मानिस किन षड्यन्त्र सिद्धान्तको सिकार हुन्छन्?

मानिस किन षड्यन्त्र सिद्धान्तको सिकार हुन्छन्?


विभिन्न विषयमा तथ्यगत आधारबिनै गरिने षड्यन्त्रको शंकालाई षड्यन्त्र सिद्धान्त भनिन्छ। संसारमा हाल षड्यन्त्र सिद्धान्तको कमी छैन। 

मानिसले तथ्यमा आधार नभएका शंकाउपशंकाका कुराहरूलाई प्रश्रय दिइरहँदा उनीहरू मुर्ख हुन् भन्ने सोझो धारणा हामीले बनाउन सक्छौँ। तर, विज्ञानले भने उक्त कुरा त्यति सतही खालको मूल्यांकनमा मात्र सीमित नरहने देखाएको छ। 

मानिसमा यस्ता मनोवैज्ञानिक गुणहरू हुन्छन्, जसले उसलाई तथ्यमा आधार नभएका विश्वास बोक्न प्रेरित गर्न सक्छ। त्यसैले जोकोही पनि षड्यन्त्र सिद्धान्तको सिकार हुनसक्ने सम्भावना रहन्छ। 

निष्कर्षमा पुग्ने हतार
कुनै पनि कुराको पूर्ण अवलोकन वा अध्ययन नगरी वा दह्रो प्रमाण नभई निष्कर्षमा पुग्न खोज्ने प्रवृत्ति जोकोहीमा पनि हावी हुन सक्छ। यस्ता मानिसले षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने सम्भावना बढी रहने एक अध्ययनले देखाएको छ। यस्तो स्वभाव जोसुकैमा कुनै न कुनै मात्रामा हुने गर्छ। यदि तपाईंमा छ भने नआत्तिनुहोस्। यहाँ कारक सम्बन्धभन्दा सहसम्बन्धको कुरा रहेको छ। कुनै गुण र षड्यन्त्र सिद्धान्तप्रति विश्वासमा सहसम्बन्ध छ भन्दैमा यी दुईबीच कारक–कार्य सम्बन्ध छ भन्न सकिँदैन। यद्यपि, छिट्टै निष्कर्षमा पुग्ने चाहनाले हामीलाई षड्यन्त्र सिद्धान्तको सिकार बनाउने सम्भावना भने रहन्छ।

ढाँचाहरू भ्रामक हुन सक्छन् 
सन् २०१८ मा मानिसले कुनै निश्चित ढाँचा नभएको अवस्थामा स्वतः बनाउने ढाँचाका बारेमा अध्ययन भएको थियो। कुनै सिक्कालाई घुमाउँदा ‘गाई’ आउँछ कि ‘त्रिशूल’ भन्ने कुरा निश्चित हुँदैन। त्यसैले यसको कुनै ढाँचा हुँदैन। उक्त अध्ययनमा केही पटक सिक्का घुमाएर सहभागीलाई देखाइएको थियो। त्यसो गर्दा सिक्काले दिने नतिजाको एउटा निश्चित ढाँचा छ भन्ने मानिस पनि पाइएको थियो। यी मानिसले पनि षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने सम्भावना अरूको तुलनामा बढी रहने कुरा उक्त अध्ययनले पत्ता लगाएको थियो। 

तर, कुनै ठोस आकार नभएको ठाउँमा पनि आकार देख्नु मानव स्वभाव पनि हो। हामी बादलमा खरायो देख्छौं, घरायसी सामग्रीमा मानिसको अनुहार देख्छौं। यसै प्रवृत्ति हावी हुँदा मानिसले सम्बन्ध नभएको घटनाक्रममा पनि निश्चित ढाँचा भेट्ने गर्छ। 

हामी सबैको दिमागले छोटो र सजिलो बाटो प्रयोग गर्न खोज्छ। त्यसै क्रममा धारणा बनाउँछ र कहिलेकाहीँ अतार्किक ढंगले पनि सोच्छ। तर, सकेसम्म यस्तो बानीबाट बच्नु र तार्किक ढंगले, समय दिएर सोच्नु नै हामीले आफैंलाई षड्यन्त्र सिद्धान्तको सिकार हुनबाट जोगाउन सक्छौं।  

मानौँ तपाईं दौडमा भाग लिँदै हुनुहुन्छ। तपाईंले दोस्रो स्थानमा भएको व्यक्तिलाई उछिन्नुभयो। तपाईं अब कुन स्थानमा हुनुहुन्छ। 

यसमा प्रायः दुई फरक उत्तर आउने गर्छन। एउटाउत्तर ‘पहिलो’ भन्ने हुन सक्छ, जुन आवेगमा आधारित हुने गर्छ। अर्को उत्तर ‘दोस्रो’ हुन सक्छ जुन तार्किक विधिबाट आउन सक्छ। पछिल्लो उत्तर मात्र सही हो। 

यस्ता प्रश्न मानिसले कत्तिको तार्किक ढंगले सोच्छ र, कुनै पनि कुरामा कत्तिको समय खर्च गरेर प्रतिक्रिया जनाउँछ भन्ने परीक्षण गर्न प्रयोग गर्ने गरिन्छ। धेरै अध्ययनले उक्त प्रश्नमा ‘दोस्रो’भन्ने अर्थात् सही उत्तर दिने मानिसहरू षड्यन्त्र सिद्धान्तमा कम विश्वास गर्ने देखाएका छन्। सन् २०१४ मा गरिएको एक अध्ययनले त अझ कसैलाई तार्किक ढंगलाई सोच्ने गरी तालिम दिँदा षड्यन्त्र सिद्धान्तप्रति उनीहरूको विश्वास घट्ने पत्ता लगाएको छ।

हामीमध्ये कसैले पनि आफ्ना सबै विश्वास तार्किक ढंगले निर्माण गरेका हुँदैनौं। तसर्थ, षड्यन्त्र सिद्धान्तप्रति आकर्षित गर्ने गुण हामी आफैंमा पाउन सक्छौँ। 

वातावरणको प्रभाव
मनोवैज्ञानिक रूपमा मानिसमा षड्यन्त्र सिद्धान्तप्रति विश्वास गर्नसक्ने कमजोरीका साथै आउँछ वातावरणीय प्रभावका कुरा। 

‘तपाईँ वरिपरि कत्ति धेरै षड्यन्त्र सिद्धान्त छन् भन्ने कुराको पनि प्रभाव हुने गर्छ,’ स्वभाविज्ञानका प्राध्यापक गोर्डोन पेन्नीकुकले भने। ‘सबै मिथ्या कुरालाई निस्तेज गर्ने खालकोे गहिरो तरिकाले कसैले पनि सोच्न सक्दैन। तपाईंलाई कुनै पनि कुरा लगातार सुनाइँदै, देखाइँदै गयो भने त्यसमा विश्वास गर्ने सम्भावना बढ्छ।’

आधुनिक समयमा षड्यन्त्र सिद्धान्तको सम्प्रेषणमा सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। कोरोना भाइरस खोपबारे षडयन्त्र सिद्धान्त एक उदाहरण हो। सामाजिक सञ्जाल सञ्चालकले खोप हानिकारक छ भन्ने खोपविरोधी मतलाई पछि दबाउन खोजे पनि सुरुमा सम्प्रेषणका लागि ती सञ्जालको भूमिका महत्वपूर्ण रहेको थियो। 

००
हामी सबैको दिमागले छोटो र सजिलो बाटो प्रयोग गर्न खोज्छ। त्यसै क्रममा धारणा बनाउँछ र कहिलेकाहीँ अतार्किक ढंगले पनि सोच्छ। तर, सकेसम्म यस्तो बानीबाट बच्नु र तार्किक ढंगले, समय दिएर सोच्नु नै हामीले आफैंलाई षड्यन्त्र सिद्धान्तको सिकार हुनबाट जोगाउन सक्छौं।  

(फाइभथर्टी एटमामा प्रकाशित यो लेखको भावानुवाद केन्द्रबिन्दुका लागि कुशल बस्नेतले गरेका हुन्)

Logo