दलित र नेवार समाजबीचको द्वन्द्व

दलित र नेवार समाजबीचको द्वन्द्व


नेपालमा मानव अधिकारको अवस्था कति दयनीय छ भन्ने यथार्थ पत्रकार रुपा सुनुवारद्वारा बबरमहलका घरबेटी सरस्वती प्रधानविरुद्ध गरिएको ‘स्टिङ अपरेसन’ले छर्लङ्ग पारेको छ।

रुपा सुनुवारले ‘स्टिङ अपरेसन’ मात्रै गरिनन्, सरस्वती प्रधानमाथि जातिगत भेदभावको आधारमा कोठा भाडामा नदिएको भनी मुलुकी फौजदारी ऐन अनुसार प्रहरी  कार्यालयमा उजुरी दिएर उनलाई थुनाइन् पनि। जुन कार्य नेपाली समाजमा निकै चर्चाको विषय बनेको छ।

दलित अधिकारकर्मी रुपा सुनारको यस कार्यको समर्थन गर्दै डा. बाबुराम भट्टराई, विश्वप्रकाश शर्मालगायतका राजनीतिक व्यक्तित्वहरू दलितमाथिको असमान व्यवहार भनी दलित समाजको पक्षमा उभिएका छन् भने नेवार समाजका कतिपय व्यक्तिहरू उमेरमा आमाजस्ती सरस्वती प्रधानलाई थुनाएकी भनी रुपा सुनारको विरोधमा देखिएका छन्।

सरस्वती प्रधानको विरोध गर्दै पूर्वाग्रही जातीय सोच भएका मातिएका नेवारलाई राजधानी सारेर तह लगाउनुपर्छ भन्ने खालका पोष्टहरू पनि सामाजिक सञ्जालमा देखिएका छन्। अर्कोतर्फ, बहालमा नराखेकैमा जेल हाले भने बहाल बसेपछि के–के काम गर्लान्? बहाल राख्ने/नराख्ने घरबेटीको मर्जी हो भनी उनको विपक्षमा पनि प्रतिक्रिया देखिएका छन्।

सरस्वती प्रधानलाई जेल हालेपछि रुपा सुनारको तर्क छ–‘घरभाडाको कुरा छिनेपछि आफूले कामीकी छोरी हुँभन्दा सरस्वती प्रधानले घरमा अरु सदस्यसँग सोधेर जवाफ दिउँला भनी फर्काएको तर पछि सासुले मानिनन् भन्दै घर भाडामा दिन इन्कार गरिन्, जुन जातिगत विभेद हो।’

रुपाको समर्थनमा देवबहादुर सुनार फेसबुकमा लेख्छन्– ‘बुढीआमा बहाना मात्रै हो।’ तर, पाँच वर्षदेखि सरस्वती प्रधानको घरमा भाडामा बसेका अजय साह शिवानी भन्छन्, ‘करिब पाँच वर्ष सरस्वती प्रधानको घरमा बसेको अनुभवको आधारमा भन्छु, उहाँले जातीय विभेद गरेको मेरो मनले मान्दैन। उहाँले मुसलमानमाथि पनि भेदभाव गर्नुभएको छैन।’

विवादले उग्ररुप लिएर सोझी नेवार्नीमाथि अन्याय भएको जनाउँदै धर्ना सुरु हुन थालेपछि सरस्वती प्रधानलाई प्रहरीले रिहा गरेको छ। रिहाइ गर्दा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैंले सरकारी गाडीमा राखेर घरबेटी सरस्वती प्रधानलाई घरमा पुर्याइदिएका थिए।

सरस्वती प्रधानको विरोध गर्दै पूर्वाग्रही जातीय सोच भएका मातिएका नेवारलाई राजधानी सारेर तह लगाउनुपर्छ भन्ने खालका पोष्टहरू पनि सामाजिक सञ्जालमा देखिएका छन्। 

‘मन्त्रीले गरेको कुरा अपेक्षित नै थियो,’ रुपा सुनारको व्यंग्यात्मक प्रतिक्रिया थियो। वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीको ठम्याइ छ–‘पकड्नु गलत हो, छाड्ने प्रक्रिया पुगेन।’

यति ठूलो विवाद र गिरफ्तारीपछि पनि मानवअधिकार आयोग घरबेटीको अधिकार कति तथा दलित घरभाडेदार वा कोठा खोज्नेको अधिकार कति भन्नेबारे अझै मौन छ।

बुद्धिजीवी चन्द्र त्रिपाठी फेसबुकमा लेख्छन्, ‘नेपाली समाजले दलित भनेको बुझ्दैनन्। नेपाली समाजमा जातिगत विभेद छ, अझ दलितहरूबीच आ–आफैंमा पनि विभेद पाइन्छ। नेवार समाजमा पनि जातिगत विभेद छ, तर दलित र सवर्णको विभाजन भने छैन। दलित र सवर्णको विभाजन नेवार समाजमा जंगबहादुर राणाको मुलुकी ऐनले जवर्जस्ती भित्र्याएको हो। त्यसभन्दा अघि नेवार समाजमा उचनीचको विभेद कर्मकाण्डीय धार्मिक–सांस्कृतिक विधिविधान गरिँदा भने प्रष्ट हुन्थ्यो, जुन हालसम्म पनि चलेकै छ। 

धार्मिक सांस्कृतिक विधान गरिँदा नेवार समाजमा कहिले पुरोहित कहिले राजा वा कहिले द्यःला (पोडे) जातिका व्यक्तिको उच्चता कायम भएको देखिन्छ। कीर्तिपुरको बिष्णुदेवी जात्रामा  द्यःला जातिका व्यक्तिलाई सबैभन्दा माथि राखेर जात्रामा सहभोजन गरिने परम्परा छ। अरू जातकाहरू त्यसपछिको स्थान ग्रहण गर्दछन्। त्यस अघि बस्न पाउँदैनन्। पशुपतिको  देशोद्धार जात्रामा खड्गी जातिका व्यक्तिको हातबाट चारैवर्णका नेवारहरूले सगुन–प्रसाद ग्रहण गर्दछन्।

काठमाडौंको बाह्रवर्षे सम्यक महादान पर्वमा राजालाई वोधिसत्व देवतासरह मानेर पुरोहित खलकले पूजा गर्नुपर्ने विधान छ। यसकै कारणले नेवार समाजमा आ–आफ्ना किसिमका ठ्याहा (चल्ने) र मठ्याहा (नचल्ने) को परम्परा बनेको छ। नेवार समाजको यस संरचना तथा व्यवहार पक्षलाई दलित अधिकारकर्मीहरुले पनि बुझ्न जरुरी भएको छ। कुनै पनि समाजसँग अन्तक्र्रिया गर्दा कानुनी पक्षले मात्रै हेर्नु अन्धो हेराइ हुनसक्छ। 

सरस्वती प्रधानलाई रुपा सुनारले राम्ररी बुझ्न नसक्नु ती दुई समाजको मातृभाषाको समस्याका रूपमा पनि देखिएको छ। रुपाको मातृभाषा नेपाली हो भने सरस्वतीको नेवार भाषा हो। सरस्वती प्रधानले फोनको अन्त्यमा भनेकी छन्, ‘नरिसाउनु है। अर्की मान्छे छ भने पठाउनु होला। आउँदै गर्नु होला।’ उनले दुई–तीन पटक ‘नरिसाउनुस् है,’ भनेकी छन्। यसको नेवारी अभिव्यक्तिमा अर्थ  हुन्छ– मैले माफी माग्छु, नरिसाउनुस् है। यो कुरा नेपालीभाषी रुपा सुनारले बुझ्नै सकिनन्। उनले अर्की मान्छे छ भने पठाउनु होला भन्ने अर्थ मात्र बुझिन्, माफी दिइनन्।

जे भए पनि नेवार समाजका नयाँ पुस्ताका वर्षा श्रेष्ठले आफ्नो समाजको बिडम्वनामाथि व्यंग्य गर्दै फेसबुकमा स्ट्याटस लेखेकी छन्– ‘म विभेद मान्दिनँ, तर मेरो घरमा अरूलाई कोठा भाडामा दिए पनि दलितलाई राख्ने/नराख्ने मेरो मर्जी।’ यसले आगामी पुस्ताको नेवार समाज बदलिँदैछ भन्ने आशा पलाउँछ। यसलाई सम्हाल्ने दायित्व दलित समाजका मानव अधिकारकर्मीको पनि हो।

Logo