सन्दर्भ धान दिवसः हामी आफ्नै चामल आयात गर्दैछौँ

सन्दर्भ धान दिवसः हामी आफ्नै चामल आयात गर्दैछौँ


धान खेतीका लागि प्रयोग हुने जमिनको क्षेत्रफल झिनो अनुपातमा भए पनि बढ्ने क्रममा रहेको छ। नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधी अध्ययन रिपोर्ट’ का अनुसार २०७६/७७ मा धान लगाइएको जमिनको क्षेत्रफल ०.५ प्रतिशतले बढेको थियो। 

त्यस्तै २०७५/७६ मा भने २.५ प्रतिशतले धान बालीको क्षेत्रफल बढेको थियो। हाल समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै ३०.९ प्रतिशत रहेको छ। त्यस्तै धानको उत्पादन बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। २०७७/७८ मा त्यस्तो उत्पादन १.२ प्रतिशतले बढेर ५६ लाख २१ हजार मेट्रिक टन पुगेको छ। 

यी तथ्यांक हेर्दा कृषि उत्पादन बढाउने सरकारको नीति केही हदसम्म सफल भएको मान्न सकिन्छ। तर, यसरी उत्पादन बढ्दा पनि नेपालमा धानजन्य सामग्रीको आयात भने बढ्दो छ। 

चालु आर्थिक वर्षको ११ महिनामा धान र धानजन्य सामग्री (मिलमा प्रशोधित चामल, कनिका, चिउरा, भुजा आदि) को आयात १२ लाख ६६ हजार मेट्रिक टन रहन गयो। अघिल्लो आर्थिक वर्षको सोही अवधीमा त्यस्ता सामग्रीको आयात ४ लाख २३ हजार मेट्रिक टन मात्र रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ। यसरी एकै वर्षमा ३ गुणाको वृद्धि अस्वाभाविक छ। 

अर्कोतर्फ भन्सार विभागको तथ्यांक हेर्ने हो भने नेपालको धान निर्यातमा पनि उल्लेख्य वृद्धि भएको पाइँदैन।      

नेपालले गर्ने धान, चामल आयात कम गर्नका लागि अहिले पनि उत्पादन वृद्धि गर्नु पर्ने बताइँदैछ। यद्यपि, समग्रमा धानको उत्पादन वृद्धि गर्नुपर्छ भन्ने रटानले मात्रै नेपालमा आयात रोकिने अवस्था छैन किनभने यो विषय उत्पादनमात्र नभई उपभोगसँग पनि जोडिएको छ।

नेपालमा धानखेतीको लागि मुख्य क्षेत्र तराई हो। माग मसिनो धानको बढी भए पनि तराईमा धानखेती गर्ने किसानहरू मोटो धान लगाउन चाहन्छन् किनकी यसको उत्पादन अरूको तुलनामा बढी हुन्छ।

अहिलेको समयमा नेपालमा तीन प्रकारका चामल खपत हुन्छन्। पहिलो प्रकारमा उपभोक्ताद्वारा कम गुणस्तरको मानिने मोटो चामल, दोस्रोमा मध्यम गुणस्तरको मानिने मसिनो चामल, र तेस्रोमा उच्च गुणस्तरको मानिने बास्मति लगायत चामल पर्दछन्। यी मध्ये नेपालीहरूको रुची मसिनो चामलप्रति बढ्दो छ जुन मध्यम वर्गीय नेपालीको गच्छेभित्र पर्छ। मुख्यतः क्रय क्षमतामा भएको वृद्धिका कारण पनि नेपालीहरू मसिनो धानप्रति आकर्षित भएका हुन्। 

नेपालमा धानखेतीको लागि मुख्य क्षेत्र तराई हो। माग मसिनो धानको बढी भए पनि तराईमा धानखेती गर्ने किसानहरू मोटो धान लगाउन चाहन्छन् किनकी यसको उत्पादन अरूको तुलनामा बढी हुन्छ। तर, मसिनो धानप्रति मानिसहरूको आकर्षण बढ्दै गर्दा किसानहरूको रोजाइमा पर्ने गरेको मोटो धान के हुँदैछ त? 

तराईका किसानहरूले लगाउँदै आएको तर माग कम हुँदै गएको मोटो धान भारत जान्छ। सीमापारका कतिपय व्यापारीहरूले त उत्पादन हुनु अघि नै तराईका किसानहरूको धान खरिद गरिसकेका हुन्छन् जुन वैध–अवैध तरिकाले भारत पुग्छ। तसर्थ भारत निकासी हुने धानको मात्रा आधिकारिक तथ्यांकले देखाएभन्दा बढी नै हुनुपर्छ। तर, भारतका व्यापारीले किन नेपालका किसानको मोटो धान किन्छन् त? यसरी नेपालबाट लगिएको मोटो धान भारतमा खपत हुनुभन्दा पनि नेपाल नै फर्किएर आउँछ, नेपाली उपभोक्ताको प्रिय मसिनो चामल र अन्य प्रशोधित सामग्री बनेर। 

भारतबाट नेपालमा आयात हुने मसिनो चामल मा मोटो चामल मिसिएको पाइन्छ। त्यो अरू काहिँको नभई नेपालकै हो। नेपालबाट लगिएको मोटो धान भारतमा नेपालको बोर्डर छेउछाउका मिलहरूमा प्रशोधन गरेर भण्डारण गरिन्छ। नेपालमा माग भएको मसिनो चामलसँग मिसाएर त्यसलाई नेपालमै पठाउने मिलहरू उत्तरी भारतमा धेरै छन्। यसरी उपभोक्ता र किसानहरूको प्राथमिकताबीचको भिन्नताले पनि आयात वृद्धिमा उल्लेख्य भूमिका खेलेको छ।

उत्पादन भइरहेको धान भारत गएर चामल बनी नेपालमै फर्कंदा हामीले महँगो मूल्य चुकाइरहेका हुन्छौँ। देशभित्रै उत्पादन भएको चामल घुमीफिरी रिप्याकेजिङ भएर हामीकहाँ नै आइपुग्नु हाम्रो कृषि अर्थतन्त्रको ठूलो समस्या भएपनि यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारे ठोस नीति अहिलेसम्म बन्न सकेको छैन। कृषि नीतिले उत्पादन वृद्धिमा विशेष जोड दिएको भएपनि माग कस्तो छ र कस्तो उत्पादन गर्ने भन्ने स्पष्टसँग निक्र्यौल हुन नसकेकाले हामी हाम्रै धान आयात गर्दैछौँ।

(कृषि अर्थशास्त्री श्रेष्ठसँग केन्द्रविन्दुका कुशल बस्नेतले गरेको कुराकानीमा आधारित)    

Logo