कांग्रेसले भुलेको बिपीको ‘प्रजातान्त्रिक समाजवाद’

कांग्रेसले भुलेको बिपीको ‘प्रजातान्त्रिक समाजवाद’


नेपाली कांग्रेस बिपीको प्रजातान्त्रिक समाजवादबाट विषयान्तर भइसक्यो। बहुदलीय प्रणालीलाई चाहिँ लिएको छ। समाजवादले बहुदलीय प्रणालीलाई ‘क्याच’ गर्छ। बाँकी आर्थिक, सामाजिक, सारा कुरा निश्चित दिशातिर गइरहेको छैन।

पार्टी नेतृत्वमा प्रजातान्त्रिक समाजवाद बुझेकाहरू पुगेनन्। त्यो सिद्धान्तअनुसार बजेटसहितको कार्यक्रम बनाउने अर्थमन्त्रीहरू भएनन्। जस्तो: अर्थशास्त्र बुझेका डा. रामशरण महत अर्थमन्त्री त भए। तर, उनको आफ्नै ‘क्यापिटालिस्ट थ्योरी’ छ। मतलव, समाजवादी होइनन् उनी।

यसरी जो–जो कांग्रेसबाट अर्थमन्त्री बने, उनीहरू कसैको प्रजातान्त्रिक समाजवादसँग झुकाव नै रहेन। झुकाव नै नभएका नेताहरू मन्त्री हुँदा त्यसअनुसारको बजेटसहितको नीति कार्यक्रम बनाउने कुरा अपेक्षाभन्दा बाहिरको कुरा हो।

फेरि, कांग्रेसबाट बनेका प्रधानमन्त्रीहरू पनि त्यो बाटोमा अगाडि बढ्नै चाहेनन्। जसरी प्रजातान्त्रिक समाजवादबारे बिपीले व्याख्या गरे। त्यो व्याख्यासँग हाल कांग्रेस पार्टीले गरेको व्याख्या मिल्दै मिल्दैन। यसरी विषयान्तर भयो। 

यसकारण, कांग्रेस सैद्धान्तिक रूपमा कसरी अगाडि बढ्छ? चिन्ताको विषय हो। कसरी वैचारिक रूपमा कांग्रेसको ‘सर्भाइभ’ हुन्छ? पद्धति के हो? समाजको विकासक्रमअनुसार विचार, सिद्धान्त र आदर्शको प्रतिपादन हुने हो। यसप्रति कांग्रेसको ध्यान जानुपर्छ।

यसो भनिरहँदा बिपीले प्रतिपादन गर्नु भएको प्रजातान्त्रिक समाजवाद समय सापेक्ष छ कि छैन? परीक्षण चाहिँ हुनुपर्छ। परीक्षण भएको पनि छैन। पार्टीमा कम्तीमा  छलफल त हुनुपर्छ। आफ्नो पार्टीको इतिहासमा बिपीले समाजवादको कुरा गर्नु भएको छ।

पार्टीले विषय विज्ञहरूलाई झिकाएर विमर्श गर्न ढिला गर्नु हुँदैन। तर, पार्टीले कहिल्यै त्यसो गरेको छैन। प्रजातान्त्रिक समाजवाद समयानुकूल हो कि होइन? दह्रो बहस हुनुपर्छ नि त प्रजातान्त्रिक पार्टीमा।

बहसपछि निस्केको ‘वैचारिकता’ लाई अंगीकार गर्नुपर्छ। त्यो कहिल्यै भएन। म बिपीको एउटा कुरा प्रजातान्त्रिक समाजवादसँग सम्बन्धित कथन भन्छु।

‘जो मान्छे योजना आयोगमा पुग्छ, ती मान्छे कस्ता हुनुपर्छ भन्दा यो देशको सबैभन्दा तल्लो वर्गको मान्छे किसानलाई कसरी समृद्ध बनाउन सकिन्छ? शिक्षा, स्वास्थ्यसँगै गाँस, वास, कपासको सुनिश्चितता कसरी गर्न सकिन्छ? यो अनुसार विकासको योजना बनाउने खालको हुनुपर्छ।’ 

यो प्रजातान्त्रिक समाजवादको आधारभूत मान्यता हो। गाँस, बास, कपास त सबैभन्दा तल्लो वर्गको मान्छेले पाउनुपर्छ पहिले। 

अहिले मानौं, काठमाडौंमा जति दूध आपूर्ति हुन्छ, गाउँमा हुन्छ? हुँदैन। फेरि, बिपीले ‘हलोसहितको किसानको फोटो राख्नू’ भन्नु भएको थियो। त्यो सांकेतिक कुरा हो। नेपाल कृषि प्रधान देश भएकोले यहाँको समृद्धि यसरी जानुपर्छ भन्ने बिपीको भनाइ थियो।

कृषिमा सुधार नल्याइकन खान पाइँदैन। खानका लागि उत्पादन गर्नुपर्छ। उत्पादनबारे कांग्रेसमा छलफलै हुँदैन। उत्पादन भए पनि किसानले जहिले उत्पादित वस्तुको भाउका लागि आन्दोलन गरिरहनुपर्छ।

यो प्रजातान्त्रिक समाजवाद हो? पक्कै होइन। क्यापिटालिस्टहरूको वरिपरि घुमेको प्रजातान्त्रिक समाजवाद भयो।

यसरी सैद्धान्तिक रूपमा कांग्रेस विचलित भएको पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईपछि हो।

अहिले पनि उस्तै छ। अझ बढी प्रजातान्त्रिक समाजवादलाई विकृत पारिँदै छ। तैपनि, कांग्रेसले बिपीको फोटोमा माल्यार्पण गर्छ। त्यति हो। अरु केही छैन। इतिहास देखाउनलाई हुनुपर्छ। उहाँको विचारलाई लिने होइन कि, फोटोमा माल्यार्पण गर्याे बस्यो गर्दै छ कांग्रेस।

यसो हुँदा कांग्रेस विस्तारै सिद्धान्तविहीन हुने दिशामा गएको भान भएको छ। यसो भन्दै गर्दा केही चाहिँ छ कांग्रेससँग।

जस्तो: प्रजातन्त्र अंगीकार गरेको छ। समाजवादलाई त त्याग्यो नेपाली कांग्रेसले। अब राष्ट्रियता छ, त्यो त सबै पार्टीले मानेकै छ। सिद्धान्त त पार्टीको मेरुदण्ड हो। तर, सैद्धान्तिक रूपमा विचलित भयो। 

प्रजातान्त्रिक समाजवादमा तल्लो वर्गको उत्थान भनेको किसान गर्नुपर्छ। तर, संसदमा किसानलाई के गर्दा सुविधा हुन्छ भनेर एकदिन बहस भएको छ? छैन। अनि, कसरी समाजवादीतिर गयो त कांग्रेस? किसानलाई नै माथि ल्याउने विचार होइन प्रजातान्त्रिक समाजवाद? अनि छलफलको आधारमा सरकारको कार्यक्रम बनेको छ? आजसम्म महँगीबारे र किसानबारे छलफल भएको मलाई थाहा छैन प्रजातन्त्रको पुनर्बहालीपछि। तर, समाजवादीको बाटोमा छौं भनेको सुन्छु।

स्थिति के छ भने, अहिले कांग्रेसले बिपी व्यक्तिलाई सम्मान गर्याे, विचारलाई गरेन। फोटोमा माल्यार्पण गर्नु भनेको व्यक्तिलाई सम्मान हो। प्रजातान्त्रिक समाजवादलाई अंगीकार गर्नु भनेको विचारलाई सम्मान गर्नु हो। 
(केन्द्रबिन्दुकर्मी जंग तामाङले राजनीतिक विश्लेषक दुर्गा सुवेदीसँग गरेको कुराकानीमा आधारित)

Logo