देउवाले विश्वासको मत लिएपछि मात्रै मोदीको शुभकामना!

देउवाले विश्वासको मत लिएपछि मात्रै मोदीको शुभकामना!


‘कुशल शासकलाई देश र भविष्यको चिन्ता हुन्छ भने कुटिल राजनीति गर्ने नेतालाई चुनावको चिन्ता हुन्छ।’

अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले निकै वर्ष पहिले भनेको कुरा आज पनि दक्षिण एसियाली देश नेपालका कुटिल नेताहरूको चरित्र चित्रण गर्ने आदर्श वाक्य हुन पुगेको छ।

सत्ताको खेलकुदमा दौडिरहेका राजनीतिक दल र प्रतिपक्ष कसैलाई पनि देश र भविष्यको चिन्ता छैन। सत्ता कसरी टिकाउने र आगामी चुनावमा के होला भन्ने चिन्ताले मात्र सताएको छ।

देशको राजनीतिमा खिचडी पकाएजस्तो सिद्धान्त, विचार र आदर्शभन्दा पनि सत्ताको चास्नीका लागि राजनीति खेल भइरहेको छ। जनताले मत दिएका नेताहरू गुट र फुटको खेलमा छन्।

कम्युनिष्ट सिद्वान्त बोकेका एमाले–माओवादीको मिलनमा बनेको नेकपालाई न्यायमूर्तिले छुट्टाभिन्ना गरिदिएपछि सत्ताका लागि ‘कचाैरा’ थापेर भिख माग्दैं सत्ता चलाउन खोजेका केपी शर्मा ओली सत्ता बर्हिगमनमा परे। जनताले प्रतिपक्ष भनेर मत दिएका नेपाली काङ्गेसका सभापति शेरबहादुर देउवाले सत्ताको जिम्मेवारी पाएका छन्। सत्ताको टाउको देउवा र हात र शरीरका अङ्गहरु कम्युनिष्ट सिद्वान्तका माओवादी, एमाले र गुटफूटको राजनीतिको एउटा सानो कित्ता समाजवादी पार्टी नेताको आडमा देउवा शुक्रबार बिहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका छन्।

ज्योतिषशास्त्र र ज्योतिषीहरुको सल्लाहअनुसार काम गर्न खोज्ने प्रधानमन्त्री देउवाले शुक्रबार बिहान अभिजित मुहूर्तको समय पारेर बालुवाटार प्रवेश गर्न खोजेका हुन्। उनले रोजेको समयचाहिँ बलवान नैं छ ।

जनादेशले त देउवालाई प्रतिपक्षमा बस्न भने पनि समय बलवान भएपछि के लाग्छ? बेला–बेलामा हुने राजनीतिक खेलमा जनादेश पाएका नेकपा र सत्ता चलाइरहेका नेतृत्वको दम्भ र घमण्डका कारण देउवाले सत्ताको बाजी मारे।

नेपाली राजनीतिका खेलाडीको शत्रु र मित्रु दुवै छैनन्। सत्ताका लागि सिद्धान्त, आदर्श केही पनि नभएपछि  यस्तै हुन्छ। वर्तमान नेपालको राजनीतिक परिदृश्यले यही भन्छ। एउटै घरमा बसेर फरक–फरक सपना देख्न थालेपछि नियमअनुसार अलग हुनु स्वभाविक हो। अबको करिब १७ महिनापछि हुने आमनिर्वाचनभन्दा पहिले सबै राजनीतिक दललाई देशको भविष्य, नागरिकको चिन्ता र देशको समृद्धि होइन, सबै दल र सबै नेतालाई सत्ता र चुनावमा चुनेर कसरी सिंहदरबारभित्र बन्दै गरेको संसद् भवनभित्र पुग्ने भन्ने चिन्ता छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै ४१ महिना राज्य चलाउँदा सधैं किचलो र विवादका बीच सत्तामा बसिरहे। आफूभित्र रहेको अधिकार एक इन्च पनि कसैलाई दिएनन्, शासक भएर सत्ता चलाए, अझै म नैं शासक हुँ भन्ने सन्देश दिएर सत्ताबाट बाहिरिए। नेपालको राजनीतिक इतिहासमा विगतमा कहिल्यै नभएको र भविष्यमा पनि यस्तो हुन नसक्ने अदालती निर्णय, न्यायिक व्याख्या, विश्लेषणबाट सत्ता फेरबदल भयो।

ज्योतिषशास्त्र र ज्योतिषीहरुको सल्लाहअनुसार काम गर्न खोज्ने प्रधानमन्त्री देउवाले शुक्रबार बिहान अभिजित मुहूर्तको समय पारेर बालुवाटार प्रवेश गर्न खोजेका हुन्। उनले रोजेको समयचाहिँ बलवान नैं छ।

ओलीले सत्तामा बसेर कुरा ठूला गरे, योजनाका सपना बुने तर त्यो रातमा देखेको सपनाजस्तै भयो। रातमा देखेको सपना बिहान उठ्दा भुलेजस्तै विकास र समृद्धि कता पुग्यो कता। उनले आफैंले भनेँ,‘मैले देखेका सपनालाई आफ्नै मित्रमण्डलीलाई सुनाएँ, सपनालाई उनीहरुले बुझेनन् अर्थात काम गर्न दिँदै दिएनन्।’ 

कसैलाई उपदेश दिन जति सजिलो छ, उपदेश पालन गर्न ज्यादै कठिन छ। विगतका केपी ओली सरकारको समीक्षा हुँदै गर्लान्। तर, वर्तमान शेरबहादुर देउवाको सरकारबाट त आशा राख्नसक्ने केही काम होला भन्न बडो मुस्किल छ।

किनकि यो सरकारको टाउको, शरीर र हात र खुट्टा अलग–अलग छन्। सपाट शरीरमा शीरभाग एउटा भए पनि अङ्ग–प्रत्यङ्ग फरक हुँदा गुणात्मक काम होला भनेर विश्वास गर्ने आधार नैं देखिँदैन।

‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पथबाट जंगलयात्रा छोडेर सिंहदरवारको सत्तायात्रामा आएको माओवादी देउवाको सत्ता सहयात्री हुन पुगेको छ। यो गडजोडलाई कसरी सत्ताको रथ अघि बढ्न सक्छ? प्रजातान्त्रिक विचारधारा राख्ने कांग्रेस र कम्युनिष्ट सिद्वान्त बोकेर पुँजीपति हुन पुगेका माओवादी, एमाले भित्र सधैं प्रतिक्रान्तिकारी चरित्र बोकेका माधव नेपाल, तराई केन्द्रित सोच राख्ने दलका नेताबीचको सहयकार्यबाट शासनसत्ता अघि बढ्दा हुने विस्फोटनको अहिले नैं  भविष्यवाणी गर्न मुस्किल छ।

घरेलु राजनीतिभित्र जे–जस्तो भए पनि छिमेकी भारतले देउवा सरकारलाई बधाई दिनसमेत कन्जुस्याइँ गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि प्रधानमन्त्री  हुनेबित्तिकै ट्वीटमार्फत् र आफ्ना प्रतिनिधि पठाएर शुभकामना दिने प्रचलन तोडिदिएका छन्। यसपटक देउवाको सत्ता प्राप्तिमा निकै परको देश अमेरिकाले सबैभन्दा पहिले खुसी मनाएको छ। यसको अर्थ के हो ? देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सबैभन्दा पहिले ट्वीटमार्फत् र पछिल्लोपटक भेट गरी बधाई दिए।

ओलीले सत्तामा बसेर कुरा ठूला गरे, योजनाका सपना बुने तर त्यो रातमा देखेको सपनाजस्तै भयो। रातमा देखेको सपना बिहान उठ्दा भुलेजस्तै विकास र समृद्धि कता पुग्यो कता।

संयोग नै भनुँ देउवाले राष्ट्रपति भवनमा शपथ लिनेबित्तिकै सबैभन्दा पहिले हात मिलाएर बधाई दिने व्यक्ति पूर्वप्रधानमन्त्री एवं एमाले गुटका नेता माधव नेपाल भए। यो राजनीतिक इतिहासमा लेखिने कथा हो। केपी ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन पाएकोमा सबैभन्दा बढी खुसी माधव नेपालले मनाए।

राजनीतिमा ‘इगो’ र ‘इख’ अलि बढी नैं हुन्छ भन्ने सन्देश माधव नेपालले दिए। नेपाल नेपाली कम्युनिष्ट राजनीति र सत्ताको प्यारा अनि इगो भरिएका नेता हुन् भन्ने पुष्टि आफूले आफैंलाई गरे।

देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि भेट गरी बधाई दिँदासमेत भारत–चीनका देउवाका समकक्षी प्रधानमन्त्रीस्तरबाट शुभकामना सन्देश आएन।

भारतबाट रक्षामन्त्री राजनाथ सिंह, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले टेलिफोनबाट बधाई दिए। पूर्व भाजपाका अध्यक्ष सिंह र हालका विदेश विभाग प्रमुखले सरकारको तर्फबाट भन्दा पनि भारतीय जनता पार्टीको तर्फबाट सम्बन्ध विस्तार हुनुपर्नेमा जोड दिएका हुन्।

भारतीय जनता पार्टी र नेपालको राजनीतिलाई निकटबाट व्याख्या गर्ने एक नेताले भने, ‘भारत सरकारका तर्फबाट अहिले नैं देउवा सरकारलाई बधाई दिने बेला भएको छैन।’

नेपालको राजनीतिमा कुनै बेला के–के हुन्छ भन्न बढो मुस्किल छ। फेरि यो जनादेशबाट बनेको सरकार पनि होइन भन्ने भारतको विश्लेषण छ। जनादेश पाएको दलको किचलो अदालतमा पुगेपछि न्यायको निरुपणबाट बनेको सरकार हो।

चीन मौन
अमेरिकी, भारतीय राजदूतको बधाई पाएका देउवाले नेपालस्थित चिनियाँ राजदूतबाट मात्र शुभकामना पाएका छन्। यसो भन्दा हुन्छ–देउवा सरकारबारे चीन पर्ख र हेरको नीतिमा रहेको छ। चीन धेरै कुरा बुझ्ने तर निर्णय गर्दा हतार नगर्ने नीतिअनुसार अघि बढेको छ।

चीन देउवा सरकार गठन भएकोमा ‘न खुसी न दुःखी’ केही छैन भन्ने देखिन्छ। नेपालका लागि चिनियाँ राजदूत औं यान्छी अब केही समयपछि  चीन फर्कने तयारीमा छिन त्यसैले पनि होला सामाजिक सञ्जाल ट्वीट्मा पनि त्यति सक्रिय छैनन् ।

चीनको कूटनीति भनेको प्रत्यक्ष नदेखिने तर सबै कोणबाट हेर्न नुछुटाउने खालको छ। देउवा सरकारलाई कस–कसले बधाई दिए, सरकारले अब कसरी अगाडि बढ्छ भन्ने बारेमा जानकार छ। तर, केही थाहा नपाएको जस्तो गरिरहेको छ।

नेकपाभित्रको एकता अभियानमा खटिएर लागेको चीन नेपाली नेताहरुको चरित्र अध्ययन गर्न नसक्ने भइयो भनेर कायल भएको छ। चीन भ्रमणमा जाँदा चीनको विकास र समाजवादको प्रशिक्षण लिएर आएका नेकपा माओवादीको चरित्र देख्दा दिक्क लाग्दो होला चिनियाँलाई।

नेपाली राजनीतिक नेताहरुको कुण्डलीबारे चिनियाँहरु जानकार छन्। नेताको राजनीतिक यात्राबारे जानकार भए पनि यिनीहरुको चरित्र देखेर विचित्रै मानेका छन्।

चीनको चासो एमसीसी
अमेरिकाले नेपाल सरकारलाई प्रस्ताव गरेको ५५ अर्ब रुपैयाँको पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई देउवा सरकारले संसदबाट पास गरेर कार्यान्वयन गर्नेछ भन्ने चासो बढी छ।

एमसीसीलाई संसदबाट पारित गर्नसक्ने आफू अनुकुलको सरकार कहिले होला भनेर अमेरिकाले लबिङ गर्दै आएको थियो। देउवा विगतदेखि पश्चिमा मैत्री र एमसीसी परियोजनाको आवश्यकता छ भन्ने पक्षका नेता हुन्।

चीनको कूटनीति भनेको प्रत्यक्ष नदेखिने तर सबै कोणबाट हेर्न नुछुटाउने खालको छ। देउवा सरकारलाई कस–कसले बधाई दिए, सरकारले अब कसरी अगाडि बढ्छ भन्ने बारेमा जानकार छ। तर, केही थाहा नपाएको जस्तो गरिरहेको छ।

देउवाको  नेतृत्व भएको बेला हाल देउवा हालै मात्र सरकारका कानुनमन्त्री बनेका  ज्ञानेन्द्रबहादुर कार्की पहिले अर्थमन्त्री भएको बेला एमसीसीमा हस्ताक्षर भएको थियो। देउवाले एमसीसीको कामका लागि कानुनमन्त्रीमा कार्कीलाई चुनेका हुन् भन्ने आँकलन समेत गरिएको छ।

चीनले अघि सारेको  परियोजना ‘बेल्ट रोड एन्ड इनिसिएटिभ परियोजना’मा नेपालले यसअघि नैं हस्ताक्षर गरे पनि  नेपालले परियोजना अन्तर्गत कुनै काम अगाडि बढाएको छैन।
 
चुच्चे नक्सा र नेपालको सीमानामा चर्का कुरा गर्ने केपी शर्मा ओलीलाई साइजमा ल्याएको भारतले ओलीले जस्तै देउवाले भारत विरोधी स्वरमा विरोध त गदैनन्। तर, भारतको हितमा हुने काम देउवाबाट हुँदैन भन्ने भारतको अड्कल छ।

पछिल्लो समयमा ओली भारतसँग यति नरम भए। चुच्चे नक्सामात्र होइन, भारतसँग किनेको कोभिशिल्ड खोपको मात्रा नदिदाँसमेत आफनो तर्फबाट कुनै पहल गरेनन्। देउवाले भारतमा अड्किएको १० लाख खोपभन्दा पनि अमेरिकाबाट खोप ल्याउने काममा छिटो पहल गर्नेछन्। चीनबाट ओली सरकारले खरिद गरेको ४० लाखबाहेक थप खोप गरिदमा देउवा सरकारको पहल गर्ने छैनन्।

संसदबाट विश्वासको मतमा बहुमत पुग्नका लागि देउवाले प्रधानमन्त्री भैसकेपछि पनि कोटेश्वरमा रहेको माधव नेपालको घरमा चिया खान गएर नेपालको निकै चाकडी गरिरहेका छन्। ओली अलिकति उग्र अलिकति नरम हुँदै देउवालाई विश्वासको मतमा केही अंकगणित कम होस् भनेर लागेका छन् । ओली पक्ष अबको २९ दिनभित्र देउवालाई बालुवाटारबाट बुढानिलकण्ठ खेदने अभियानमा जुटने छ। देउवा भने साम, दाम,दण्ड र भेद सबै अस्त्र प्रयोग गरेर भएपनि आगामी निर्वाचनभन्दा अघिसम्म सत्तामा बस्ने दाउमा छन्।

हेरौं, राजनीतिमा अहिले नैं यसो होला भनेर भन्दा छिटो हुनसक्छ। देउवाले एक महिनाभित्र विश्वासको मत लिएर सत्ता चलाउने भए भने भारतीय प्रधानमन्त्री मोदीले ट्वीटमार्फत देउवालाई शुभकामना दिनेछन्। त्यसपछि नैं चीनका प्रधानमन्त्री ली खच्याङगको बधाई बोकेर नेपालका लागि चीन–भारतका राजदूत बालुवाटार पुग्ने दिनको प्रतिक्षा गर्नु बेस हुनेछ।

Skip This
Logo