अनुसन्धान भन्छ, ‘कोभिडबाट बालबालिकामा ज्यानको जोखिम सोचेभन्दा एकदमै न्यून’

अनुसन्धान भन्छ, ‘कोभिडबाट बालबालिकामा ज्यानको जोखिम सोचेभन्दा एकदमै न्यून’


बेलायतका अस्पतालमा कोभिड–१९ का कारण भर्ना भएका र मृत्यु भएका मानिसको तथ्यांकको विश्लेषणले बालबालिका र युवामा ज्यानको जोखिम र आइसियुको आवश्यकता सोचिएको भन्दा एकदमै न्यून रहेको देखाएको छ। 

अनुसन्धाताहरूको एक समूहले सन् २०२० को मार्च र सन् २०२१ को फेब्रअरीको बीच कोभिड–१९ का कारण मृत्यु हुने १८ वर्षभन्दा कम उमेर समूहका मानिसको संख्या २५ मात्र रहेको पत्ता लगाएको छ। प्रकाशनको प्रक्रियामा जान बाँकी रहेका अध्ययनको शृंखलाले त्यस्तो पत्ता लगाएको हो। त्यसरी मृत्यु हुने बालबालिका र किशोरकिशोरीमध्ये आधाभन्दा बढीमा कोभिड संक्रमण हुनुभन्दा अगाडिदेखि नै गम्भीर समस्या रहेको पाइएको थियो। 

उक्त अध्ययनले साधारण प्रकृतिका समस्या र कोभिडका दीर्घकालीन लक्षणलाई भने समेटेको छैन। ‘गम्भीर प्रकृतिका समस्या कम देखिएका छन् भन्दैमा कोभिडले बालबालिकालाई छुँदैन भन्ने अर्थ लगाउनु हुँदैन,’ रोमस्थित गेमेली युनिभर्सिटी हस्पिटलका बालरोग विशेषज्ञ डेनिलो बुओनसेन्सोले भने, ‘जति सकिन्छ, खोप वितरणमा ध्यान दिऔँ।’

बालबालिका र किशोरकिशोरीमा कोभिड–१९ संक्रमणबारे प्रकाशित सामग्रीका साथै १९ देश र ५७ अध्ययनमा रहेका तथ्यांकको बृहत् विश्लेषण उक्त अध्ययनमा गरिएको थियो।  

अध्ययनका निष्कर्ष
कोभिडका बिरामीमा मोटोपना र मुटु तथा नसासम्बन्धी समस्याले मृत्यु हुने वा आइसियुमा भर्ना हुने सम्भावना बढाउने उक्त अध्ययनले पत्ता लगायो। 

अर्कोतर्फ कोभिड–१९ का कारण अस्पताल भर्ना भएका ६ हजार ३ सय ३८ बालबालिकामध्ये २ सय ५९ बालबालिकालाई मात्र आइसियुको आवश्यकता भएको पाइयो। 

कोभिड–१९ र त्यससँग सम्बन्धित विभिन्न शारीरिक प्रणालीको सुन्निने समस्या गोराभन्दा काला जातिका बच्चाहरूमा बढी पाइयो। यद्यपि, यी बिरामीहरूमा आइसियुको समग्र आवश्यकता एकदमै कम रहेको अनुसन्धानमा संलग्न युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिक जोसेफ वार्डले बताए। 

सन् २०२० को मार्च र २०२१ को फेब्रुअरीको बीचमा बेलायतमा १८ वर्षभन्दा मुनिका बालबालिकाको जनसंख्या १ करोड २० लाख रहेकोमा ३ हजार १ सय ५ को मृत्यु भएको थिया,े जसमध्ये कोभिडका कारण नै मृत्यु हुनेको संख्या २५ मात्र रहेको थियो। यो प्रति दश लाख बालबालिकामध्ये २ को मात्र मृत्युदर हो। ती बालबालिकामध्ये कसैमा दम वा प्रकार–१ मधुमेह नरहेको, तर आधाभन्दा बढीमा कुनै कारणले मृत्यु हुने खालको अवस्था विकास भएको पाइएको थियो।

यस किसिमका अध्ययनले आफ्ना बालबालिकालाई केही भइहाल्छ कि भनेर सतर्कता अपनाइरहेका बुवाआमालाई भने राहत दिएको छ। ‘महामारीको पहिलो लहरमा धेरै बालबालिका कोभिडबाट सुरक्षित रहन पुगेका मान्यता पेडियाट्रिसियनहरूको रहेको छ,’ युनिभर्सिटी कलेज लन्डनमा किशोरकिशोरी स्वास्थ्य अध्ययन गरिरहेका रसेल भाइनरले भने।

केही अवस्थामा बुवाआमाको त्यस किसिमको सतर्कताले राम्रोभन्दा बढी नराम्रो गरेको हुनसक्ने इम्पेरियल कलेज लण्डनकी संक्रामक रोग विशेषज्ञ एलिजाबेथ ह्वीटेकरको बुझाइ छ। ‘सतर्कता कहिल्यै पूर्ण हुँदैन। सतर्कता अपनाउने नाममा फाइदाभन्दा बढी परिवारमा तनाव र चिन्ता भएको हुन सक्छ,’ उनले भनिन्। 

मृत्युदर र आइसियु भर्ना दर कम भएको भए पनि विद्यालयले मास्क र सुधारिएको भेन्टिलेसनको उपाय अपनाउने तथा बुवाआमाले आफ्ना बालबच्चा र आफूलाई खोप उपलब्ध गराउने अपेक्षा बुओनसेन्साको रहेको छ।

‘वयस्कहरूले खोप लगाए बच्चाहरूमा पनि संक्रमण घट्छ,’ उनले भने, ‘बालबालिकामा कोभिड–१९ संक्रमण घटाउन हामीले सक्दो प्रयास गर्नुपर्छ।’

(‘नेचर डट कम’ मा प्रकाशित यो लेख केन्द्रबिन्दुका लागि कुशल बस्नेतले अनुवाद गरेका हुन्)  

Logo