झुट बोलेको पत्ता लगाउने यस्तो छ वैज्ञानिक विधि

झुट बोलेको पत्ता लगाउने यस्तो छ वैज्ञानिक विधि


ऊ आफ्नो ठाउँबाट हलचल गरिरहेको छ। चाँडो बोल्दैछ। अन्यत्र हेर्दैछ। अनुहारमा हात बारम्बार लैजाँदैछ। उसले जे भन्दैछ, त्यो सत्य हुन सक्दैन। 

कसैले झुट बोलिरहेको छ कि छैन भनेर पत्ता लगाउन यसरी परम्परागत तरिकाको प्रयोगप्रति हामी आकर्षित हुन सक्छौँ। तर, झुट यसरी हेरेभन्दा निकै जटिल हुने गर्छ। धेरै कुरा दाउमा हुँदासमेत हाम्रा लागि एक समाजका रूपमा झुट पत्ता लगाउन गाह्रो नै हुने गर्छ।

तर, सत्यको खोजीका लागि नयाँ तरिकाकोे पनि विकास भएको छ। एउटा तरिका झुट बोल्नेले कस्ता शब्द प्रयोग गर्छ भन्ने कुरामा आधारित छ। कुनै पनि तरिका समस्यारहित छैनन्। तर, पुराना भइसकेका तरिकाको प्रयोग भइरहँदा यी तरिकाहरू बढी तथ्यगत रहेको पाइन्छ। 

झुट बोल्ने मानिसबारे मानिसको धारणा
संसारभरका संस्कृतीमा बेइमानीको संकेतबारे बुझाइमा खासै भिन्नता छैन। ‘असहजता, तनाव र चिन्ता जस्ता नकारात्मक भावना झुटहरूको आमपरिचयका एक पाटा हुन्,’ झुटविज्ञ एवम् मनोविज्ञानकी प्राध्यापक मारिया हार्टविगले भनिन्। 

सन् २०१६ मा गरिएको एक अध्ययनमा ठगीका संकेत के के हुन् भनी प्रहरी र स्नातक तहका विद्यार्थी गरेर २ सय जनालाई सोधिएको थियो। उनीहरूले डराउनु, नजर जुधाउन नसक्नु, हलचल गर्नु र पसिना आउनु जस्ता प्रचलित झुटका संकेतबारे मान्यतालाई नै दोहोर्याए। तर, कसैले सत्य बोल्दैछ कि झुटो बोल्दैछ भन्ने पत्ता लगाउन ती संकेतहरू भरपर्दो भने नरहेको पाइयो। 

झुट बोल्ने स्वभाव र सत्य बोल्ने स्वभावको तुलना भएका एक सय अध्ययनको समीक्षा बेला डिपाउलो नेतृत्वको एक समूहले गरेको थियो। ती अध्ययनहरूमा चर्चा गरिएका १ सय ५८ झुटका संकेतमध्ये कुनै पनि झुटसँग सम्बन्धित नरहेको उक्त अध्ययनले पत्ता लगायो। यसको अर्थ सत्य बोल्नेभन्दा झुट बोल्नेले नजर जुधाउनबाट बच्ने, छिटो बोल्ने र आँखा झिम्क्याउने जस्ता गतिविधि घटी वा बढी गर्दैनन् भन्ने हो। झुटसँग बलियो सम्बन्ध भएका मानिँदै आएका खुलापनको कमी, नकारात्मकता र विस्तृत विवरणको कमी जस्ता संकेतहरू पनि झुटका राम्रा सूचक होइनन् भन्ने निष्कर्ष उक्त समिक्षाको रहेको थियो। 

समीक्षकहरूको अर्को निष्कर्ष रोचक छ– झुट सबैले बोल्छन्। हामी झुट बोल्न यति बानी परेका छौँ कि यसका निश्चित संकेतहरू किटान गर्नै गाह्रो छ। उनीहरू लेख्छन्, ‘एकदमै भ्रान्तिकारी कुराहरू यति नियमित र प्रभावकारी ढंगले बोलिन्छ कि तिनले स्वभावीय अवशेष कमै छाड्ने गर्छन्। 

झुटको पर्दाफास किन महत्वपूर्ण छ?
एक किशोरले ऊ अघिल्लो रात कहाँ थियो भनेर झुट बोल्नु एक कुरा हो। तर, गलत बयानले निर्दोष मानिस जेल पर्नु नितान्त फरक कुरा हो। कहिलेकाहीँ एकजनाको बयानले राष्ट्रिय सुरक्षामा योगदान पुर्याउन सक्छ। दुर्भाग्य भन्नुपर्छ, सत्यको यत्ति महत्व हुँदै गर्दा झुटबाट सत्य छुट्याउने पद्धतिमा समस्या छन्। काला र ल्याटिनो जातिका युवाले एक अपराधमा गरेको दवाबबाट सिर्जित स्वीकारोक्ति र त्यसवापत ती निर्दोषहरूले भोग्नुपरेको सजायले आफूलाई यस विषयमा अध्ययन गर्न प्रेरित गरेको हार्टविग बताउँछिन्। 

सत्यको निरुपणले दवाबबाट सिर्जित स्वीकारोक्तिमा कमी ल्याउँछ जुन ‘इनोसेन्स प्रोजेक्ट’ का अनुसार गलत दोषसिद्धिको ३० प्रतिशतसम्म रहेको छ। 

‘न्याय व्यवस्थाका लागि मात्र नभई यो कुरा राष्ट्रिय सुरक्षाका लागि पनि महत्वपूर्ण छ,’ हार्टविगले भनिन्। द्वन्द्वको समयमा कुनै स्रोतबाट गलत सूचना प्राप्त हुँदा निर्दोषहरूको पनि ज्यान जान सक्छ। हार्टविगलगायत केहीका अनुसार इराक युद्धको जडमा गलत सूचना थियो। गलत सूचनाका पछाडि अन्य धेरै कारण हुन सक्ने भए पनि, अपरिपक्व सोधपुछ विधिले त्यसमा भूमिका खेल्न सक्छ। 

परम्परागत तरिकाहरूले किन काम गरिरहेको छैन?
साधारण मानिससँग झुट पत्ता लगाउने क्षमता कमै हुन्छ। सत्य पत्ता लगाउने पेसा भएकाहरू झुट पत्ता लगाउन कत्तिको सक्षम छन् भन्ने प्रश्न जायज छ। तथ्यप्रमाणका अनुसार उनीहरू वास्तिवक हत्याबारे झुटको रेकर्ड विश्लेषण गर्नसमेत राम्रोसँग तयार हुँदैनन्। 

अनुभवबाट झुट पत्ता लगाउन गाह्रो छ। तर, वैज्ञानिक मानिएका विधिहरू पनि झुट छुट्याउन प्रभावकारी भएको पाइँदैन। ‘स्क्यान’ नामको वक्तव्य परीक्षण गर्ने विधिको चर्को आलोचना विज्ञ र झुट पत्ता लगाउने यन्त्र ‘पोलिग्राफ मेसिन’ बाट भएको छ। गणितीय भाषाविज्ञान र प्राकृतिक भाषा प्रशोधनकी विज्ञ एवम् कम्प्युटर विज्ञानकी प्राध्यापक जुलिया हिस्र्चवर्गले ‘पूर्णरूपमा अविश्वसनीय’ नाम दिएको उक्त विधिको पुनः परीक्षण हुन थालेको छ। अमेरिकन साइकोलोजिकल असोसिएसनले ‘झुटप्रतिको कुनै शारीरिक प्रतिकृयाको कुनै प्रमाण नभएको’ भन्दै श्वासप्रश्वास, मुटुको धड्कन र विद्युतप्रति छालाको व्यवहार आदिको परीक्षण गर्ने पोलीग्राफ विधिलाई त्रुटीपूर्ण कारार गरेको छ। कहिलेकाहीँ झुटो मान्छेको मुटुको धड्कन नियन्त्रित हुन सक्छ र साँचो बोल्ने मान्छे अत्तिन  पनि सक्छ। 

सन् २०१५ मा प्रकाशित कानुन र मानव व्यवहारबारे एक अध्ययनले अपराध अनुसन्धानले प्रयोग गर्ने रेयड टेक्निक (विधी) माथि प्रश्न उठाएको छ। यस विधिमा अनसन्धानले सोधपुछमा रहेको व्यक्तिविरुद्ध प्रमाण फेला परिसकेको छ भन्ने महसुस गराइन्छ, उसले के कारणले अपराध गरेको हुन सक्छ भन्ने आधारमा एक विवरण तयार गरेर उक्त व्यक्तिका अगाडि प्रस्तुत गरिन्छ। 

सन् २०१६ मा गरिएको एक अध्ययनमा ठगीका संकेत के के हुन् भनी प्रहरी र स्नातक तहका विद्यार्थी गरेर २ सय जनालाई सोधिएको थियो। उनीहरूले डराउनु, नजर जुधाउन नसक्नु, हलचल गर्नु र पसिना आउनु जस्ता प्रचलित झुटका संकेतबारे मान्यतालाई नै दोहोर्याए।

रेयड विधिको प्रशिक्षण लिएकी हिस्र्चबर्गले भनिन्, ‘यो विधिमा अपराध गर्ने सम्भावित व्यक्ति पत्ता लागेसँगै डर सिर्जन गर्ने किसिमका गाह्रा प्रश्न सोधिन्छ। उक्त व्यक्तिले आफूलाई निर्दोष सावित नगरुन्जेलसम्म ऊ नै अपराधी हो भन्ने ठानिन्छ।’

केन्द्रिकृत प्रश्नको विधि  
कसैको स्वभावमा झुट प्रस्फुटन हुन्छ भन्ने कुरा सधैँ सत्य हुँदैन भन्नेबारे यथेस्ट प्रमाण संकलन भएसँगै परम्परागत प्रहरी सोधपुछको वैकल्पिक विधिहरूको विकास भएको छ। यी विधिहरू मानिसले ‘कसरी भन्छ’ भन्नेमा भन्दा पनि ‘के भन्छ’ भन्नेमा आधारित छन्। 

तीमध्ये एक विधि हार्टविगले विकास गरेको ‘प्रमाणको रणनीतिक प्रयोग गर्ने विधि’ रहेको छ। रेयड विधिभन्दा फरक भए पनि अन्य अन्य सोधपुछ विधिसँग निकै समानता भएको यस विधिमा धम्की र डरको प्रयोगभन्दा पनि बयानमा विरोधाभासको खोजी हुन्छ। हार्टविगले यस विधीलाई ‘एक मानिसले अर्को मानिसको रणनीतिबारे पत्ता लगाएर जित्ने मनोवैज्ञानिक खेल’ सँग तुलना गरेकी छिन्। 

यो विधिमा सबै रणनीतिहरू एकै पटक खुलाइँदैन। ‘जब म चेस खेल्दै अुन्छु मलाई प्रतिद्वन्द्वीको विगतको खेलबारे ज्ञानले धेरै सहयोग गर्न सक्छ,’ उनले भनिन्। 

हार्टविगले आफ्नो विधि कसरी प्रयोग हुन सक्छ भन्ने पनि उदाहरण दिएकी छिन्। त्यसका लागि उनी दुई फरक परिस्थतिको सहारा लिन्छिन्। एक परिस्थतिमा एक जनाले एक पुस्तक पसलमा भएको झोलाबाट पर्स चोर्छन्। अर्को परिस्थितिमा उक्त व्यक्तिले सो झोला कुनै पुस्तक खोज्न एक ठाउँबाट अर्को ठाउँ सार्छन्। घटनाबारे झोलामा भएको औँलाको छाप (फिंगरप्रिन्ट) जस्ता जानकारी भएको अनुसन्धानकर्ताले त्यस जानकारीको प्रयोगबाट सोधपुछमा रहेको व्यक्तिले साँचो बोल्दैछ कि झुटो भन्ने पत्ता लगाउन खोज्छ। 

‘प्रमाणको रणनीतिक प्रयोग गर्ने विधि’ मा सोधपुछ गर्नेले औँलाका छाप जस्ता प्रमाण पेस नगरी साधारण प्रश्नहरूबाट सोधपुछ सुरु गर्नुपर्छ। त्यस्ता प्रश्न सोधपुछसँग भएका जानकारी उक्त बयानसँग मेल खान्छ कि खाँदैन भन्ने हुन सक्छ। गलत गर्ने व्यक्तिले पुस्तक पसल गएको र झोला देखेको/चलाएको स्वीकार नै गर्न नसक्छ भने साँचो बोल्ने व्यक्तिले प्राय सबै विवरण खुलस्त पार्न नसक्ला। 

दवै अवस्थामा सोधपुछ भइरहेका व्यक्तिलाई एकै व्यवहार गरिन्छ। कहिलेकाहीँ निर्दोष मानिसले आफूले झोला छोएको वा चलाएको भुल्न पनि सक्छ। गलत गरेको भन्ने विश्वासबाट प्ररित सोधपुछ विधिभन्दा बढी समय खर्चेर भएको जानकारीलाई एकैपटक नखुलाइ झुट बोल्ने मानिस पक्रन सहयोगी हुन सक्छ। ‘जब तपाईं डर र हिच्किचाहटबाट मुक्त हुनेगरी व्यवहार गरिन्छ, तब तपाईंलाई आफ्नो कुरा राख्न यथेष्ट मौका दिइन्छ,’ उनले भनिन्, ‘तपाईंले राखेका कुरा अनुसन्धान गर्नेसँग अगाडिदेखि नै छ कि छैन भन्ने मात्र हो।’

प्रायः सोधपुछकर्ताले यस्तो विधि प्रयोग गर्ने गरेको बताए पनि त्यो सत्य नभएको हार्टविगको बुझाइ छ। प्रशिक्षणमा रहेका प्रहरीमाथि गरिएको एक अध्ययनले ‘प्रमाणको रणनीतिक प्रयोग गर्ने विधि’ को प्रशिक्षण पाएकाहरूले ८५.४ प्रतिशत सटिकतासहित झुट पत्ता लगाएको पाइयो भने उक्त विधिको सट्टा परम्परागत विधिको प्रयोग गर्नेहरूको सटिकता ५६ प्रतिशत मात्रै रहेको पाइयो। 

कृत्रिम बुद्धिमत्ता प्रयोग गर्ने विधि
अर्को एउटा विधि छ जसले आँखाको हलचलजस्ता शारीरिक संकेतभन्दा भाषाविज्ञान, आवाज, लय आदि जस्ता वाकको शैली र अन्य पक्षमा आधारित छ। 

हिर्स्चवर्गले आफ्नो टोलीसँगको सहकार्यमा झुटा र सत्य दुवै अभिव्यक्तिहरूको गुणका साथै विश्सनीय र अविश्वसनीय भाषा पत्ता लगाएकी छिन्। उनीहरूको एक अध्ययनका अनुसार झुट बोल्ने व्यक्तिले लामो उत्तर दिन्छ र धेरै शब्दको प्रयोग गर्छ। साथै बीचबीचमा रोकिएर बोल्ने शैली पनि झुटको सूचक हुन सक्ने पत्ता लाग्यो। यद्यपि, झुट पत्ता लगाउने सटिकता भने सहभागीहरूमा औसतमा ४७.९३ प्रतिशत मात्र रहेको पाइयो। ‘यसको खोजको मुख्य पाटो नै मानिसहरू झुट पत्ता लगाउन कति कमजोर छन् भन्ने हो,’ हिर्स्चवर्गले भनिन्। 

तर, उनीहरूले झुट पत्ता लगाउनका लागि प्रशिक्षण दिएको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) ले भने धेरै राम्रो गर्याे। शब्द प्रयोगको ढाँचा र भाषिक ढाँचाको प्रयोगबाट ७२.४ प्रतिशत सटिकतासहित झुट पत्ता लगाउन उक्त कृत्रिम बुद्धिमत्ता सफल भयो।

‘प्रहरीलगायत मानिसहरू झुट पत्ता लगाउन प्राकृतिकरूपमै कमजोर हुन्छन्। त्यसैले कृत्रिम बुद्धिमत्ता उपयोगी हुन सक्छ,’ हिर्स्चवर्गले भनिन्। 

(डिस्कभर म्यागजिनमा प्रकाशित यो लेख केन्द्रबिन्दुका लागि कुशल बस्नेतले अनुवाद गरेका हुन्)

Logo