ले चुनावी प्रतिस्पर्धीको चयनमा मतदान गर्ने ‘सुपरडेलिगेट’ नाम दिइएका प्रतिनीधिहरूको संख्या नै कटौती गर्याे। डेमोक्रेटिक दलका पदाधिकारीहरूले जनताको कुरा सुन्दैछन् भन्ने स्पष्ट पार्न त्यस्तो कदम लिइएको डिएनसीका उपाध्यक्षले त्यस बखत बताएका थिए।

संयुक्त राज्य अमेरिकाका विभिन्न भागहरूमा दलहरूले आफूलाई फाइदा हुने गरी निर्वाचन क्षेत्रमा परिवर्तन ल्याउने गरेकाले चुनावी प्रतिस्पर्धीहरूको प्रतिनिधित्व कमजोर भएको छ। यसकारण चुनाव अघि नै एकै दलका नेताहरूलाई प्रतिस्पर्धा गराउने प्राइमरीले नै वास्तवमा चुनावी बिजेताको निक्र्यौल गरिसकेको हुन्छ। सपिरोका अनुसार यस किसिमको प्रवृत्तिकै कारण कहिल्यै निर्वाचित पदमा नरहेकी र आफूलाई ‘लोकतान्त्रिक समाजवादी’ भन्ने २८ वर्षीया एलेक्जेन्ड्रिया ओकासियो–कर्टेज सन् २०१८ को चुनावमा विजयी भएकी हुन्। १२ प्रतिशत भन्दा कम मत खसेको प्राइमरीमा डेमोक्रेटिक दलको संस्थापन पक्षका सदस्यलाई हराउन ओकासियो–कर्टेज सफल भएकी थिइन्। 

राजनीतिक दल पहिलाभन्दा कमजोर भएका छन् भन्ने कुरामा विमति जनाउनेहरू पनि छन्। रोजेनब्लमका अनुसार अहिले मतदाताहरूमा देखिएको ध्रुवीकरण (दलहरूबीचको सैद्धान्तिक दुरीमा वृद्धि) ले आम मानिसलाई आफू आबद्ध रहेको दलप्रति झन् प्रतिबद्ध बनाएको छ भने दलहरूको नेतृत्वमा हुने मतदाता दमन वा मतदाता परिचालनको प्रयासले दलका नेतालाई अझ बढी शक्तिशाली बनाएका छन्। 

यद्यपि, दलहरूले आफ्नो प्रभाव ठूलो मात्रामा गुमाएकाले समग्रमा लोकतन्त्र कमजाेर हुँदै गएको विश्वास सपिरो लगायत अन्य विज्ञहरूको रहेको छ।

‘लोकतान्त्रिक उत्तरदायित्वका लागि राजनीतिक दलहरू मुख्य संस्था हुन् किनभने सार्वजनिक हितका लागि प्रतिस्पर्धी अवधारणाहरू दललाई समर्थन गर्ने र बनाउने मानिसहरूले नभई उनीहरूको दलले ल्याउन सक्छन्,’ सपिरो र येल विश्वविद्यालयस्थित उनका सहकर्मी फ्रान्सिस रोजेनब्लथ लेख्छन्। कुनै पनि नीतिको फाइदा र फाइदाबारे अनुसन्धान गरी आफ्नो व्यक्तिगत चाहनालाई बहुमतको दीर्घकालीन हितसँग दाँज्ने समय र क्षमता मतदाताहरूसँग नहुने उनीहरूको बुझाइ छ।

सन् १९७८ मा क्यालिफोर्नियामा जनताको मतदानमार्फत सम्पत्ति कर बढाउन रोक लगाउने निर्णय भएको थियो। सुरुमा राम्रै देखिए पनि केहि वर्षपछि स्थानीय बजेटमा उक्त निर्णयले यस्तो भारी गिरावट ल्यायो कि क्यालिफोर्नियाको प्रतिबालक स्कुल खर्च अहिले ५० राज्यकै सबैभन्दा कममध्ये पर्छ। यस घटनालाई औँल्याउँदै सपिरो र रोजेनब्लथ दलको अग्रसरताबिना एक विषयलाई लिएर मतदान गराउँदा राम्रो नतिजा नआउने तर्क गर्छन्।

‘विपक्षी पार्टी अनाधिकारिक रहेको तर्क हिजोआज खुल्लमखुल्ला हुने गरेको छ,’ रोजेनब्लम भन्छन्। ‘ट्रम्प डेमोक्रेटहरूलाई जनताका शत्रु भएको र अनाधिकारिक भएको आरोप लगाउँछन्। यो हिंसाको बाटो हो जसलाई मतदानबाट समाधान गर्न सकिँदैन।’

लचकता (कम्प्रमाइज) को वातावरण सिर्जना गर्ने जस्ता महत्वपूर्ण भूमिकाहरू दलले निभाउन सक्ने ठहर डार्थमाउथ विश्वविद्यालयका राजनीतिशास्त्री रसेल मुयरहेडको रहेको छ। अमेरिकाका दुई मुख्य दलले लगभग हरेक पाँच वर्षमा बहस गर्ने युएस फार्म बिल (अमेरिकी कृषि विधेयक)लाई मुयरहेड उदाहरणका रूपमा प्रस्तुत गर्छन्। ‘बहसमा बसेपछि प्रायजसो डेमोक्रेटहरू सहरी जनसंख्यालाई खाद्य सहयोग दिनुपर्ने कुरा राख्छन् भने रिपब्लिकनहरू किसानलाई आवश्यक सहयोगको मुद्दा उठाउँछन्। र, जसोतसो उनीहरू सधैँ सहमतिमा आउँछन्,’ मुयरहेड बताउँछन्, ‘त्यस पद्धतिको विकल्प भनेको कि त एक पक्षलाई मात्र पोस्नु हो, कि त केहि पनि नगर्नु हो।’

अमेरिकाका दुई मुख्य दलहरूले परम्परागत रूपमा एकअर्काको आधिकारिकता पहिचान गर्न सहकार्य गर्दै आएको रोजेनब्लम र मुयरहेड लेख्छन्। थाइल्यान्ड, टर्की र जर्मनी लगायत राष्ट्रहरूले आफ्नो लोकतन्त्रलाई अस्थिर बनाउने दलहहरूमाथि प्रतिबन्ध लगाएको इतिहास छ। अमेरिकी दलहहरूले भने सहकार्यमार्फत् उनीहरूको मतदातालाई आज नजिते भोलि जितिन्छ भन्ने सन्देश दिन सफल भएका छन्। तर, केही नेताहरूले विपक्षीलाई राजद्रोहको आरोप लगाउँदै गर्दा सहकार्य गर्ने आधारभूत प्रवृत्ति टुट्ने क्रममा रहेको रोजेनब्ल्म, मुयरहेड र अरू बताउँछन्। 

‘विपक्षी पार्टी अनाधिकारिक रहेको तर्क हिजोआज खुल्लमखुल्ला हुने गरेको छ,’ रोजेनब्लम भन्छन्। ‘ट्रम्प डेमोक्रेटहरूलाई जनताका शत्रु भएको र अनाधिकारिक भएको आरोप लगाउँछन्। यो हिंसाको बाटो हो जसलाई मतदानबाट समाधान गर्न सकिँदैन।’

राजनीतिक दलहरूले विश्वभर नै साथ र प्रभाव गुमाएको सपिरो स्वीकार गर्छन्। तर, दलहरूमाथि प्रतिबन्ध गर्ने वा उनीहरूलाई निस्तेज गर्ने भन्दा सशक्त र जवाफदेही बनाउनेमा ध्यान जानुपर्ने उनी बताउँछन्। सजिलो नभए पनि अहिले चुनावी प्रतिस्पर्धीको बफादारिता खरीद गर्नका लागि हुने चन्दासहयोगको प्रतिस्पर्धा रोक्न चन्दा संकलनको परम्परामा सुधार ल्याउने प्रयत्न गर्नु पर्छ भन्ने धारणा सपिरो र उनका सहकर्मीहरूको रहेको छ। अतिवादी प्रवृत्तिलाई रोक्न चुनाव क्षेत्र परिमार्जनको जिम्मा कुनै निस्पक्ष निकायलाई दिनुपर्ने उनीहरू बताउँछन्। 

पार्टीभित्रै चुनाव गराएर मुख्य चुनावका लागि प्रतिस्पर्धी छानिने प्राइमरी इलेक्सनका कारण हुने ध्रुवीकरणको खतराबाट बच्न प्राइमरीमा अघिल्लो आम निर्वाचनको ७५ प्रतिशतभन्दा कम मतदान भएमा दलका नेताहरूलाई प्रतिस्पर्धी छान्ने अधिकार दिनुपर्ने उनीहरू प्रस्ताव गर्छन्। 

सपिरो समूहको विचारधाराले वर्तमानमा रहेको दुविधाको समस्यालाई सम्बोधन नगर्ने ठहर ल्यान्डेमोर र उनको पक्षको छ। राजनीतिक दलहरूप्रति न्युन वा शुन्य निर्भरतासहित र खर्चालु र भ्रष्टिकरण गर्ने खालको राजनीतिक अभियानबिना लोकतन्त्र कसरी सञ्चालन हुन सक्छ भन्ने कल्पना गर्न उनी सुझाउँछिन्। अहिले न्याय प्रक्रियामा ज्युरी छानिए जसरी नै सरकार सञ्चालनका लागि पनि कुनै पुर्वानुमानबिना (गोलाप्रथा जसरी) मानिसहरू छनौट गर्न सकिने उनको तर्क छ। 

त्यसरी केहिको छनौटसँगै केहिको विदाइ हुनेगरी स्थायी ‘जनताको सदन’ सञ्चालन गर्न सकिने उनी बताउँछिन्। यसरी छानिएका मानिसहरूले गर्ने जनताको प्रतिनिधित्व अहिले अमेरिकाको कंग्रेस (संसदमा) रहेका मानिसहरूले गर्ने प्रतिनिधित्वभन्दा प्रभावकारी हुने तर्क रुटजर्स विश्वविद्यालयका दार्शनिक एलेब्जेन्डर गुरेरोले २०१९ मा एक लेखमार्फत् गरेका थिए। गोलाप्रथाबाट त्यस्ता प्रतिनिधि छनौट गर्दा उत्तम हुने पनि उनले सुझाएका थिए। 

दलहरूले आफ्नो प्रभाव ठूलो मात्रामा गुमाएकाले समग्रमा लोकतन्त्र कमजाेर हुँदै गएको विश्वास सपिरो लगायत अन्य विज्ञहरूको रहेको छ।

‘अमेरिकाका ५३५ सांसदमध्ये १४० को व्यक्तिगत सम्पत्ति २० लाख अमेरिकी डलरभन्दा बढी छ। त्यस्तै ७८ प्रतिशत पुरुष छन्, ५३ प्रतिशत गोरा छन् र ५० प्रतिशतभन्दा बढी सांसद हुनुपूर्व वकिल या व्यापारी थिए,’ उनी लेख्छन्।

केहि युरोपेली राष्ट्रहरूमा दल नियन्त्रित लोकतन्त्रका केहि विकल्पहरू प्रयोगमा आएको पनि इतिहास छ। फ्रान्समा सन् २०१९–२० मा ग्रीनहाउस ग्याँसहरूको प्रभाव कम गर्नका लागि सामाजिक न्यायसहितका उपायहरू निक्र्यौल गर्न १५० जना नागरिकलाई बिना कुनै पूर्वनिर्धारण चयन गरेर ‘जलवायुसम्बन्धी नागरिक सम्मेलन’ आयोजना गरिएको थियो। डिसेम्बर २०२० मा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले उक्त सम्मेलनका सुझावहरूमध्ये ‘राष्ट्रको संविधानमा जलवायु सुरक्षालाई समावेश गनिुपर्छ’ भन्ने सुझावमाथि जनमत संग्रह गरिने बताएका थिए।

त्यस्तै सन् २०१६ मा आयरल्यान्डको संसदले ९९ जना नागरिकबीच भ्रुणहत्यामाथि संवैधानिक प्रतिबन्ध जस्ता जटिल विषयबारे छलफल गराएको थियो। त्यसरी जम्मा भएका मानिसहरूको बहुमतले त्यस्तो प्रतिबन्ध खारेज गर्नुपर्ने निष्कर्ष निकालेपछि जनमत संग्रह गर्दा त्यसै निर्णय अनुरुपको नतिजा आई कानूनमा परिवर्तन ल्याइयो। यो प्रक्रिया स्थापित राजनीतिक दलहरूको संलग्नताबिना नै सम्पन्न भयो। 

यस्ता फाट्टफुट्ट प्रयासहरूको प्रभाव सीमित भएता पनि जनताको विचारले दिशा भने परिर्वतन गरिरहेको ल्यान्डेमोर बताउँछिन्। उनका अनुसार पाँच वर्षअघि एक राजनीतिशास्त्र सम्बन्धी कार्यक्रममा उनले ‘खुल्ला लोकतन्त्र’ बारे बोल्दा उनको कुरालाई उनका सहकर्मीले उडाएका थिए। उनी भन्छिन्–‘मलाई लाग्छ यो अवधारणा अबको पाँच वर्षमा मूलधारमा स्थापित हुनेछ।’

(नोएबल म्यागजिनमा प्रकाशित क्याथरिन एलिसनको यो लेख केन्द्रविन्दुका लागि कुशल बस्नेतले अनुवाद गरेका हुन्।)

Skip This
Logo